+
+
Shares
स्थलगत १९- स्थानीय निर्वाचन २०७९ :

अर्को बालुवाटार : जहाँ गरिबी, अभाव र पछौटेपन छ

यज्ञ खत्री यज्ञ खत्री
२०७८ चैत ३० गते ११:०५

३० चैत, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको प्रवेशद्वार हो, धुलियाबिट । धुलियाबिट चोकबाट उत्तर-पूर्वको ओरालो गोरेटो झरेर झण्डै आधा घण्टा हिँडेपछि पुगिन्छ ‘बालुवाटार’ ।

माथि घना जंगल, तल झुप्रा खोला छ । त्यही खोलाको किनारमा एउटा सानो बस्ती छ, ‘बालुवाटार’ । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका-११ मा रहेको यो बालुवाटार काठमाडौंमा प्रधानमन्त्री बस्ने बालुवाटारझैं सुविधा सम्पन्न भने छैन ।

चरम गरिबी छ, अभाव छ र पछौटेपनले पिरोलिएको छ । यो बस्तीमा बत्ती बल्दैन । विद्यालय छैन । अरु त अरु सामान्य उपचार गर्न स्वास्थ्यचौकी पनि छैन । आफू बस्दै आएको बस्ती आफ्नै होइन भन्ने कुराले निरास नागरिकको दुःखका कथा भनिसाध्य छैन ।

समय फेरि निर्वाचनको छ, ठुलठुलो भाषण र आश्वासनको छ । नेताहरू फेरि भोट माग्न बस्तीमा छिर्न थालेका छन् । लाल पुर्जा, सड्क, शिक्षा, स्वास्थ्य र रोजगारी दिनेजस्ता पुरानै आश्वासन दोहोर्‍याउन थालेका छन् । ‘बाटो, बत्ती र लाल पूर्जा पाइन्छ भनेर कुन दललाई भोट लिएनौं, कुन दलको झण्डा बोकेनौं’ सोही बस्तीका चित्रबहादुर बैगार (५६) भन्छन्, ‘चुनाव जित्छन्, त्यसपछि अर्को चुनावमा मात्र यो बस्तीमा पुग्छन् ।’

‘सूर्यटार’ बनाउँछु भन्थे

भूमिहीन यो बस्तीको विगतदेखिकै मुख्य माग लाल पूर्जा हो । जग्गाको स्वामित्व आफ्नो नाममा ल्याउने आशमा भीमबहादुर गन्धर्वले यही बस्तीमा तीन दशक बिताए । फरकफरक पार्टीलाई भोट दिएर जिताए तर लाल पुर्जा पाएनन् ।

मोटरेवल बाटो, बत्ती र लाल पुर्जा दिलाउने आश्वासन दिएपछि ०७४ सालको स्थानीय तहको चुनावमा बस्तीका सबै नागरिकले एकछापे भोट ‘सूर्य’मा हाले । ‘हामीले एकछापे भोट, एमालेलाई दियौं’ भीमबहादुरले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘एमालेलाई जिताए, यहाँको मुहार फेर्छौं । बालुवाटारलाई सूर्यटार नामाकरण गर्छौं भन्थे । चुनाव जिते, फेरि फर्केर आएनन् ।’

भीमबहादुर गन्दर्व ।

चुनावताका फकाउन बस्तीमा पुग्ने नेताले जितेपछि फर्किएर आफूहरूका समस्या सुन्न नआएको बालुवाटारवासीको गुनासो छ । दशकौंदेखि बस्दै आएको जमिन आफ्नो नाममा नहुँदा उनीहरू आधारभूत सेवा लिनबाट पनि वञ्चित छन् ।

उतिबेला भीमबहादुरको परिवार चिंगाडबाट धुलियाबिट हुँदै बालुवाटार बसाइँ सरेको थियो । बालुवाटारवासीको मुख्य आयस्रोत गिट्टी बालुवा हो । यसकै भरमा यहाँका नागरिकले गुजारा चलाउँदै आएका छन् ।

बालुवा बेच्ने पेसा भएकै कारण भीमबहादुरले यस ठाउँको नाम बालुवाटार राखिदिएका हुन् । ‘केही वर्ष पहिले एउटा वनको कार्यक्रम थियो । त्यहाँ मलाई पनि बोलाएका थिए, परिचय दिने पालो आयो । परिचय दिनलाई यो बस्तीको नाम थिएन, बालुवा बेच्थिम्  बालुवाटर भनिदिएँ’ उनले भने, ‘त्यसपछि त यो बस्तीको नाम नै बालुवाटार रहयो ।’

जीविका चलाउन कालापहाड

बालुवाटर बस्तीका सुनिल परियार (२२) र वीरबहादुर बैगार (२१) नयाँ वर्ष मानेर कालापहाड (भारत) जाँदैछन् । एक महिना अघिमात्रै घर आइका उनीहरूलाई आफ्नै गाउँ ठाउँमै बसौं भन्ने नलागेको होइन, तर जीविका चलाउने कुनै उपाय छैन् ।

बुढा आमा बुवा, दुई बहिनी, श्रीमती र सानो छोराको जीविकोपार्जन, शिक्षा दिक्षा र टहरो बनाउँदा लागेको ऋणले सुनिललाई घर बस्न दिदैन् । ‘यहाँ बसेर के गरौं, मजदुरी गर्ने ठाउँ छैन्, गिट्टी बालुवा बिक्री गर्न बन्देज छ । परिवारको जिम्मेवारी उठाउनै पर्‍यो,’ सुनिल भन्छन्, ‘डेढ लाख ऋण छ । घर बसेर झन ऋण थपिन्छ । त्यसैले कालापहाड जानुपर्ने बाध्यता छ ।’

सुनिल परियार र वीरबहादुर बैगार ।

 

सुनिल र वीरबहादुर मात्रै हैन् बालुवाटारमा युवा पुस्ताको खडेरी छ । १५ वर्षभन्दा माथिका युवाहरू गाउँमा भेटिंदैनन् । अधिकांश रोजगारीका लागि कालापहाड जान्छन् । बचेका केही युवा गाडी लाइनमा काम गर्छन् । चाडवार्डमा मात्रै घर आउँछन् ।

गाउँमा फेरि स्थानीय तह निर्वाचनको चहलपहल सुरु भएको छ । तर सुनिल र वीरबहादुरलाई चुनावको कुनै उत्साह छैन् । नेताहरू देखे रिस उठ्छ, नेताको बोलीमा विश्वास छैन् । वीरबहादुर भन्छन्, ‘चुनाव जितेपछि, एक पटक फर्किएर हाम्रा पीडा सुन्न त आएनन्, के-को विकास गर्थे । आश्वासन मात्र दिन्छ, रिस उठ्छ नेता देख्दा ।’

पहिलो कार्यकाल सिकाइको कार्यकाल भनेका वीरेन्द्रनगरका स्थानीय जनप्रतिनिधिहरूले बाटो, विद्यालय र स्वास्थ्यलाई विकासको सूचक मानेका छन् । तर प्रदेश राजधानीको प्रवेशद्वार नजिन पक्की सडकबाट ओर्लिनेबित्तिकै देखिने नागरिकको अवस्था भयावह छ ।

शिक्षा, सञ्चार र सड्कबाट वञ्चित

बालुवाटार शिक्षा, स्वास्थ्य र सड्कबाट पनि वञ्चित छ । प्रारम्भिक बालविकास कक्षासमेत छैन । जसले गर्दा त्यो बस्तीका बालबालिकाहरू प्रारम्भिक शिक्षा पाउनबाट वञ्चित छन् । स्कुल उमेरका बालबालिकालाई पढ्न निकै गाह्रो छ ।

नजिक विद्याय नहुँदा जंगलको बाटो भएर धुलियाबिटको शिव माध्यमिक विद्यालयमा पुग्नुपर्छ । दैनिक एक घण्टा विद्यालय आउ-जाउमै लाग्छ । टाढा भएकै कारण यो बस्तीका अधिकांश बालबालिका नियमित विद्यालय जाँदैनन् । बालुवाटारकी फिलिभा गन्धर्व (१८) विद्यालय जानै निकै कठिन हुने बताउँछिन् । ‘बिहानै टिउसन पढ्न जानुपर्छ, जंगलको बाटो भएकाले असुरक्षा हुन्छ,’ उनले भनिन्, ‘धेरैजसो साथीहरू त्यही भएर पनि पढ्न जाँदैनन् ।’

बस्तीमा पाँच कक्षा नपुग्दै विद्यालय छोड्ने बालबालिका धेरै छन् । आर्थिक अवस्था र विद्यालय नजिक नहुँदा बालबालिकाले विद्यालय छोड्ने गरेको अभिभावकहरू बताउँछन् ।

सञ्चारबाट पनि उक्त बस्ती वञ्चित छ । नेपाल टेलिकमको नेटवर्कले यहाँ काम गर्दैन । बस्तीका केही घरमा बत्ती जोडिएको छ । तर राज्यले नभइ व्यक्तिको पहलमा बिजुली बालिएको सोही बस्तीका हिरलाल बैगार बताउँछन् ।

बालुवाटारको अर्को समस्या हो, सडक । यो बस्तीसम्म गोरेटो बाटो मात्र छ । सडक नहुँदा विद्यालय र उपचारका लागि अस्पताल जानसमेत समस्या छ । बस्तीमा कोही बिरामी परे बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ ।

प्रदेश राजधानीको नगरपालिका भएपनि बालुवाटारले आधारभूत सुविधा उपभोग गर्न पाएको छैन । मंगलबार बस्तीमै भेटिएका बालुवाटारका हिरलाल बैगारले नेताहरूप्रति आक्रोश जनाए । ‘हामी सधैं नेताहरूको कठपुतली बन्यौं, नेताहरूले चुनावी बाचा कहिल्यै पूरा गरेनन्’ उनले भने, ‘अब हाम्रो यो बस्तीले भोट दिन्न । यी नेताहरूलाई विश्वास गर्ने आधार नै छैन ।’

संकटमा सारङ्गी

एक समय थियो, बुद्धिसरा गन्धर्व (४७) आफ्ना श्रीमान्सँग सारङ्गी लिएर गाउँ सहर घुम्थिन् । श्रीमान्ले सारङ्गीलाई रेटेर निकालिएको सुमधुर धुनले धेरैलाई मोहित बनाउँथ्यो । गाउँलेहरूले अनाज, पैसा दिन्थे । त्यसैले खाना लगाउन पुग्थ्यो ।

तर आज बालुवाटार बस्तीमा एउटामात्रै सारङ्गी छ । घरको भित्तामा झुण्डाइएको त्यो सारङ्गीमा धुलो जमेको छ । गाउँमा बजाउने मान्छे छैन् । उनकै श्रीमान्ले कहिलेकाँही सारङ्गी रेट्दा उनको मन पनि रेटिन्छ । ‘अहिले सारङ्गी रेटेर माग्न जाँदा, यत्रा पाखुरा छन् कमाएर खाऊ भन्छन् । अपमान सहनु पर्छ’ बुद्धिसराले भनिन्, ‘युवा पुस्तालाई सारङ्गी बजाउन आउँदैन्, हाम्रो सारङ्गी संकटमा छ ।’

सारङ्गीको धुनसँगै गन्धर्व जातिले समाजमा सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सुसूचित गर्ने चलन थियो । सूचना प्रविधिको विकास हुनुअघि सञ्चारको भरपर्दो माध्यम सारङ्गी मानिन्थ्यो । अहिले सूचना प्रविधिको विकास र प्रयोगले यस बाजाको महत्वमा कमी आएको छ ।

बुद्धिसराका अनुसार गन्धर्व समुदायका पुर्खाले सारङ्गीका अलवा कपाल कोर्ने काठको काइँयो र लिखटो उत्पादन गरी त्यसकै बिक्रीबाट पनि गुजारा चलाउने गर्थे ।

बालुवाटारबासी जुर्मुराएका छन्

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै फेरि विभिन्न दलका नेताहरू बालुवाटार बस्तीमा धाउन थालेका छन् । विभिन्न आश्वासन दिन थालेका छन् । तर बालुवाटारवासीलाई कुनै प्रवाह छैन् ।

यसपालि बालुवाटारवासी जुर्मुराएका छन् । आफ्ना समस्याको सम्बोधन नगर्ने पार्टी र नेतालाई बहिष्कार गर्ने उनीहरूको चेतावनी छ । ‘अघिल्लो चुनावमा भोट दिनुहोस्, तपाईंको दुःख देख्छौं भने’ सोही बस्तीकी नन्नकली गन्धर्व (६०) भन्छिन्, ‘हाम्रो अवस्था जहाँको त्यही छ ।’

स्थानीय सरकार बनेपछि उक्त बस्तीका नागरिकलाई ठूलो आश थियो । गाउँघरको सरकारले बस्तीमा सेवादेखि रोजगारीसम्म पुर्‍याउने ठानिएको थियो । तर, पाँच वर्ष बित्यो न बस्तीमा विकास पुग्यो न त्यहाँका बासिन्दाको मुहारमा खुसी नै ।

स्थलगत १ – नेतालाई चुनावको चिन्ता, मतदातालाई गुजाराकै पीर !

स्थलगत २ – भरतपुर महानगर : विभाजित मतदातालाई गठबन्धनको भारी

स्थलगत ३- नेताहरुले आशा देखाए, भरोसा दिएनन्

स्थलगत ४ – रातो कागज !

स्थलगत ५ – सुकुम्बासीको सन्देश : मत दिन तयार छौं, मन बुझिदिनुहोस्

स्थलगत ६ – धवलशमशेरले मैदान छोडेपछि नेपालगञ्जले खोजेको विकल्प

स्थलगत ७ – देशकै गरिब स्थानीय तहमा गरिबी देखाएर भोट माग्छन् नेता

स्थलगत ८ – धरानमा पानी सधैंको चुनावी एजेण्डा, समस्या उस्तै

स्थलगत ९ – नेपालगञ्जको राजनीति : जो पनि केन्द्रकै मुख ताक्ने

स्थलगत १० – तथ्यको तराजुमा विकासको ‘भरतपुर मोडल’

स्थलगत ११ – हेटौंडा उपमहानगर : एमाले विश्वस्त, गठबन्धन आशावादी

स्थलगत १२ – धरानमा धर्मराएको वाम बिरासत

स्थलगत १३ – मेचीपारिको गाउँ : नेताले भोट देखे

स्थलगत १४ – पहिले लालपूर्जा देऊ, अनि मात्र भोट

स्थलगत १५ –संघीयताले फेरेको नरैनापुर

स्थलगत १६ – दलहरूले समेत बेवास्ता गरेको गैरीगाउँ

स्थलगत १७- इटहरी : थारूलाई आफ्नै भूमि बिरानो

स्थलगत १८ – नरैनापुरमा नागरिकता बोकेर लालपुर्जा खोजिरहेकाहरू

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?