+
+
स्थलगत १८- स्थानीय निर्वाचन २०७९ :

नरैनापुरमा नागरिकता बोकेर लालपुर्जा खोजिरहेकाहरू

नागरिकता देखाएर लालपुर्जा खोज्ने लोग्ने मान्छे टोल छिमेकमा देखेपछि ५४ वर्षीया लक्ष्मी रैदासको मुटु पीडाले भरिन्छ । आँखा रसाउँछन् । उनलाई आफ्नो दुःख दुनियाँको सबैभन्दा ठूलो हो भन्ने लाग्छ ।

रघुनाथ बजगाईं दिपेश शाही रघुनाथ बजगाईं, दिपेश शाही
२०७८ चैत २९ गते २०:४०

२९ चैत, नरैनापुर । कसैसँग नागरिकता हुनुले मात्रै नागरिक (मान्छे) हुनुको आभास हुन्थ्यो भने गजराज चमार आज दक्षिण एसियाकै खुसी मुलुकमा दुःखी भएर बाँच्नुपर्ने थिएन । नागरिकताले नागरिक हो भनेर राज्यसँग अधिकारको दाबीसम्म गर्न दिंदोरहेछ । तर, आफू जन्मेदेखि बसिरहेको घर आफ्नो बनाइदिंदो रहेनछ । यही देशको नागरिक हुँ र म बसेको जमिनको लालपुर्जा दिलाइदिनुपर्‍यो भनेर चमारले आजसम्म राज्यका अनेकौं निकायसँग अनगन्ती बिन्ती बिसाइसके । अझैं पाइने हो कि नपाइने हो भन्नेसमेत टुंगो लागेको छैन ।

नेपाल-भारत सीमाको रेखालाई छुने गरी ठडिएका फुसका छाना अघिल्तिरको खाली ठाउँ दुई देशबीचको सीमा कोर्ने दशगजा हो । त्यही दशगजाको भूमिलाई आँगन मानेर गजराज चमारले आफ्नो जीवनका ५२औं वसन्त पार गरिसके । गजराजले पो ५२ वसन्त मात्रै बिताए, उनलाई सम्झना भएसम्म उनीअघिको तीन पुस्ताले पनि त्यही जमिनमा पसिना बगाएर गइसके । तर, अहिलेसम्म आफू र आफ्नो पुर्खाले आर्जेको त्यो जमिनको लालपुर्जा उनले पाएका छैनन् ।

दुःख सुनाउँदै गएपछि गजराजले छोरीलाई आफ्नो नागरिकता ल्याउन अह्राए । छोरीले नागरिकता हातमा राख्न नपाउँदै हामीलाई देखाएर उनले गुनासो पोखे । ‘५२ सालको उमेर भइसक्यो, तर लालपुर्जा छैन हजुर । मान्छे आएर लालपुर्जा बाँड्छौँ भन्न थालेको पनि धेरै वर्ष भयो, अहिलेसम्म आएको छैन,’ गजराजले आश मारेका छैनन् तर, निराशा भने झनझन चुलिँदै गएको छ, ‘खै दिन्छन् होला र !’

पुस्तौंदेखि कमाइ आएको थात्थलोमा माटोकै भए पनि घर हुनु तर, घर ठडिएको जमिन आफ्नो नहुनु अनिश्चियभरी पीडाको एक उदाहरण हो । यो पीडा बाँकेको राप्तीपारी नरैनापुर वडा नम्बर ४ स्थीत घोरदौरीयाको सुकुम्बासी बस्तीबाहेक केही किलोमिटरको दूरीमा रहेको नेपालगञ्जले समेत बुझिदिएको छैन ।

कोही नयाँ मान्छे आयो कि केही दिन आएजस्तो लाग्छ बस्तीका मान्छेहरूलाई । खान र लाउनै नपुग्ने आधारभूत आवश्यक्ताको अभाव लुकाएर आगन्तुकलाई नागरिकता देखाउँदै जमिनको लालपुर्जा माग्छन् उनीहरू ।

धेरैपटक धेरै मान्छेहरू आएर ‘तिमीहरूलाई अब लालपुर्जा दिन्छौं, हामीलाई भोट देऊ’ भन्दै चुनाव जितेर गएपछि नफकिएको गाउलेले बिर्सेका छैनन् । जीवनको ७० वर्ष कटाइसकेकी कचिला पासीका भनाइमा यसरी आश्वासन बाँड्न आउने नेता कति भए गनेरै भन्न हिसाब गर्न गाह्रो पर्छ । तर उनलाई उनको घर आगनमा आएर पटक पटक लालपुर्जा दिलाउछौँ भनेकोचाहिँ कण्ठ छ ।

‘सुकुमवासीको अवस्था राम्रो बनाउँछौँ, सबैलाई लालपुर्जा बाड्छौं भन्थे, मान्छेहरू । तर, आजसम्म केही सुविधा छैन’ पासी भन्छिन्, ‘अघिल्लो चुनावमा पनि आएर लालपुर्जा दिलाउँछौ भनेका थिए । तर, अहिलेसम्म दिएका छैनन् । सयौं परिवारसँग लालपुर्जा छैन ।’

उनलाई एकजना मन्त्रीको नाम भने याद छ, दिनेश चन्द्र यादव । केही वर्षअघि उनी बितिसके । पासीलाई अहिले तिनै यादव बाँचेको भए लालपुर्जा दिलाउँथे कि भन्ने लागिरहन्छ । ‘दिनेशचन्द्र यादव भएको भए दिलाउँथे होला ‘ यादवको मृत्यु भएकैले लालपुर्जा पाइएन कि भन्नेमा छिन् उनी ।

आफ्नो भन्दा सन्तानको पीर

छ भन्नलाई घर छ । बस्ती नजिकै स्कुल छ । अलि पर स्वास्थ्य चौकी छ । हातहातमा नागरिकता पनि छ । तर, पुस्तौंदेखि आफू बस्दै आएको घर उभिएको माटो भने दशगजालाई आगन मानेर सीमावारी बसोबास गर्ने घोरदौरियावासीको आफ्नो हुन सकेको छैन । यहाँको समस्या के हो भनेर सोध्यो भने बस्तीका मान्छेहरू ‘लालपुर्जा’ भनेर जवाफ दिन्छन् ।

ब्रहृमा चमारको उमेर ४० वर्ष पुग्यो । उनको नागरिकता छ । उनका बुबाको पनि नागरिकता थियो । तर, लालपुर्जा छैन । उनलाई यही नहुनुले केही छैनजस्तो लागिरहन्छ । घर जग्गाको लालपुर्जा पाएको भए आफूलाई भन्दा पनि बालबच्चालाई पछिसम्मलाई गरि खान हुन्थ्यो कि भन्ने आशा उनीजस्तै अरू गाउँलेहरूको पनि छ ।

‘लालपुर्जा मिलिहाल्यो भने कम्तिमा बच्चाका लागि गरेर खाने ठाउँ हुन्थ्यो । हामी पनि ढुक्कले मर्न पाउँथ्यौँ । बालबच्चालाई खानका लागि केही भइहाल्थ्यो’ ब्रहृमा भन्छन्, ‘जग्गा जमिन खरिद गर्न सकिँदैन । न कतै विदेश जान सकिन्छ । आउन, जान, पासपोर्ट बनाउन दुई तीन लाख रुपैयाँ लाग्छ । हामीले कहाँदेखि ल्याउने ?’

सम्पत्ति होस् या नहोस् दक्षिण एसियाली समाजमा पुरुषप्रधान मानसिकताले जरा गाडेको तितोसत्य जस्तोसुकै गरिबीमा पनि छिप्दैन । घरमा पुरुष छ कि छैन भन्नेले पनि धेरै अर्थ राख्ने रुढी मानसिकता विद्यमान छ । त्यही मानसिकताको उपज सिमान्त वस्तीभित्र पनि कयौं दृश्य अदृश्य कथाहरू भेटिन्छन् ।

नागरिकता देखाएर लालपुर्जा खोज्ने लोग्ने मान्छे टोल छिमेकमा देखेपछि ५४ वर्षीया लक्ष्मी रैदासको मुटु पीडाले भरिन्छ । आँखा रसाउँछन् । उनलाई आफ्नो दुःख दुनियाँको सबैभन्दा ठूलो हो भन्ने लाग्छ । ‘मेरो भन्नु कोही छैन । न श्रीमान् न छोरा, न जग्गा न जमिन । कुनै साहारा छैन’ रैदास पीडा पोख्छिन्, ‘के गर्नु बहुत दुःख छ । मेरो जस्तो दुःख संसारमा अहिलेसम्म कसैलाई पनि छैन होला ।’

बस्तीमा कोहीकोहीका पक्की घर छन् । धेरैका फुसकै भए पनि सग्ला छाना छन् । परिवारमा लोग्ने मान्छे हुनेले आफ्नो बस्ने अलिकति गतिलो घर बनाएकै छन् । सरकारी आवाश परियोजनाअन्तर्गत गाउँपालिकाले गरेको सहयोगबाट कतिले त इँटाकै घर पनि बनाउने योजना बुन्दैछन् । त्यसैले पनि उनीहरू यतिबेला लालपुर्जा खोजिरहेका छन् ।

तर, त्यही बस्तीमा लक्ष्मी रैदासको घर भने भत्किएको छ । उनलाई आफ्नो पनि श्रीमान् र छोरा बाँचेको भए सरकारका मान्छेसँग भनेर केही जुगाड गर्थे कि भन्ने लागिरहन्छ । तर, उनलाई आफ्नै श्रीमान् बितेको कति भयो भन्नेसमेत पत्तो छैन । ‘श्रीमान् बितेको पनि कति भयो याद छैन । सायद, धेरै वर्ष भयो । सबैले आवाश पाए मैले आवास पनि पाइन । श्रीमान् र छोरो भए ल्याउँथे होला,’ उनलाई अचेल यही लागिरहेको हुन्छ ।

ढल्किनै लागेको उमेरले उनलाई आफ्नो चिन्ता त्यत्तिविधि लाग्दैन, जति पाँच जना नातिनातिनाको लाग्छ । उनलाई नातिनातिनालाई ओत लाग्ने छानो मात्रै बनाउन पाए ‘मान्छे’ भइन्थ्यो भन्ने लागेको छ । ‘मेरो पनि घर बनोस्, म पनि मान्छे बनु । परिवारमा बस्ने र खाने बुहारी र नातिनातिना चार पाँच जना छन् । तर, कमाउने कोही छैन,’ उनी पिरपोलिइ रहन्छिन् ।

गिज्याइ रहन्छ सीमा पारिको बस्ती

माटोको बारमाथि फुसले छाएका करिब एक सयभन्दा बढी छानाहरू ठडिएको बस्ती हो, घोरदौरीया । बस्तीको अगाडि सडकजस्तै देखिने धुलाम्य खाली ठाउँ छ । त्यो सडक होइन, दुई देश छुट्याउने सीमा स्तम्भ राखिएको दशगजा हो । त्यही दशगजाको बीचमा तीन/चार वटा निमका रुखहरू छन् । चैतमासको उखरमाउलो गर्मी छल्न अलिअलि पालुवा हाल्दै गरेका आगन अगाडिका तीनै रुखमुनि खटिया राखेर गाउँलेहरू सुस्ताउँछन् । यही नाम भएको, तिनै निमको रुखबाट त्यति नै दूरीमा पारीपट्टि पनि यस्तै अर्को पनि बस्ती छ । त्यहाँका मान्छे पनि यसै गरी रुखमुनि सुस्ताउन आउँछन् । तर, त्यो भारतको भूमि हो, उनीहरू भारतका नागरिक हुन् ।

त्यति मात्रैले पनि कति फरक परेको छ, आगन जोडिएका छिमेकीको जीवनमा ?

शौचालयकै कथाले स्पष्ट भन्छ । घोरदौरियाको बस्तीमा पुगेपछि सबैभन्दा पक्कि देखिने संरचना नै शौचालय हो । घरहरू त प्रायः वारिपारि नै माटोको घारमाथि फुसले छाएका नै छन् । हामीले ‘किन यस्तो ?’ भनेर बस्तीका मान्छेलाई सोध्यौं ।

ललितचन्द्र प्रजापती ।

ललित चन्द्र (३०) ले सरकारले खुला दिशा मुक्त घोषणा गरेपछि टोलका सबैले खाने छाक काटेरै भए पनि चर्पि बनाएको जानकारी दिए । तर, अहिलेसम्म सबै बनि नसकेकाले प्रायः मान्छेहरू खेततिरै शौच गर्न जाने गरेको यथार्थ पनि उनैले सुनाए । ‘चर्पी ? त्यो त बनेको छ । ऊ त्यहीँ छ नि ! तर, सबै बनिसकेको छैन । अहिलेसम्म त हामी खेततिरै गइरहेका छौं’ उनले भने, ‘सयमा २० वटा चर्पी बनिसकेको छ होला । बाँकी बन्दैछन् । चर्पिमा त हामीहरू अरू नै सरसमान राखिरहेका छौ| ।’

गाउँपालिकाले अनिर्वाय शौचालय बनाउनुपर्ने भनेपछि पैसा नै नहुनेले पनि जोडबल गरेको तर, इट्टा, सिमेन्ट, सरिया आदि निर्माण सामग्री खरिद गर्न नसकेकै कारण बाँकी काम अधुरै रहेको उनले बताए ।

खाली ठाउँको पारिपट्टी भने पक्कि शौचालयहरू थिए । ‘बनिसकेका शौचालयहरू यिनै हुन् ?’ भन्ने हाम्रो प्रश्न खस्न नपाउँदै उनीसँगै बसेका एक अधवैंशे पुरुषले अवधि लवजमा बोलिहाले, ‘यो त हाम्रो हो ।’ उनी भारतीय नागरिक रहेछन्, ४५ वर्षीय  गोदराम । गोदराम आफ्नो सरकारले बनाइदिएको शौचालयका बारे ललितका अगाडि बयान गर्न थालिसकेका थिए । तर, ललितले उनलाई रोकेर आफूलाई आफ्नो सरकारले सहयोग गरेको भनेर दाबी प्रस्तुत गर्दै थिए ।

ललितले जति नै लुकाउन खोजेपनि यथार्थ आँखै अगाडि थियो ।

पारिको बस्तीमा सिमेन्टले प्लास्टर गरेका पक्की शौचालयमा टिनका ढोका लगाइएका छन् । कतिपय शौचालयका छतमा पानीका ड्रम पनि छन् । तर, वारिको बस्तीमा फुसको छानोसँगै जोडिएका निर्माणाधीन शौचालयका पक्कि भग्नावशेषहरू अलपत्र छन् । पारिपट्टिका मान्छेहरू शौच गर्न शौचालमै जान्छन् । तर, वारिपट्टीका शौचालयका भग्नावशेषमाथि कतै पराल, कतै खाद्यन्न त कतै घरायसी औजारहरू राखिएका छन् । मान्छेहरू शौच गर्न लोटा बोकेर खेततिर दौडिन्छन् ।

उताका शौचालय भारत सरकारले बनाइदिएको हो । यता नेपाल सरकारले ‘दिशा मुक्त क्षेत्र’ घोषणा गरेपछि वासिन्दा आफैंले शौचालय बनाउने उदेश्यले प्रयास गरिरहेका छन् । आफ्नै पैसाले बनाएकौ शौचालय पूरा गर्न सकिँदैन कि भन्ने धेरैको चिन्ता छ । ‘गाउँपालिकाले शौचलाय बनाउन सहयोग गर्‍यो भने राम्रो हुन्थ्यो’ भन्ने गीता रैदास र उनका छिमेकीहरूको चाहना छ ।

एउटै नामका यी दुई गाउँका देश फरक छन् । शासकहरू पनि फरक छन् । शासकले हेर्ने दृष्टीकोण पनि स्वभावैले फरक हुने नै भयो । बस्तीका घरहरू बाहेक यस्ता धेरै संरचना छन्, जसले नेपाल र भारत बीचको फरक झल्काउँछन् । पारिपट्टिका स्कुलका भवनहरू पक्कि छन् । शिक्षकहरू नियमित विद्यालय आउँछन् । बालबालिकालाई पनि नियमित विद्यालय आउन भनेर सचेतना बढाइएको छ ।

स्कुल त वारिपट्टि पनि छ, बस्तीको बीचमा । तर, यो खण्डहर छ । बस्तीको सबभन्दा अग्लो संरचना नै त्यही विद्यालय हो । जुन भवनमा न झयाल छन् न त ढोका । केटाकेटी बसेर पढ्ने ठाउँको पनि उस्तै कहालिलाग्दो दृश्य देखिन्छ । शिक्षकहरू स्कुल नआएकै कारण विद्यार्थीहरू पनि धेरैबेर उतै खेली बस्ने लेठो गर्दैनन् । बरु सीमा पारिको स्कुलसम्म पढ्न जान्छन् । बस्तीबाट अलिकति टाढाको दूरीमा रहेको एउटा विद्यालयम भने सीमा पारिका विद्यार्थी पनि पढ्न आउँछन् । तर, यो सुकुमबासी बस्ती हो, त्यसैले आउने भन्दो जाने नै धेरै हुन्छन् ।

उसो त राज्यले दिने कयौं सुविधामा वारि र पारि बीच कति हो कति असमानता छन् । पारिका नागरिकलाई भारत सरकारले रासन कार्डको व्यवस्था गरेको छ । आफ्नै देशको बजारमा गएर सस्तोमा किनबेच गरेर पेट भर्न सक्नै आधार बनाएको छ । तर, वारिपट्टि भने राहात बाँड्न ल्याएको चामल पनि स्थानीय जनप्रतिनिधिले नदिएको दृष्टान्त ताजै छ ।

यसको भुक्तभोगीमध्ये की एक हुन्, साहुको जमिनमा अधिया गरेर परिवारको गुजारा चलाइरहेकी, कचिला पासी । बेमौसममा परेको झरीले खेतमा काटेको धान बगाएर राप्तीमा मिसाइदियो । गर्नसक्ने केही थिएन । सरकारले राहत दिने घोषणा गर्‍यो ।

फसलमा क्षति भएकाको सूची बनायो । सूचीमा कचिलाको पनि नाम त लेखेर लिएको थियो तर, राहातमा दिने भनेको चामल भने दिइएन । वडाध्यक्ष आफैंले लिएको आरोप पासीको छ ।

‘वडा अध्यक्षले चामल ल्याए, हामीलाई दिएनन् । हामीले भाडा हालेर उनको घरसम्म गयौं तर, पाएनौं । नाम छैन भनेर वडाध्यक्षले फिर्ता पठाए’ जान्नेबुझ्नेले नै नदिएपछि धेरै बोल्न नसकेकी पासीले यत्ति त बुझेकी रहिछन्, ‘कागजमा नाम भरेर लैजान्छन् तर, पछि नाम काटिदिने रहेछन् ।’

एउटै बस्तीमा पनि कति फरक पार्दो रहेछ, शासकहरूको दृष्टिकोणले ।

भोट हाल्न छुटाउँदैनन्, वाचा पूरा हुँदैनन्

मुलुकमा स्थानीय तहको निर्वाचन आउनै लाग्यो । मतदानको मिति नजिकिंदै आएपछि बस्तीतिर पनि नेताहरूको चहलपहल बढ्न थालेको छ । स्थानीयदेखि केन्द्रसम्मका मान्छेहरू आएर आश्वासन दिने बेला भयो भन्ने बस्तीका धेरैलाई थाहा भइसक्यो । यसपटक पनि भोट माग्ने ‘मान्छे’ ले लालपुर्जा दिलाउने भनेर हरसम्भव फकाउने छन् भन्ने उनीहरूलाई अहिल्यै थाहा छ । वाचा पूरा हुनेमा शंका भए पनि उनीहरूको आशा मरिसकेको छैन । त्यसैले यसपटक पनि उनीहरू मतदान गर्नेछन् ।

ब्रहृमा चमारले नागरिकता पाएपछि भोट हाल्न छुटाएका छैनन् । बरु नागरिकता कहिले पाएँ भन्ने नै सम्झना छैन । ‘धेरैपटक भोट दिएको छु, कहिलेदेखि दिएँ भन्ने त थाहा छैन । अहिले पनि दिन्छु’ उनी भन्छन्, ‘गाउँ जता हाल्छ, म पनि त्यतै भोट हाल्छु । एक्लै बस्न म पनि सक्दिन ।’

भोट दिने समय आउँदै गर्दा बस्तीका मान्छेहरू पनि उत्साहित हुन्छन । भोट दिन्छन् । तर, भोट पाएर चुनाव जिति जानेहरूले गरेको वाचा पूरा गर्दैनन् । दिलाउँछु भनेको लालपुर्जा दिलाउँदैनन् । ‘कहाँ दिन्छन् ? पछि दिन्छौँ मात्रै भन्छन् । दिन्छु दिन्छु भन्छन तर, दिएको कसैले छैन’ गीता रैदास आफ्नो अनुभव सुनाउँछिन् ।

बस्तीमा अधिकांशको सातआठ जनाको परिवार छ । लालपुर्जा भएको आफ्नै जमिन भयो भने कमाएर परिवार पाल्ने बाहेक अर्को कुनै सपना छैन । तर धेरै प्रयास गर्दा पनि पाइएको छैन । साहुको खेत कहिलेसम्म जोत्न पाइने हो भन्ने निश्चितता छैन ।
‘अरूको खेत अधियामा लिएर काम गर्छौं । अलिकति पनि केही मनमुटाव भयो भने साहुले मेरो खेत नजोत भन्छन्,’ गजराज चमार भन्छन् । भारत जाउँ भने पनि मजदुरी नपाइने, यता पनि गरेर खाने ठाउँ नहुने भएपछि परिवार कसरी पाल्ने भन्ने पीरमा उनी छन् ।

अघिल्लो पटक भोट हालेपछि नै हो बस्तीमा बिजुली बत्ति आएको, पानिको नल्का बनेको र बस्तीमा विद्यालय बनेको पनि । यसपटक पनि भोट हाल्यो भने त लालपुर्जा पनि आउने छ भन्ने आशामा छन्, उनीहरू । तर, दशगजालाई आगन बनाएर सीमानामा पिल्लर बनेर बसेको घोरदौरियाका कसैले आजसम्म यो सत्यमा परिणत भएको देख्न पाएका छैनन् ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

स्थलगत १ – नेतालाई चुनावको चिन्ता, मतदातालाई गुजाराकै पीर !

स्थलगत २ – भरतपुर महानगर : विभाजित मतदातालाई गठबन्धनको भारी

स्थलगत ३- नेताहरुले आशा देखाए, भरोसा दिएनन्

स्थलगत ४ – रातो कागज !

स्थलगत ५ – सुकुम्बासीको सन्देश : मत दिन तयार छौं, मन बुझिदिनुहोस्

स्थलगत ६ – धवलशमशेरले मैदान छोडेपछि नेपालगञ्जले खोजेको विकल्प

स्थलगत ७ – देशकै गरिब स्थानीय तहमा गरिबी देखाएर भोट माग्छन् नेता

स्थलगत ८ – धरानमा पानी सधैंको चुनावी एजेण्डा, समस्या उस्तै

स्थलगत ९ – नेपालगञ्जको राजनीति : जो पनि केन्द्रकै मुख ताक्ने

स्थलगत १० – तथ्यको तराजुमा विकासको ‘भरतपुर मोडल’

स्थलगत ११ – हेटौंडा उपमहानगर : एमाले विश्वस्त, गठबन्धन आशावादी

स्थलगत १२ – धरानमा धर्मराएको वाम बिरासत

स्थलगत १३ – मेचीपारिको गाउँ : नेताले भोट देखे

स्थलगत १४ – पहिले लालपूर्जा देऊ, अनि मात्र भोट

स्थलगत १५ –संघीयताले फेरेको नरैनापुर

स्थलगत १६ – दलहरूले समेत बेवास्ता गरेको गैरीगाउँ

स्थलगत १७- इटहरी : थारूलाई आफ्नै भूमि बिरानो

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?