+
+
व्यङ्ग्य :

म पनि प्रवेश गर्ने !

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०७९ वैशाख १० गते १८:४५

बिहानै रेडियोले हाँडीगाउँका ५०० कार्यकर्ता भद्रगोल पार्टी परित्याग गरी मारमुङ्ग्री पार्टीमा प्रवेश गरेको समाचार प्रसारण गर्‍यो ।

घरको मतानमा रेडियो झुण्ड्याएर भैंसी दुहुदै गरेका वीरकाजी त्यो समाचार सुनेर छक्कै परे । ओहो ! अस्ति मात्रै पनि यही रेडियोबाट हाँडीगाउँका ३०० कार्यकर्ता चोचोमोचो पार्टी परित्याग गरी भद्रगोल पार्टीमा प्रवेश गरेको समाचार सुनेका थिए वीरकाजीले ।

वीरकाजीले मनमनै आफ्नो गाउँको जनसंख्या जोड्यो । पीपलबोट छेउ तीन घरका १८ जना, पाटीटोलको सात घरका ४५ जना, भीरमुनि १५ घरका १०३ जना र आफ्नै घर भएको काजीटोलको आठ घरका ५५ जना । गाउँको जम्मा जनसंख्या २२१ । त्यसमा पनि सात जना विभिन्न खाडी मुलुक पुगेका छन् । १३ जना मतदान अधिकार नभएको १८ वर्ष मुनिका बालबालिका छन् । यसरी हिसाब निकाल्दा पार्टी प्रवेश र मतदानको लागि परिपक्वको जनसंख्या भनेको २०१ छ । अब कसरी एक साताको बीचमा दुई पार्टीमा गरी ८०० कार्यकर्ता प्रवेश गरे होलान् !

उनले यो पार्टी प्रवेशको हिसाबकिताबको मेसो मिलाउनै सकेनन् । अझ भनौं उनले यसबारे त्यति धेरै तथ्य-तथ्याङ्क खोज्नेपट्टि मतलबै राखेनन् । बरु उनको ध्यान त गलाभरिको माला, दुई/चार वटा खादा र निधारमा लामो रातो टीका लगाएर कुनै एउटा पार्टी प्रवेश गर्न पाए हुनेथियो भन्नेतिर पो तानियो ।

तर फसाद ! उनी त कुनै पार्टीको सदस्य नै पो छैनन् त । आफू कुनै पार्टीको सदस्य नै नभएपछि कुन पार्टी परित्याग गरी कुन पार्टी प्रवेश गर्नु र !

उनलाई याद भएसम्म १८ वर्ष पुगेर नागरिकता बनाएपछि पहिलो पटक भोट हाल्दा गाउँकै एक जना ठुटे नेताले भद्रगोल पार्टीको पुतली चिन्हमा भोट हाल्नु है भनेर खल्तीमा ५०० को नोट घुसारिदिएका थिए । उनले मतदान केन्द्रमा पुगेर त्यही पुतली चिन्हमा स्वस्तिक छाप ठोकिदिए । अर्को पटक उही पहिलेकै ठुटे नेताले खल्तीमा हजारको नोट घुसार्दै मारमुङ्ग्री पार्टीको तबेला चिन्हमा भोट हाल्नु है भनेर सुझाए ।

हजारको नोट सम्हाल्दै उनले ती ठुटे नेतालाई सोधेका थिए – हैन अघिल्लो चुनावमा त तपाईंले भद्रगोल पार्टीको पुतली चिन्हमा पो भोट हाल्नु भन्नुभएको थियो । अनि अहिले चाहिं किन मारमुङ्ग्री पार्टीको तबेला चिन्हमा हँ ?

ठुटे नेताले सहजै जवाफ फर्काएका थिए – मैले पार्टी फेरें नि यो पटक । आफू बसेको पार्टी परित्याग गरी अर्को पार्टी प्रवेश गरें ।

किन ? – उसले आँट गरेरै फेरि सोधेको थियो ।
ठूटे नेताले भनेका थिए – कारण धेरै छन् । निर्वाचनमा टिकटको कुरा, टिकटमा पनि पदको कुरा, पैसाको कुरा, प्रतिष्ठाको कुरा, प्रगतिको कुरा, प्रशंसाको कुरा आदी इत्यादी ।

त्यतिबेलै उनको मनमा पार्टी प्रवेशको झट्का परेको थियो । ठुटे नेताको विगत र आगतको राम्रो ज्ञान भएको वीरकाजीले उसको लवाई- खवाई, उठबस, सरसम्पत्तिमा भएको प्रगति देखेर पार्टी प्रवेशको नतिजा उपलब्धिमूलक हुने ठानिसकेका थिए । तर त्यतिबेला उनले पार्टी प्रवेशको मेसो समाउन नसक्दा मतदानको दिन हजार/पाँच सयमै चित्त बुझाउनु परेको थियो ।

यो पटक भने उनी जुनसुकै जुक्ति लगाएर भए पनि कुनै एउटा पार्टी प्रवेश गर्ने निर्णयमा पुगेका छन् । गलामा खादा र माला अनि निधारमा रातो धर्सा टल्काउँदै उनको घरको बाटो तेर्सिने पार्टी प्रवेशीहरूको हुलले उनमा यो पटक पार्टी प्रवेशको हुटहुटी झन् बढी देखिएको छ ।

भैंसी दुहिसकेर दूधको भाँडो खोपामा थन्क्याउँदै उनले कम्मरमा लत्रिएको कछाडलाई कसेर बाँधे । अनि बत्तीस मुजा परेको मैलो ढाकाको टोपी तानतुन पारेर टाउको घुसार्दै भीरमुनि गाउँतिर बत्तिए, उनै ठुटे नेता भेट्न ।

वीरकाजी ठुटे नेताको घरमा पुग्दा ती नेता दुई/चार गाउँलेसँग गफिंदै थिए । शरीरलाई धनुष्टंकार बनाएर उनले ठुटे नेतालाई नमस्कार टक्र्याए । पुरानो स्टिलको गिलासमा बाफ उडाउँदै चिया सुर्काउँदै गरेका ठुटे नेताले रवाफ साथ वीरकाजीलाई सोध्यो- किन आइस् ओई वीरे ?

नामको त आफैं काजी थियो, वीरकाजी । तर उसको वास्तविक काजी त त्यही ठुटे नेता थियो । त्यसैले वीरकाजीले नम्र भावमा विन्ती बिसायो – काजी म पनि पार्टी प्रवेश गर्नु पर्‍यो ।

ठुटे नेता गर्जियो – कौन सा बढी बात छ यार । भोलि लतपते पार्टीको कार्यक्रम छ, त्यो कार्यक्रमको सभापति म नै हो त्यही बेला प्रवेश गर्नु ।

वीरमान फेरि छक्क पर्‍यो । हैन मैले पहिलो पटक मतदान गर्दा यी ठुटे काजी भद्रगोल पार्टीमा थिए । दोस्रो पटक मारमुङ्ग्री पार्टीमा भोट हाल्न यिनैले हजारको नोट खल्तीमा घुसारिदिएका हुन् । अहिले फेरि लतपते पार्टी पो प्रवेश गर भन्छन् !

यो पटक वीरकाजीले ठुटे नेतासँग कुनै सवाल-जवाफ गरेनन् । उसलाई न पार्टीसँग सरोकार थियो, न पार्टीको नीति, कार्यक्रम र सिद्धान्तसँग मतलब थियो, न चुनावमा कसले जित्छ र हार्छ भन्ने कुराको चासो नै थियो । कखरा नपढेको र जम्मा एक भोट भएको वीरकाजीलाई त गलामा खादा र माला अनि निधारमा लामो रातो टीका धस्काएर गाउँलेको अगाडि मञ्चमा उपरखुट्टी लगाएर बस्ने र तल्लो घर माथिल्लो घर त्यही माला-खादा र टीका टल्काउँदै एक-दुई फन्को लगाउने रहर मात्र न थियो ।

वीरकाजीले ठुटे काजीसँग यति चाहिं सोध्यो- काजी मेरो त कुनै पार्टी नै छैन अनि फेरि कुन पार्टीबाट प्रवेश गर्ने त म लतपते पार्टीमा ?

ठुटे नेताले भन्यो- चिन्ता नगर त्यो भोलि नै मिलाउँला । बरु टोलका अरू कोही प्रवेश गर्न इच्छुक छन् भने लिएर आउनू ।

ठुटे नेताको कुराले हौसिएका वीरकाजीले गाउँकै आइते, भुङ्ग्रे, टुलप्रसाद, बाटुली, साइमानहरूलाई सम्झियो । यिनीहरूलाई पनि वीरकाजीलाई जस्तै माला-खादा र निधारमा रातो टीका धस्काउने अनि सूर्ती-मदिरा तान्न दुई चार सय उठाउने लालसा थियो ।

वीरकाजीले ठुटे काजीलाई सोध्यो- प्रवेश गर्दा चुनावमा जस्तो खल्तीमा पैसा घुसार्ने चलन छ कि छैन ? नत्र टोलका अरू चार/पाँच जना प्रवेश हुन्छन् है काजी ।

ठुटे नेताले मुस्कुराउँदै जवाफ फर्कायो – चिन्ता नगर न वीरे, हाम्रो यो पार्टीमा सबै धनाढ्यहरू मात्रै छन् । तँ मानिस बटुल्ने काम गर न पैसाको चाजोपाँजो म मिलाइहालुला नि !

रातभरि चटारो भयो वीरकाजीलाई । तल्लो घर, माथिल्लो घर, वल्लो घर, पल्लो घर सबैतिर खै गर्‍यो । अनि भोलिपल्ट सखारै पुग्यो कार्यक्रम स्थलमा । वीरकाजी पुग्दा कार्यक्रम स्थलमा ठुटे नेता र अरू दुई चार जना कार्यक्रम स्थल सिंगार्ने खेतीमा व्यस्त थिए । वीरकाजीले पनि मञ्च बनाउने, कुर्सी मिलाउने, ब्यानर टाँग्ने काममा सघाइलाग्यो ।

अब कार्यक्रम स्थलमा मानिसहरू थपिंदै गए । निर्धारित समयकै आसपास लतपते पार्टीको नेता पनि आइपुगे । ठुटे नेता र गाउँका अरू आसेपासे पनि मञ्चतिर उक्लिए । कार्यक्रम सुरु भएपछि नेताले भाषण ठोक्न थाल्यो । सहभागीहरूले परर्र….परर्र ताली ठोक्न थाले । वीरकाजीले पनि अरूको तालीको तालमा आफ्नो दुई हातलाई जोड जोडले ठटाउन थाल्यो ।

नेताको भाषण सकिएपछि निर्धारित कार्यतालिका अनुसारकै पार्टी प्रवेश कार्यक्रम सुरु भयो । वीरकाजी लगायत गाउँका १०/१२ युवा, केही अधबैंसे र केही ज्येष्ठ नागरिकलाई फूलमाला, खादा र रातो टीका लगाएर नेताजीले पार्टी प्रवेश गराए । ठुटे नेता मञ्चबाट तल ओर्लिएर वीरकाजीलाई अंकमाल गर्‍यो र चुनाव ताकाकै शैलीमा सुटुक्क खल्तीतिर हात घुसारेर हजारका केही नोट राखिदियो ।

कार्यक्रम सकिएपछि सबै तितरवितर भए । वीरकाजी पनि आफ्नो टोलका पार्टी प्रवेशीहरूलाई पछि लगाएर गलाको माला र खादा मिलाउँदै नजिकैको भट्टीतिर छिर्‍यो । सबैले लोकल ठर्रा दुई-दुई गिलास भ्याए र लर्खराउँदै घरतिर लागे ।

सधैं बिहान पाँचै बजे उठेर भैंसीको गोबर सोहोर्ने र दूध दुहुने कर्म सकिसक्ने वीरकाजी ठर्राको प्रभावले आज भने झण्डै सात बजेसम्मै निदाएछ । निद्राले छोड्नासाथ उठेर मतानतिर दौडिएका वीरकाजीले हतार- हतार रेडियो खोले । रेडियोमा सात बजेको समाचार आउँदै थियो- यो रेडियो नेपाल हो… हिजो हाँडीगाउँमा सम्पन्न लतपते पार्टीको आमसभामा मारमुङ्ग्री पार्टीका टोल कमिटी अध्यक्ष वीरकाजीसहित डेढ सय कार्यकर्ता उक्त पार्टी परित्याग गरी लतपते पार्टीमा प्रवेश गरेका छन् … ।

समाचार सुनेर वीरकाजी फेरि एकपटक चकित पर्‍यो । मनमनै खुसी पनि भयो । राजनीतिक रूपमा कुनै पहिचान नभएका उनलाई रेडियोको समाचारले मारमुङ्ग्री पार्टीको टोल कमिटी अध्यक्ष बनाइदिएको थियो । अनि जम्माजम्मी १० जना जतिले फूलमाला, खादा र टीका लगाएको कुरालाई डेढ सयले प्रवेश गरेको भनेर प्रचार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?