+
+

बेरुजु फर्स्यौट गर्न सरकार प्रयत्नशील छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १७:०९

१५ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बेरुजु फर्स्यौटलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । महालेखा परीक्षकको ६४ औं वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नीति तथा कार्यक्रममै बेरुजु फर्स्यौटलाई प्राथमिकतामा राखिएको बताए । अर्थमन्त्री शर्माले भने, ‘सार्वजनिक आर्थिक कारोबार सञ्चालनमा पारदर्शीता र स्वच्छता कायम गर्न सरकार प्रतिबद्ध छ ।’

उनले लेखा परीक्षकहरुबाट प्राप्त सुझावहरु कार्यान्वयन गर्न तथा बेरुजु फर्स्यौट गर्न सरकारले निरन्तर प्रयत्न गरिरहेको समेत बताए । बेरुजु फर्स्यौटका लागि अहिलेसम्म अपनाएका विधि र प्रकृयाका बारेमा समीक्षा गर्नुपर्ने आवश्यकता देखेको समेत उनले बताए । ‘बेरुजु किन बढ्दै गएको छ, कहाँनेर हाम्रो कमी कमजोरी भयो भन्ने कुराको अध्ययन, अनुसन्धान गरेर निराकरण गर्नुपर्ने आवश्यकता छ’ उनले भने ।

संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहको लेखा परीक्षण गर्नुपर्ने जिम्मेवारी पूरा गरी वित्तीय व्यवस्थापन चुस्त, दुरुस्त बनाउन पहिले झैं यस वर्षपनि महालेखा परीक्षकबाट सुझाव प्राप्त हुने अर्थमन्त्री शर्माले विश्वास व्यक्त गरे । संविधान र प्रचलित कानुनअनुसार सुशासन कायम गर्न उल्लेखनीय कार्य गरेको भन्दै उनले महालेखा परीक्षक र मातहतका कर्मचारीको प्रशंसा गरे ।

‘सार्वजनिक खर्च तथा स्रोतको दुरुपयोग, राजस्वतर्फ भएका चुहावट, हिनामिना, न्यूनबिजकीकरण, अनौपचारिक क्षेत्रबाट अर्थतन्त्रमा परेको नकारात्मक असर, सार्वजनिक तथा संगठित संस्था सञ्चालनका बिषयहरुमा भने थप ध्यान दिनुपर्ने देखेको छु’ उनले भने ।

अर्थमन्त्री शर्माले वर्तमान अर्थतन्त्रका बारेमा महालेखा परीक्षकको कार्यालयबाट अध्ययन र विश्लेषण भई सुझाव पाउने अपेक्षा राखेको पनि बताए ।

‘एकातिर अर्थतन्त्रको आकार दिन प्रतिदिन फराकिलो बन्दै गएको छ भने अर्कोतर्फ आर्थिक परिसूचकहरुमा उतारचढाव आइरहेको छ । यसो हुँदा अर्थतन्त्रका समग्र पक्षमा गहन अध्ययन, विश्लेषण र मूल्यांकन गर्नुपर्ने आवश्यकता देखेको छु,’ उनले भने, ‘यसमा महालेखा परीक्षकको कार्यालयका तर्फबाट शसक्त अध्ययन, विश्लेषण भई सुधारका लागि सुझाव पेश हुने अपेक्षा गरेको छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?