हाल नेपालमा रहेको रासायनिक मलको हाहाकारलाई मध्य नजर गरेर हेर्ने हो भने उचित समयमा रासायनिक मल नपाउनाले बाली उत्पादनमा ह्रास आउनुका साथै यसपछिको बालीमा पनि त्यसको असर देखिन जान्छ । रासायनिक मल समयमा प्रयोग नगर्दा माटोमा भएका तत्वहरू बिरुवाले लिंदा कालान्तरमा माटोमा तत्वहरूको कमी हुन गई विभिन्न रोग कीराको आक्रमण हुने गर्दछ ।
नेपालको यही स्थिति हो भने अझै धेरै वर्ष हाम्रा कृषक रासायनिक मलको लागि तड्पिनुपर्ने अवस्था रहन्छ । त्यसैले रासायनिक मलको प्रयोगमा कमी ल्याउने विकल्पको रूपमा रहेको गोठे मल, हरियो मल, गड्यौला मल, कम्पोष्ट मल, कुखुराको मल, शहरी फोहोरको कम्पोष्ट, भान्साघरबाट निस्केको फोहोरको कम्पोष्ट आदि मलको उचित व्यवस्थापन र प्रयोगमा ल्याउनुपर्ने देखिन्छ ।
हरियो बोट–बिरुवा त्यहीं गरामा उमारेर फूल फुल्नु अगावै माटोमा पुरी कुहाएर बनाउने वा वनस्पतिलाई बाहिरबाट ल्याई हरियो अवस्थामा नै गरामा पुरी कुहाएर बनाउने मललाई हरियो मल भनिन्छ । हरियो मलको प्रयोग दुई किसिमबाट गरेको पाइन्छ-
१. स्थलगत हरियो मलको प्रयोग
२. बाहिरबाट ल्याई प्रयोग गरिने हरियो मल
१. स्थलगत हरियो मलको प्रयोग
हलक्कै बढ्ने खालको र माटोमा मिसाएपछि छिटो कुहिन सक्ने, खास गरेर दलहन जातीय बालीलाई हरियो मल प्रयोग गरिने जग्गामा लगाएर वनस्पतिक वृद्धि गराइन्छ र उचित अवस्थामा माटोमा मिसाइन्छ । यस विधि अनुसार हरियो मलको रूपमा प्रयोग गर्दा निम्न बालीहरूलाई उपयोगमा ल्याउन सकिन्छ ।
बाली | लगाउने समय | हरियो पदार्थमा नाइट्रोजन प्रतिशत | नाइट्रोजन स्थिरीकरण कि.ग्रा. प्रति हेक्टर |
ढैंचा | वर्षायाम | ०.४२ देखि ०.५३ | ७० देखि १०० |
सनई | वर्षायाम | ०.६ | ७० |
मुंग | वर्षायाम | ०.५३ | ३५ |
बोडी | वर्षायाम | ०.४९ | ५० |
ज्वाइन्ट भेच | वर्षायाम | ०.६ | ९० |
भटमास | वर्षायाम | – | – |
बकुला सिमी | हिउँद याम | – | – |
बर्सिम | हिउँद याम | ०.४३ | ५४ |
२. बाहिरबाट ल्याई प्रयोग गरिने हरियो मल
बाहिरबाट हरियै अवस्थामा ल्याएको विभिन्न बिरुवाका पात र हाँगा मलको रूपमा खेती गरिने जग्गामा खनजोतसहित माटोमा मिलाउने गरिन्छ । असुरो, तितेपाती, वनमारा, उत्तिस, सिरिस, एजोला आदिलाई यसरी प्रयोग गरिआएको पाइन्छ । यस तरिकामा हरियो मल बालीको स्रोत मुख्यतः वन, जंगल, पखेरो, सीमान्त भूमि, पैनी, बारीको डिल, बार–बन्देज आदि हुन सक्दछन् । यस तरिका अनुसार नेपालमा प्रयोग गर्न सकिने विभिन्न हरियो मल बाली र त्यसमा भएको खाद्यतत्वको मात्रा यस प्रकार छन् :
हरियो मल बाली | नाइट्रोजन (प्रतिशत) | फस्फोरस (प्रतिशत) | पोटास (प्रतिशत) |
तितेपाती | २.४ | ०.४२ | ४.९ |
असुरो | ४.३ | ०.८८ | ४.४९ |
वनमारा | २.३५ | ०.७१ | ३.९८ |
इपिल इपिल | २.० देखि ४.३ | ०.२ देखि ०.४ | १.३ देखि ४ |
एजोला | ३.० देखि ५.० | १.० | २.० देखि ३.० |
सिरिस | २.९ | ०.६५ | २.५९ |
तारामण्डल | ४.९६ | ०.८७ | ५.२३ |
खिर्रो | २.८ | ०.७९ | २.८९ |
हरियो मल बाली कस्तो हुनुपर्दछ ?
- हलक्कै बढ्ने खालको,
- थोरै समयमा धेरै हरियो पदार्थ पाउने खालको,
- जमिनलाई चाँडै ढाक्ने खालको,
- कमलो,
- झारलाई उछिन्ने र झारको प्रकोप कम गराउने खालको,
- गहिरो जरा जाने खालको,
- वायुमण्डलीय नाइट्रोजन स्थिरीकृत गर्न सक्ने,
- विषम हावापानीमा पनि बढ्न सक्ने खालको हुनुपर्दछ ।
मुख्यतः एकल वा मिश्रित बालीको रूपमा हरियो मल बाली लगाउन सकिन्छ । बालीचक्रमा ढालेर उपयुक्त बाली लगाउन बेस हुन्छ । हरियो मल बालीमा सकेसम्म कोसेबाली लगाउनुपर्छ ।
हरियो मल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
- स्थलगत हरियो मलको रूपमा प्रयोग गरिने बाली गहिरो जरे बाली हुनु उपयुक्त हुन्छ । बाली प्रणालीमा नै हरियो मल बाली समावेश गर्न राम्रो हुन्छ, तर हरियो मल भन्दा अन्य बालीबाट बढी फाइदा हुने अवस्थामा बाहिरबाट ल्याई हरियो मल प्रयोग गरिंदा लाभप्रद हुन सक्छ ।
- सिंचाइ सुविधा नभएको अवस्थामा, जमिनमा उपयुक्त चिस्यान भएको समयमा अथवा हलुका सिंचाइ गरेर हरियो मल बाली लगाउनुपर्छ र प्रशस्त चिस्यान भएको बेलामा मात्र हरियो मल माटोमा मिलाउनुपर्छ ।
- मुख्य बालीमा वानस्पतिक वृद्धि हुने अवस्था र बढी नाइट्रोजन चाहिने अवस्थामा कुहिने प्रक्रिया चालु रहने गरी हरियो मल माटोमा मिलाउनु त्यति उपयुक्त हुँदैन, त्यस्तो अवस्था आइपरेमा बाहिरबाट नाइट्रोजनयुक्त मल राख्नुपर्ने आवश्यकता हुन्छ ।
हरियो मलको प्रयोगले के गर्छ ?
- माटोमा प्रांगारिक पदार्थ थप्नुको साथै बिरुवालाई आवश्यक पर्ने सबै खाद्यतत्व उपलब्ध गराउँछ ।
- माटोमा सूक्ष्मजैविक क्रियाकलाप बढाई उसको उत्पादन क्षमता बढाउँछ ।
- भू–क्षय नियन्त्रणमा सहयोग गर्दछ ।
- माटोबाट चुहिएर गएका खाद्यतत्वहरूको बचावट गर्दछ ।
- महँगो रासायनिक मलको आवश्यकता कटौती गर्दछ ।
- सीमान्त भूमि तथा बाली चक्रमा खाली रहेको जग्गाको सदुपयोग गर्दछ ।
- दलहन जातीय हरियो मल भएमा हावाको नाइट्रोजनलाई माटोमा स्थिरीकरण गर्दछ ।
- माटोको भौतिक, रासायनिक र जैविक गुणमा सुधार ल्याउँछ ।
नेपालमा प्रचलित बाली प्रणाली र हरियो मलको प्रयोग
प्रचलित बाली प्रणाली | उपयुक्त हरियो मल प्रविधि |
धान बालीमा आधारित
|
|
मकै बालीमा आधारित (२०० प्रतिशतका घुमन्ते बाली सघनता)
|
|
|
|
|
|
प्रतिक्रिया 4