+
+

सुन तस्करी मुद्दामा फैसला गर्ने न्यायाधीशको कालीकोट सरुवा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १६:५८

११ साउन, विराटनगर । संगठित रुपमा भएको सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या मुद्दाको फैसला गर्ने जिल्ला अदालत मोरङका प्रमुख न्यायाधीश भरत लम्सालको कालीकोट सुरुवा भएको छ । न्याय परिषदले २२४ जना न्यायाधीशकोे सरुवा गर्दा लम्साललाई कर्णालीको कालीकोट सरुवा भएका हुन् ।

गत असोज १९ गते लम्सालको इजलासले सुन तस्करी मुद्दामा पक्राउ परेका सबैलाई सफाइ दिएको थियो । सुन तस्करी गर्ने मुख्य नाइके भनिएका चुडामणि उप्रेती गोरेका सहयोगी सनम शाक्य हत्या अभियोगमा भने ८ जना आरोपीलाई कारागार सजायको फैसला भएको थियो ।

मोरङका १ नम्बर न्यायाधीश मेदिनप्रसाद पौडेल उच्च अदालतमा बढुवा भएपछि लम्साल २०७८ वैशाख ६ गते मोरङ जिल्ल अदालतमा हाजिर भएका थिए । कन्चनपुर दरबन्दी भएका उनको त्यसबेला काज सरुवा भएको थियो ।

सामान्यतया न्यायाधीशको सरुवा दुई वर्षमा हुन्छ । तर लम्सालको एक वर्षमै विकट जिल्लामा सरुवा भएको हो । पौडेल भन्दा अगाडि मोरङको १ नम्बर न्यायाधीश राजुकुमार खतिवडाको काठमाडौँ जिल्ला अदालत सरुवा भएको थियो ।

लम्सालसहित मोरङका १० जना न्यायाधीशको सरुवा भएको छ । अन्य न्यायाधीको भने सरुवाका लागि समय अवधि पुगेको थियो । ‘श्रीमानको सरुवा अवधि पुगेको थिएन, एक वर्ष अगाडि नै भयो,’ अदालत स्रोतले भन्यो, ‘मोरङको प्रमुख श्रीमानको सरुवा मुद्दाको चाप हुने जिल्लामा हुन्थ्यो, लम्साल श्रीमानको भने विकट जिल्ला परेको छ ।’

लम्सालको इजलासले गत असोज १९ गते सुन तस्करी मुद्दामा तस्करीको दाबी नपुग्ने फैसला गरेको थियो । शाक्यको हत्या अभियोगमा तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका चुणामणि उप्रेती गोरेसहित उनको सवारी चालक टेकराज मल्ल ठकुरी, सहयोगी लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैद सजायको फैसला सुनाएको थियो ।

भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो । गोरेलाई शरिर बन्धन तथा अपहरण मुद्दामा १० वर्ष कैद र एक लाख जरिवाना र मृतक परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने फैसला भएको थियो ।

२०७४ माघ ९ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भित्रिएको तस्करीको साढे ३३ किलो सुन हराएपछि खोजी गर्ने क्रममा गोरेसहितको समूहले २०७४ फागुन १८ गते सनम शाक्यको हत्या गरेको दाबी सरकारी वकिलको थियो । सो मुद्दामा दुईवटा पुरक अभियोगसहित ७७ जनालाई प्रतिवादी बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?