+
+

पोखराको हालको विमानस्थलमा आवास गृह र व्यापारिक भवन बन्ने

अच्युत पुरी अच्युत पुरी
२०७९ साउन १९ गते १५:०२

१९ साउन, काठमाडौं । पोखरामा नयाँ क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल निर्माण भएपछि अहिले सञ्चालनमा रहेको पुरानो विमानस्थलको जग्गा उपयोग गर्न प्राधिकरणले योजना बनाउन सुरु गरेको छ ।

सो विमानस्थलको वैकल्पिक प्रयोगको योजना बनाउन मात्र प्राधिकरणले यस आवमा २० लाख रुपैयाँ बजेट खर्च गरेर परामर्श सेवा लिने भएको छ । प्राधिकरणले चालु आवको बजेटमा सो व्यवस्था गरेको हो ।

प्राधिकरणले पुरानो विमानस्थल क्षेत्रभित्रै कर्मचारी आवास गृह बनाउने गरी चालु आवमै बजेट राखेको छ । बहुवषिर्य आयोजना अन्तर्गत यस विमानस्थल क्षेत्रमा आवास गृह बनाउन ३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

प्राधिकरण स्रोतका अनुसार अहिले आवास गृह अगाडि बढाइहाल्ने योजना छ । अन्य योजना भने परामर्शदाता कम्पनीबाट प्राप्त हुने प्रतिवेदनका आधारमा अगाडि बढाइने छ ।

प्राधिकरणले पोखराको पुरानो विमानस्थल क्षेत्रभित्रै बहुउद्देश्यीय व्यापारिक भवन समेत बनाउने योजना बनाइरहेको छ । ‘पार्कसहितको संरचना बनाउने र त्यसमा क्याफे, रेष्टुरेन्टहरुसहितको व्यवसायिक गतिविधि सञ्चालनको सोच बनाइएको हो,’ प्राधिकरण स्रोतले भन्यो,’पुरानो विमानस्थलको प्रयोग गर्ने सम्बन्धी योजनामा यसलाई समेट्छौं ।’

पोखरामा ११ सय ५६ रोपनी क्षेत्रफलमा २०१५ सालबाट विमान सेवा सुरु भएको हो । पर्यटकीय राजधानी मानिने पोखरा धेरै यात्रुले यात्रा गर्ने आन्तरिक विमानस्थलमध्ये एक हो । पोखराको अहिले सञ्चालनमा रहेको विमानस्थलमा ११४४ मिटर लम्बाई र ३० मिटर चौडाईको धावनमार्ग रहेको छ ।

यो विमानस्थलमा अहिले एटीआर ७२ क्षमताका जहाजहरुको उडान अवतरण भइरहेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार ‘क्याटवरी ४’ स्तरको ‘रेक्यू तथा फायर फाइटिङ’ सेवा यहाँ उपलब्ध रहेको छ ।

यो विमानस्थल ‘भिजुअल फ्लाइट रुल (भीएफआर) प्रणालीमा मात्र सञ्चालनमा रहेका कारण यहाँ रात्रिकालीन उडान भने हुँदैन । यो विमानस्थल क्षेत्रीय उडानका लागि हव गन्तब्यका रुपमा स्थापित भएको छ ।

साहसिक गतिविधिबारे अन्योल

वायुसेवा कम्पनीहरुले पोखरालाई आधार बनाएर जोमसोम, नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरामा उडान विस्तार गरिरहेका छन् । यहाँबाट माउन्टेन फ्लाइटसमेत हुन्छ । पोखरा हेलिकोप्टर र अल्ट्राफ्लाइट समेत नियमित उडान हुने व्यस्त विमानस्थल हो ।

नयाँ विमानस्थल निर्माणको काम भने अन्तिम चरणमा पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार यो विमानस्थलमा संरचना निर्माणको काम पुरा भइसकेको छ । अहिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सामुन्नेमा रहेको रिट्ठेपानी डाँडा कडान र ल्याण्डफिल साइट हटाउने काम भने बाँकी छ ।

विमानस्थललाई यसै आर्थिक वर्षबाट सञ्चालनको योजना रहेको छ । पोखरामा २२ अर्ब रुपैयाँ लगानीमा नयाँ विमानस्थल बनेको हो । जसमा २५ सय मिटर लामो धावनमार्ग रहेको छ । यस विमानस्थलमा अहिले नेपाल एयरलाइन्ससँग रहेको ए-३२० क्षमताका जहाजले उडान/अवतरण गर्न सक्छन् ।

पोखरामा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण भएसँगै पोखराको शाहसिक पर्यटकीय गतिविधिको भविश्य समेत अन्यौलमा छ ।

यी गतिविधिहरु कसरी सञ्चालन गर्ने भन्ने योजना समेत अहिलेसम्म बनिसकेको छैन । पोखरामा प्यालाग्लाइडिङ, अल्ट्राफ्लाइट, हट एयर बेलुनसहितका शाहसिक पर्यटकीय गतिविधि सञ्चालन हुन्छन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?