+
+

टान नेतृत्वका लागि त्रिपक्षीय भिडन्त

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते १२:५१

२९ साउन, काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । निर्वाचन सोमबार हुँदैछ ।

निर्वाचनमा पर्यटन व्यवसायी निलहरि बास्तोला, कमल सापकोटा र बोधराज भण्डारी प्यानलसहित भिड्दैछन् । बास्तोला एमालेको एउटा समूह र कांग्रेस निकट व्यवसायीको संयुक्त उम्मेदरवार हुन् । सापकोटा माओवादी निकट व्यवसायी हुन् । उनलाई एमालेको अर्को समूहले समर्थन गरेका छन् । भण्डारी स्वतन्त्र उम्मेदवारका रुपमा भिड्न लागेका हुन् ।

अध्यक्षका प्रत्यासीहरु यतिबेला व्यवसायीसँग छलफल र चुनावी प्रचार–प्रसारको अन्तिम तयारीमा जुटेका छन् । अध्यक्षका प्रत्यासी निलहरी बास्तोलाले व्यवसायीले खोजेजस्तो टान बनाउन आफूले उम्मेदवार दिएको बताए । उनले टान व्यवसायमैत्री नभएको गुनासो बढिरहेको सन्दर्भमा टानलाई वास्तविक व्यवसायीको संस्थाको रुपमा स्थापित गर्न पहल गर्ने प्रतिवद्धता उनको छ ।

बास्तोलाले आफू नेतृत्वमा पुगेमा पर्वतीय पर्यटन व्यवसायीको हकहितका लागि काम गर्ने बताए । दुई वर्षको कार्यकालमा टानको कार्यसमितिमा बसेर काम गरेको अनुभव र पर्वतीय पर्यटनमा २७ वर्ष काम गरेको अनुभवलाई ट्रेकिङ व्यवसायीका हितमा लगाउन चाहेको उनको भनाइ छ । उनले अहिलेसम्म व्यवसायीले टान खोज्नुपर्ने अवस्थाको अन्त्य गर्दै टानले व्यवसायी खोज्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

अध्यक्षका अर्का प्रत्यासी कमल सापकोटाले टानलाई सुदृढ तुल्याउँदै पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई प्रभावकारी बनाउन नेपाल पर्यटन बोर्डसँगको साझेदारितालाई फराकिलो बनाएर अघि बढ्ने योजना रहेको बताए । उनले बोर्डलगायत तीनवटै तहका सरकारसँग सहकार्य गरेर पर्वतीय पर्यटनको विकासमा जुट्ने बताए । एजेन्सीमार्फत पदयात्रामा जानुपर्ने अनिवार्य व्यवस्था मिलाउनुका साथै क्षतिग्रस्त पदयात्रा पुनःनिर्माण तथा नयाँपदमार्गको पहिचान र प्रवर्द्धनमा जुट्ने योजना रहेको बताए ।

स्वतन्त्र समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका भण्डारीले सामाजिक सञ्जालमार्फत १५ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेर चुनावी माहोल आफ्नो पक्षमा बनाउन लागि परेको बताए । उनले टानलाई राजनीतिबाट मुक्त बनाएर पूर्ण व्यवसायिक बनाउने तथा टान सचिवालयलाई व्यवस्थित बनाएर सदस्य व्यवसायीको हित अनुकूल काम गर्ने योजना रहेको बताए ।

यही साउन ३० गते हुने टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ । एक हजार ८०० व्यवसायी आबद्ध टानमा निर्वाचनका लागि एक हजार २५० मतदाता छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?