+
+
अलबिदा प्रदीप गिरि :

चिन्तनको विश्वविद्यालय, जसबाट कम्युनिष्टले पनि सिक्थे

सइन्द्र राई सइन्द्र राई
२०७९ भदौ ५ गते १८:३४

५ भदौ, काठमाडौं । ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९:३० बजे समाजवादी चिन्तक प्रदीप गिरिको निधन भएको छ । भारतको मुम्बईमा क्यान्सरको उपचार गरी फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता अस्पताल भर्ना गरिएको थियो ।

क्यान्सर बिरामी गिरिमा निमोनिया देखिएपछि स्वास्थ्य अवस्था शुक्रबार नै जटिल बनिसकेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल नै पुगेर गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन् भने शुभेच्छुकहरुले स्वास्थ्य लाभको कामना गरिरहेका थिए । शनिबार उनको परिवारले निमोनियाका कारण धेरै अंगहरु फेल भइरहेको जानकारी दिंदै शुभेच्छुकहरुलाई धन्यवाद दियो ।

राति अबेर गिरि आवद्ध दल नेपाली कांग्रेसले निधन भएको पुष्टि सहित अन्तिम श्रद्धाञ्जलीको कार्यक्रम सार्वजनिक गरेको छ । ‘हामीले एक व्यक्ति होइन, सिंगो विश्वविद्यालय गुमायौंं’ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा भन्छन्, ‘चिन्तनको धरोहर गुमायौं ।’

गिरि नेपाली कांग्रेसका नेता एवम् सांसद भन्दा बढी आमस्वीकार्य चिन्तकका रुपमा स्थापित थिए । त्यसैले उनको निधनअघि नै अनेक क्षेत्रका दिग्गज व्यक्तिहरुले स्वास्थ्य लाभसहित उनको योगदान सम्झन थालेका थिए । धेरैले सामाजिक सञ्जाल र कतिपयले आमसञ्चार माध्यममार्फत स्वास्थ्य लाभको कामनामा लेख नै प्रकाशित गरे ।

तर ७५ वर्षे गिरिले मृत्युलाई जित्न सकेनन् । ‘कर्मले, लेखनले, विचारले, चिन्तनले, समयले र परिश्रमले अहिलेको समाजवादी आन्दोलनका सम्भवतः सबैभन्दा अग्लो व्यक्ति हुन्, प्रदीप गिरि’, मार्क्सवादी अध्येता एवम् एमाले नेता घनश्याम भूसाल भन्छन् । बौद्धिकता, राजनीतिक सक्रियता र प्रतिबद्धतालाई एकैठाउँमा राखेर हेर्दा प्रदीप गिरि जत्तिको कोही मान्छे अब बाँकी नरहेको उनी बताउँछन् । ‘प्रदीप गिरिको मृत्यु समाजवादी आन्दोलनका निम्ति ठूलो क्षति हो’ भूसाल भन्छन् ।

उनीप्रति देखिएको असाधारण प्रेममा गिरिको व्यक्तित्व झल्किएको कांग्रेस महामन्त्री शर्मा बताउँछन् । ‘सत्ताप्रति कहिल्यै मोह नराख्ने, मनमौजी र समाजवादी आन्दोलनप्रति प्रतिबद्ध व्यक्तित्व स्थापित गर्नुभयो’ शर्मा भन्छन्, ‘कसैले सानिध्य धेरै र कसैले थोरै पायौं होला । तर हरेकले अथक योद्धा र महान् गुरु गुमायौं ।’

गिरिलाई अनेक तप्काबाट उच्च श्रद्धाका साथ सम्झनुमा उनले बाँचेको जिन्दगी र बाँडेको चेतना नै हो । सिराहाको एउटा सम्पन्न परिवारमा २००४ मा जन्मिएका गिरि आजीवन समाजवादी निष्ठामा अडिग रहे । सम्पत्ति, शक्तिको प्रलोभन र भयबाट टाढा रहेर बोले, लेखे र चिन्तन गरे ।

कांग्रेसमा सक्रियता र सहभागिता भए पनि कम्युनिष्टहरुमा पनि उत्तिकै उनी सुनिने व्यक्ति रहे ।

यदि शक्तिको आशक्ति हुँदो त, वैभवको जिन्दगी जिउने अवसर अनेकपटक गिरिको जिन्दगीमा आयो । उनका दुई काका प्रधानमन्त्री र गृहमन्त्री जस्तो शक्तिशाली व्यक्ति बने । पञ्चायतमा तुलसी गिरी प्रधानमन्त्री र रुद्र गिरी गृहमन्त्री भए । २०१५ सालमै तुलसी र रुद्र सांसद थिए ।

तर काकाहरू हिंडेको बाटो उनी हिंडेनन् । पिता मित्रलालले रोजेको राजनीति, कांग्रेस र समाजवादको मार्गमा आजीवन रहे । राजनीतिक परिवारमा हुर्किएकाले गिरि त्यही क्षेत्रमा रहिरहे ।

रहरले नभएर घटनाक्रमले राजनीतिमा होमिन पुगेको प्रष्टोक्ति बाँचुञ्जेल दिएका गिरि एसएलसीपछि काठमाडौं आए पनि उच्च शिक्षा भारतबाट लिएका थिए । भारतमै समाजवादी नेताहरुलाई अध्ययन गरे, संगत गरे । २०२४ सालमै छात्र संघका उपाध्यक्ष निर्वाचित गिरिले जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरे ।

नेपाल फर्किएपछि २०२५ र २०४२ सालमा गरी चार वर्ष जेल जीवन बिताए । त्यसैबेला दरबारले राजकीय अवसरको प्रस्ताव गरे । तर गिरिलाई आफू हिंडेको आन्दोलन प्रिय थियो, सामाजिक जागरण प्यारो लाग्यो । प्रतिबन्धित पत्रिका तरुण र प्रवाह मार्फत् कांग्रेसप्रति आकर्षण बढाए । तर कांग्रेसको कार्यकारी भूमिका उनको रुचिमा थिएन । जसरी अध्ययनको सीमाक्षेत्र निर्धारण गरेका थिएनन्, उसैगरी निश्चित भूमिकामा सीमित हुने जाँगर थिएन ।

बहुदल आएपछि गिरि पटक–पटक सांसद भए, कांग्रेसको केन्द्रीय समितिमा निर्वाचित भए । २०५१ मा सिराहा–५ बाट निर्वाचित र २०५६ मा पराजित भए । २०६३ सालको पुनर्स्थापित संसदमा मनोनीत भए भने २०६४ र ०७० मा समानुपातिक सांसद भए । २०७४ मा एमाले र माओवादी केन्द्रको गठबन्धन तोडेर सिरहा–१ बाट सांसद निर्वाचित भए । तर न कहिल्यै मन्त्री बने, न त्यसप्रति कुनै रुचि राखे ।

पार्टी संस्थापकहरुसँगको सम्बन्ध/संगत, चेतनाको उच्चता र अविचलित राजनीतिक सक्रियताका कारण पर्याप्त योग्यता भएर पनि कांग्रेसको ठूलो भूमिकामा उनी रहेनन् । २०५६ को पोखरा महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित गिरि गएको मंसिरमा सम्पन्न १४औं महाधिवेशनसम्म उक्त भूमिकामा रहे । क्यान्सरको उपचारार्थ अस्पतालमा रहेकाले १४औं महाधिवेशनमा भने सहभागी भएनन् ।

कांग्रेसमा सक्रियता र सहभागिता भए पनि कम्युनिष्टहरुमा पनि उत्तिकै उनी सुनिने व्यक्ति रहे । ‘समाजवादी चिन्तनमा पनि प्रदीप गिरि मार्क्सवादी धाराका हुन् । उनले जुन कुरा धेरैपटक कबुल गरेका छन्’ घनश्याम भूसाल भन्छन्, ‘प्रदीप गिरिको मृत्यु त्यसकारण हाम्रो खेमाका लागि उत्तिकै ठूलो क्षति हो ।’

कम्युनिष्टहरुले गिरिलाई प्रशिक्षणमा पनि बोलाउनुमा उनको मार्क्सवादी अध्ययन थियो । कतिसम्म भने सन् २०१८ मा कार्ल मार्क्स द्विशतकी वार्षिकी समारोह मनाइरहँदा गिरिलाई सल्लाहकारमै राखियो । अध्ययन गरेको विषय र पात्र समेत कण्ठाग्र बोल्न सक्ने गिरिले पूर्वीय र पश्चिमा दर्शन, भौतिकतावादी चिन्तन र आध्यात्मिक सोचबारे सरल भाषामा सारांश सुनाउन सक्थे ।

राजा, पञ्चायत, कांग्रेस, कम्युनिष्ट र विश्व राजनीतिक पात्र अनि तिनको प्रवृत्तिसँग वर्तमान राजनीतिलाई तुलनात्मक अध्ययन गर्न सक्ने खुबीकै कारण युवा पंक्तिमा उनी प्रिय रहे ।

समाजवादी चिन्तन र जीवनशैलीप्रति जसरी आजीवन सम्झौता गरेनन्, त्यसैगरी राजनीतिक द्वन्द्वमा आफ्नो कित्ता सधैं प्रष्ट पारे । भन्थे– युद्धमा योद्धाले आफ्नो कित्ता प्रष्ट पार्नैपर्छ ।

बीपीसँग सैद्धान्तिक बहस गर्ने गिरि कांग्रेसभित्र सुवर्ण शमशेरको कित्तामा उभिए । त्यसैको निरन्तरतामा कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई साथ दिए । यो कित्तामा २०५३ पछि शेरबहादुर देउवा जोडिए । त्यसपछि सधैंभर देउवालाई नै साथ दिए । तर उनलाई निषेध गरेर जाने ल्याकत फरक कित्ताका नेताहरुमा समेत देखिन्न ।

लेनिन (जीवनी), नारी, मार्क्सवाद र अर्थशास्त्र लगायत दर्जन किताब लेखेर आफूलाई प्रस्तुत गरेका गिरि २०४८ पछि कांग्रेसले उदार अर्थनीति अपनाए पनि समाजवादी अडानमै अडिग रहे । ‘आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिंदैन । व्यक्ति नै समाजवादको जीवित तत्व हो । आर्थिक उत्थानको लक्ष्य पनि त्यही जीवित व्यक्तिलाई खुशी बनाउनु हो’ भन्ने बीपीको समाजवादी कार्यक्रमलाई समयानुकूल समृद्ध बनाउन लागिरहे, भनिरहे, ‘संकलनमा होइन, वितरणमा ध्यान देऊ ।’

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?