+
+
धनराजका १०० दिन :

‘मेयरसाब, पोखराका निम्ति हिम्मत गर्नुस्’

अमृत सुवेदी अमृत सुवेदी
२०७९ भदौ १९ गते १९:३९

१९ भदौ, पोखरा । ‘भागदौडमै सय दिन बित्यो । मेरी छोरी काठमाडौंबाट घर आएकी रहेछिन्, ५ दिन घरमा बसेर जाँदा मसँग भेट भएन । सबेरै ६ बजेको हाराहारीमा उठेर हिँड्यो, बेलुका १०/११ बजे घर पुग्ने । अलि व्यस्तताकै बीचमा सय दिन बिताएका छौं ।’

जेठ १२ गते पदभार ग्रहण गरेका पोखरा महानगरका मेयर धनराज आचार्यले हनिमुन पिरियडमा भएको भागदौड र व्यस्ततालाई यसरी सुनाए । मेयरकै भाषामा त्यो भागदौड र व्यस्तताले १०० दिनमा पोखराले के उपलब्धि हाँसिल गर्‍यो त ? मेयर आचार्यले सय दिनमा सय वटै उपलब्धि भएको दाबीसहित शनिबार सूची सार्वजनिक गरे ।

तर उनी आफैं पनि सय दिनको कामसँग पूर्ण सन्तुष्ट छैनन् । उनी भन्छन्, ‘एउटा अण्डा फुटाएर अम्लेट बन्छ । त्यही अण्डालाई उचित ताप दिएर वातावरण बनायो भने चल्ला निस्किन्छ । म अम्लेट होइन, चल्ला सिर्जना गर्न खोजिरहेको छु । आन्तरिक जीवनलाई व्यवस्थित गने क्रममा छौं ।’

धनराजले के-के गरे ?

देशका प्रमुख शहरहरुमा नयाँ तथा स्वतन्त्र उम्मेदवारहरुको खोजी भइरहेका बेला पोखरेलीले धनराजमै त्यो अनुहार देखे र उनलाई जिताएका थिए । कम विवादित भनिएका र भइरहेका उम्मेदवारमध्ये अब्बल ठहरिएका मेयर धनराजले पहिलो दिनको निर्णय नै पोखरेलीका निम्ति सरप्राइज हुने बताएका थिए । तर, उनले पदभारलगत्तै पुरातन र जनताको जीवनयापनसँग खास अर्थ नलाग्ने शैली अपनाउँदै फूल रोपेर कार्यकाल सुरुआत गरे ।

पोखराको दीर्घकालीन समस्या वा पोखरेलीको जीवनसँग महत्व राख्ने कुनै दीर्घकालीन नीतिगत निर्णय गर्लान् भन्ने नागरिकको अपेक्षामा पहिलो दिन नै ठेस् लाग्यो । फूल रोप्ने, बीपीदेखि पुष्पलालसम्मका शालिकमा माल्यार्पण गर्दै कार्यकाल सुरु गरेका मेयर आचार्यले न्यून आय भएकालाई पोषणभत्ता, सिम्बोल अफ पोखरा प्रतियोगिता र पोखरालाई पर्यटककीय राजधानी बनाउन संघीय सरकारलाई प्रस्ताव गर्ने पहिलो निर्णय गरे ।

पुरातनशैलीमा पदभार ग्रहण गर्दादेखि सुरु भएको मेयरको १०० दिनसम्मको भागदौडमा प्रमुख रुपमा यस्तै खालका उपलब्धि देखिएका छन् । केही सुधारका प्रयास भएपनि वृक्षारोपण, भेटघाट, तालिम, भेला, मेला तथा कार्यक्रममा सहयोग तथा उदघाटनमै मेयर आचार्यको हनिमुन अवधि सकिएको छ ।

मेयर आफैंले सार्वजनिक गरेको उपलब्धिअनुसार उनी दीर्घकालीन महत्व राख्ने नीतिगत सुधारका निर्णण गर्नतिरभन्दा चर्चाको पछि लागेको र सामान्यभन्दा सामान्य कार्यक्रममा पनि रमाएको देखिएको छ ।

मेयर आचार्यले मेला, महोत्सव र प्रतियोगितालाई सहयोग गरेको, आफू सहभागी भएको कार्यक्रम र भेटघाटलाई पनि १०० दिनको प्रमुख उपलब्धि मानेका छन् । सय दिनको उपलब्धि संख्या पनि सय पुर्‍याउनकै लागि मेयर आचार्यले अघिल्लो कार्यकालकै कार्यक्रमलाई पनि आफ्नो उपलब्धिमा राखेका छन् ।

पञ्चायतकालमा बनेको पोखरा महानगरपालिकाको साँघुरो कार्यालयका ढोका र झ्याल चहार्दै सेवाग्राहीलाई सेवा लिनुपर्ने अवस्था अन्त्य गर्न मेयर आचार्यले ११ काउन्टरसहित एकद्वार प्रणाली सुरुआत गरेका छन् । मेयरले सेवाग्राहीको गुनासो सुन्ने कक्ष र ‘हेलो मेयर’को व्यवस्थासमेत गरेका छन्

अघिल्लो कार्यकालबाटै निरन्तर कृषि र पशुका कार्यक्रमलाई आफ्नो उपलब्धि देखाउँदै मेयर आचार्यले १ सय उपलब्धि पुर्‍याएका हुन् । पहिलो दिन ३७५ फूलका बिरुवा रोपेका मेयर आचार्यले दोस्रो लिडरसीप क्याम्पलाई उपलब्धिमा राखेका छन् । गत जेठ २१ गते मेयर आचार्यले अन्नपूर्ण गाउँपालिकास्थित देउराली रिसोर्टमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीलाई लिडरसीप तालिम राखेका थिए ।

लायन्स क्लबकै शैलीमा अर्कै पालिकाको रिसोर्टमा गएर कार्यक्रम गरेको भन्दै पूर्वमेयर आचार्यको त्यो बेला आलोचनासमेत भएको थियो । महानगरकै कर्मचारी तथा टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण शर्माको जन्मदिनमा महानगरको लोगो राखेर मेयर आचार्य आफैं सहभागी भएर केक काटेपछि थप आलोचना बढेको थियो ।

मेयर आचार्यले पोखरामा पहिलो पटक मेयर सम्मेलन गराउन सफलसमेत भए । ६ वटै महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलाई पोखरा बोलाएर साझा समस्याको पहिचान र छलफलसमेत गराएका छन् । सबै महानगरहरुको अनुभव आदानप्रदान भएको मेयरहरुको भेलाले महानगरका लागि छुट्टै कानुनको व्यवस्था गर्नुपर्ने लगायतको पोखरा घोषणापत्रसेत जारी भएको थियो ।

मेयर आचार्यले घोषणापत्रमा पद बहालीका दिन महानगरले दिने सिफारिस निःशुल्क दिने उल्लेख गरेका थिए । तर, यो कानुनी व्यवस्थामै अहिले नै भइरहेकाले मेयर आचार्य पछि हटे । घोषणा पत्रमा ३ महिनाभित्र करको दर घटाएर दायरा बढाउने, कार्यालयमा एकद्वार प्रणालीबाट सेवा दिने उल्लेख गरेका थिए । महानगरमा हालै एकद्वार प्रणाली सुरु भएको छ भने करको दर पनि घटाइएको मेयर आचार्यको दाबी छ ।

तीन महिनाभित्र घुम्ती अस्पताल, घरघरमा सामाजिक सुरक्षाभत्ता वितरण, महानगर केन्द्रदेखि ग्रामिण क्षेत्रमा साँझ बस सेवा सञ्चालन गर्ने, सेवा क्षेत्रका व्यवहार विकास सम्बन्धी प्याकेज ल्याउने, अनुसन्धानका आधारमा विकास परियोजना सञ्चालन गर्ने र प्राथमिकता तोकेर परिचयपत्र वितरण गर्ने काम पनि मेयर आचार्यले गर्न नसकेको एक कर्मचारीले बताए ।

४७ वर्षअघि पोखरा न्युरोड खोल्दादेखिको जग्गा विवादमा अदालतले पोखरा उपत्यका नगर विकास समितिको पक्षमा गरेको निर्णयलाई पनि आफ्नो उपलब्धिमा राखेका छन् । कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, विकास साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका प्रमुख र प्रतिनिधिसँगको भेटघाट, धार्मिक प्रतिष्ठानका व्यक्तिहरुसँगको भेटघाट र छलफललाई पनि मेयर आचार्यले उपलब्धि मानेका छन् ।

सडक रिसोलिङ गर्ने तथा खाल्डा पुर्ने कामको थालनी भएपनि बढी पानी परेका कारण सफल हुन नसकेको मेयर आचार्यको भनाइ छ । बेरोजगार युवाको लगत संकलन थालनी गरिएको आचार्यको भनाइ छ ।

पोखरामा ५ वटा विद्युतीय साझा बस सञ्चालन गर्न साझा यातायतसँग सम्झौता भएको र पोखराको यातायात गुरुयोजना बनाउन कोरियन सहयोग नियोग कोइकासँग सम्झौता भएको आचार्यले उल्लेख गरेका छन् ।

पोखराका २३ वटा चोकमा १ हजार ५०४ वटा सडक बत्ती राख्न उज्यालो पोखरा अभियान सुरुआत भएको छ । सुकुम्वासीलाई निस्सा वितरणको सुरूवात र भूमि वर्गीकरण थालिएको तथा कृषिको क्षेत्रमा अनुदानदेखि प्रोत्साहनसम्मका काम भइरहेको आचार्यको दाबी छ । बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, विभिन्न समितिहरु गठन लगायतलाई पनि आचार्यले उपलब्धिको सूचीमा राखेका छन् । तर, बजेट निर्विवाद भने बन्न सकेन । पहिले नै किताब छापिएको भन्दै एमालेका वडाध्यक्षहरुले किताब च्यातिदिएका थिए ।

सुधारका प्रयास

निवर्तमान मेयर मानबहादुर जिसीको कार्यकाल सकिनुभन्दा २ दिनअघि पोखरा उपत्यका नगर विकास समितिको जग्गा आफ्नै ज्वाइँलगायतले ठेक्कामा लिएको विषयले पोखरा ततायो । पोखरा राष्ट्र बैंक चोकस्थित गल्फको ४० रोपनी, पोखरा बसपार्कको १८ रोपनी र पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालयनेर ५ रोपनी जग्गा २५ वर्षका लागि भाडामा दिएको पाइएको थियो ।

पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षको पदभार ग्रहण गरेलगत्तै ठेक्का सम्झौता सार्वजनिक भएलगत्तै मेयर आचार्यले छानबिन समिति बताए । समितिकै निर्णयअनुसार यो जग्गाको ठेक्का सम्झौता खारेज भएको छ ।

मेयर आचार्यले महानगरका थुप्रै समस्याका बीच पनि केही सुधारको प्रयास भने गरेका छन् । पोखरा महानगरमा वर्षौंदेखि करार कर्मचारीको रजगज तथा समस्या छन् । यसअघिका मेयरले पनि करार कर्मचारीको समस्या समाधान गर्ने प्रयास गरे पनि सफल भएनन् ।

यसपटक मेयर आचार्यले कार्यपालिकाबाटै निर्णय गरेर स्वर्णिम अवकास योजना ल्याएका छन् । स्थायी हुन चाहनेले लोक सेवा आयोगले लिने आन्तरिक परीक्षा दिनुपर्ने र अवकास हुन चाहनेले गोल्डेन हृयाण्ड चेक लिएर बिदा गर्ने प्रक्रिया अगाडि बढेको छ ।

पञ्चायतकालमा बनेको पोखरा महानगरपालिकाको साँघुरो कार्यालयका ढोका र झ्याल चहार्दै सेवाग्राहीलाई सेवा लिनुपर्ने अवस्था अन्त्य गर्न मेयर आचार्यले ११ काउन्टरसहित एकद्वार प्रणाली सुरुआत गरेका छन् । मेयरले सेवाग्राहीको गुनासो सुन्ने कक्ष र ‘हेलो मेयर’को व्यवस्थासमेत गरेका छन् ।

मेयर आचार्यले अन्डरग्राउण्ड पार्किङको अनुमति लिएर व्यापार व्यवसाय भइरहेको ठाउँलाई खाली गराएर पार्किङकै व्यवस्था गर्ने प्रक्रिया अगाडि बढाएका छन् । निजी क्षेत्रको समन्वयनमा सार्वजनिक शौचालयको प्रवन्ध मिलाएका छन् । साथै पोखरामा पहिलो पटक तरकारी तथा फलफूलको समर्थन मूल्य तोकिएको छ ।

ल्याण्डफिल्ड साइटको चुनौती

अघिल्ला मेयर मानबहादुरकै पालामा पोखरामा अहिलेको ल्याण्डफिल्ड साइटको विकल्प तयार हुने आशा पोखरेलीले गरेका थिए । तर, त्यसो भएन । जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने घोषणा भइसकेको छ । मेयर आचार्यले भने अझै ल्याण्डफिल्डको विकल्प दिन सकेका छैनन् ।

विमानस्थल नजिकै रहेको ल्याण्डफिल्ड साइट नहटी जहाज उड्न नसक्ने अध्ययनले देखाएको छ । आचार्य मेयर भएदेखि नै सबैभन्दा ठूलो टाउको दुखाइ त्यही ल्याण्डफिल्ड साइट बनेको छ ।

मेयर जिसीको पालामै वडा नम्बर १६ र २० को सिमानामा पर्ने पस्मराङमा ल्यान्डफिल्ड बनाउन खोजिए पनि विरोध भएको थियो । अघिल्लै कार्यकालमा वडा नम्बर ३३ मा ल्याण्डफिल्ड बनाउने निर्णय भयो । मेयर आचार्यको पहिलो कार्यपालिका बैठकले पनि पोखरा ३३, टिमुरपाटामै नयाँ ल्यान्डफिल साइट बनाउने निर्णय गर्यो तर स्थानीयले विरोध गरिरहेका छन् ।

‘मेयर भएदेखि नै सबैभन्दा ठूलो चुनौति ल्याण्डफिल्डकै छ । के गर्दा कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर रात दिनलागिरहेका छौं,’ मेयर आचार्यले भने, ‘ल्याण्डफिल्डको समस्या समाधान दीर्घकालीन रुपमै गर्न लागिपरेका छौं ।’

फोहोर व्यवस्थापनबारे अध्ययन गर्न मेयर आचार्यको टोली धरानदेखि दिल्लीसम्म पुगेर फर्किर्एको छ । यसलाई मेयर आचार्यले प्रमुख उपलब्धिमा राखेका छन् ।

ल्याण्डफिल्डको दीर्घकालीन व्यवस्थापन भएपछि पोखरेलीले महसुस गर्ने गरी पोखराका अरु दीर्घ समस्या समाधान गर्न लाग्ने मेयर आचार्यको भनाइ छ ।

मेयरमाथि शंका र नैतिक दबाब

कार्यपालिका र नगरसभामा अल्पमतमा रहेकाले पनि आचार्यले अनुकूल निर्णय गर्न सकेका छैनन् । ४३ सदस्यीय कार्यपालिकामा नेपाली कांग्रेसको बहुमत छ । नगर सभामा एमालेको बहुमत छ, उनको दलबाट उनी एक्ला हुन्

पोखराका मेयर धनराज आचार्यले उपत्यका नगर विकास समितिको अध्यक्षको पदभार ग्रहण गरलगत्तै अनलाइनखबरसँग भनेका थिए, ‘एक महिनाको समय दिनुस्, हामी समितिको स्वामित्वमा रहेका सबै जग्गाको लगत निकालेर संरक्षण थाल्छौं ।’ यो गत असार १६ गतेको कुरा हो ।

मेयरले लगत निकालेर संरक्षण थाल्ने बताएको पनि दुई महिना बितिसक्यो । तर, शनिबार उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममा पनि मेयर आचार्यले लगत निकाल्न भनिएको दोहोर्याए । ‘जग्गा कति हो भन्ने रेकर्ड निकाल्न भनेका छौं । कति जग्गा भाडामा छ, कति भाडा आएको छ, कति आएको छैन । विधि पुगे नपुगेको रेकर्ड निकाल्दै छौं । त्यो हामीले सार्वजनिक गर्छौं,’ आचार्यले भने ।

पोखरामा सबैभन्दा बढी स्वामित्व भएको पोखरा उपत्यका नगर विकास समितिको जग्गामा वर्षौंदेखि विभिन्न व्यक्ति, दल र संघसंस्थाहरुले रजगज गरिरहेका छन् ।

समितिको जग्गामा कांग्रेस, एमाले, माओवादी निकट संगठनहरुले कब्जा जमाएर बसिरहेका छन् भने कतिपय व्यक्तिले कौडीको भाउमा प्रयोग गरिरहेका छन् । समितिकै जग्गामा विभिन्न स्वार्थ समूहसमेत लाग्ने भएकाले यसको संरक्षण मेयर आचार्यका लागि ठूलो चुनौति र दबाब बनेको छ ।

मेयर आचार्यका लागि अर्को ठूलो दबाब फेवातालबारे हो । चुनावअघि मेयर आचार्यले यसबारे केही नबोल्ने बताए पनि अहिले नागरिकले प्रश्न गरिरहेका छन् । योमात्रै होइन, पोखराको ठूलो समस्या सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हो । पोखराका धेरै सार्वजनिक तथा सरकारी जग्गा हडपेर बनाइएका संरचनामा भाडा लगाएर खाने काम भइरहेको नागरिक अगुवा रामबहादुर पौडेलले बताए ।

अघिल्ला मेयर जिसीकै पालामा फेवातालको मापदण्ड ६५ बाट ३५ मिटर कायम गरिएको थियो । सर्वोच्च अदालतले २०७५ वैशाख १६ गते गरेको फेवाताल सम्बन्धी फैसलाविपरीत भएको भन्दै रिट परेको छ । मेयर आचार्यले अदालतमा रिट परेकाले त्यो विषय अगाडि नबढाइएको बताए । तर, सर्वोच्च अदालतको त्यतिबेलाको फैसलामै ६५ मिटरभित्र बनेको अवैध संरचना भत्काउन निर्देशनात्मक आदेश भएको थियो । त्यही निर्देशनअनुसार अवैध संरचना भत्काउन रिटले छेक्दैन ।

अहिले पनि फेवा किनारमा महानगरको स्वीकृति नलिई अवैध संरचना बनिरहेका छन् । यसबारे लेकसाइडका राजेन्द्र शर्माले मेयर आचार्यलाई प्रश्न गरेका छन्, ‘फेवातालको मापदण्डको विषयमा किन बोल्नु हुँदैन मेयर साब ? सय दिन त कट्यो, अब पनि नबोल्ने ?’ पार्किङदेखि कुनै एउटा ट्राफिक लाइटसमेत नहुने पोखराका लागि दुःखद् भएको शर्मा बताउँछन् ।

व्यवसायी पृष्ठभूमिबाट आएका मेयर आचार्यले व्यावसायिक घराना र त्यो समूहको स्वार्थलाई पन्छाउन सक्दैनन् कि भन्ने पोखरेलीको आशंका छ । खोलादेखि नदीसम्म र भवनको उचाइको मापदण्डका विषयमा पनि मेयरले चाल्ने कदमले अब पोखरा कस्तो हुनेछ भन्ने संकेत गर्ने छ ।

अघिल्लो मेयरको कार्यकालमा रामघाट र मोरेखरे घाट बतास समूहले ३५ वर्षसम्म लिन लागेकोमा विरोध भएको थियो । अहिले पनि त्यो प्रक्रियामै रहेको र मेयर आचार्य बताससँग नजिक पनि भएकाले आचार्य परिबन्धमा पर्न सक्ने अड्कल पोखरेलीहरु गर्छन् । योसँगै विभिन्न व्यापारिक समूह पोखराका सम्पदादेखि घाटसम्म हत्याउन लागिपर्ने गरेका छन् ।

मेयर आचार्यले राजश्वको दर घटाएर र दायरा बढाएको बताएका छन् । तर, मणिपाल शिक्षण अस्पतालको मात्र करोडौं रुपैयाँ राजश्व बक्यौता छ । ठूलो होटल तथा प्रतिष्ठानबाट पनि करोडौं रुपैयाँ राजश्व उठ्न बाँकी रहेकाले त्यो असुल गर्न कति खत्रो उत्रिन्छन् हेर्न बाँकी छ ।

प्रदेश र महानगरले पोखरा बसपार्कको स्तरोन्नति गरिएको भनिए पनि सुकुम्वासीले हडपेर बाँकी रहेको जमिनमात्र ढलान गरिएको छ । यसले त्यहाँका सुकुम्वासीलाई वैधानिकता दिन बल दिएको भन्दै मेयर आचार्यले अब बसपार्क निर्माण कसरी गर्लान् भन्ने चुनौती छ ।

स्थानीय अरुण श्रेष्ठ भन्छन्, ‘मेयर साब ! केही सुधारका प्रयास नभएका होइनन्, आत्मरतीबाट माथि उठ्नुस् । शक्ति तथा स्वार्थ समूहमा नपर्नुस् र एक पटक पोखरा बनाउन हिम्मत गर्नुस्, पोखरेली तपाईंको साथमा छन् ।’

पोखरामा अब काम कसरी हुन्छ भन्ने संकेत गर्न १०० दिन पर्याप्त भए पनि मेयर आचार्य पुरातन बाटोमै हिँडेको तर ठिक बाटो पहिल्याउन नसकेको नेपाली कांग्रेस महानगरका सचिव गणेशबहादुर थापा बताउँछन् । थापा भन्छन्, ‘नागरिकका गुनासा सुन्ने र पोखराका निम्ति केही गर्ने हुटहुटी मेयरमा नभएको होइन तर हिम्मतका साथ दीर्घकालीन महत्व राख्ने र पोखरा व्यवस्थित गर्ने काममा लागिदिए सबै पोखरेलीले साथ दिन्थे ।’

‘मेयरले आफ्नो महत्व बुझ्नुपर्यो । केही समूह वा व्यक्तिलाई खुसी पार्न र रवाफका खातिर उहाँको उपस्थिति प्रतिफलविनाको सभा सेमिनारमा हुनु भएन,’ उनले भने, ‘मेयरले पोखरालाई सपार्न नीतिगत तहबाटै निर्णय गर्नुपर्छ । सिंगो पोखराको पिता बन्ने अवसर उहाँलाई छ ।’

नेकपा एमाले पोखरा महानगर कमिटीका अध्यक्ष दिलीप न्यौपानेले मेयर आचार्यको सय दिन सन्तोषजनक मान्न नसकिने बताउँछन् । पहिलो नगरसभा नै विवादास्पद बनेकोदेखि रिसोर्टमा गरिएका कार्यक्रमसम्मले जनतालाई नजगाएको न्यौपानेको भनाइ थियो ।

कार्यपालिका र नगरसभामा अल्पमतमा रहेकाले पनि आचार्यले अनुकूल निर्णय गर्न सकेका छैनन् । ४३ सदस्यीय कार्यपालिकामा नेपाली कांग्रेसको बहुमत छ । नगर सभामा एमालेको बहुमत छ, उनको दलबाट उनी एक्ला हुन् । एकीकृत समाजवादीबाट मेयर बनेका आचार्यले सबैलाई मिलाएर लैजान खोजे पनि आफ्नो एकल निर्णयले चल्न नसक्ने एक वडाध्यक्ष बताउँछन् ।

हेर्नुहोस् मेयर आचार्यका १०० दिनका १०० उपलब्धि

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?