+
+
टिप्पणी :

कठिन समयमा बोर्ड छिरेका भुवन केसी, सुरुमै अलमल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २१ गते १३:२३

काठमाडौं । दाबेदारको रस्साकस्सीबीच चलचित्र विकास बोर्ड अध्यक्ष बनेका भुवन केसीको नियुक्तिलाई लिएर चलचित्र वृत्तमा ठूलो आशा थियो । कार्यभार सम्हाल्दै गर्दा उनले नेपाली फिल्म क्षेत्रको विकासका लागि शहीद हुन समेत आफू तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

तर झन्डै दुई महिना लाग्दा पनि भुवनले कार्यकालमा आफूले गर्ने स्पष्ट खाका र योजना ल्याउन सकेका छैनन् । उनी स्वयंले घोषणा गरेको चर्चित गोलमेच कार्यक्रम पनि अहिलेसम्म हुन सकेको छैन । बरु उनी दुई महिना हुनै लाग्दा पनि कम्पासबिनाको जहाजजस्तै अन्योलग्रस्त देखिएका छन् ।

डेढ महिनाको चित्र हेर्दा अध्यक्षको रुपमा भुवन अझै लय समाउन सकेका छैनन् । कार्यकारी अध्यक्षको रुपमा बोर्डको नेतृत्व सम्हालेका उनले अझै प्रशासनिक कामकुरा सिक्दैछन् । स्पष्ट शब्दमा भन्नुपर्दा भुवनको डेढ महिना अनुत्पादक कामकाजमै व्यतित भएको देखिन्छ ।

यसबीचमा टीभी कार्यक्रमको छायांकन, सम्मान समारोह, फिल्मको प्रिमियर, बधाई खाने कार्यक्रम, आफूविरुद्ध अदालतमा पेश भएको रिटको काममा उनको समय खर्चिएको छ । टीभी रियालिटी शो सुपर डान्सर नेपालको छायांकनमा त उनले सातामा दुई दिन बिताउँछन् । उनलाई नजिकबाट नियालिरहेकाहरु पनि कठिन समयमा अध्यक्षमा चुनिएका भुवनको डेढ महिने कार्यकाल अनुत्पादक भएको बताउँछन् ।

‘बिहानीले दिउँसोको संकेत गर्छ भनेजस्तै भुवनजीको दुई वर्षे कार्यकालको डेढ महिना अनुत्पादक रुपमा सकिएको छ,’ भुवन निकट स्रोत भन्छ, ‘उहाँ साना-साना काममा अलमलिनु भएको छ । उहाँले समय खेर फाल्दा, फिल्म उद्योगको समय खेर जान्छ ।’

अदालतमा भुवनविरुद्ध मुद्दा विचाराधीन भएकाले उनले अध्यक्षको रुपमा ठूला निर्णय गर्न नसक्ने कतिपय बताउँछन् ।

अर्कोतर्फ, अध्यक्षमा नियुक्त भएपछि विदेशी फिल्मप्रतिको रवैयामा परिवर्तन आएको देखिएको छ । अध्यक्ष हुनुपूर्वअघि विदेशी फिल्मप्रति आक्रामक सुनिएका उनले गत साता बोर्डमार्फत विज्ञप्ति निकाल्दै कुनै फिल्मलाई रोक लगाउने निर्णय नभएको सन्देश प्रवाह गरेका थिए । उनको यो अभिव्यक्ति प्रेमगीत ३ को हिन्दी संस्करणलाई रोक लगाइने हल्लाको खण्डनप्रति लक्षित थियो ।

साथै, एक कार्यक्रममा उनले विदेशी फिल्मलाई रोक लगाउने बोर्डको कार्यक्षेत्र नभएको आशय प्रवाह गरेका थिए । यी दुई स्टेटमेन्टले भुवनको विदेशी फिल्मप्रतिको दृष्टिकोणमा आएको परिवर्तनलाई पुष्टि गर्छन् । साथै, विदेशी फिल्मलाई कोटा प्रणाली लगाउनुपर्छ भन्ने भुवन विदेशी फिल्मप्रति पूरै लचिलो देखिएका छन् ।

अन्योल र ढिलासुस्तीबाट भुवन कहिले लयमा फर्किएलान् भन्ने कुरालाई लिएर अहिले फिल्म वृत्तमा उनलाई चासोपूर्वक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?