+
+

गोकर्णविरुद्ध रामकुमारी : जसले जिते पनि दुनो भागैमा

विद्यार्थीदेखि पार्टीको केन्द्रीय राजनीतिमा पुगेकी झाँक्रीले पछिल्ला चुनावहरुमा विष्टका लागि भोट मागिन् । तर अहिले विष्ट र झाँक्रीको पार्टी फेरिएको छ । उनीहरु चुनावी मैदानमा एकअर्कालाई हराउन तम्सिएका छन् ।

अनिल खत्री अनिल खत्री
२०७९ भदौ २२ गते १८:१२

२२ भदौ, गुल्मी । एमाले सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादी (एस) सचिव रामकुमारी झाँक्रीको चुनावी भिडन्त कस्तो होला ? मंसिर ४ को आसन्न चुनावका हेर्नलायक परिदृश्यहरुमा गुल्मी २ को यो प्रतिस्पर्धा पनि पर्नेछ ।

हेर्नलायक किनभने, यी दुवै पात्रको भेट अनेरास्ववियुको आँगनमा भएको थियो । उनीहरुको पहिलो राजनीतिक भेट १ जेठ २०५० मा विद्यार्थी दिवसको कार्यक्रममा भएको थियो । अनेरास्ववियुले आफ्नो स्थापना दिवसलाई विद्यार्थी दिवसका रुपमा मनाउने गर्छ ।

अनेरास्ववियुका सचिवालय सदस्य विष्ट अतिथि बनेर गुल्मीको जनबोध उच्च माबिको कार्यक्रममा आएका थिए भने झाँक्री पृथ्वी माबिको स्कुल कमिटीको अध्यक्षका हैसियतमा सहभागी भएकी थिइन् । त्यसयता झण्डै तीन दशक लगभग एकै ठाउँ रहे उनीहरु । ०५४ मा एमाले फुट्दा झाँक्री केही समय मालेतर्फ लागिन् । विष्ट एमालेमै स्थिर रहे ।

विद्यार्थीदेखि पार्टीको केन्द्रीय राजनीतिमा पुगेकी झाँक्रीले पछिल्ला चुनावहरुमा विष्टका लागि भोट मागिन् । तर अहिले विष्ट र झाँक्रीको पार्टी मात्र फेरिएको छैन, चुनावी मैदानमा एकअर्कालाई हराउन तम्सिएका छन् ।

एमालेमा उम्मेदवार बनाउ सचिव विष्टको नाम सिफारिस भएको छ भने रामकुमारी, सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बन्ने दौडमा छिन् । झाँक्री भन्छिन्, ‘मेरो उम्मेदवारी त टुंगिएको छैन, तर हामी आमने सामने भयौं भने हार्दिकतापूर्वक प्रतिस्पर्धा गर्छौं । दाइलाई पनि दुनो ढल्यो भागमा, धेरै बल नगर्नुस् भन्न चाहन्छु ।’

पार्टी होइन, गठबन्धनको भर

२ भदौ २०७८ मा एमालेबाट फुटेर एकीकृत समाजवादी बन्दा गुल्मीमा भने आंशिक प्रभाव मात्र पर्‍यो । युवा नेता रामकुमारी झाँक्री एकीकृत समाजवादीतिर लागे पनि गोकर्ण विष्ट एमालेमै बसे, जसले गर्दा पार्टीमा ठूलो विभाजन आएन ।

अहिले पनि जिल्लामा संगठन विस्तार हुन नसकेको राजकुमारीले राम्ररी बुझेकी छन् । १३ साउनमा चुनावको तयारीका लागि जिल्ला जाँदै नै उनले गठबन्धनका नेताहरुसँग ‘मेरो पार्टीको भरमा चुनाव जितिन्न, तपाईँहरुको सद्भाव रह्यो भने आउँछु’ भनेकी थिइन् । त्यसयता उनी निर्वाचन क्षेत्रमा खटिएकी छन् ।

निर्वाचन क्षेत्रको हरेक ठाउँमा जाँदा सद्भाव पाएकाले आफू उत्साहित देखिएको एकीकृत समाजवादीकी सचिव झाँक्री बताउँछन् । माटोले बोलाएपछि गुल्मीबाट चुनाव लड्ने सोच बनाएको भन्दै उनले भनिन्, ‘पार्टी, गठबन्धन र सबैको साथ भए चुनाव लड्ने हो । अहिलेसम्म जहाँ पुगेको छु, सबैको सद्भाव पाएको छु, आफ्नोपन महसुस गरेको छु ।’

गुल्मीको पुर्कोट दहमा भएको कार्यक्रममा झाँक्री ।

गुल्मी २ मा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुमध्ये सबभन्दा बलियो कांग्रेस छ र, त्यो दलबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि चन्द्र केसी, त्रैलोक्यप्रताप सेन र डा. दामोदर भुसालको नाम सिफारिस भएको छ । कांग्रेस, गुल्मीका नेताहरुका अनुसार अहिलेसम्म आफ्नै उम्मेदवार उठाउने प्राथमिकता हो ।

शीर्ष तहमा सिट बाँडफाँट गर्दा एकीकृत समाजवादीको भागमा पर्‍यो र रामकुमारी झाँक्री उम्मेदवार बनिन् भने कांग्रेसले समर्थन गर्छ । नेताहरुका अनुसार रामकुमारी उम्मेदवार बन्दा कांग्रेसको भोट बाँडिएर एमालेले लाभ लिन पनि सक्छ । वा पोखरा महानगरपालिकाको चुनावमा जस्तो एमालेबाट विद्रोह गरेर आएकाले सान्त्वना भोट ल्याएर चुनाव जित्न पनि सक्छ । ‘उहाँहरुको यहाँ भोट खासै छैन, कांग्रेसमै भर पर्नुपर्ने हुन्छ,’ गुल्मी कांग्रेसका एक नेता भन्छन्, ‘त्यो बेला के हुन्छ यसै भन्न सकिन्न ।’

३० वैशाखको स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा एमाले सबभन्दा अगाडि छ । एमालेले ३१ हजार २५३ मत पाउँदा कांग्रेसले २९ हजार ८२१ मत पाएको छ । माओवादी केन्द्रको १८४१ र एकीकृत समाजवादीको जम्मा ६५८ मत छ । एकीकृत समाजवादीका नेताहरु भने गठबन्धन एक ठाउँमा उभिने हो भने ५/६ हजार मतले अगाडि हुने दाबी गर्छन् ।

‘एउटै दलमा त मनमुटाव हुन्छ, एउटाले भोट दिएको उम्मेदवारलाई अर्काले नदिने अवस्था हुन्छ भने यो त गठबन्धन हो । त्यसैले सबै भोट जोगाउनुपर्ने चुनौती छ,’ एक नेता भन्छन्, ‘कमाण्ड सही भयो भने गाह्रो पनि छैन ।’

व्यक्तिगत भोटको आश

एमालेमा गुल्मी २ को उम्मेदवारका लागि विष्टसँगै राजेन्द्र अर्याल र शेषकान्त गौतमको नाम सिफारिस भएको छ । यद्यपि विष्टले टिकट पाउने पक्का जस्तै छ । र, यो क्षेत्रमा विष्टसँग प्रतिस्पर्धा सहज छैन । ०४८ मा कांग्रेसका रुद्रमणि भण्डारीले जितेबाहेक यो क्षेत्र (२०७० सम्म गुल्मी ३ र हाल गुल्मी २) मा वामपन्थीहरुले जित्दै आएका छन् । ०६४ मा माओवादीले जितेको थियो भने अरु सबै चुनावमा एमालेले जित्दै आएको छ ।

गोकर्ण विष्ट ।

विष्ट स्वयम् ०५६ देखि यो क्षेत्रमा चुनाव लड्दै आएका छन् । उनलाई ०६४ मा माओवादीका सागर थापाले हराएका थिए, अरु सबै चुनाव उनले जितेका छन् । ०७४ मा वाम गठबन्धनको बेला त उनले १४ हजारभन्दा बढी मत अन्तरले जितेका थिए । त्यो बेला एमालेको साथमा रहेको माओवादी पाँचदलीय गठबन्धनमा छ भने एकीकृत समाजवादी, एमालेबाट फुटेर बनेको दल हो ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरु सबै एकातिर हुँदा पनि एमालेको भोट हाराहारी रहेको भन्दै एक नेता भन्छन्, ‘२० वर्षभन्दा बढी समयदेखि उहाँ यो क्षेत्रसँग जोडिनु भएको छ, योजनाहरु ल्याउनु भएको छ, गाह्रो साह्रो पर्दा हेर्नु भएको छ । उहाँको ३/४ हजार पर्सनल भोट छ, त्यसकै बलमा जित्न सक्नुहुन्छ ।’

समाजवादीमा विभाजनको प्रयास

लामो समय एउटै पार्टीमा रहेका विष्ट र झाँक्रीको चुनावी होडले नेता कार्यकर्ता पनि तानातानमा परेका छन् । पछिल्लो पटक एमाले सचिव विष्टले एकीकृत समाजवादीका जिल्ला अध्यक्ष र इञ्चार्जलाई नै पार्टी प्रवेश गराएका छन् ।

सोमबार जिल्ला अध्यक्ष नरेश भण्डारी, केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज गणेश खनाल लगायतका नेताहरु एमाले फर्काएका हुन् । एमाले र एकीकृत समाजवादीको गुल्मीको एकता घोषणा नाम दिइएको कार्यक्रममा उपमहासचिव प्रदीप ज्ञवाली र सचिव बिष्टले नेता कार्यकर्तालाई स्वागत गरे । पार्टी विभाजन हुँदा एकीकृत समाजवादीतिर गएर करिव ५० प्रतिशत नेता कार्यकर्ता फर्किसकेको एमाले नेताहरु बताउँछन् ।

पार्टी प्रवेश गराउँदै विष्ट ।

एकीकृत समाजवादी गुल्मीले भने एकता भएको भनेर गलत प्रचार गरिएको आरोप लगाएको छ । एकीकृत समाजवादी सहइञ्चार्ज गणेश विश्वकर्मा, जिल्ला उपाध्यक्षद्वय चन्द्र सुनार र राम मल्ल ठकुरीले विज्ञप्ति जारी गर्दै दुई जनाको प्रवेशलाई पार्टी एकता भनेर झुटो प्रचार गरेको बताएका हुन् ।

स्रोतका अनुसार नेकपा मसालबाट राजनीति थालेका खनाल, वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानबाट एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । पछिल्लो पटक एकीकृत समाजवादीका नेता झलनाथ खनालले वामपन्थी एकता गर्नुपर्ने जोड दिएपछि खनाल काठमाडौंमा आएर दौडधुप गरे ।

गुल्मीमा एकताको अभियान सुरु गर्छौं, वाम गठबन्धन गर्ने अधिकार जिल्लालाई दिनुपर्‍यो भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता खनाललाई भेटे । दुवैले सहमति नजनाएपछि जिल्ला कमिटीको बैठकमा त्यही प्रस्ताव राखे । रामकुमारी लगायतका नेताहरुले पार्टी एकताको म्यान्डेट कसले दियो भन्दै प्रश्न गरेपछि उठेर हिँडे ।

पछिल्लो समय अध्यक्ष भण्डारी र इञ्चार्ज खनालले पार्टीको बैठक नबसाल्ने र झाँक्रीलाई उम्मेदवार बन्न नदिने र असफल बनाउने क्रियाकलापमा लागेको उपाध्यक्ष ठकुरी बताउँछन् । उनीहरु एमाले जानुलाई कतिपय नेताले कुचोले बढार्नुपर्ने कसिंगर, हावाले उडायो भने जस्तै भएको बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?