+
+

एक यायावरको निष्फिक्री यात्रा

विकास रोकामगर विकास रोकामगर
२०७९ असोज १९ गते १०:३०

१९ असोज, पोखरा । दशैंको छेको पारेर अरु गुँड फर्किंदै गर्दा उनी झोला बोकेर पहाडतिर उक्लिए । अरु घरघरमा फूलपाती भित्र्याउने तर्खर गरिरहेकाबेला कागबेनी पुगिसकेका थिए ।

कागबेनी दिवस गुरुङ (२८)को यसपालिको यात्राको पहिलो बिन्दु पनि थियो । जहाँबाट उनी कर्णालीको यात्रामा निस्किँदै थिए । कागबेनीबाट डोल्पा, जुम्ला रारा हुँदै हुम्लाबाट खप्तड निस्किने उनको योजना छ ।

अब उनी करिब २ महिना प्रकृतिका छटासँग हराउनेछन् । रमाउनेछन् । कहिले घामसँग यात्रामा निस्कनेछन्, त कहिले हिउँ र झरीसँग । बादल र कुहिरोसँग लुकामारी पनि खेल्नेछन् ।

तर, उनी रोकिनेछैनन् । किनकी हिँडाइमै दिवसलाई अभूतपूर्व सन्तुष्टि छ । प्रेम छ । आदत छ । ‘यसपटकको यात्रा सबैभन्दा लामो हुन्छ । जे होस् यो पटक कर्णालीको धेरै भूभागमात्रै नभएर जनजीविका पनि हेर्ने सोच बनाएको छु,’ अनलाइनखबरसँग गफ्फिए, ‘४५ दिनको स्टिमेट भए पनि २ महिना छुन्छ होला !’

यसरी प्रत्येक दशैं, तिहारमा गुँड छोडेर एक्लै यात्रामा निस्किएको भने यो पहिलोपल्ट होइन । यसअघिका लामा बिदामा पनि कहिले पूर्वी इलामका चियाबारीतिर भेटिन्थे, कहिले तराईका फाँटमा त कहिले खोटाङका डाँडाकाँडातिर ।

करिब एक महिनाअघिमात्रै पनि दिवस यात्रामै थिए । तत्कालीन १० वर्षे जनयुद्धताका छापामार हिँडेको बाटो उनी एक्लै हिँडे । २२ दिन अनवरत हिँडाइले उनी बागलुङको ढोरपाटन, रोल्पा, रुकुम सबैतिर पुगे । उनी एक्लै हिँडेको पदमार्ग ‘गुरिल्ला ट्रेक’ नामाकरण गरिएको छ ।

दिवस कहिले पैदलैपदल हिँडिरहेको भेटिन्छन् त कहिले साइकल कुदाइरहेको । ‘यात्रा गर्नलाई सबैभन्दा बेस्ट भनेको कि साइकलिङ र कि ट्रेकिङ नै हो । जहाज, गाडी वा मोटरसाइकलमा गएर धेरै कुरा छुट्छ,’ अनुभव सुनाउँछन्, ‘जति हतारमा गइयो त्यति कुरा छुट्ने हो । तर, साइकल र पदयात्रामा हतार हुँदैन । सबै कुरा नियाल्दै हिँड्न सकिन्छ ।’

अहिलेसम्म दिवस नेपालका ५० जिल्लाभन्दा बढी घुमिसकेका छन् । पूर्वका प्रायः जिल्ला साइकलबाटै घुमिसकेपछि अब उनको आँखा पश्चिमतिर लागेको छ । जसको सुरुआत नै कर्णालीबाट गर्न लागेका हुन् । यसपालि उनी कर्णालीका ८ जिल्लामा पदछाप छोडेर आउनेछन् ।

दिवसको बाल्य सपना भने यात्रा थिएन । उनको यात्राको जग ०७२ सालको भूकम्पपछि मात्रै उभिएको हो । त्योभन्दा अघि न साइकल चढ्थे, न कतै घुमेका थिए न सोचेका नै थिए ।

‘फल्यासब्याक ०७२’

खासमा दिवस डाक्टर बन्न चाहन्थे । उनी जहिले निदाउँथे, डाक्टर बनेकै सपना देख्थे । त्यही सपना पूरा गर्न ०७१ सालमा उनी काठमाडौं हान्निए । काठमाडौंलेमात्रै कतिजनाको सपना बोकेर हिँडोस् ? ढेड वर्ष काठमाडौं बसेर प्रयास गर्दा पनि उनी सफल भएनन् ।

निन्याउरो मुख लगाएर पोखरा फर्किए । डाक्टर बन्ने एउटा बाटो बन्द भइसकेको थियो । तर, जहाँ समस्या त्यहाँ उपाय भनेजस्तै अब उनका अगाडि २ वटा बाटो थियो – वनविज्ञान पढ्ने कि कृषि । उनले वनविज्ञान रोजे ।

वनक्याम्पसमा भर्ना भएको केही समयपछि नै गोरखाको बारपाक केन्द्रविन्दु बनाएर भूकम्प गयो । साथीहरुसँग मिलेर बारपाकमा राहत लैजाने सल्लाह भयो । १३ गते उनीहरु पोखरादेखि बारपाक हिँडे । त्यही नै उनको पहिलो औपचारिक ग्रामीण यात्रा थियो ।

बारपाकसम्म पुग्ने भने पनि उनको समूह त्यहाँसम्म पुग्न सकेन । बाटोको खराबीका कारण कतै रुमलियो । तर, उनले त्यही यात्राबाट आफूलाई चिन्न पाए, अध्ययन गर्न पाए । ‘बाटो खराब भएर बारपाक त नै पुग्न सकेनौं । तर, अरुअरु ठाउँमा पग्यौं । त्यतिबेला हामी २ हप्ता गाउँमा बस्यौं,’ उनी भन्छन्, ‘त्यहीबेला नयाँ ठाउँ देखियो । त्यसले घुम्नुपर्छ है भन्ने ऊर्जा दियो ।’

७२ सालमै भएको नाकाबन्दीबाट पहिलोपल्ट साइकल चढ्न थालेको दिवस सुनाउँछन् । कोठादेखि कलेजसम्म पुग्न उनले साइकल रोजेका थिए । ‘पछि पोखरामा बर्सेनि हुने टुर दि पोखरामा विश्व साइकलयात्री पुष्कर शाहहरुलाई भेटेपछि भने ए साइकलबाट पनि घुम्न सकिने रैछ भन्ने बल्ल थाहा भयो,’ उनले भने । त्यसयता उनले थुपै्र पटक एकल साइकलयात्रा गरिसकेका छन् ।

के छ यात्रामा ?

के छ त यात्रामा ? दिवसको छोटो जवाफ छ, ‘यात्रामा आनन्द छ । सन्तुष्टि छ । जनजीवन छ । कथा छ ।’

यात्रामा हुँदा उनी गाउँगाउँ पुगेर गाउँलेसँगै बस्छन्, कहिले घर त कहिले गोठमा । ‘नेपाल नघुमी नेपाल कस्तो छ भन्ने थाहा नहुँदो रहेछ । मैले पनि यात्रा थालेपछिमात्रै नेपाल चिन्न थालेको हुँ जस्तो लाग्छ,’ सुनिन्छन्, ‘गाउँका सबै मान्छेहरुसँगै कथा छ । उनीहरुसँग कुरा गर्दै हिँड्नुको मजा बेग्लै छ । हिमाल, पहाड र तराई सबैको संस्कृति बुझ्न पाइन्छ ।’

ट्रेकिङ गाइड गरिरहेका दिवसको त्यो लय अहिले छुटेको छ । कोरोनाकाल अघिसम्म सब ठिकठाक थियो । तर, कोरोनाले गर्दा विदेशी पाहुना ह्वात्तै घटेपछि उनको आम्दानी पनि सुक्यो । ‘कोरोनाअगाडिसम्म एकदम राम्रो थियो । केही पैसा सेभिङ गरेर मास्टर्स पढाइ सक्न काठमाडौं जाने भनेको थिएँ, त्यस्तै भइराछ,’ उनी सुनिन्छन् ।

पाहुना नभए पनि उनले आफू एक्लै घुम्ने खर्च निकाल्न ट्युसन पढाउन थालेका थिए । तर, त्यो पनि केही महिनाअघि गुरिल्ला ट्रेकमा करिब ३५ दिन यात्रा गर्दा छुट्यो । उनी आउँदा विद्यार्थीहरु अन्तै पढ्न गइसकेका रहेछन् । हाँस्दै सुनाए, ‘यता उनीहरुको परीक्षा सुरु भइसकेछ । पढाउने नै नभएपछि उनीहरुको अर्कोमा पढ्न गएछन् ।

खर्च जुटाउन पढाउन थालेपनि उनको शौख यात्रा नै हो । कम चर्चामा आएका तर, पर्यटनका हिसाबले सम्भावना बोकेका पदमार्गहरु उनको रोजाइमा पर्छ । ‘अरुले रोजेको भन्दा फरक बाटो रोज्न मन पराउँछु । हिँडिराखेको भए पनि कम एक्स्प्लोर भएको ठाउँ मेरो पहिलो रोजाइ हो,’ उनी भन्छन् ।

नयाँनयाँ ठाउँ घुम्दै फोटो, भिडियो खिच्न दिवसलाई औधी प्रियकर लाग्छ । ‘नयाँ पर्यटनका आयाम खोज्ने हो भने मल्टिमिडियाबाट झन् छिटो प्रचार गर्न सकिन्छ भन्ने मलाई लाग्छ । नयाँ ठाउँलाई ब्रान्डिङ गर्न पनि फोटो, भिडियो चाहिन्छ । त्यसकै लागि हिँड्छु,’ उनी भन्छन्, ‘पछि मेरो यात्राबारे एउटा किताब लेख्न पनि मन छ ।’

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?