+
+

काठमाडौं महानगरका विद्यालयले गुगल फर एजुकेशन प्रयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ७ गते १३:०३

७ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका विद्यालयहरुले सिकाइका लागि गुगल फर एजुकेशन प्रयोग गर्ने भएका छन् ।

महानगरपालिका र नेपालसहित एसिया प्रशान्त क्षेत्रका लागि गुगल फर एजुकेशनको आधिकारिक साझेदार संस्था डिजिटल एन्ड बियोन्डबीच यससम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार डिजिटल एन्ड बियोन्डले गुगल फर एजुकेशन प्रयोगका लागि महानगरका शिक्षक तथा विद्यार्थीलाई तालिम दिनेछ ।

गुगलले निशुल्क उपलब्ध गराउने गुगल फर एजुकेशन शिक्षकहरुका लागि अनलाइन रिसोर्स हो । विद्यार्थी र शिक्षक दुवैले इन्टरनेटमार्फत निशुल्क गुगल फर एजुकेशन प्रयोग गर्न सक्छन् । जसको प्रयोगबाट शिक्षकलाई गृहकार्य दिन, संकलन गर्न र कुन विद्यार्थीले कति छिटो सक्यो भनेर थाहा पाउन सहज हुन्छ ।

महानगरले डट ईडीयू डट एनपी डोमेन नभएका विद्यालयलाई उक्त डोमेन प्राप्त गर्न सहयोग गर्ने र डिजिटल एण्ड बियोन्डले उक्त डोमेन मार्फत कसरी काम गर्ने भन्नेबारेमा शिक्षक तथा विद्यार्थीलाई तालिम दिनेछ । यो सम्झौताले काठमाडौं महानगरपालिकाको विद्यालयमा डिजिटल प्रविधिमा समानता ल्याउन सहयोग पुग्ने शिक्षा सल्लाहकार रेशु अर्यालले बताइन् । उनले भनिन्, ‘महानगरभित्रका विद्यालयमा डिजिटल प्रविधिमा समानता छैन, तर यो सम्झौताले विद्यालयबीचको असमानता कम गर्न महत्वपूर्ण भूमिका खेल्छ भन्ने आशा छ ।’

कोभिडको समयमा पहुँचमा भएका विद्यालयले आफ्नै पहलमा प्रविधि मार्फत शिक्षक विद्यार्थी जोडिए तर कतिपय विद्यालयमा पहुँच नपुग्दा शिक्षक विद्यार्थीबीचको दूरी कायम रह्यो । अब संकटमा मात्रै नभएर जहिले पनि, जहाँबाट भए पनि प्रविधि मार्फत शिक्षक विद्यार्थीबीच जोडिन सक्ने उनको भनाइ थियो ।

डिजिटल एन्ड बियोन्डका कार्यकारी प्रमुख सगुन ढुंगानाले कोभिडको समयमा नेपालका धेरै शैक्षिक संस्था, शिक्षक तथा विद्यार्थीलाई तालिम दिएको र प्रभावकारी भएको जिकिर गरे । उनले भने ‘हामीले कोभिडको समयमा धेरै विद्यालय, शिक्षक, विद्यार्थीलाई तालिम दियौं । जुन निक्कै प्रभावकारी भयो । यो सम्झौतापछि काठमाडौं महानगरका विद्यालय, शिक्षक, विद्यार्थीलाई तालिम दिन्छौं, जसले गर्दा शिक्षण सिकाईमा महत्वपूर्ण सहयोग पुग्छ ।’

सबै विद्यालय इन्टरनेटको पहुँचमा नभएकोले महानगरका ९२ वटै विद्यालयमा इन्टरनेट पहुँच पु¥याउनका लागि महानगरपालिकाले सहजीकरण गर्ने प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बताए ।

काठमाडौं महानगरपालिकाकी उप–मेयर सुनिता डंगोलले विद्यालयमा शैक्षिक सुधारका लागि काठमाडौं महानगरपालिका प्रतिवद्ध रहेको र त्यहि अनुसार बजेट बिनियोजन गरिएको जिकिर गरिन् । ‘शैक्षिक सुधारका लागि प्रविधिमैत्री कक्षा अपरिहार्य हुँदै गईरहेकोले यो सम्झौताले त्यसका लागि सहयोग पुग्नेछ भन्ने विश्वास लागेको छ’, उनले भनिन् ।

यो सम्झौताले महानगरको प्रविधिमैत्री शिक्षा बनाउने योजनामा कोसेढुंगा सावित हुने शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले जिकिर गरे । उनले भने, ‘प्रविधिमैत्री कक्षा कोठा बनाउने हाम्रो योजनामा फड्को मार्न यो सम्झौता कोसेढुंगा हुनेछ भन्ने लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?