+
+
नगरकोटको आक्रोश :

भोट माग्न आउनेलाई सडक अवरुद्ध गरेर खबरदारी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते २१:२१
Photo Credit : Gyalthan Sing Dhorje Lama

१४ कात्तिक, काठमाडौं । कात्तिक, २०७६ मा प्रदेशसभा उपनिर्वाचन हुँदा क्षेत्र नम्बर १ प्रदेश (क)मा मुख्य मुद्दा बन्यो, कमलविनायक-नगरकोट सडक खण्ड । नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको घरबेटी समेत रहेका शारदाप्रसाद अधिकारीको कम्पनी ‘शैलुङ कन्स्ट्रक्सन’ले यो खण्ड करिब ८ वर्षदेखि अलपत्र पारेर राखेपछि यो सडक पटक-पटक भोट माग्ने अश्त्र मात्रै बन्न पुगेको छ ।

निर्माण सक्न ८ पटकसम्म म्याद थपिएको यो सडकको लागत २८ करोडबाट बढेर ६६ करोड रुपैयाँ पुगिसक्यो । तर, सडक तत्कालै बन्ने छाँटकाँट छैन । आजित भएका जनाले सोमबार बाटोमै माटो थुपारेर सडकखण्ड नै अवरुद्ध पारे ।

पटक-पटकको चुनावी मुद्दा बनिसकेको सडक यो पटकको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि उम्मेदवारको प्रमुख एजेण्डा बन्ने देखिएको छ । सडक बनाउन पहल नगरी आश्वासन  मात्रै बाँड्न नेताहरु घरदैलोमा आउन थालेपछि स्थानीयबासीले सडक नै अवरुद्ध गरेर खबरदारी गर्न थालेका हुन् ।

उनीहरुले यस्तो आन्दोलन गरेको पहिलो पटक भने होइन । २८, कात्तिक २०७८मा यो सडकको अनुगमनमा पुग्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव सवार गाडीलाई स्थानीयले सडकमै घेरा हालेर रोकेका थिए । गाडी रोक्दा पनि मन्त्री यादवले २ महिनाभित्र काम नसके ठेकेदारसँग सम्झौता तोडिने बताएकी थिइन् ।

तर, उनको बचन पुरा हुने गरी कामै भएन ।

चुनावी मुद्दा मात्रै

८ वर्षअघि सडक निर्माणका लागि ठेक्का पाएको कम्पनीले चरम लापरवाही र ढिलाइ गर्दा पनि सरोकार निकाय मौन छन् ।

कात्तिक, २०७८मा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल अलपत्र सडकका निर्माणका लागि वातावरण बनाइदिन आग्रह गर्दै प्रचण्डको निवास नै पुगेका थिए । ठेकेदर कम्पनी शैलुङ कन्सट्रक्सनले तिहारपछि ४५ दिनभित्र काम सम्पन्न गर्ने प्रतिवद्धता गरेको स्थानीय नेताहरुलाई जानकारी दिएका थिए । प्रदेशसभाको उपनिर्वाचनमा भँडेलले यो सडकलाई प्रमुख चुनावी एजेन्डा बनाएर नेपाली कांग्रेसबाट चुनाव नै जितेका थिए ।

स्थानीयबासी नवीन गुरुङ १० वर्षसम्म सडक विस्तारको काम अलपत्र छाड्दा पर्यटक र स्थानीयवासीहरु हिलो र धुलोको पीडा सहन बाध्य भएको बताउँछन् । ‘अब त भोट माग्न आउनेलाई पनि हामी बाटो रोक्छौ.,’ उनले भने,’हामीले  नै सांसद र मन्त्री बनाएकाहरूले सडक बनाउन बेवास्ता गरे ।’

यो सडक बनाउन भारतीय कम्पनी एआईपीएल र शैलुङ कन्स्ट्रक्सनले संयुक्त रूपमा जिम्मा पाएका हुन् । शैलुङ कन्स्ट्रक्सनले नै स्थानीय रुपमा काम गर्ने जिम्मा लिएर बसेको छ । सडक विस्तार गरेर ठेक्का कालोपत्रे गर्न २ असार २०७१ मा ठेक्का लागेको थियो । समयमै काम भएको भए यो काम ३ असार २०७५ मा सकिन्थ्यो ।

सडक सममयै नबन्दा नगरकोटको पर्यटकीय गतिविधिमा पनि असर परेको छ । पर्यटकको आवागमन समेत घटेकाले ठेक्का सम्झौता रद्द गरेर अर्को प्रक्रियामार्फत काम अघि बढाउन चाँगुनारायण नगरपालिकाले माग गर्दै आएको छ । नगरपालिकाले संघ सरकारले नसक्ने भए स्रोतसहित स्थानीय सरकारलाई आयोजना हस्तान्तरण गर्न पनि भनेको छ ।

सडक नबनेपछि २०७६ को कात्तिक महिनामा नगरकोट त्यसआसपासका विभिन्न सार्वजनिक स्थान र त्यहाँ चल्ने सवारीहरुमा स्थानीयले ठेकेदार कम्पनीका मालिक शारदाप्रसाद अधिकारीका फोटो टाँसेर विरोध जनाएका थिए । कतिपय फोटोका माथिल्लो भागमा कुकुर र बाँदरका तस्वीर समेत जोडिएका थिए ।

निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र छाडिएको सडकमा खाल्डैखाल्डा छन् । सडकखण्ड अन्तर्गतका नगरकोट, मण्डनदेउपुर, छालिङ, बागेश्वरी, सुडालका स्थानीयहरु सबैभन्दा बढी पीडित छन् ।

नगरकोटमा आन्तरिक तथा बाहृय पर्यटकको चापसँगै यातायातका साधनको चाप पनि बढेपछि सडकलाई विस्तार गरी अब ७ मिटर कालोपत्र बनाउन काम सुरु गरिएको थियो । तर, पटक-पटक म्याद थप्दा पनि काम नभएपछि स्थानीयहरु सरकार र ठेकेदारसँग चरम असन्तुष्ट छन् ।

ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनले कतिपय खण्डमा असारअघि ‘सिंगल कोट पिच’ गरेको थियो । तर, आयोजनाको पुरा काम नसकिंदै नयाँ पिच पनि भत्किसकेको  छ । शैलुङसँग सडकका धेरै ठेक्का भएकाले गर्नुपर्ने काम अनुसारको क्षमता नसकेको निष्कर्ष सडक विभागको छ ।

तर, ठेक्का तोड्न भने सडक विभागले आनाकानी गर्दै आएको  छ। अहिलेको म्याद अनुसार यो सडकखण्ड आगामी पुसमसान्तसम्म सकिनुपर्छ । तर, सडकमा ठेकेदार कम्पनीको उपस्थिति नै छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?