+
+

थरीथरीका लौरो : कस्तो प्रकार, कति मूल्य ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ कात्तिक १७ गते १८:१०

काठमाडौं । लौरो यो कुनै टेको मात्र होइन, बुढ्यौलीको साथी पनि हो । जब मान्छेको शरीर शिथिल हुँदै जान्छ, लौरोको भरथेग खोज्छन् । उठ्दा, हिंड्दा लौरो चाहिन्छ ।

बुढ्यौली जीवनको एक अनिवार्य चरण हो । हरेक मान्छे यही चरणबाट गुज्रिन्छन् र त्यसबेला उनीहरुको सहारा बन्छ लौरो । सामान्य लाग्छ, तर लौरोसँग मान्छेको सम्बन्ध निकै घनिष्ठ छ ।

शरीर कमजोर हुँदा होस् वा बुढ्यौलीले छोप्दा लौरो टेक्नुपर्छ । लामो पैदल यात्रामा पाइला चाल्न लौरोले थप आड दिन्छ । अकस्मात् हुने आक्रमणबाट जोगिन होस् वा हिंस्रक जीवजन्तुबाट, लौरोले साथ दिन्छ । त्यसैले त लौरोले केही प्रतीकात्मक अर्थ बोक्छ । जस्तो कि यो हतियार हो, सहारा हो अनि दण्ड पनि ।

लौरोलाई संस्कृतमा दण्ड पनि भनिन्छ । चोर, फटाहा, भ्रष्टाचारी, व्यभिचारीलाई तह लगाउन लठ्ठीको काम आउँछ ।

थरीथरीका लौरो

बुढेसकालमा सामान्य हिंडडुल गर्दा टेक्ने लौरो, पैदलयात्रा गर्दा प्रयोग गर्ने लौरो र अन्य प्रयोजनको लागि प्रयोग हुने विभिन्न डिजाइनको लौरो बजारमा पाइन्छ । अहिले बजारमा काठको लौरो, आल्मुनियमको लौरो, फलामको लौरो र फाइबरको लौरो गरी चार प्रकारको लौरो पाइन्छ ।

काठको लौरो

गाउँघरतिर त लौरो किन्ने चलन हुँदैन । प्रायःले जंगलबाट दाउरा ल्याएर घरमै लौरो बनाउने गर्छन् । बजारमा घँगारु, रुइस र वेत लगायतको काठको लौरो किन्न पाइन्छ । तर एकदमै धेरै प्रयोग हुने र बढी रुचाइएको भने वेतको लौरो भएको आर्यमन हस्तकलाका सञ्चालक दिवस श्रेष्ठ बताउँछन् ।

‘वेतको लौरो हल्का हुने भएकाले यो समाउन एकदमै सजिलो हुन्छ । अन्य काठको लौरोको तुलनामा यो एकदमै बलियो पनि हुने भएकाले वेतको लौरो धेरै प्रयोग हुन्छ । वेतको लौरोको मूल्य ५ सयदेखि एक हजार रुपैयाँसम्म पर्छ,’ उनी भन्छन् ।

आल्मुनियमको लौरो

पछिल्लो समय काठको लौरोको प्रयोग कम हुँदै गएको छ । किनकि अहिले बजारमा विभिन्न आधुनिक डिजाइनका फलाम, आल्मुनियम र फाइबरको लौरो उपलब्ध छन् । यी लौरोको हाइट घटबढ गर्न मिल्छ र यिनीहरू समाउन पनि सजिलो हुन्छ । आल्मुनियम र फाइबरको लौरो हल्का पनि हुन्छ, जसले गर्दा बुढाबुढीलाई बोक्न सजिलो हुन्छ । ‘टी ह्यान्डल’, ‘फोल्डिङ स्टाइल’ र ‘ननफोल्डिङ’ तीनवटा डिजाइनमा यी लौरो पाइने ट्रेकिङ शप हिमालय ग्रेसका सञ्चालक शोभित भण्डारी बताउँछन् ।

‘सामान्यतः फलामको लौरोको १ हजारदेखि १५ सय रुपैयाँ, आल्मुनियमको २ हजारदेखि २५ रुपैयाँ र फाइबरको लौरोको भने ३५ सयदेखि चार हजार रुपैयाँसम्म पर्छ ।’

कहाँ कहाँ पाइन्छन् ?

बासको फर्निचर पाइने ठाउँ, सुपर मार्केट, ट्रेकिङको सामग्री पाइने पसल आदि ठाउँमा यस्ता लौरो किन्न पाइन्छ ।

कुन बढी उपयोगी ?

काठको लौरो तथा आल्मुनियमको दुवै प्रकारको लौरोको आफ्नै विशेषता छ । तर उचाइ घटबढ गर्न मिल्ने, समाउन सजिलो र बोक्न हल्का हुने हिसाबले फाइबर तथा आल्मुनियमको लौरो बढी उपयोगी हुने भण्डारी बताउँछन् ।

बुढाबुढीको लागि ‘टी ह्यान्डल’ भएको लौरो बढी उपयोगी हुन्छ । ‘टी ह्यान्डल’ भएको लौरोको समाउने भागमा फम राखेको हुनाले समाउँदा हातमा फोका उठ्दैन । युवाहरूको लागि फोल्डिङ लौरो उपयोगी हुन्छ, सानो पारेर बोक्न मिल्ने र बोक्न पनि हल्का हुन्छ ।

राम्रो लौरो कसरी छान्ने ?

लौरो छनोट गर्दा टेक्ने ठाउँमा रबर भएको छान्नुपर्ने भण्डारी बताउँछन् । रबर भएको लौरो हिलो र धुलोमा गाडिंदैन । साथै वृद्धवृद्धाका लागि समाउन हल्का र टी ह्यान्डल भएको लौरो बढी उपयोगी हुने उनी बताउँछन् ।

बुढेसकालमा लौरो

बुढेसकालमा वा शरीर कमजोर हुँदा लौरोको प्रयोग एकदमै जरुरी हुन्छ । बुढेसकालमा हिंडडुल गर्दा लौरो प्रयोग गरेको मान्छेको शरीरको ‘पोस्चर’ राम्रो हुन्छ भनेर विभिन्न अध्ययनले समेत देखाउने प्राकृतिक चिकित्सक डा. मनोज ढकाल बताउँछन् ।

‘बुढेसकालमा हिंडडुल गर्दा लौरो प्रयोग गर्ने व्यक्ति लौरो प्रयोग नगर्नेको तुलनामा अलि बढी स्वस्थ र सक्रिय हुन्छन्,’ उनी भन्छन् ।

लौरोको भरथेग

मान्छेको खुट्टाले जति जमिन ओगटेको हुन्छ, लौरोको प्रयोग गर्दा त्यो भन्दा धेरै जमिन ओगट्छ । जसले गर्दा शरीर सन्तुलनमा रहन्छ र लड्ने सम्भावना कम हुन्छ । त्यसैले कतै उकालो ओरालोमा लौरोको प्रयोग गर्दा त्यसले शरीरलाई सन्तुलनमा राखेर भरथेग गर्ने ढकाल बताउँछन् ।

बुढेसकालमा हिंडडुल गर्दा लौरो उपयोगी

बुढेसकालमा शरीर कमजोर भएको हुन्छ । जसले गर्दा वृद्ध उमेरका व्यक्तिलाई हिंड्नको लागि सहाराको आवश्यकता पर्छ । लौरोलाई बुढेसकालको सहारा नै भन्ने चलन छ । शरीर कमजोर भएर सन्तुलनमा नहुँदा लौरोले सहारा दिन्छ । बुढेसकालमा हिंडडुल गर्न गाह्रो छ भनेर एकै ठाउँमा बस्नु भन्दा लौरोको प्रयोग गरेर भए पनि थोरै थोरै हिंडडुल गर्दा शरीरको ‘पोस्चर’ राम्रो हुने र मांसपेशी बलियो हुने डा. ढकाल बताउँछन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?