+
+
स्थलगत : रुपन्देही :

‘विचारको कुरा गर्ने भूसालजी स्वतन्त्र उम्मेदवार बन्दा अचम्म लाग्यो’ (भिडियोसहित)

स्वतन्त्र हैसियतमा घनश्याम भूसालजी उम्मेदवार बन्नुभएको छ । आजसम्म एउटा नीति, सिद्धान्त, विचारको कुरा गर्ने, पार्टी संगठन र विधिको कुरा गर्ने साथीहरू अहिले ती केही पनि होइनन् भनेर स्वतन्त्र हुँदा म आफैंमा अचम्मित छु ।

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १८:०९

रुपन्देही-१ बाट एमाले उम्मेदवारका रुपमा ०७४ मा प्रतिनिधिसभा सदस्य चुनाव जितेका छविलाल विश्वकर्मा दोस्रोपल्ट जीत दोहोर्‍याउने लक्ष्यमा छन् । उनका प्रतिष्पर्धी बन्न आइपुगेका छन्, केही साताअघिसम्म एउटै पार्टीमा रहेका नेता घनश्याम भूसाल । त्रिभुज चिह्न लिई स्वतन्त्र उम्मेदवारी दिएका भूसाललाई सत्ता गठबन्धनले साथ दिएको छ । त्यसैले विश्वकर्माका लागि आसन्न चुनावको आफ्नै दबाब छ ।

तिलोत्तमाको एउटा गाउँमा उनीसँग अनलाइनखबर टोलीले भेट्यो । चुनावी व्यस्तताबीच हामीले पाएको समय सदुपयोग गर्दै उनीसँग उनकै गाडीमा बसेर यो अन्तर्वार्ता लिएका हौं ।

कस्तो चल्दैछ चुनावी दौडाह ?

प्रचार–प्रसारको अभियानमा छौं । रूपन्देही–१ मा ३३ वटा वडा पर्छन् । उत्तरमा पाल्पासम्म सीमा जोडिन्छ । दलदले भन्ने ठाउँ पाल्पासँग सीमा जोडिएको पहाडमा पर्छ । दक्षिणमा भारतको सीमावर्ती क्षेत्र दशगजासम्म यो निर्वाचन क्षेत्र पर्छ ।

२०७४ सालको निर्वाचनमा यो क्षेत्रको समग्र विकासको लागि त्यतिबेला नै आह्वान गरें । विकासको कामको सुरुवात दशगजाबाट गर्दै र त्यहाँबाट पाल्पासँग सीमा जोडिएको दलदले र माथागढीसम्मको समग्र विकासको लागि आधारशिला बनाएका छौं । यो क्षेत्रको विकासको लागि पाँच वटा मार्गचित्र कोरेका छौं ।

बितेको पाँच वर्षमा के कति काम गर्नुभयो ?

यो निर्वाचन क्षेत्रमा विकास निर्माणको कार्यमा ठिकै ढंगले अगाडि बढ्यौं । गएको कार्यकाल करिब साढे दुई वर्ष कोभिडको कारणले पनि हामीलाई आक्रान्त बनायो । त्यसपछि राष्ट्रिय राजनीति उतारचढावपूर्ण रूपमा अगाडि बढ्यो ।

केपी ओली नेतृत्वको सरकार पार्टी भित्रै र पार्टी बाहिरबाट गिराउने काम भयो । जनप्रतिनिधिका हिसाबले यस क्षेत्रको आधारभूत आवश्यकता परिपूर्ति गर्ने कुरामा आफ्नो ठाउँबाट पूरापूर मिहिनेत गरेको छु ।

स्थानीयको बढी आवश्यकता बाटो र त्यसपछि शिक्षासँग जोडिएको कुरा सुनिन्छ । त्यसमा तपाईंले कति सफलता हासिल गर्नुभयो ?

हाम्रो मिश्रित समाज छ । यहाँ सुकुम्बासी, अव्यवस्थित बसोबासीको पनि समस्या छ । राष्ट्रिय आवास कम्पनीसँग सम्बन्धित रहेका जग्गाका समस्या पनि छन् । यी कामहरू समाधानको लागि पहलकदमी लिइरहेको अवस्था थियो । यससँग सम्बन्धित कानुन बनाउने काम सम्पन्न गर्‍यौं भने संरचना बनाउने काम पनि सम्पन्न गर्‍यौं ।

यहाँका स्थानीयसँग गरेको केही कुराहरू विशेष गरेर यहाँको विकास र न्यायसँग जोडिएका कतिपय कुरामा यहाँको सांसदले चर्कोसँग आवाज उठाइदिएको भए हुनेथियो । उहाँ राम्रो मान्छे हो तर, जति प्रभावकारी भूमिका खेल्नुपर्ने थियो हामीले अपेक्षा गरेजस्तो सक्नुभएन भन्ने टिप्पणी पनि सुनिंदोरहेछ । त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

जनता, मतदाताले अझै राम्रो गरे हुन्थ्यो भन्नु स्वाभाविक हो । त्यसलाई अन्यथा लिने कुरै भएन । आफूले निर्वाह गरेको भूमिकाप्रति म आफैंमा पश्चात्ताप मान्नुपर्ने अवस्था छैन । तर, अझै बढी गर्न सकिन्थ्यो भन्ने छ ।

जनता, मतदाताले सुझाव दिने र अझै यसो गरिदिए हुन्थ्यो भन्ने कुरा स्वाभाविक छ । मैले सबैका सुझावलाई ग्रहण गरेर प्राथमिकता चयन गर्दा पनि त्यसलाई मिलाएर आउने समय थप प्रभावकारी बनाउने मेरो प्रतिबद्धता छ ।

यो पटक जितियो भने के योजना बनाउनुभएको छ ?

पहिलो प्राथमिकता यो निर्वाचन क्षेत्रमा ड्रिम परियोजनाको रूपमा लुम्बिनी बौद्ध विश्वविद्यालय अगाडि सारिएको छ । जसको लागि १०० बिघा जग्गा देवदह नगरपालिकामा उपलब्ध गराएका छौं ।

गौतम बुद्धको मावली भनेर चिनिएको यो पवित्र स्थलमा लुम्बिनी बौद्ध विश्वविद्यालयको काम अगाडि बढाउन चाहन्छौं । गुरुयोजना अन्तिम रूपमा दिएका छौं भने डीनको कार्यालय खुलिसकेको छ । केही संकायहरूमा पढाइ सुरु भएको छ । त्यसलाई निरन्तरता दिएर पूरा गर्ने मेरो चाहना र प्रतिबद्धता छ ।

दोस्रो तिलोत्तमा नगरपालिका–८ मा बुटवल मेडिकल कलेजको कार्यालय छ । कामको प्रारम्भ भएको छ । सातै प्रदेशमा एक–एक वटा मेडिकल कलेज स्थापना गर्ने तत्कालीन केपी ओली नेतृत्वको सरकारको निर्णय थियो । त्यसको काम क्रमशः अगाडि बढेको छ ।

तेस्रो रोहिणी नदीको योजना छ । रोहिणी नदी बुद्धकालीन समयको ऐतिहासिक प्राकृतिक सम्पदा हो । जबकि यस बारेमा धेरै चर्चा भएको रहेनछ । अन्य पुरातात्विक र सांस्कृतिक महत्वका विषयमा चर्चा भए । तर, प्राकृतिक सम्पदाको विषयमा चर्चा भएको रहेनछ ।

रोहिणी नदीको पूर्वतिर बुद्धकालीन समयमा कोलिय गणराज्य थियो भने पश्चिमतिर शाक्य गणराज्य । यो पानीको विषयमा तत्कालीन समयमा झै–झगडा हुने गरेको बुद्धकालीन साहित्यमा पाउँछौं । त्यसैले रोहिणी नदीको संरक्षण, प्रवद्र्धन र यसको बहुउद्देश्यीय विकासको योजना अगाडि सार्ने योजना छ । यसको प्रारम्भिक प्रस्ताव छ । तर, यसलाई राष्ट्रिय गौरवकै योजनाको रूपमा अगाडि बढाउने सोच बनाएको छु ।

यो क्षेत्रमा नै घर भएका विगतमा क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्ने तपाइँकै पार्टीका पूर्व सांसद घनश्याम भूसाल अहिले गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ । लामो समय एउटै आन्दोलनमा, एउटै पार्टीभित्र सँगै सहयोद्धा भएर बस्नुभयो । उहाँसँग अचानक प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आइलाग्यो । तपाइँलाई कस्तो लागिरहेको छ ?

एउटै पार्टीमा हिजो थियौं, आज रहेनौं । म नेकपा एमालेको सूर्य ध्वजावाहक उम्मेदवारको रूपमा प्रस्तुत छु । यहाँ हामीले राप्रपा र जसपासँग पनि तालमेल गरेर संयुक्त उम्मेदवारको रूपमा प्रस्तुत छु । गठबन्धनमा रहेका अरू दलहरूले अरू उम्मेदवार अगाडि सार्न सक्नुभएन वा सार्नु भएन ।

नेपाली कांग्रेसले पनि प्रतिनिधिसभामा आफ्नो उम्मेदवार अगाडि सारेको अवस्था रहेन । नेकपा माओवादीले पनि उम्मेदवार अगाडि सारेन । अरू उम्मेदवार स्वतन्त्र हुनुहुन्छ । राजनीतिमा राजनीतिक दललाई नै जिम्मेवार र जवाफदेही बनाउने प्रणाली हो । राजनीतिक दल वा दलको प्रतिनिधिले राम्रो गरेमा मतदाताले पुरस्कृत गर्ने हो । राम्रो गर्न नसके दण्डित गर्ने हो । फेरि काम गर भन्ने हो ।

स्वतन्त्र हैसियतमा घनश्याम भूसालजी उम्मेदवार बन्नुभएको छ । आजसम्म एउटा नीति, सिद्धान्त, विचारको कुरा गर्ने, पार्टी संगठन र विधिको कुरा गर्ने साथीहरू अहिले ती केही पनि होइनन् भनेर स्वतन्त्र हुँदा म आफैंमा अचम्मित छु ।

निर्वाचनमा उम्मेदवार भएपछि तपाइँहरूबीच कुरा भएको छ कि छैन ?

त्यो संयोग अहिलेसम्म मिलेको छैन । हामी यही ठाउँका भयौं । हामी एउटै पार्टीमा काम गरेका साथीहरू भयौं । म नेकपा एमालेको निरन्तरताको अंग हो । निरन्तरताको अंग बनेर नै जीवनपर्यन्त काम गर्ने मेरो अठोट छ । यसको तात्पर्य मैले पार्टी आन्दोलन र मतदातालाई धोका दिएको छैन ।

सूर्य चिह्न जसको राप र तापले समाजमा चिन्ने एउटा परिस्थिति मेरो बनेको छ त्यो सूर्यको राप–तापलाई अवज्ञा गर्दिनँ, अवमूल्यन गर्दिनँ, अपमान गर्दिनँ । त्यसैले यसको अंग बनेर नै मैले आफ्नो ठाउँबाट योगदान/भूमिका निर्वाह गर्ने हो । मैले प्रारम्भदेखि नै भनेको छु, दलीय व्यवस्थामा दलकै तर्फबाट उम्मेदवार हुने हो । तर, प्रतिनिधि भइसकेपछि त्यो साझा हुन्छ ।

सबै मतदाताको, सबै राजनीतिक आस्था राख्ने सबै मतदाताको साझा प्रतिनिधि भएर सेवकका रूपमा भूमिका निर्वाह गर्ने हो । मैले यो निर्वाचन क्षेत्रमा २०७४ पछाडि आफैंले यी चिजहरूलाई आत्मसात् गरेर प्रस्तुत भएको छु, काम गर्ने कोसिस गरेको छु । मैले सबै कुरा राम्रो भो, जनअपेक्षा पूरा भयो भन्ने कुनै दाबी छैन । तर, थालनी इमानका साथ गरेको छु । म कुनै सीमित घेरामा बाँधिएको छैन । समग्र जनताको विषय हो ।

अहिले सबैतिर जाँदा एउटा प्रश्न आम रूपमा सुनिन्छ, संसद दुई पटक विघटन भयो, दुई तिहाइ बहुमतको सरकार थियो, त्यो पनि बीचैमा ढल्यो । त्यसले जति समय काम गर्‍यो, त्यसमा पनि विभिन्न खाले प्रश्न उठे । यी खालका गुनासोलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

त्यो पक्षलाई अहिले फर्केर हेर्दा ताजा जनादेशमा जाने कुरा सही रहेछ भन्ने लाग्छ । किनकि दल भित्रबाट, बाहिरबाट काम गर्न नदिने, घेराबन्दी गर्ने, तमाम अवरोध सिर्जना गर्ने र जनताको जनादेशलाई कुण्ठित पार्ने खालको काम भयो । यो चिज भइरहनु भन्दा ताजा जनादेशमा गएर जनताको अभिमत लिने, जनमत अभिव्यक्त गर्ने कुरा जनताको सार्वभौम अधिकार सदुपयोग गर्ने काम सही रहेछ भन्ने लाग्छ ।

त्यतिबेला पार्टी नेतृत्वले जे गर्‍यो, त्यो सही नै थियो भन्ने तपाईंको धारणा हो ?

मैले जनता सर्वोपरि भन्नुको पछाडि हिजो हामीले गरेका सबै काम शतप्रतिशत ठिक भए, यसमा मेरो कुनै दाबी छैन । हामीले भएका कमी–कमजोरी सच्याउने प्रतिबद्धता पनि छ ।

तर, त्यो परिस्थिति, त्यो परिवेश प्राप्त नगरेपछि अब म जनतासँग जान्छु भन्ने कुरालाई त्यो विधि के थियो, प्रक्रिया के थियो, आफ्नो ठाउँमा होला, तर जनतालाई सर्वोपरि ठानेर, जनताबाट ताजा जनादेश माग्ने कुरा सुल्टो रहेछ जस्तो लाग्छ ।

अहिले हेर्दा भैरहवा विमानस्थलदेखि सारा प्रश्न उठेका छन्, बौद्ध विश्वविद्यालयको सन्दर्भ पनि छ, यी विषयमा तपाईंहरूले विगतमा सहकार्य गरेको वा आगामी दिनमा गर्ने बारे के सोच्नुभएको छ ?

यो निर्वाचन क्षेत्रका जनताको भावना, प्राथमिकताका विषयमा मैले अगाडि सारेको काम हो, यो । मैले अगाडि बढाएपछि यसका प्रस्तावमा योजनाहरू दर्ज भएका छन्, त्यो सबैको हुने कुरा स्वाभाविक हो । मैले थालेका कुरालाई अरूले पनि महत्व दिएर समाएका कुरालाई अन्यथा ठान्ने कुरै भएन ।

यो प्रसंग, तपाईं दलित समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ, रुकुम घटना भयो, अन्य अन्यायपूर्ण घटना भए, यसमा तपाईं कहाँनिर हुनुहुन्छ, तपाईंको भूमिका के हुन्छ भनेर जनताले बढी अपेक्षा गरेको हुन्छ, यसमा तपाईंको चाहिने जति जोड नपुगेको हो ? यद्यपि यो सम्पूर्ण समाजले उठाउनुपर्ने मुद्दा हो !

नेपालको दलित मुक्ति आन्दोलनलाई मैले मानव–मर्यादा कायम गर्ने आन्दोलनका रूपमा लिएको छु । त्यो अभियानको एक अभियन्ता हो, म । यसलाई राजनीतिसँग अविच्छिन्न रूपमा जोडेर लैजानुपर्ने त्यो सिद्धान्त नै भयो ।

यसलाई स्थापित गर्ने मान्छे म हुँ । साथ दिने धेरै साथी हुनुभयो । राजनीतिसँग यो चिजलाई नजोडेसम्म समाधान सम्भव छैन है भनेर म लागेको हुँ । पार्टीहरूमा समेत यो विषय प्राथमिकताका साथ सामेल हुनुपर्छ, पार्टी संगठनमा समेत यो आवाजको प्रतिनिधित्व हुनुपर्छ । समावेशिता, समानुपातिकमा यो सब चिजमा पहलकदमी गरेको हुनाले यो समग्र समाज परिवर्तनको अभियान हो ।

यो महत्वपूर्ण पक्ष पनि हो । मानव मर्यादा स्थापित गर्ने कुरा धेरै महत्वपूर्ण छ । यी तमाम घटना, परिघटनामा म गुमनाम भएँ भन्ने कुरा विल्कुलै होइन । कसले कसरी बुझ्छ थाहा भएन ।

यो हरेक विषयमा अगुवा बनोस् भन्ने भावका साथ भनिएको हो भने म त्यसलाई सकारात्मक रूपमा नै लिन्छु । जहाँ घटनाहरू भएका छन्, त्यसलाई सस्तो लोकप्रियताका लागि मैले जीवनमा कहिल्यै पनि लिइनँ । समग्रतामा त्यसलाई समाधानउन्मुख गराउन, राज्य, दलहरू र समाजलाई जिम्मेवार बनाउन मेरो पहलकदमी अविच्छिन्न रूपमा रहिरहनेछ ।

 तस्वीर/ भिडियो : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?