+
+
उम्मेदवार प्रोफाइल :

लगातार तेस्रो जितको योजनामा नेता भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १६:५६

हार्दा पनि तेस्रो पटक, जित्दा पनि तेस्रो पटक अर्थात् ह्याट्रिक ! यही दुई सम्भावनाको सम्मुखमा छन्, एमाले नेता विशाल भट्टराई । २०५६ सालदेखि लगातार खोटाङबाट आम चुनावमा उम्मेदवार बनेका एमाले पोलिटब्यूरो सदस्य भट्टराई ४ मंसिरको चुनावमा तेस्रो जितको खोजीमा छन् ।

२०५६ सालको संसदीय निर्वाचन र २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा पराजित भएका भट्टराई २०७० को दोस्रो संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका थिए । कुशल संगठक, बलियो जनसम्पर्क, वैचारिक अडान, निष्ठा र इमानदारी उनका व्यक्तिगत परिचय हुन् ।

झोला बोकेर खोटाङे जनताको घर–घरमा पुग्ने नेतामध्येमा पर्छन् भट्टराई । यही कारण तल्लो तहसम्म उनको बलियो जनसम्पर्क छ । अधिकांश जिल्लावासीलाई नाम र ठेगानाबाट चिन्छन्, उनीहरूका फोन नम्बर मोबाइलमा सेभ गरेका छन् ।

जोसुकैको फोन उठाउँछन्, उठाउन नभ्याए ‘कल ब्याक’ गर्छन् । आपत्विपत्मा सकेको सहयोग गर्न ढिला गर्दैनन् । संगत गर्नेले उनलाई सरल र शालीन नेताका रूपमा चिन्छन् । जितेपछि जिल्ला फर्किंदैनन् भन्ने नेताहरूमाथि आम आरोप छ, तर भट्टराई यो आरोपबाट मुक्त छन् । चुनाव जितेपछि जिम्मेवारीबोधका साथ अझ बढी जनतामाझ पुग्नुपर्छ भन्ने देखाएका छन् ।

गाउँबाट उठेका नेता

खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा पितृप्रसाद र पवित्रा भट्टराईको पाँचौं सन्तानको रूपमा २०२५ साल चैत २२ गते विशाल भट्टराईको जन्म भएको हो । खोटाङबजारको बालमन्दिर प्राविबाट कक्षा ३, भगवती दिनानाथ माविबाट एसएलसी उत्तीर्ण गरेका भट्टराईले रत्नराज्य क्याम्पस काठमाडौंबाट प्रवीणता प्रमाण–पत्र र स्नातक तह उत्तीर्ण गरेका छन् ।

२०३८ सालमा भगवती मावि खोटाङबजारमा अनेरास्ववियुको सदस्य बनेर उनले औपचारिक रूपमा राजनीतिक यात्रा सुरु गरेका हुन् । भट्टराई २०५१ मा महेन्द्ररत्न क्याम्पसको स्ववियु सभापति र २०५४ मा अनेरास्ववियु केन्द्रीय कमिटीको प्रचार विभाग प्रमुख बने ।

भट्टराईले २०६१ मा एमाले जिल्ला कमिटी खोटाङको उपसचिव, २०६३ सालमा सचिव (पार्टी प्रमुख) हुँदै २०६७ देखि २०७० सम्म जिल्ला अध्यक्ष भएर पार्टीको जिम्मेवारी सम्हाले । एमाले केन्द्रीय सदस्य हुँदै पोलिटब्यूरोमा रहेका उनी खोटाङ जिल्ला इन्चार्ज पनि हुन् ।

अध्ययनका सिलसिलामा काठमाडौं छिरेका भट्टराई राजधानीकेन्द्रित राजनीति गरिरहेका थिए । २०५५ सालमा नेकपा एमाले विभाजित भएपछि उनी एमाले जगाउन भन्दै खोटाङ फर्किएका थिए, त्यसयता उनले जिल्ला छाडेका छैनन् ।

२०५६ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङ–२ मा कांग्रेसका शिवकुमार बस्नेतसँग पराजित भए । २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा माओवादी केन्द्रकी समिता कार्कीसँग हारे ।

२०७० को दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसका विष्णुकुमार राईलाई हराएर उनले पहिलोपटक संसदको यात्रा तय गरे । खोटाङका सडक, पुल, विमानस्थल, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा पुर्‍याएको योगदानका कारण मतदाताले आफूलाई रोज्ने भट्टराई दावी गर्छन् । उनको अर्को प्रतिबद्धता छ, सुगम खोज्दै भौंतारिने नभएर खोटाङलाई नै सुगममा परिणत गर्ने ।

भट्टराईका चुनावी एजेण्डा

खोटाङका नागरिकको घरमा खरको छानो फेरेर टिन लगाउने राष्ट्रिय अभियान पूरा गर्ने, कम्तीमा हरेक गाउँपालिकाको केन्द्रमा सडक पुर्‍याउने, एउटा प्राविधिक शिक्षालय र सुविधासम्पन्न अस्पताल बनाउने भट्टराईका चुनावी एजेण्डा हुन् । यस्तै, जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने, प्राविधिक शिक्षालयलाई विस्तार गर्दै प्राविधिक जनशक्ति उत्पादन गर्ने एजेण्डा अघि सारेको भट्टराई बताउँछन् ।

६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गरेर जिल्लाका दशौं हजार नागरिकलाई रोजगारी दिलाउने, कच्ची सडक स्तरोन्नति गर्ने, महिलाको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने, किसानलाई राहत दिने योजना ल्याउने भट्टराई बताउँछन् ।

ह्याट्रिकमा गठबन्धन चुनौती

खोटाङमा नेकपा एमाले एक्लै प्रतिस्पर्धामा छ भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले साझा उम्मेदवारको रूपमा माओवादी केन्द्रका रामकुमार राईलाई अघि सारेको छ । अन्य दलका उम्मेदवार भए पनि भट्टराई र राईबीच नै प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा खोटाङका १० स्थानीय तहमध्ये आठ वटामा सत्ता गठबन्धन दलले र दुई वटामा मात्र एमालेले प्रमुख पद जितेको छ । वडाअध्यक्षका उम्मेदवारले पाएको मतको आधारमा माओवादी केन्द्रको १८ हजार, कांग्रेसको २६ हजार, नेकपा एकीकृत समाजवादीको २ हजार मत छ । नेकपा एमालेको भने करिब २८ हजार छ ।

स्थानीय चुनावको मत परिणाममा पछाडि रहे पनि सत्तारुढ गठबन्धनमै रहेका दलको मत तान्ने भट्टराईको योजना छ । गठबन्धनभित्रको असन्तुष्टिका कारण प्रदेश सभा (१) मा कांग्रेसका धर्मराज पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्, यही कारण एमाले केही आशावादी देखिएको छ । आफ्नो व्यक्तिगत सम्बन्ध, कतै नखुलेका नयाँ मतदाताले पनि निर्वाचन परिणामलाई तल–माथि पार्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?