+
+

विद्यार्थी आन्दोलनलाई प्रश्नहरुको अखडा होइन उत्तरहरुको मैदान बनाउनुपर्छ : लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते १०:५१

२४ माघ, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन आउँदो फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।

‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलनले विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिने अनेरास्ववियुका नेताहरु बताउँछन् ।

अनेरास्ववियुका बरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले सम्मेलनलाई सभ्य र भव्य ढंगले सम्पन्न गर्न आन्तरिक तयारी तीव्र पारिएको बताए । २३ औं महाधिवेशनपछि विद्यार्थी आन्दोलनलाई प्रश्नहरुको अखडा नभई उत्तरहरुको मैदान बनाउने दाबीसमेत उनले गरे । महाधिवेशनको सन्दर्भमा लामिछानेसँग गरिएको संक्षिप्त कुराकानी–

विगतको भन्दा यसपटकको महाधिवेशन के कुरामा फरक छ ?

अनेरास्ववियु मुलुकको सर्वाधिक शक्तिशाली, ठूलो र गौरवमय संगठन संगठन हो । यो संगठनको महाधिवेशनले विद्यार्थी आन्दोलनलाई एउटा नयाँ र सुस्पष्ट दिशा दिनेछ । अखिलको यो महाधिवेशन स्ववियु निर्वाचन जित्ने अभियानको उत्सव हुनेछ । यो महाधिवेशन भब्यतापूर्वक र सभ्यतापूर्वक सम्पन्न गर्न हामीले विभिन्न समितिहरु बनाएका छौं । ती सबै समितिका साथीहरु महाधिवेशनलाई उत्सवमय ढंगले सम्पन्न गर्न अहोरात्र काममा खटिरहेका छौं । विश्वविद्यालय, कलेज हुँदै विद्यालयसम्म, संघ, प्रदेश हुँदै पालिकासम्म र राजधानी, जिल्ला हुँदै गाउँघरसम्म विद्यार्थीहरु जुर्मुराएका छन् । स्ववियु निर्वाचन पनि नजिकिइरहेकाले यो महाधिवेशन अझ महत्वपूर्ण छ । धेरैभन्दा धेरै कलेजमा जित्ने ढंगले हामी तयारी गरिरहेका छौं । गुणस्तरीय र सर्वसुलभ शिक्षा र जनजीविकाका मुद्दालाई अघि बढाउन हामी निरन्तर सक्रिय छौं । ‘जहाँ विद्यार्थी, त्यहाँ अनेरास्ववियु’ भनेर स्थापित गर्नेछौं ।

महाधिवेशनबाट नेतृत्व चयन कसरी हुन्छ ?

हामी विधान सम्मेलन सम्पन्न गरी राष्ट्रिय महाधिवेशनमा होमिएका छौं । मूलतः यो नेतृत्व चयन गर्ने महाधिवेशन हो । यस महाधिवेशनबाट हामी नेपालको विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन सक्ने सक्षम नेतृत्व निर्माण गर्नेछौं । पार्टी नेतृत्वको निगरानीमा, प्रतिनिधिहरुले आफ्नो नेता छान्ने छन् । सबैलाई समेटेर विद्यार्थी आन्दोलनमा नयाँ आयाम थप्ने अभिभारा अनेरास्ववियुका नेताहरुको काँधमा छ ।

महाधिवेशनबाट अध्यक्ष बन्ने गरी तपाईंहरुबीच हानथाप छ । सहमतिबाट नेतृत्व चयन हुन्छ कि चुनाव नै गर्ने ?

स्ववियु निर्वाचनको मुखमै हुन लागेको महाधिवेशन भएकाले भरसक सहमतिकै आधारमा नेतृत्व टुंगो लागे राम्रो हुनेथियो । हामी सकेसम्म सहमतिको आधारमा नेतृत्व छान्नेछौं । सहमति हुन नसकेको अवस्थामा लोकतान्त्रिक विधि त छँदैछ ।

तपाईं पनि अध्यक्षको दाबेदार हो ?

हो । अरु साथीहरु पनि दाबेदार हुनुहुन्छ । अध्यक्ष बन्ने मेरो चाहना र योजनाले महाधिवेशन हलबाट सार्थकता पाउँछ भन्नेमा म विश्वस्त छु । किनभने सरस्वती क्याम्पसदेखि आरआर क्याम्पसको प्रा.क. र स्ववियुमा रहेर काम गरें । काठमाडौं क्याम्पस जिल्ला कमिटीको सहसचिव, सचिव हुँदै अध्यक्षको जिम्मेवारी पूरा गरें । तत्पश्चात् संगठनको केन्द्रीय सदस्य, सचिवालय सदस्य हुँदै संगठनको केन्द्रीय सचिव तथा हाल वरिष्ठ उपाध्यक्षको हैसियतमा भएकाले अध्यक्षमा स्वाभाविक दाबी छ ।

कतिपयले विद्यार्थी आन्दोलनको औचित्व अब सकियो भन्छन् । तर पनि विद्यार्थी संगठको नेतृत्वमा पुग्न हानथाप चल्छ किन होला ?

साँच्चिकै भन्नुहुन्छ भने म त विद्यार्थी आन्दोलनको औचित्य झन् बढेको देख्छु । किनकि नेपाली विद्यार्थीका समस्या र शैक्षिक क्षेत्रका समस्या समाधान भएका छैनन् । तर म सहमत छु मानिसहरुले पुरानो तरिकाको विद्यार्थी आन्दोलनमाथि प्रश्न गरेका छन् । पुरानो तरिका, एजेन्डा र ढर्राको विद्यार्थी आन्दोलनको औचित्य सकिएको हो । नयाँ मुद्दा, एजेन्डा र नयाँ तरिकाको विद्यार्थी आन्दोलन झन् बढी जरुरी छ । विद्यार्थी आन्दोलन अगुवाले यो कुरा बुझ्नुपर्छ । अबको नेतृत्वले विद्यार्थी आन्दोलनलाई प्रश्नहरुको ओइरोको अखडा होइन कि उत्तरहरुको मैदान बनाउन ध्यान दिनुपर्ने भएकाले पनि आफू अध्यक्ष बन्न पाए काम गरेर देखाउँथें, सबै गुनासा र समस्याहरु समाधान गर्थें भन्ने हुँदोरहेछ ।

नयाँ तरिकाको विद्यार्थी आन्दोलन भन्नुभयो, त्यो भनेको कस्तो हो ?

हिजो पञ्चायती कालो व्यवस्था र राजाको कू का विरुद्ध विद्यार्थी आन्दोलन अग्रभागमा लडेकै हो । त्यतिबेला दलहरु पनि प्रतिबन्धित थिए । तर हामीले नयाँ लोकतान्त्रिक व्यवस्था र नयाँ संविधान ल्याएका छौं । अब राजनीतिको मूल जिम्मा दललाई नै छाडेर हामी चाहिँ शैक्षिक मुद्दा र विद्यार्थीका मुद्दामा फर्कनुपर्छ । अहिले हामीले यसो हेर्यौं भने जहाँ विद्यार्थी छन्, त्यहाँ विद्यार्थी आन्दोलन छैन र जहाँ विद्यार्थी आन्दोलन छ, त्यहाँ विद्यार्थी छैनन् । अब यो अन्तरविरोध हल गर्नुपर्छ । विद्यार्थीलाई नछुने र विद्यार्थीसँग सरोकार नराख्ने विद्यार्थी आन्दोलन अब बदल्नुपर्छ ।

हामीले लडेर ल्याएको संविधानमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई नागरिकको मौलिक हकको रुपमा ग्यारेन्टी गरिएको छ । यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नु नै विद्यार्थी आन्दोलनको अबको बाटो हो । तीनै तहका चुनाव गरेर मात्र संविधान कार्यान्वयन हुँदैन । संविधानले कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क र कक्षा ८ सम्मको शिक्षा अनिवार्य भनेको छ । यसलाई कार्यान्वयन गर्नु हाम्रो कार्यभार हो ।

तर तपाईंहरुका आन्दोलनले न शिक्षा व्यवहारिक भयो, न गुणस्तरीय भयो, आफ्नो दलको भरिया जस्तो मात्र भयो भन्ने आरोपबारे के भन्नुहुन्छ ?

तपाईंले भनेजस्तो केही पनि उपलब्धि नभएको होइन । थुप्रै कुराहरुमा सुधार भएका छन् । पाठ्यक्रम समय सापेक्ष बनाउने क्रम जारी छ । शिक्षा मौलिक अधिकारको रुपमा स्थापित छ । अब हामीले हाम्रो शिक्षालाई श्रमसित, श्रमलाई सिपसित, सिपलाई रोजगारीसित, रोजगारीलाई उत्पादन सित, उत्पादनलाई समृद्धिसित र समृद्धिलाई संविधानले परिकल्पना गरेको समाजवादउन्मुख प्रणालीसित जोड्नु पर्दछ । अर्को कुरा विद्यार्थी आन्दोलनलाई राष्ट्रियताको पहरेदार, लोकतन्त्रको रक्षाकवच, जनजीविकाको प्रवक्ता र शैक्षिक रुपान्तरणको नेता बनाउनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?