+
+

आयकर र मूल्य अभिवृद्धि कर खुम्चिंदा आन्तरिक राजस्व प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १४:३२

३ वैशाख, काठमाडौं । आयकर र मूल्य अभिवृद्धि कर खुम्चिंदा आन्तरिक राजस्व प्रभावित बनेको छ । आन्तरिक राजस्व विभागका अनुसार अघिल्लो वर्षको चैत महिनासम्मको तुलनामा आयकर ९१ प्रतिशत मात्र उठेको छ । मूल्य अभिवृद्धि कर (आन्तरिक) ९८ प्रतिशत मात्र उठेको छ ।

यस आर्थिक वर्ष (आव) को चैत महिनासम्म सरकारले ३ खर्ब ३७ अर्ब १० करोड रुपैयाँ आन्तरिक राजस्व उठाएको छ । यो गत वर्षको तुलनामा ९८ प्रतिशत मात्र हो । सो आवमा सरकारले ३ खर्ब ४२ अर्ब ६५ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गर्न सफल भएको थियो ।

सरकारले चैतसम्म १ खर्ब ५० अर्ब मात्र आयकर उठाएको छ । गत वर्ष यसैअवधिसम्म १ खर्ब ६५ अर्ब ४५ करोड रुपैयाँ आयकर उठेको थियो । ब्याजकर २५ अर्ब २१ करोड रुपैयाँ उठेको छ । गत आवमा ब्याजकर १७ अर्ब ५६ करोड उठेको थियो ।

भ्याट भने ७८ अर्ब ८९ करोड रुपैयाँ मात्र उठेको छ । गत आवको यसै अवधिमा भ्याट ८० अर्ब ९१ करोड उठेको थियो । अन्तःशुल्क भने गत आवको तुलनामा केही बढेको छ । यस आवमा चैतसमम ७४ अर्ब २८ करोड उठेको छ । गत आवको चैतसम्म ७१ अर्ब ४९ करोड रुपैयाँ अन्तःशुल्क उठेको थियो ।

यो वर्ष राजस्व संकलनमा सरकार लक्ष्य भन्दा धेरै नै पछि छ । अहिले चालु आवको ७५ प्रतिशत समय ढल्किसकेको छ । तर, राजस्व संकलन भने लक्ष्यको आधा पनि उठेको छैन ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चैत मसान्तसम्म राजस्व ६ खर्ब ८३ अर्ब ८० करोड उठेको छ । यो कुल राजस्व संककन गर्न लिइएको लक्ष्यको मात्र ४८.७३ प्रतिशत हो । यस आवमा सरकारले १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ ।

आन्तरिक राजस्व विभागका प्रवक्ता राजुराज प्याकुरेलका अनुसार आन्तरिक अर्थतन्त्रमा आएको सुस्ततासहितका कारणले आन्तरिक राजस्व समेत प्रभावित बनेको हो । यस वर्ष गत वर्षकै हाराहारी मात्रै पनि राजस्व उठाउन सके त्यसलाई ठूलो उपलब्धि मान्ने अवस्था रहेको उनले बताए । साविकमा राजस्व संकलन अघिल्लो आवको तुलनमा २० प्रतिशत भन्दा माथि उठ्ने गरेको थियो । यो वर्ष गत आवको संकलन हाराहारी समेत अझै उठिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?