+
+

बागमती प्रदेशले राख्न थाल्यो निजामती कर्मचारीको अभिलेख

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २० गते १७:१६

२० वैशाख, काठमाडौं । बागमती प्रदेशले प्रदेशमा समायोजन भएका र  प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएका निजामती कर्मचारीको व्यक्तिगत अभिलेख राख्नु सुरू गरेको छ ।

राष्ट्रिय किताबखाना र बागमती प्रदेश सरकारबीच बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भएको समझदारी अनुसार यस्तो व्यवस्था गर्न लागिएको हो ।

संघीयता कार्यान्वयन तथा कर्मचारी समायोजनको महत्वपूर्ण विषयका रुपमा थाती रहेको प्रदेश किताबखानाको अवधारणाले अब मूर्त रुप पाएको छ । यससँगै व्यक्तिगत विवरण राख्न नसकिएका हजारौं निजामती कर्मचारीको विवरण अपडेट हुने भएको हो ।

सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले प्रदेशमा रहेका तथा स्थानीय तहमा खटिएका कर्मचारीहरुको व्यक्तिगत विवरण प्रदेशले राख्ने व्यवस्थाले संघीयता कार्यान्वयनको एक चरण पुरा भएको बताए । उनले कर्मचारी व्यवस्थापनका बाँकी काम क्रमशः पुरा गर्दै जाने बताए ।

बागमती प्रदेश सरकारका प्रमुख सचिव मुकुन्द निरौलाले प्रदेश पीआईएस प्रभावकारी ढंगले राखिने र अन्य प्रदेशलाई समेत उदाहरणीय कार्य गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे ।

समझदारीपत्रमा किताबखानाका महानिर्देशक डा. टोकराज पाण्डे र प्रदेश सचिव निश्चलराज पाण्डेले हस्ताक्षर गरे ।

हाल निजामती सेवामा झण्डै ९० हजार कर्मचारी कार्यरत छन् । जसमध्ये प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा पछि पदपूर्ति भएका झण्डै २५ हजार कर्मचारी छन् । किताबखानाका अनुसार अब क्रमशः सबै प्रदेशलाई प्रदेश पीआईएस पोर्टल हस्तान्तरण गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?