+
+

क्यान्सर, राजनीति र देश

जसरी क्यान्सरजन्य कोषहरूले शरीरका स्वस्थ कोषहरूको पोषण तत्वहरू चुसेर उनीहरूजस्तै बन्न वा मर्न बाध्य बनाउँछन्, त्यस्तै नेपालका राजनीतिक नेताहरू वा राजनीतिक पार्टीहरूले नागरिकलाई पार्टीको झोला बोक्न, विदेशिन वा मर्न बाध्य बनाइरहेका छन् ।

राजेन्द्र पंगेनी राजेन्द्र पंगेनी
२०८० वैशाख २३ गते १३:१९

अहिले नेपालको आम वृत्तमा एउटा प्रचलित कथन छ, हाम्रो राजनीति क्यान्सर जस्तो भयो । यसलाई झारफुक गरेर वा सिटामोल दिएर निको बनाउन सकिन्न । राजनीतिमा लागेको क्यान्सर ठीक गर्न चिरफार नै गर्नुपर्छ।

हामीले पत्ता लगाएकामध्ये क्यान्सर सबैभन्दा जटिल रोग हो । क्यान्सर रोग विस्तारै सुरु हुने र शरीरलाई पूर्णतया विक्षिप्त अवस्थामा पुर्या्उने हुनाले यसको उपचार र यसले दिने चुनौती अन्य कैयौं रोगहरूको तुलनामा धेरै जटिल छ। तर हाम्रो राजनीति साँच्चिकै क्यान्सरसँग मिल्दो-जुल्दो भएकै हो त? यस आलेखमा क्यान्सर रोगको प्रकृति र यसको उपचारको जटिलता कसरी देश र राजनीतिसँग मिल्छ तथा देशको राजनति र बेथितिलाई कसरी क्यान्सरको जस्तै उपचार विधि प्रयोग गरेर निको पार्न सकिन्छ भन्नेबारे चर्चा गरिनेछ ।

क्यान्सरको प्रकृति र जटिलता

हाम्रो शरीर अर्बौं कोषहरू मिलेर बनेको हुन्छ। उक्त कोषहरू आफ्नो बनावट र कामको भूमिकाको आधारमा समुदाय बनाएर बस्छन्, जसलाई तन्तु भनिन्छ। उदाहरणका लागि रगत एक प्रकारको तन्तु हो। यो विभिन्न प्रकारका रक्तकोषहरू मिलेर बन्छ । त्यस्तै हाड, छाला आदि तन्तुका उदाहरण हुन्।

शरीरमा विभिन्न प्रकारका तन्तुहरू मिलेर अंगहरू बन्छन्। मुटु, मृगौला, कलेजो, आदि अंगहरू हुन्। अंगहरूबाट प्रणाली बन्छन्। स्वासप्रश्वास प्रणाली, पाचन प्रणाली, रक्तसञ्चार प्रणाली आदि यसका उदाहरणहरू हुन्।

हाम्रो शरीरका कोषहरू विभाजन हुन्छन् र यसका सन्तति कोषहरू बन्छन् । कोषहरू विभाजन भएर यसको संख्यामा वृद्धि हुने भएकोले यही प्रक्रियाले नै सानो भ्रुणबाट हामी पूर्ण रूपमा एउटा जीवको आकार लिन सक्छौं । जब कोषहरू विभाजन हुन् छोड्छन्, उनीहरूमा बुढ्यौली लाग्छ । बुढ्यौली लाग्नको कारण हाम्रो शरीरमा नयाँ कोषहरू बन्ने क्रम रोकिनु र शरीरका सम्पूर्ण कोषहरू विस्तारै बुढो हुँदै जानु हो।

हाम्रो शरीरमा विभिन्न प्रणालीले आ-आफ्नो काम गर्छन्। जब शरीरमा एउटा कोष विभाजन हुने क्रममा वा अन्य कुनै कारणले केही अस्वाभाविक परिवर्तन हुन्छ, त्यसबाट उक्त कोषमा रोग लाग्न सुरु हुन्छ । उक्त कोषमा देखा परेको परिवर्तन वंशाणुसँग सम्बन्धित हुन गयो भने त्यसबाट जन्मेका सन्तति कोषहरू सबै रोगी हुन्छन्।

कुनै कोषमा आउने अस्वाभाविक परिवर्तनले जब उक्त कोष अजम्बरी अर्थात् कहिले पनि नमर्ने र अजम्बरी प्रकृतिका कोषहरू जन्माउने क्षमता राख्छ, त्यसलाई हामीले क्यान्सर कोष भन्ने गर्दछौं।

क्यान्सर कोषहरू छिटो विभाजन हुन्छन्, आफूहरूको गुच्छा अर्थात् कोषहरूको गाँठो बनाउँछन् । उक्त गाँठोलाई हामीले ट्युमर भन्छौं। ट्युमर अर्थात् क्यान्सरको उपचारको सबैभन्दा ठूलो चुनौती उनीहरू अजम्बरी हुनु र आफूलाई चाहिने पोषण अन्य स्वस्थ कोषहरूबाट हडपेर लिनु हो । यसले अन्य स्वास्थ्य कोषहरू पोषणको अभावले मर्छन् वा क्यान्सर जस्तै बन्न बाध्य हुन्छन् । ती कोषहरू क्यान्सर जस्तो हुनबाट बच्नकै लागि पनि आत्महत्या गर्दछन् । यसलाई अंग्रेजीमा एपोप्टोसिस भनिन्छ।

अहिले क्यान्सरको उपचार विधिमा स्वास्थ्य कोषलाई असर नगर्ने गरी क्यान्सरजन्य कोषहरूलाई यही विधिको प्रयोग गरेर नष्ट गर्ने उपाय अपनाइन्छ।

क्यान्सरको सुरुवाती अवस्थामा हामीले केमोथेरापी अर्थात् एन्टिबायोटिक प्रयोग गरेर ठीक गर्न सकिन्छ। त्यस्तै परावैजनी किरणको माध्यमले पनि ट्युमरलाई नष्ट गर्ने प्रयास गरिन्छ जसलाई रेडियोथेरापी भनिन्छ । जब क्यान्सर अलि बढी नै झ्याङ्गिइसकेको हुन्छ । एन्टिबायोटिकले काम गर्न सक्दैन । त्यसैले शल्यक्रिया नै गर्नुपर्ने हुन्छ।

क्यान्सरको शल्यक्रियाको गर्नु भनेको क्यान्सरका कोषहरू मिलेर बनेको गाँठो अर्थात् ट्युमरलाई काटेर फ्याँक्नु हो। कतिपय अवस्थामा क्यान्सर शरीरको विभिन्न भागमा फैलिएको हुन्छ, जसले गर्दा शल्यक्रियाले पनि काम नगर्न सक्छ । र, सबै उपचार असफल हुन्छन् । उदाहरणका लागि पित्तथैलीमा भएको कोलान्जियोकार्सिनोमा नामको क्यान्सरको कारणले डा. उपेन्द्र देवकोटाको मृत्यु भयो। उनलाई केमोथेरापी, रेडियोथेरापी र शल्यक्रिया कुनै विधिले पनि काम गर्न सकेन।

अहिले क्यान्सरको लागि नयाँ प्रविधिको विकास भएको छ, जसलाई इम्युनोथेरापी भनिन्छ। उक्त विधिले शरीरमा वा क्यान्सर लागेको अंगमा राम्रा कोषलाई रोपेर क्यान्सरका कोषलाई हमला गर्ने र राम्रा कोषहरू विभाजन भएर क्यान्सरग्रस्त कोषहरूलाई विस्थापित गर्न मद्दत गर्छ । यो उपचार विधिले अन्य उपचार विधिबाट निको बनाउन नसकेको बिरामीमा पनि नयाँ आशा देखाएको छ।

तर इम्युनोथेरापीका पनि विभिन्न प्रकार छन् । तिनीहरू अहिले परीक्षणकालमै छन् र आशालाग्दा नतिजा भने देखिएका छन् ।

शरीर र देशको बनावट र राजनीति

हाम्रो शरीर कोषहरूबाट बने जस्तै देश पनि प्रत्येक व्यक्तिहरू मिलेर बनेको हुन्छ । देशका प्रत्येक व्यक्तिहरूका आफ्नै भूगोल, भाषा, संस्कृतिहरू हुन्छन्। जसरी एउटै प्रकृतिका कोषहरूबाट तन्तु, अंग, प्रणाली बन्छ, त्यसरी नै देशमा पनि व्यक्तिहरूबाट समुदाय बन्छ अर्थात् गाउँ, वडा, नगरपालिका, जिल्ला, प्रदेश बनेको हुन्छ। शरीरका इकाइले जस्तै देशका यी इकाइले पनि आफ्नै काम गरिरहेका हुन्छन् ।

एउटा व्यक्तिमा रोग लाग्दा त्यसले परिवारमा असर गर्छ, साथै लाखौं परिवारहरूमा समस्या देशमै असर पुग्छ। तर जब भ्रष्ट व्यक्तिहरू मिलेर गिरोह निर्माण गर्छन्, तिनीहरूले अन्य इमान्दार व्यक्तिहरूलाई अप्ठ्यारोमा पार्छन् । देशमा इमान्दार व्यक्तिहरूलाई भ्रष्ट व्यक्तिहरूको बिगबिगीले आफू भ्रष्ट बन्ने वा त्यसलाई थेग्ने भन्ने अन्योल र चुनौती आउँछ । यस्तै भ्रष्टहरूको बिगबिगीले र अर्थात् आपराधिक गतिविधिले आम व्यक्ति जीवन र मरणको संघारमा पुग्छन्।

शरीरको स्वस्थ कोषहरूमा क्यान्सर कोषहरूको बिगबिगी, दबदबा हुनु र देशभित्र रहेका भ्रष्ट, अपराधी र खराब व्यक्तिहरूले इमान्दार व्यक्तिमाथि भएको दबदबा ठ्याक्कै तुलना गर्न सकिन्छ। शरीरमा क्यान्सर कोषको दबदबा थेग्न नसकेर स्वस्थ कोषले आत्महत्या गरे जस्तै देशमा पनि आम मानिसहरूले बाध्य भएर आत्महत्या गरेको हामीले देखिरहेकै, भोगिरहेकै छौं।

शरीरको क्यान्सर एउटा कोषबाट सुरु भए जस्तै देशको अपराध र भ्रष्टीकरण पनि एउटै व्यक्तिबाट सुरु हुने हो। हामीले समयमै उक्त अपराध र भ्रष्टाचार उन्मुलन गर्न सकेको भए नेपाल अहिले असफल राष्ट्र बन्ने बाटोमा जाने थिएन। शरीरको क्यान्सर जस्तै यहाँको बेथिति, भ्रष्टाचार र अपराधहरू यति धेरै झ्याङ्गिइसकेको छ कि अब साधारण केमोथेरापीले वा अहिले चलिआएको उपचार विधिले निको नहुने अवस्थामा पुगिसकेको छ।

त्यसैले देशलाई अब पूर्णरूपमा शल्यक्रिया गर्नुपर्ने वा अझ शल्यक्रियाले पनि निको गराउन सकिएन भने नयाँ विधिले ठिक गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं। यदि हामीले अबका कयौं वर्षसम्म पनि यसका समाधानका उपयायहरू पहिल्याउन सकेनौं भने शल्यक्रिया गर्न पनि ढिला हुनसक्ने संकेतहरू देखा परिसकेका छन्।

क्यान्सरजस्तै रोग लागेको छ र हाम्रो राजनीतिमा ?

हाम्रा देशको कर्मचारीतन्त्र, विद्यार्थी राजनीतिको आवरणमा मौलाएको गुन्डागर्दी, पेशागत भातृ संगठन, साथै राजनीतिक पार्टी भित्रको भ्रष्टाचार र पैसाको चलखेल यति धेरै झ्यांगिइ सकेको छ कि यो शरीरको सुरुवाती अवस्थाको क्यान्सर भन्दा धेरै जटिल छ।

जसरी क्यान्सरजन्य कोषहरूले शरीरका स्वस्थ कोषहरूको पोषण तत्वहरू चुसेर उनीहरूजस्तै बन्न वा मर्न बाध्य बनाउँछन्, त्यस्तै नेपालका राजनीतिक नेताहरू वा राजनीतिक पार्टीहरूले नागरिकलाई पार्टीको झोला बोक्नुपर्ने वा विदेशिन वा मर्न बाध्य बनाइरहेका छन् ।

जसरी क्यान्सर कोषहरू मिलेर शरीरमा ट्युमर बन्छन्, त्यसरी नै यहाँ गिरोहहरू बनेका छन्, कर्मचारी संगठन, पेशागत भातृ संगठन, विद्यार्थी संगठन र यहाँका राजनीतिक पात्रहरू क्यान्सरको गिरोह जस्तै भैसकेका छन् । कुनै केमोथेरापी अर्थात् साधारण उपचारले निको गराउन असम्भन नै छ।

हाम्रो संघीय संसदमा हामीले अपवादबाहेक धेरै सांसदहरूमा इमान्दारीभन्दा पार्टीगत स्वार्थ बढी देखेका छौं । त्यसैले संघीय संसद हाम्रो शरीरमा हुने ट्युमरको राजनीति जस्तै हो भन्न सकिने अवस्था छ । हाम्रा अधिकांश सांसदहरूको चरित्र शरीरको क्यान्सर कोषहरूसँग मिल्ने र आवश्यक पर्दा गलत कामको लागि समूह निर्माण गर्ने हुनाले यसलाई ट्युमरसँगै दाँज्न सकिन्छ।

अहिले क्यान्सर उपचारमा विभिन्न विधि तथा प्रविधिहरूको सम्मिश्रण गरेर क्यान्सरका कोषहरूलाई पूर्णतया नष्ट गरी शरीरलाई क्यान्सर शून्य (क्यान्सर फ्री) बनाउने प्रयत्न गरिन्छ। त्यस्तै हामीहरूले पनि क्यान्सर जस्तै फैलिएको र झ्याँगिएको अहिलेको राजनीतिलाई पूर्णतया सफा गर्ने नयाँ र इनोभेटिभ उपाय अपनाउनु जरुरी छ ।

हाम्रो राजनीतिक ट्युमरलाई ठीक गर्ने उत्कृष्ट विधि भनेको क्यान्सरको अहिलेको आशा गरिएको उपचार विधि इम्युनोथेरापीमा जस्तै असल र राम्रो चरित्र बोकेका सांसदहरूमार्फत राजनीतिक रूपमा क्यान्सरजन्य सांसदहरूलाई विस्थापित गर्नु हो।

अहिले प्रयत्न भइरहेको वैकल्पिक राजनीतिलाई हामीले अहिलेको परीक्षणमा रहेको तर आशालाग्दो उपचार विधि मान्न सक्छौं। क्यान्सरको उपचारको लागि धेरै प्रविधिहरूको परीक्षण भए तर कति असफल भए भने कयौंले आशा देखाएका छन्।

त्यस्तै नेपालको राजनीतिमा अहिलेसम्म परीक्षण भइसकेका नयाँ अर्थात् वैकल्पिक विधिहरूले सफलता हासिल गर्न सकेनन्, तर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको बाटो क्यान्सरको उपचारमा जस्तै देशको राजनीतिको लागि नयाँ उपचार विधि जस्तै सफलता उन्मुख बन्न सक्ने आशा गर्न भने सकिन्छ। यो नयाँ उपचार विधि जस्तै परीक्षणकालमै छ, तर यसले एउटा राम्रो आशा भने देखाएको छ।

(लेखक अमेरिकाको नोभा साउथइस्टर्न विश्वविद्यालय तथा नेपालस्थित नेक्सस इन्ष्टिट्युट अफ रिसर्च एंड इनोभेसन (निरी) सँग आबद्ध छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?