+
+

मौद्रिक नीतिको समीक्षाप्रति होटल व्यवसायी सन्तुष्ट

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते १२:३७

२ जेठ, काठमाडौं । होटल संघ नेपालले मौद्रिक नीतिको समिक्षालाई स्वागत गरेको छ । समीक्षामार्फत समस्याग्रस्त होटल क्षेत्रलाई कर्जा व्यवस्थापनमा राहत दिने उद्देश्यले २०८० असार मसान्तसम्म पुनर्संरचना र पुनर्तालिकीकरण गर्न पाउने गरी नेपाल राष्ट्र बैंकले घोषणा गरेको छ । यसप्रति होटल व्यवसायीले नेपाल राष्ट्र बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् ।

संघको काठमाडौंमा सम्पन्न कार्यकारिणी परिषद् बैठकले मौद्रिक नीतिको समीक्षामा गरिएका प्रावधान स्पष्ट र सरल ढंगमा छिटोभन्दा छिटो लागु गर्न कार्यविधि र निर्देशिका बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरिनुपर्ने माग गरेको छ । घोषित नीति र निर्देशन सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट हुबहु कार्यान्वयनको वातावरण बनाउन समेत संघले माग गरेको छ ।

संघले यस अघि भएका यस्तै समीक्षामा घोषित नीति तथा निर्देशनहरु लागु गर्न कार्यविधि र निर्देशिका जारी गर्न ढिलाइ तथा बैंक तथा वित्तीय संस्थाहरुका सम्बन्धित सञ्चालक समितिहरुबाट समेतको निर्णय देखाएर फरक र ढिलो गर्ने व्यवहार भएको समेत संघको भनाइ छ ।

संघले एकल अंकको ब्याजदरको माग गर्दै आएको छ । आगामी आर्थिक वर्षको सरकारी नीति तथा कार्यक्रम, राष्ट्रिय बजेट, वित्तीय एवम मौद्रिक नीतिमा यस क्षेत्रको सुधार तथा विकासका लागि होटललाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता दिन समेत संघले माग गरेको छ । संघले पर्यटन तथा होटल क्षेत्रको विकासका लागि राष्ट्रिय कार्यनीति सहितको व्यवसायमैत्री ठूला प्रकृतिका प्रवद्र्धनात्मक कार्यक्रम ल्याउन समेत भनेको छ ।

नवनिर्वाचत अध्यक्ष विनायक शाहको सभापतित्वमा सम्पन्न संघको कार्यकारिणी परिषद्को बैठकमा पदाधिकारीहरु र देशैभरिबाट प्रतिनिधित्व गर्ने कार्यसमिति सदस्यहरुले होटल संघ नेपालको आगामी वार्षिक नीति, बजेट तथा कार्यक्रम पारित गरेका छन् । संघले आगामी जनवरीमा नेपाल आतिथ्य दिवस आयोजना गर्ने पनि निर्णय गरेको छ । बैठकले शशिकान्त अग्रवाल र रविभक्त श्रेष्ठलाई संघको मानार्थ सदस्यता प्रदान गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?