+
+

‘विद्युतीय गाडी चलाउन सजिलो, खर्च पनि निकै कम हुने रहेछ’

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८० जेठ १० गते ९:३०

काठमाडौं । हिजोआज मुलुकमा विद्युतीय सवारीसाधनको चर्चा निकै छ । पेट्रोल–डिजेलको पैसा बच्ने, इन्धनको दाँजोमा बिजुलीको बिल नगण्य उठ्ने, वातावरणमैत्री हुने, मर्मतसम्भार पनि खासै गर्नु नपर्ने, कर छुटलगायत थुप्रै फाइदा विद्युतीय सवारीसाधनको हुने बताइन्छ ।

अहिले नयाँ सवारीसाधन किन्न खोज्ने धेरैको झुकाव इलेक्ट्रिक गाडीमा देखिन्छ । तर अझै पनि कतिपय भने यसमा विश्वस्त हुन सकेको देखिंदैन ।

अभिनेता तथा व्यवसायी सञ्जोग कोइरालाले विद्युतीय गाडी चलाउन थालेको पाँच वर्ष भयो । नयाँ प्रविधि र परिवर्तनलाई आत्मसात गरिहाल्ने स्वभावका कोइरालाले पनि नेपालमा इलेक्ट्रिक गाडीको चर्चा हुनासाथ यसलाई खरिद गरेर प्रयोग गर्न थालिहाले ।

‘नयाँ प्रविधि र परिवर्तनलाई प्रयोग गरौं भन्ने सोच भएको मान्छे म । नेपालमा विद्युतीय सवारी साधन नयाँ थियो तर मैले भने विश्व बजारमा विद्युतीय गाडीको बारेमा अध्ययन गरिरहेको थिएँ । त्यसैले नेपालमा चर्चा हुन थाल्दा नै मैले विद्युतीय गाडी प्रयोग गर्न थालें,’ उनी भन्छन् ।

सञ्जोग कोइराला

आफूले विद्युतीय गाडी चढ्न थालेदेखि बाहिर चर्चा भएजस्तो कुनै पनि ठूलो समस्या नभोगेको उनी सुनाउँछन् । ‘विद्युतीय गाडीको ब्याट्री टिक्दैन, उकालो ओरालोमा कुदाउन मिल्दैन भनेर धेरैले भनेका थिए । तर त्यस्तो केही समस्या भोगेको छैन मैले,’ कोइराला भन्छन् ।

चार वर्षदेखि इलेक्ट्रिक गाडी प्रयोग गर्दै आएका नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमका टिम लिडर सुमन बस्नेतको अनुभव पनि कोइरालाको जस्तै छ । पेट्रोलियम गाडीको भन्दा  विद्युतीय गाडीका धेरै फाइदा र सुविधा रहेको उनी बताउँछन् । ‘मेरी श्रीमती डा. सुधा बस्नेतले त झनै विगत १० वर्षदेखि विद्युतीय गाडी नै प्रयोग गर्दै आएकी छन् । छोराले पनि विद्युतीय स्कुटरको प्रयोग गर्छ,’ उनी भन्छन्, ‘विद्युतीय गाडीको सुविधा धेरै भएकाले गर्दा नै हाम्रो परिवारका हरेक सदस्यले यसलाई रोजेका हौं ।’

पहिले पेट्रोलियम स्कुटर प्रयोग गर्ने स्वच्छ ऊर्जा नेपाल कार्यक्रमकी प्रबन्धक अञ्जु कोइरालाले आठ महिनादेखि भने विद्युतीय स्कुटरको प्रयोग गर्न थालेकी छन् । उनलाई पेट्रोलियम स्कुटरको तुलनामा विद्युतीय स्कुटर कम खर्चिलो लाग्यो ।

‘पेट्रोलको लाइनमा घण्टौं उभिनु पर्दैन र सर्भिसिङमा पनि कम खर्च लाग्छ । साथै यसले ध्वनि प्रदूषण र वायु प्रदूषण पनि हुँदैन,’ उनी अनुभव सुनाउँछिन् ।

अञ्जु कोइराला

कम खर्चिलो

पेट्रोलियम गाडीको तुलनामा इलेक्ट्रिक गाडी निकै कम खर्चिलो हुन्छ । अभिनेता तथा व्यवसायी कोइराला भन्छन्, ‘पेट्रोलियम गाडीमा पोखरासम्म पुग्न केही हजार खर्च लाग्छ भने विद्युतीय गाडीमा ४०० सय रुपैयाँमा चार जना व्यक्ति पुगिन्छ ।’

नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमका टिम लिडर बस्नेत गाडीको ब्याट्री समय–समयमा परिवर्तन गर्नुपर्ने भएपनि पेट्रोलको तुलनामा निकै कम खर्च लाग्ने बताउँछन् ।

‘विद्युतीय गाडीको ब्याट्री समय–समयमा परिवर्तन गर्नुपर्ने भए पनि पेट्रोलको भन्दा खर्च कम नै पर्छ । यसको ब्याट्रीको पनि निकै वर्षलाई ग्यारेन्टी दिइएको छ । अझ विद्युतीय गाडीको कर पनि कम पर्छ,’ उनी भन्छन् ।

चलाउन सजिलो, मर्मतमा पनि कम खर्च

बस्नेत विद्युतीय गाडी चलाउन पनि सजिलो रहेको अनुभव सुनाउँछन् । अनावश्यक आवाज पनि यसबाट नआउने उनी बताउँछन् ।

यसैगरी इलेक्ट्रिक गाडीको मर्मतसम्भारको लागत पनि कम पर्छ । कोइराला भन्छन्, ‘परम्परागत इन्धनबाट चल्ने कारमा आन्तरिक कम्बसन इन्जिन प्रयोग हुने भएकाले त्यसमा इन्जिन आयल, कुलेन्ट, ट्रान्समिसन फ्युल परिवर्तन गर्नेजस्ता काम गर्नुपर्ने हुन्छ । तर विद्युतीय गाडीमा यी सबै खर्च हुँदैनन् ।’

राम्रो पिकअप, वातावरणमैत्री

कतिपयले विद्युतीय गाडीको पिकअप कम हुने टिप्पणी गरेको सुनिन्छ । तर यसका प्रयोगकर्ताहरु यसलाई खण्डन गर्छन् । ‘अहिले बजारमा डिजेल र पेट्रोल गाडीको जस्तै राम्रो पिकअप भएका विद्युतीय गाडी उपलब्ध छन् । साथै, यस्तो गाडीमा कुनै आवाज पनि नआउने भएकाले यसमा यात्रा गर्दा सजिलो र आरामदायी अनुभव हुन्छ,’ कोइराला भन्छन् ।

विद्युतीय गाडी कम खर्चिलो हुनुका साथै वातावरणमैत्री पनि छ । यसबाट धुवाँ ननिस्कने भएकाले वातावरण प्रदूषणको समस्याबाट पनि बच्न सकिन्छ ।

सुधार गर्नुपर्ने पक्ष 

विद्युतीय गाडी पेट्रोलियमको तुलनामा निकै कम खर्चिलो भए पनि यसको ब्याट्री परिवर्तन गर्दा भने एकै पटक धेरै खर्च लाग्ने सुमन बताउँछन् । ‘तर ब्याट्री परिवर्तन गर्दा पनि पेट्रोलियम गाडीको भन्दा कम नै खर्च लाग्छ,’ उनी भन्छन् ।

सुमन बस्नेत

अर्को कुरा नेपालमा चार्जिङ स्टेसनहरु कम रहेकाले लामो यात्रामा निस्कँदा समस्या हुन सक्ने कोइराला बताउँछन् । ‘चार्जिङ स्टेसन सबैतिर खोल्नुपर्छ । तर अहिलेकै अवस्थामा पनि हामीले यति पेट्रोल हाल्यौं भने यति किलोमिटर कुद्छ भनेर अनुमान गरेजस्तै यति चार्जले यति कुद्छ भनेर अनुमान गरेर हिंड्यौ भने खासै समस्या आइहाल्दैन,’ उनी भन्छन् ।

विद्युतीय गाडी धेरै उकालोमा चलाउँदा भने अलि गाह्रो हुन सक्ने ऊर्जा नेपाल कार्यक्रमकी प्रबन्धक कोइराला बताउँछिन् ।

‘नेपालको बाटो राम्रो छैन, त्यसैले पेट्रोलियम गाडीको तुलनामा विद्युतीय गाडी चलाउँदा अलि बढी ध्यान चाहिं दिनुपर्छ । यस्ता कुरा सुधार भयो भने विद्यतुीय गाडी निर्विकल्प बन्न सक्छन् ।’

लेखकको बारेमा
सुमित्रा लुइटेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?