+
+

मुग्लिन–नारायणगढ सडक विस्तारपछि सुरू भएको पहिरोको सास्ती

अच्युत पुरी अच्युत पुरी
२०८० भदौ ५ गते १६:३५

५ भदौ, काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा सोमबार यात्रुले १८ घण्टा राजमार्गमै बिताउनुपर्‍यो । सडक डिभिजन भरतपुरका अनुसार सोमबार राति ८ बजे नाम्सी पुलनजिक (मुग्लिनतर्फ) आएको पहिरो रातभरको प्रयासपछि मंगलबार बिहान १२ः५५ बजे मात्र हटाउन सकियो । र, राजमार्ग सञ्चालनमा आयो ।

दैनिक १० हजारभन्दा बढी ठूला सवारी साधनले यात्रा गर्ने यो सडक खण्ड केही घण्टा मात्र अवरुद्ध हुँदा पनि एकसाथ लाखौं यात्रु प्रभावित बन्छन् । मुलुकको राजधानी काठमाडौंलाई पूर्वी र पश्चिम नेपालको अधिकांश भू–भागसँग जोड्ने यो राजमार्ग मुलुकको लाइफलाइन हो ।

राष्ट्रिय राजमार्ग ‘एनएच४४’को एक खण्ड यो सडक साना ठूला पहिरोका कारण पछिल्लो दुई महिनामा १५ पटक पटक अवरुद्ध भएको छ । हरेक पटक पहिरो खुलाएर सडक सञ्चालन गर्न घण्टौं लाग्दा यात्रुले ठूलो सास्ती बेहोर्नु परेको छ । सडक विभागका महानिर्देशक सुशील बाबु ढकाल तुलनात्मक रुपमा यो वर्षायाममा मुग्लिन–नारायणगढ सडक खण्डमा बढी पहिलो गएको स्वीकार गर्छन् ।

‘यसो हुनुको यकीन कारणबारे भूगोलविद्हरुले नै धेरै भन्न सक्नुहुन्छ,’ उनी भन्छन्, ‘तर, गत वर्ष भन्दा अहिले यो सडक खण्डमा बढी पहिरो देखियो ।’ यो वर्ष पहिरोले मानवीय क्षति भने गरेको छैन । तर, यसले हजारौं मानिसको सामाजिक (समय)को क्षतिको समेत मूल्यमा गणना नहुने उनी स्वीकार गर्छन् । गत वर्ष २४ पटक अवरुद्ध भएको यो सडक खण्ड १०९ घण्टा बन्द भएको थियो ।

यो सडक निर्माणसँगसँगै भिरालो स्थान संरक्षण (स्लाेप प्रोटेक्सन) को काम नगरिएकाले यो सडकमा पहिरो गइरहेको एक सडक विशेषज्ञले बताए । यो सडक विस्तारको ठेक्का लगाउँदा नै गलत गरिएको उनको तर्क छ । ‘पहाडी क्षेत्रमा सडक बनाउँदा संसारभरि नै सबैभन्दा पहिला स्लोप प्रोटेक्सनको काम गरिन्छ’, उनले भने ‘तर नेपालमा भने पहिला सडक विस्तार गर्ने र पछि पहिरो जान थालेपछि भिरालो संरक्षणका बारेमा सोच्ने गरिन्छ ।’

मुग्लिन-नारायणगढ सडकमा पनि सडक विस्तारसँगै स्लोप प्रोटेक्सन र पुल निर्माणको पनि ठेक्का लगाउनुपर्नेमा त्यसो नगरी सडक विस्तार मात्रै गलत भएको उनको भनाइ छ । ‘यी तीनवटै कामको ठेक्का एकैपटक गरिएको भए एकैपटक काम सकिन्थ्यो, लागत पनि कम लाग्थ्यो, अहिले सर्वसाधारणले पनि कम सास्ती पाउँथे’, उनले भने । यो सडकमा सरकारी स्रोतको दुरुपयोग भएको उनको तर्क छ ।

०७५ सालमा सकिएको थियो सडक विस्तार, पुल भने अझै बाँकी 

०३६ सालमा पूर्व–पश्चिम महेन्द्र राजमार्गलाई काठमाडौं–पोखरा पृथ्वी राजमार्गसँग जोड्न मुग्लिन–नारायणगढ खण्डको निर्माण गरिएको थियो । तर, यो सडक पूर्ण रुपमा दुई लेनको थिएन । यो सडक विस्तारको आवश्यकताअनुसार २०७३ सालमा यसलाई पूर्ण क्षमताको दुई लेन राजमार्ग बनाउने काम सुरु गरिएको थियो । २०७५ को साउनमा सडक विस्तारको काम सम्पन्न भएको थियो । तर, पुलको काम भने अहिलेसम्म पनि सकिएको छैन ।

३३ किलोमिटरको यो आयोजना विश्वबैंकको करीब ३ अर्ब ९० करोड ऋण सहयोगमा निर्माण भएको थियो । आयोजनाको काम चालू रहँदा निर्माणका गतिविधिले पटकपटक सवारीसाधन रोकिने गरेको थियो । तर, निर्माण सम्पन्न भएपछि भने निरन्तर पहिरो गइरहनाले जनताको सास्ती झन थपिएको छ ।

सो सडकलाई एसियाली राजमार्गको मापदण्डअनुरुप डबल लेन सडकमा स्तरोन्नति गरिएको थियो । सडक विस्तारअघि नारायणगढ–मुग्लिन सडकको औसत चौडाइ साढे ५ देखि ६ मिटर थियो । परियोजना सम्पन्न भएपछि पूरै सडक कम्तीमा ७ मिटर चौडा भएको छ ।

राजमार्ग सम्पन्न भएपछि मुग्लिन–नारायणगढ सडकको यात्रा दूरी पनि छोटिएको छ । राजमार्ग स्तरोन्नति हुनु अघि नारायणगढबाट मुग्लिन पुग्न १ घण्टाभन्दा बढी समय लाग्थ्यो । तर, विस्तारपछि यो सडकमा ६० किलोमिटर प्रतिघन्टाको दरले यात्रा गर्न सकिने र यो दूरी ३५ मिनेटमा तय गर्न सकिने अवस्था बनेको थियो ।

मुलुकको राजधानी काठमाडौं र प्रमुख सहरमध्येको एक पोखरालाई मुलुकका अधिकांश भागसँग जोड्ने यो सडकले यात्रुहरुलाई मात्रै होइन, ढुवानीका लागि पनि महत्वपूर्ण योगदान दिइरहेको छ । नेपालको ९० प्रतिशत व्यापार यही सडकमार्फत हुन्छ, काठमाडौंलाई बाँकी नेपालसँग जोड्ने मात्रै होइन, चीन र भारतका सीमासँग जोड्न पनि यो मार्ग अत्यन्तै महत्वपूर्ण छ ।

तर, सडक निर्माण नसकिँदै पहिरोको समस्या सुरु भएको थियो । आयोजना सम्पन्न भएकै साल २०७५ को साउनमा मात्रै ५ ठाउँमा ठूलो पहिरो गएको थियो । त्यति मात्रै होइन, करीब ३० मिटर लम्माइमा सडक भासिएको समेत थियो । पहिरो नियन्त्रणका लागि विभिन्न उपायहरु अवलम्बन गरिए पनि बर्खा सुरु हुनासाथ पहिरो सुरु भएपछि त्यहीबेला सडक विभागले सो क्षेत्रको भौगर्भिक अध्ययन गर्ने बताएको थियो ।

यसो हुनुमा २०७२ सालको भूकम्पको समेत हात हुनसक्ने महानिर्देशक ढकाल बताउँछन् । ‘भूकम्पले घर भत्किएको त देखियो, तर यसले भूगोलमा कहाँ कस्तो क्षति गर्‍यो भन्ने अध्ययन गर्ने क्षमता हामीसँग छैन,’ उनी भन्छन्, ‘भूकम्पले खल्बलिएको भूगोलमा पानी छिर्दै जाँदा कतै जमिन कमजोर बनिरहेको त छैन ?’

त्यसो त सडक विस्तारका क्रममा गरिएको निर्माणका गतिविधिले समेत जमिन हल्लिएको र त्यसका कारण पहिरो गइरहेको पनि हुनसक्ने उनको बुझाइ छ । ‘तर, सडक निर्माणका क्रममा सम्भावित जोखिमबारे अध्ययन गरी न्यूनीकरणका उपाय पनि अवलम्बन गरिएको थियो,’ उनले जानकारी दिए । यो सडक खण्डमा ३१ स्थानमा पहिरो नियन्त्रणको काम सडक बिस्तारका क्रममा गरिएको उनले जानकारी दिए ।

०७५ सालमै सडक विस्तारको काम सकिए पनि पुलहरु भने अहिलेसम्म पनि बनेका छैनन् । यो सडकमा पर्ने १८ वटा पुलहरुमध्ये चार वटामात्रै निर्माण सम्पन्न भएका छन् । बाँकी पुलको निर्माण अहिलेसम्म पनि हुन सकेका छैन । पुल परियोजनाका लागि करीब ३ अर्ब रुपैयाँ लाग्ने अनुमान सडक विभागको छ ।

तुइन खोलाको पुन निर्माणका क्रममा यस वर्ष मात्र ६० मिटर अग्लो कडा चट्टानसहितको डाँडो कटान गर्ने काम अझै सम्पन्न नभएको उनले बताए । यस वर्ष मात्र सिमलताल, कालिखोला र नाम्ची खोलाको भित्तो काटिएको छ । ९ पुस २०८० भित्र कुल २० वटा पुलको काम सम्पन्न गर्ने गरी ठेक्का लागेको जानकारी उनले दिए ।

हिँउदयाममा जाइकामार्फत जोखिम अध्ययन गरिने

यो वर्षा सास्तीमै बिताएका यात्रुले पहिरो पन्छ्याउने समयसम्म धेर्य गरी कुर्नुको विकल्प छैन । अर्को वर्ष भने सरकारले जापान सरकारको सहयोगमा यस सडक खण्डमा जोखिम पहिचानका लागि अध्ययन गराउने भएको छ । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालका अनुसार जापानी सहयोग नियोग (जाइका)मार्फत यो सडक खण्डमा जोखिमको अध्ययन गराउने तयारी छ ।

‘यसले सम्भावित जोखिमयुुक्त स्थानको पहिचान गरी निराकरणको उपायबारे सुझाव दिनेछ,’ उनले भने, ‘सोहीअनुसार हामी पहिरो न्यूनीकरणमा काम गर्नेछौं ।’ यो वर्षायाम भर भने पहिरोबाट सकेसम्म कम क्षति होस भन्ने गरी तदारुकताका साथ काम भइरहेको उनले बताए । ‘अहिलेसम्म विभागकै आन्तरिक जनशक्ति र उपकरण प्रयोग गरी काम गरिरहेका छौं,’ उनले भने, वर्षा सकिएपछि पहिरो जाने सम्भावित स्थानको पहिचान र त्यसको रोकथामका उपायसहित काम गर्ने योजनामा छौं ।’

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?