+
+

गाडी नं. २२३, जुन पोखरेली मेयर कृष्ण थापादेखि धनराज आचार्यसम्मले चढे

मेयरका लागि नयाँ विद्युतीय गाडी किन्दै पोखरा महानगर

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १८:४७

११ मंसिर, पोखरा । २०७४ मा तत्कालिन पोखरा–लेखनाथ महानगगरपालिकाको मेयरमा चुनिए नेकपा एमालेका मानबहादुर जिसी । लेखनाथसँग गाभिएर उपमहानगरबाट २०७४ सालमा महानगर बनेपछि पहिलो पटक पोखराको नेतृत्व सम्हालेका उनले ग १ झ २२३ नम्बरको गाडी चढ्न थाले । नयाँ मेयर चढ्न ३७ वर्ष पुरानो उक्त गाडी मर्मत सम्भार गरेर चिरिच्याट्ट बनाउन ४ लाख रुपैयाँ खर्च भएको थियो । त्यतिबेला गाडीको पार्टपूर्जा फेर्ने, रङरोगन गर्नेलगायत काम गरिएको थियो ।

पोखरा वातावरण सुधार आयोजना दोस्रो कार्यान्वयन हुँदा एशियाली विकास बैंक (एडीबी) ले दिएको निशान कम्पनीको जापानी प्याट्रो गाडी ०५४ अघि पोखरा आउने विशिष्ट पाहुना र नगरपालिकाका कार्यकारी प्रमुखले प्रयोग गर्थे । २०५४ सालको स्थानीय तह निर्वाचनबाट मेयरमा निर्वाचित कृष्ण थापाले पनि त्यही गाडी चढे ।

थापा निर्वाचित भएको २० वर्षसम्म स्थानीय निर्वाचन हुन सकेन । उनीपछि ०७४ सालमा आएका नयाँ मेयर जिसीले पनि पुरानै गाडी चढेका थिए । करिब ३ दशक पुरानो उक्त गाडी हालका मेयर धनराज आचार्यले पनि चढ्दै आएका छन् ।

तर, पटकपटक मर्मत गर्नुपर्ने र अत्यन्तै पुरानो भइसकेको भन्दै मेयर आचार्यले नयाँ गाडी फेर्ने भएका छन् । असोज ३० गते बसेको महानगरको २३ औं कार्यपालिका बैठकबाटै निर्णय गराएर उनले विद्युतीय गाडी किन्न लागेका हुन् ।

‘नगर प्रमुखले प्रयोग गर्ने गाडी अत्यन्त पुरानो भएकाले यात्राको क्रममा पटकपटक बिग्रिएर असहज भएको र मर्मत गर्दा पनि ठूलो रकम खर्च हुँदै आएकाले, चालु आर्थिक वर्षमा विनियोजित सवारी साधन खरिद शीर्षकबाट नगर प्रमुखको प्रयोजनका लागि एउटा विद्युतीय सवारी साधन खरिद गर्ने निर्णय भयो’, महानगर कार्यपालिकाको निर्णयमा भनिएको छ ।

महानगरले चालु आर्थिक वर्षमा सवारी साधन खरिदका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ । योजना महाशाखा प्रमुख कृष्ण तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षमा मेयर आचार्य चढ्दै आएको गाडी मर्मतमा १ लाख ३२ हजार रुपैयाँ खर्च भएको थियो । ‘यो वर्ष त्यस्तो खर्च निस्किएको छैन । त्यो भन्दा अगाडि मर्मतमा कति खर्च भएको भन्ने रेकर्ड छैन’, उनले भने ।

पोखरा महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिनाका अनुसार हाल मेयर आचार्य चढ्दै आएको गाडी २७ वर्ष पुरानो हो । महानगरकै ग्रामीण भेगमा जाँदा पटकपटक बिग्रिने र उकालो उक्लिनै समस्या हुन थालेपछि नयाँ गाडी किन्ने निर्णय भएको उनले सुनाए ।

‘गाडी एकदमै पुरानो भइसकेको छ । पटकपटक बिग्रिएर अर्को गाडी फेर्दै पनि हिँड्नुपरेको छ’, प्रवक्ता तिमिल्सिनाले भने, ‘पोखरामा शहरी इलाकामात्रै छैन, गाउँ पनि छन् । त्यता जान एकदमै समस्या हुन थालेपछि नयाँ गाडी किन्ने निर्णय भएको हो ।’

विद्युतीय गाडी किन्ने तय भए पनि कस्तो प्रकृति र कति बजेटको किन्ने अझै निर्णय नभइसकेको प्रवक्ता तिमिल्सिनाको भनाइ छ । ‘कोटेसन माग गरेका छौंै । त्यसपछि थाहा हुन्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?