+
+
Shares
विचार :

गगनले खनेको राजमार्गमा रास्वपाको सवारी

गगनले १५ वर्षदेखि भनिरहे– पुराना नेता ‘आउटडेटेड’ भए, अब नयाँले नेतृत्व लिनुपर्छ र ‘डेलिभरी’ दिनुपर्छ। चुनावले त्यही एजेन्डा अनुमोदन गर्‍यो तर, उनको होइन; रास्वपाको नेतृत्वमा।

सुदर्शन आचार्य/केशव पाठक सुदर्शन आचार्य/केशव पाठक
२०८२ चैत ११ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गगन थापाले १५ वर्ष लगाएर नेपाली कांग्रेसमा आधुनिक राजनीति र युवाहरूको आकांक्षा अनुसार वैचारिक बाटो खनेका थिए।
  • २१ फागुनको निर्वाचनमा कांग्रेसले ठूलो पराजय बेहोरेपछि गगनले सभापतिको पदबाट नैतिकताको आधारमा राजीनामा दिए।
  • गगनको वैचारिक नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी सफलता पाएको छ र कांग्रेसभित्र गुटीय द्वन्द्वले पार्टी कमजोर भएको छ।

नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो दृश्य मञ्चन भइरहेको छ, जसले एकातिर एउटा नेताको निष्ठाको पराकाष्ठा देखाउँछ भने अर्कोतिर एउटा ऐतिहासिक पार्टीको भविष्यमाथि प्रश्नचिह्न खडा गरिदिएको छ। झण्डै १५ वर्षअघि जब गगन थापाले नेपाली कांग्रेसको कुरुप सांगठनिक संरचनाभित्र विद्रोहको बीजारोपण गरेका थिए, उनले एउटा ‘आधुनिक राजमार्ग’ को परिकल्पना गरेका थिए। उनले गाउँगाउँ–शहरशहर पुगेर युवाहरूलाई एउटा सपना बाँडे— ‘राजनीति केवल शक्ति हत्याउने खेल होइन, यो त व्यवस्था बदल्ने र भविष्य कोर्ने माध्यम हो।’ नागरिकका वर्षौंदेखिका धुमिल सपना साकार पार्न गगनले ढाडस भरे। उनको आह्वान सुनेर थुप्रै युवा राजनीतिमा हामफाले। कति उनीसँग लामबद्ध भए, कति फरक राजनीतिक पार्टीहरूमा।

कांग्रेसको कुरुप सांगठनिक सांरचना पूरै बदल्न उनको बल पुगिरहेको थिएन। गत पुस अन्तिमबाट माघ १ मा सम्पन्न विशेष महाधिवेशनबाट उनी पार्टी सभापतिको जिम्मेवारीमा आए। ठूलै जोखिम लिएर उनले कांग्रेस बदल्ने प्रयत्न गरेका थिए। तर, उनको प्रयास जनस्तरसम्म पुग्न सकेन। जसको कारण २१ फागुनको निर्वाचन परिणामले उनी र उनको नेतृत्वको कांग्रेसलाई ठूलै धक्का दियो। गगनले पराजयको जिम्मेवारी बोध गर्दै राजीनामा दिए र नैतिकताको खडेरी परेको राजनीतिमा पुन: आशा भर्ने प्रयास गरे। भलै उनले नैतिकताको आधारमा दिएको राजीनामा उनको पार्टीको केन्द्रीय कार्यसमितिले सर्वसम्मत रूपमा अस्वीकार गर्ने निर्णय गर्‍यो।

गगनले १५ वर्ष लगाएर जुन बाटोको ढुङ्गा पन्छाए, जुन बाटोमा वैचारिक अलकत्रा विछ्याए, आज त्यही चिल्लो बाटोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘नयाँ गाडी’ तीव्र गतिमा हुइँकिरहेको छ। गगन स्वयं नेपाली राजनीतिमा कसैलाई नलाग्ने नैतिकताको कसीमा बसिरहेका छन्।

विचारको खेती, फसलको ‘हाइज्याक’

२०६२/६३ को जनआन्दोलनको राप र तापबाट जन्मिएका सबैभन्दा आशालाग्दा नेता हुन्, गगन थापा। जतिबेला नेपाली कांग्रेसका शीर्ष नेताहरू ‘संवैधानिक राजतन्त्र’ को वरिपरि रुमल्लिइरहेका थिए, गगनले सडकबाट ‘गणतन्त्र’ र ‘पुस्तान्तरण’ को मुद्दालाई मुलुकको मूल राजनीतिक एजेन्डा बनाएका थिए। उनले १५ वर्षसम्म निरन्तर एउटा भाष्य निर्माण गरे– ‘पुराना नेताहरू आउटडेटेड भए, अबको नेतृत्व एजेन्डामा आधारित हुनुपर्छ, र राजनीतिमा ‘डेलिभरी’ को हिसाब हुनुपर्छ।’

गगनले कोरेको यो बाटो वास्तवमा नेपाली युवाको आकांक्षाको ‘एक्सप्रेस–वे’ थियो। विडम्बना ! गगनले कांग्रेसभित्रै संघर्ष गर्दागर्दै, देउवा र पौडेलहरूको गुटीय द्वन्द्व सुल्झाउँदा सुल्झाउँदै समयले एउटा नयाँ मोड लियो। गगनले जुन ‘नयाँपन’ र ‘विकल्प’ को भोक जगाएका थिए, त्यो भोक मेटाउन कांग्रेसको थोत्रो बस तयार भएन। ठिक यही मौकामा रास्वपा एउटा चम्किलो ‘रेसिङ कार’ बनेर आयो। जनतालाई लाग्यो, ‘गगनले भनेको कुरा त ठिक हो, तर यो कांग्रेसको कवाडी बसमा चढेर कहिले पुग्नु ? त्योभन्दा त यो नयाँ गाडीमै चढ्नु रोमाञ्चक छ।’ यसरी गगनले खनेको वैचारिक जगमा रास्वपाले आफ्नो चुनावी महल ठड्याउन सफल भयो।

‘गगन कांग्रेस’ को चाहना, ‘शेरबहादुर शैली’ को प्रहार

नेपाली मतदाताहरू, विशेषगरी नयाँ पुस्ता, गगन थापाबाट एउटा ‘स्मार्ट कांग्रेस’ को झलक चाहन्थे। एउटा यस्तो कांग्रेस, जो डिजिटल होस्, जो पारदर्शी होस् र जसले १५ वर्षअघि गगनले सडकमा चिच्याएर बोलेका कुराहरूलाई नीतिमा बदलोस्। गगनले पटक–पटक ‘बदलिएको कांग्रेस’ को नारा दिए। तर, जब जनताले मतपेटिकामा छाप लगाउने बेला कांग्रेसको वास्तविक अनुहार हेरे, उनीहरूले त्यहाँ गगनको आधुनिकता होइन, बरु शेरबहादुर देउवाको ‘खलनायकत्व’ भरिएको धमिलो छाया र पुरानो जर्जर शैली मात्र सम्झिए। चुनावमा शेरबहादुरकै मानिस कांग्रेस हराउन मोर्चाबन्दीमा लागेको देखे।

गगनले पुन: आँट गरेनन् भने, १५ वर्षपछि इतिहासले भन्नेछ, ‘गगनले बाटो त खनेका थिए, तर उनी आफैं कहिल्यै त्यो बाटोको चालक बन्न सकेनन्।’

यो निर्वाचनमा गगनले चाहेर पनि कांग्रेस बदलिएको जनताले कतै अनुभूति गर्न पाएनन्। टिकट वितरणदेखि निर्णय प्रक्रियासम्म उही पुराना गुट, उही स्वार्थको खेल र उही ‘शेरबहादुर शैली’ हावी भयो। गगन थापाले १५ वर्ष लगाएर बनाएको वैचारिक राजमार्गलाई देउवाले आफ्नै अहङ्कारको डोजर चलाएर क्षत–विक्षत पारिदिए। निर्वाचनको कमाण्ड सम्हाल्नुपर्ने मुख्य नेता चुनावका बेला ‘सिङ्गापुर’ को अस्पतालमा आराम गरेर बस्नुले जनतामा एउटा घातक सन्देश गयो, ‘कांग्रेस अझै पनि देउवा जस्ता व्यक्तिको निजी सम्पत्ति हो।’ यही रिक्तताको फाइदा उठाउँदै रास्वपाले गगनका एजेन्डाहरूलाई ‘ग्ल्यामरस’ बनाएर पस्कियो र बाजी मार्‍यो।

नेपाली कांग्रेसभित्रको एउटा ठूलो तप्का चुनाव सक्किएपछि पनि एउटा यस्तो आत्मघाती खेलमा रमाउँदैछ, जसले अन्तत: पार्टीलाई नै सखाप पार्ने निश्चित छ। कृष्णप्रसाद सिटौलादेखि मीन विश्वकर्मासम्म अनि मोहन बस्नेतदेखि प्रकाशशरण महतसम्मका हुङ्कार सुन्दा लाग्छ, उनीहरूको मुख्य शत्रु विपक्षी दल होइन, बरु आफ्नै सभापति गगन थापा हुन्। उनीहरू गगनलाई सफल हुनुभन्दा कांग्रेस नै पराजित भएको हेर्न बढी लालायित देखिन्छन्। किनकि, गगनको सफलताले उनीहरूको ‘भागबन्डाको र लाभ राजनीति’ समाप्त हुने डर छ।

कांग्रेसरूपी घरभित्रका यी धमिराहरूले गगन थापालाई यति नराम्रोसँग घेराबन्दी गरे कि, निर्वाचनमा कांग्रेसको आधा शक्ति पार्टीकै उम्मेदवारलाई हराउन सक्रिय भयो। आफ्नै कमान्डरलाई युद्धको मैदानमा एक्लो पारेर पछाडिबाट प्रहार गर्ने यिनै नेताहरूका कारण आज रास्वपाको गाडी कांग्रेसको ‘किल्ला’ भित्र धुलो उडाउँदै पस्न सफल भएको हो। प्रत्यक्षमा कांग्रेसले बेहोरेको ऐतिहासिक हारपछि पनि उनीहरूमा कुनै लज्जा छैन। बरु, उनीहरू अहिले गगनलाई राजीनामा गराउन र उनलाई पार्टीबाट निष्कासन गर्ने षडयन्त्र बुन्न अदालत र गुटका बैठकहरूमा व्यस्त छन्।

‘घण्टी’को गाडीमा गगनको इन्धन

राष्ट्रिय स्वतन्त्र पार्टीले जुन ‘पपुलिज्म’ र ‘सेलिब्रेटी’ राजनीतिको सहारा लियो, त्यो वास्तवमा गगन थापाले १५ वर्षअघि शुरु गरेको ‘युथ आइकन’ छविको एउटा परिष्कृत र डिजिटल संस्करण मात्र हो। गगनले राजनीतिमा ‘प्रश्न गर्ने’ संस्कृति त भित्र्याए, तर कांग्रेसको सांगठनिक जडताले उनलाई ‘उत्तर दिने’ ठाउँमा पुग्नै दिएन। रास्वपाका नेताहरूले नै जनतालाई भने, ‘गगनले उठाएका मुद्दा त सही छन्, तर उनी गलत घरमा थुनिएका छन्। उनको विचार चाहिएको छ भने हाम्रो गाडीमा चढ्नुस्।’

जनताले गगनको आवाजमा जुन ‘स्मार्ट’ र ‘पारदर्शी’ नेपालको सपना देखेका थिए, त्यो सपना शेरबहादुर देउवाको अनुहारबाट पूरा हुने सम्भावना देखेनन्। निर्वाचनपछि सार्वजनिक भएको समानुपातिक लिस्टले स्पष्ट भनिरहेको छ, यो ‘गगन कांग्रेस’ होइन, यो त उही पुरानो ‘शेरबहादुर एन्ड कम्पनी’ हो। पछिल्लो पुस्ताले शेरबहादुरको अनुहार हेरेर भोट हाल्न इन्कार गर्‍यो र गगनले १५ वर्ष लगाएर सिकाएको ‘विद्रोहको भाषा’ रास्वपा मार्फत व्यक्त गरिदियो। आज रास्वपाको गाडीमा जुन इन्धन भरिएको छ, त्यो गगन थापाको १५ वर्षको पसिना र वैचारिक मन्थनबाट निस्किएको ऊर्जा हो।

गुगलमा नभेटिने कांग्रेस भूगोलमा !

फागुन २१ को चुनावपूर्व कांग्रेस केवल इतिहासको पानामा वा ‘गुगल’ को आर्काइभमा मात्र भेट्नु पर्ने अवस्थामा पुगेको थियो। बितेको दशकमा कांग्रेसको परिचय केवल सत्ताको लुछाचुँडी र भ्रष्टाचारका काण्डहरूमा मात्र सीमित भयो। भदौ २४ गते तत्कालीन सभापति शेरबहादुर देउवाको घरमा जलेका र लुटिएका नोट र रक्सीका बोतलहरूले सत्ता लुछाचुँडी र भ्रष्टाचार कालो मुस्लो फ्याँकिरहेको थियो। जसले गर्दा चुनावसम्म आइपुग्दा युवाहरूका लागि कांग्रेस एउटा ‘आउटडेटेड’ सफ्टवेयर जस्तै भइसकेको थियो। गुगलमा ‘नेपाली कांग्रेस’ सर्च गर्दा नयाँ भिजन होइन, बरु गुटबन्दी र नातावादका पुराना कथाहरू मात्र भेटिन्थे। यस्तो बेला विशेष महाधिवेशन गरेर सभापति भएका गगन थापा ती पात्र हुन्, जसले कांग्रेसलाई ‘गुगल’ बाट निकालेर नेपाली ‘भूगोल’ को वास्तविकतामा जोड्ने प्रयास गरे।

थापाले विश्वप्रकाश–प्रदीप सहितको नयाँ टिमका साथ स्वास्थ्य, शिक्षा र सुशासनका एजेन्डाहरूलाई गाउँ–गाउँका चियापसलसम्म पुर्‍याए। उनले एउटा ‘स्मार्ट र डिजिटल कांग्रेस’ को खाका कोरेका थिए, जसले पछिल्लो पुस्ताको छटपटी बुझोस्। तर, विडम्बना ! उनले भूगोलमा कांग्रेसलाई पुनर्जीवित गर्न खोज्दा पार्टीभित्रकै एउटा ठूलो हुल उनलाई विफल बनाउन तम्सियो। आज निर्वाचनमा कांग्रेसको हार र गगनको राजीनामापछि, कांग्रेस फेरि त्यही ‘गुगल’ को पुरानो इतिहासमा हराउने डर पैदा भएको छ। गगनले भूगोलमा कोरेको ‘बदलिएको कांग्रेस’ को झलक अब गगनको अनुपस्थितिमा कसले देखाउला ? के फेरि सिङ्गापुरमा आराम गर्ने नेताहरूले भूगोलको धुलो र पसिनाको राजनीति बुझ्लान् ? पक्कै बुझ्ने छैनन्।

नैतिकताको राजनीति र कांग्रेसको भविष्य

निर्वाचनमा पार्टीले बेहोरेको हार र आफ्नो व्यक्तिगत पराजयपछि गगन थापाले ‘नैतिकता’ का आधारमा सभापति पदबाट दिएको राजीनामाले नेपाली राजनीतिमा एउटा ठूलो तरंग पैदा गर्‍यो। नेपालको राजनीतिक संस्कार यस्तो छ, जहाँ नेताहरू पदमा टाँसिइरहनका लागि हरसम्भव तिकडम गर्छन्। तर, गगनले राजीनामा दिएर एउटा उच्च राजनीतिक संस्कारको परिचय दिए। यो राजीनामा केवल एउटा पदको त्याग मात्र थिएन, यो त ‘काम गर्न नसके बस्नुहुँदैन’ भन्ने एउटा दह्रो सन्देश पनि थियो। माथि नै उल्लेख गरिसकिएको छ कि गगनले नैतिकताको आधारमा राजीनामा दिए पनि कांग्रेस केन्द्रीय कार्यसमितिले अस्वीकार गरिसकेको छ।

तर, प्रश्न उठ्छ– के गगनको यो नैतिकताले मात्र कांग्रेसको भविष्य सुरक्षित गर्थ्यो ? नैतिकताको ‘न’ नभएको पार्टीभित्र गगनले राजीनामा बुझाउँदा कांग्रेसभित्रका ती ‘धमिरा’हरू खुशी भए, जसले चुनावभरि गगनलाई हराउन अन्तर्घात गरेका थिए। देउवा पक्षीय अनुहारहरूका लागि गगनको राजीनामा एउटा ‘विजय उत्सव’ जस्तो भएको थियो। गगनले नैतिकता देखाउँदा कांग्रेस नेतृत्वविहीनता र झन् पुरानो गुटीय जडतातर्फ धकेलिने खतरा थियो। केन्द्रीय कार्यसमितिले यही कुरा उठाएर राजीनामा अस्वीकार गरेको हो।

गगनले पार्टी काममा फर्किएर अब भूगोलमा सक्रियता बढाउनुपर्छ। गुगलमा हराउन लागेको कांग्रेसलाई फेरि जनताको मनमा स्थापित गराउनुपर्छ।

गगनको राजीनामाले कांग्रेसलाई ‘सुधार्ने’ भन्दा पनि ‘सिध्याउन’ उद्यत शक्तिहरूलाई बल पुर्‍याउने थियो। यदि राजीनामा स्वीकृत भएको भए अबको कांग्रेस कता जाला ? के यो फेरि त्यही ‘शेरबहादुर शैली’ को बन्धक बन्ला ? भन्ने प्रश्न जोडदार उठ्ने थियो।

गगन थापाले राजीनामा घोषणा गर्दा धेरैले यसलाई आवेगको निर्णय ठानेका थिए, तर उपसभापति विश्वप्रकाश शर्माले यसलाई गहिरो सुझबुझका साथ सम्हाल्ने प्रयत्न गरे। उपसभापति शर्माले गगनको राजीनामा बुझ्दै गर्दा यो केवल एउटा व्यक्तिको पदत्याग मात्र नभएर सिङ्गो पार्टीको अस्तित्वमाथि आउन सक्ने भूकम्प हो भन्ने सहजै बुझे। ‘हारको जिम्मेवारी केवल एक व्यक्तिको काँधमा थोपरेर बाँकी नेतृत्व पानीमाथिको ओभानो बन्न मिल्दैन’ भन्ने अडान राख्दै शर्माले गगनलाई एक्लो हुन दिएनन्।

पुनर्जागरणको आवश्यकता

गगन थापाले १५ वर्ष लगाएर कोरेको बाटोमा आज रास्वपाको गाडी गुडिरहँदा यसले नेपाली राजनीतिको एउटा तितो यथार्थलाई उजागर गरेको छ– विचार मात्र भएर पुग्दैन, त्यो विचारलाई कार्यान्वयन गर्ने ‘यन्त्र’ (पार्टी) पनि उत्तिकै गतिशील हुनुपर्छ। कांग्रेसभित्रको ‘शेरबहादुर गुट’ ले गगनको वैचारिक इन्जिनलाई जाम गरिदियो, र नयाँ शक्तिले त्यही इन्धन प्रयोग गरेर आफ्नो गाडी कुदाइदियो।

अब कांग्रेसलाई सामान्य सुधार वा ‘थेरापी’ ले पुग्दैन। यसलाई ‘मेजर सर्जरी’ चाहिएको छ। गगन थापाले अब ‘भद्र’ र ‘संयमित’ नेता बनेर मात्र पुग्दैन, उनले अब पार्टीभित्रको यो खलनायकत्व विरुद्ध एउटा कठोर विद्रोही कमान्डरको रूपमा प्रस्तुत हुनैपर्छ। उनले कोरेको बाटोमा अरूको गाडी गुड्नु भनेको उनको विचारको जित हो, तर उनको कमाण्डको हार हो। अबको समय गगनका लागि एउटा अग्निपरीक्षा हो, या त उनले कांग्रेसलाई ‘गगन कांग्रेस’ मा पूर्ण रूपमा रूपान्तरण गर्नुपर्छ, या त यो बाटोमा गुडिरहेका नयाँ गाडीहरूको स्टेयरिङ सम्हाल्ने गरी नयाँ राजनीतिक ध्रुवीकरणको साहस गर्नुपर्छ।

नेपाली कांग्रेसभित्रको एउटा ठूलो तप्का चुनाव सकिएपछि पनि एउटा यस्तो आत्मघाती खेलमा रमाउँदैछ, जसले अन्तत: पार्टीलाई नै सखाप पार्ने निश्चित छ।

अझै पनि गगनका लागि एउटा अवसर भने बाँकी छ। उनले यो हारलाई एउटा ‘रि–सेट’ बटनको रूपमा प्रयोग गर्नुपर्छ। उनले अब ‘हुनुपर्छ’ भन्ने गगन होइन, ‘गरेर देखाउने’ र ‘पार्टी कब्जा गर्ने’ गगनको रूपमा आफूलाई प्रस्तुत गर्नुपर्छ। बाटो गगनकै हो, तर त्यो बाटोमा कांग्रेसको गाडी कुदाउने कि रास्वपाको गाडीलाई ‘ओभरटेक’ गर्ने भन्ने कुरा अब गगनको राजनीतिक आँट र उनको आगामी मूभमा भर पर्छ। यदि गगनले आज आँट गरेनन् भने, १५ वर्षपछि इतिहासले भन्नेछ, ‘गगनले बाटो त खनेका थिए, तर उनी आफैं कहिल्यै त्यो बाटोको चालक बन्न सकेनन्।’

गगनले नैतिकताको आधारमा राजीनामा दिएका हुन्, तर कांग्रेसलाई यतिबेला गगनको राजीनामा होइन, उनको नेतृत्वमा ‘पुनर्जागरण’ चाहिएको छ। त्यसैले अब उनले पुन: भूगोलमा आफ्नो सक्रियता बढाउनुपर्छ। गुगलमा हराउन लागेको कांग्रेसलाई फेरि जनताको मनमा स्थापित गर्न अब ‘सडक’ बाटै नयाँ लडाइँ शुरु गर्नुपर्छ। यदि गगनले नैतिकताको नाममा विश्राम लिने अडान राखिरहे भने त्यो गल्ती हुनेछ र १५ वर्षपछि इतिहासले भन्नेछ– ‘गगनले बाटो त राम्रो बनाएका थिए, तर उनी आफैं कहिल्यै त्यो बाटोको सफल चालक बन्न सकेनन्।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?