+
+

अन्डाको भाउ बढाउन दुई सिण्डिकेटबीच प्रतिस्पर्धा, प्रतिगोटा २० रुपैयाँ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते २०:५६

१५ पुस, काठमाडौं । अण्डाको मूल्यमा दोहोरो सिन्डिकेटले उपभोक्ता थप मारमा पर्दै गएका छन् । नेपाल अण्डा उत्पादक संघले २०५६ देखि अण्डाको मूल्यमा सिन्डिकेट कायम गर्दै बिक्री मूल्य तोक्दै आएको छ ।

पछिल्लो समय नेपाल लेयर्स कुखुरापालक संघ, चावहिलले पनि अन्डाको मूल्य तोक्न थालेपछि अण्डामा दुई सिन्डिकेटबीच नै भाउ बढाउने प्रतिस्पर्धा चलेको छ ।

नेपाल अण्डा उत्पादक संघले १२ पुसदेखि लागु हुने गरी भन्दै अण्डाको मूल्य प्रतिक्रेट बिक्री मूल्य ४३० रुपैयाँबाट बढाएर ४५५ रुपैयाँ पुर्‍याएको थियो । फार्मको बिक्री मूल्यमा वृद्धि गरे पनि उपभोक्ता मूल्य भने यथावत रहेको संघका अध्यक्ष शिवराम केसीले बताए ।

त्यसको लगत्तै १४ पुसमा नेपाल लेयर कुखुरापालक संघले १४ पुसदेखि लागु हुनेगरी अण्डाको उपभोक्ता मूल्य २० रुपैयाँ पुगेको भन्दै एक पत्रिकामा सूचना प्रकाशित गरेको छ । नेपाल लेयर्स कुखुरापालक संघको १३ पुस २०८० मा भएको बैठकले चितवनलाई आधार मानी १४ पुसदेखि लागू हुने गरी अण्डाको फार्म मूल्य र उपभोक्ता मूल्य पनि बढएको छ ।

६ पुसमा प्रतिक्रेट अधिकतम् ४२० रुपैयाँ रहेको बिक्री मूल्यलाई बढाएर ४४५ रुपैयाँ पुर्‍याएको छ ।

आफूहरुले सरकारसँग पनि छलफल गरेर किसानको उत्पादन लागतको मूल्यांकन गरेर २०५६ सालदेखि अण्डाको मूल्य तोकिरहेको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष केसीले बताए । ‘देशभरीका अण्डा उत्पादक किसानले उत्पादन गरेको अण्डाको मूल्य हामीले नै तोक्छौँ,’ उनले भने ।

एउटा संघले १ दिनअघि तोकेको मूल्यलाई उछिनेर अर्को संघले पुनः अण्डाको मूल्य तोकेपछि उपभोक्ताहरु अण्डाको मूल्यमा कसरी ठगिइरहेका रहेछन् भन्ने स्पष्ट हुन्छ । फार्मबाट उत्पादन बिक्री गर्दाको मूल्य दुवैवटा संघले उस्तैउस्तै तोकेका छन् । तर, नेपाल लेयर कुखुरापालक संघले उपभोक्ता मूल्य २० रुपैयाँ तोकेको छ, भने अण्डा उत्पादक संघले १७ रुपैयाँ तोकेको छ ।

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य भन्दै प्रतिक्रेट अधिकतम् ४४५ रुपैयाँ तोकेको छ । त्यस आधारमा प्रतिअण्डाको मूल्य १४ रुपैयाँ ८३ पैसा हुन आउँछ । त्यसमा कालोबजारी गर्दै उसले उपभोक्ता मूल्य २० रुपैयाँ तोकेको छ । नेपाल अण्डा उत्पादक संघले प्रतिक्रेट ४५५ रुपैयाँ बिक्री मूल्य भएको अण्डाको उपभोक्ता मूल्य १७ रुपैयाँ तोकेको छ ।

कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन ०३२ ले विभिन्न संघको नाममा वस्तुको मूल्य तोक्ने कार्यलाई निषेध गरेको छ । तर, नेपाल अण्डा उत्पादक संघ चितवनले वर्षौंदेखि चलाइरहेको कार्टेलिङमा नेपाल लेयर्स कुखुरा पालक संघ नामको अर्को संघ थपिँदा पनि नियामक निकायले कुनै कारबाही गरेको छैन ।

चैत २०७९ देखियता अण्डाको प्रतिगोटा मूल्य औसत १५ रुपैयाँ हाराहारी थियो । तर १४ असारमा चितवनको नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य प्रतिगोटामा २ रुपैयाँले बढाएर १७ रुपैयाँ तोकेको थियो । २ भदौमा पुनः संघले पुरानै मूल्य नेपालभरको उपभोक्ता मूल्य भन्दै सार्वजनिक गरेको थियो ।

बाटो खर्च र बीचका व्यापारी (बिचौलिया)ले पाउने कमिसनको आधारमा प्रतिगोटा २० रुपैयाँ मूल्य तोकिएको नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोख्रेलले दाबी गरे ।

अण्डा उत्पादक संघले तोकेको १७ रुपैयाँमा कुनै पनि हालतमा प्रतिक्रेट ४५५ रुपैयाँको मूल्यले उपभोक्तामा अण्डा पुग्ने नसक्ने समेत उनको दाबी छ ।

अण्डा उत्पादक संघले प्रतिक्रेट बिक्री मूलय ४५५ रुपैयाँ बनाउँदा उपभोक्ता मूल्य भने १७ रुपैयाँ नै यथावत राखेको जनाएको छ ।

तर, नेपाल लेयर कुखुरा पालक संघले भने यसबीचमा हरेक साता मूल्य घटबढ गर्दै २० मंसिरमा अण्डाको बिक्री मूल्य प्रतिक्रेट ३४० रुपैयाँसम्म झारेको थियो । त्यसको एक महिना नपुग्दै १४ पुसबाट नै अण्डाको मूल्य बढाएर प्रतिक्रेट ४४५ पुर्‍याएको हो ।

अण्डाको मूल्य प्रतिक्रेट १०० रुपैयाँ भन्दा बढीले घट्दा समेत उपभोक्ता मूल्यमा भने कुनै राहत भएन ।

२५ वर्षअघि खुलेको र १ वर्षअघि खुलेको दुवै संघले आफूहरु आधिकारिक भएको बताउँछन् । नयाँ नेपाल लेयर्स कुखुरा उत्पादक संघले पुरानो संस्थाले उपभोक्ता र किसानको हित नगर्ने आरोप लगाएको छ । संघ अध्यक्ष विनोद पोखरेलले पुरानो संस्था निष्क्रिय भएको र उनीहरुप्रति किसानको भरोसा नरहेको आरोप लगाए ।

कुनै संघमार्फत मूल्य तोक्नु कार्टेलिङ हुने वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवाल बताउँछन् । ‘फार्मको लागतको आधारमा उत्पादकले मूल्य तोक्ने हो । प्रतिस्पर्धी बजारमा लागत घटाउने र नाफा बढाउने सोच हुन्छ,’ उनले भने, ‘यस्तोमा हरेक वस्तुको समान मूल्य हुँदैन । यस्तोमा संघले नभई उत्पादक फर्मले मूल्य तोक्ने हो । संघले मूल्य तोक्नु कार्टेलिङ हो ।’

कालोबजारी तथा केही समाजिक अपराध ऐन २०३२ ले ढुवानी तथा खर्च कटाएर बढी २० प्रतिशत नाफा राख्न पाइने व्यवस्था रहेको उनले बताए । कतिपय ठुलो परिमाणमा नगद कारोबार हुने बस्तुमा २० प्रतिशतको नाफा धेरै हुने उनले बताए । ‘मूल्य निर्धारणको मापदण्ड र बजारको तह घटाउने सम्बन्धमा विभागले अध्ययन गरिरहेको छ,’ उनले भने, ‘उत्पादकबाट उपभोक्तासम्म पुग्न ४÷५ तह राख्ने कि सिधै उपभाक्तासम्म पुर्‍याउन सकिन्छ भनेर अध्ययन भइरहेको छ । बजारको तहले पनि मूल्यमा प्रभाव पार्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?