+
+

विष्णुकला राईको उद्यम : शून्यदेखि शून्यसम्म

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते ७:१५

जिन्दगी गणित होइन, जसलाई अंकहरुमा जोख्न मिल्छ । यद्यपि जिन्दगीको जोडघटाउमा अंकहरुले उथलपुथल ल्याउने गर्छ । यस्तै उथलपुथलको साक्षी हुन्, विष्णुकला राई ।

कथा शून्यबाट सुरु गरौं ।

त्यसबखत उनीसँग केही थिएन । स्रोत थिएन । लगानी थिएन । जनशक्ति थिएन । बजार थिएन । मात्र दुई कुरा थियो- जाँगर र सीप ।

यी दुई कुराको टेको लगाएर उनले आफूलाई शून्यबाट यसरी माथि उठाइन्, मासिक आय नै ६ अंकको (लाख) भइदियो । मनग्ये स्रोत जुट्यो, पुग्दो श्रमशक्ति थपियो, सर्वत्र बजार फैलियो । उनको श्रमको लाभांश लोभलाग्दो भयो । उनी गृहिणीबाट उद्यमी भइन् । त्यो पनि गन्यमान्य ।

उद्यमशीलतासम्बन्धी कुनै पनि कार्यक्रमको ‘शोभा बढाइदिन’देखि ‘प्रेरणा दिन’सम्म उनको उपस्थितिले मूल्य पाउन थाल्यो । विष्णुकला राई एक ‘आदर्श उद्यमी’ भइन् ।

तर जिन्दगीले जहिले गुणात्मक फड्को मात्र मार्दैन । ऋणात्मक अवस्थामा पनि ओर्लिन्छ । त्यस्तै भयो उनको जिन्दगीमा । उनको खेलो मासियो । स्रोत सकियो, मौज्दात रकम सकियो । आफ्नो बलबुतोले जोडेको जे-जति संशाधन थियो, सबै सकियो । बाँकी रह्यो उही कुरा, जाँगर र सीप ।

‘घाटा लाग्नु’ ‘चौपट हुनु’, ‘डुब्नु’ व्यवसायको नियति नै हो । यस्तो भइरहन्छ पनि । तर यसका बाबजुद आफ्नो ‘जाँगर र सीप’ नछाड्नु खास कुरा हो । अब यसैलाई टेको बनाएर फेरि विष्णुकलाले कसरी आफुलाई उठाउने प्रयास गरिरहेकी छन् त ? यो प्रेरक विषय हो ।

सेलरोटी : शून्यबाट सुरुवात  

भर्खरै उनी सुत्केरीबाट तंग्रिदै थिइन् । बच्चाको रेखदेख गर्न घरमै बस्नुपर्ने अवस्था थियो । घरमा त बस्ने तर कसरी ? एक किसिमको छटपटी भयो । अक्सर काम गरिरहने मान्छेलाई यस्तै हुन्छ पनि ।

सुत्केरीअघि उनी एक सौन्दर्य प्रशाधनको काममा तल्लीन थिइन् । दिनदिनै हिंड्नुपर्ने, बजारमा भिड्नुपर्ने । हतारोमा बित्थ्यो दैनिकी । सुत्केरी भएपछि उनको यो गति एकाएक रोकियो । त्यही मौकामा उनले दुई किलो चामलको पीठो किनिन् । चिनी र तेल जोरजाम गरिन् । घरमा कसैलाई थाहा नदिई सुटुक्कै सेलरोटी पकाइन् । आफूले सौदापात खाने पसलमा लगेर दिइन्, यसो भन्दै- ‘बिक्री भएछ भने राखिदिनु ल ।’

थोरै रोटी पसले र अरु चिनेजानेकाले एकै झमटमा खाइदिए । पहिलो दिनको कमाइ तात्तातै हातमा आयो । पसलेले भन्यो- ‘भोलि पनि बनाएर ल्याइदेऊ है नानी ।’

दोस्रो दिन उनले उसैगरी सेलरोटी पकाइन् र पसलमा पुर्‍याइन् । पसलबाट बासी रोटी फर्काउनुपरेन । सबै बिक्री भयो । एवं रीतले केही दिन चल्यो ।

जति-जति पैसा आउन थाल्यो, उनले रोटीको संख्या उत्ति नै बढाउन थालिन् । तयारी रोटी स्कुटरमा राखेर पसल-पसलमा पुर्‍याइन् । त्यहाँ रोटी छाडिन् । पसलको फोन नम्बर बोकेर घर फर्किन् । साँझ ती सबै पसलमा पालैपालो फोन गरिन् । सबैको उस्तै जवाफ आयो, ‘सेलरोटी सबै बिक्री भयो ।’

उनको हातबाट तयार सेलरोटी खानेको संख्या पनि थपिंदै गयो । अन्ततः सहरका मुख्य मार्टहरु भाटभाटेनी, सेलवेज, बिगमार्टसम्म उनका सेलरोटी राखियो ।

बढोत्तरी : दुई दुना चार

आफ्नै भान्साबाट सुरु गरेको यो उद्यमले अब फराकिलो भान्सा खोज्यो । रोटी पोल्ने जनशक्ति खोज्यो । र, ढुवानी गर्ने गाडी खोज्यो ।

घरबेटीलाई उनले पार्किङ एरिया मागिन्, भान्सा बनाउन । अतिरिक्त ६ हजार तिर्ने शर्तमा पार्किङलाई भान्सा बनाइन् । तर त्यसले पनि धानेन । त्यसपछि अर्कै ठाउँमा खाली जग्गा लिएर टहरा बनाए । त्यहाँ वल्लो छेउदेखि पल्लो छेउसम्म २१ जनाले एकसाथ लस्करै बसेर सेलरोटी पोल्न सकिन्थ्यो ।

यतिबेला उनीकहाँ रोटी पोल्ने जनशक्ति मात्र ४१ जना थियो । दुई केजीबाट बढाएर दिनहुँ दुई सय केजी पीठो खपत हुन थाल्यो । दैनिक दुई हजार रुपैयाँ दिनेगरी ठाउँठाउँमा रोटी पुर्‍याउन गाडीको व्यवस्था गरिन् । सेलरोटीले फलिफाप भयो । महिनामा तीन-चार लाख रुपैयाँसम्म ‘चोखो बचत’ गर्न सक्ने भइन् । । एक दिन बैंकका कर्मचारी आए । उनीहरुले सोधे- ‘तपाईंले यो काम कसरी गरिरहनुभएको छ म्याम ?’

उनले कामको बेलिबिस्तार लगाइन् । उनीहरुले भने- ‘तपाईं आउनुहोस्, हामी गाडी दिन्छौं ।’ धुम्बाराहीस्थित शोरुमबाट उनले मारुती भ्यान खरिद गरिन् ।

दुई सय ४५ रुपैयाँ लगानीबाट रोटी पोल्न सुरु गरेकी थिइन् । यतिबेला उनले तयार गरेको रोटी सहरका दुई सय ६ वटा पसल तथा मार्टबाट बिक्री हुन थाल्यो ।

कमाइ हुँदै गयो, उद्यमको आयतन बढ्दै गयो । सबै कुरा ठीकठाक भयो । घर गृहस्थी फेरियो । उनले ‘नसोचेको सफलता’ पाइन् । बसिबियाँलोका लागि मात्र सेलरोटी पोलेकी थिइन् तर यसले त विष्णुकलाको जीवनको धुन नै बदलिदियो । चिनारी नै फेरिदियो । उनी ‘उदाहरणीय महिला उद्यमी’ बनिन् ।

उद्यमशीलता, वित्तीय, व्यवस्थापकीय कार्यशालाहरुमा उनलाई निम्तो गरियो । उदाहरणको रुपमा प्रस्तुत गरियो । उनको अविछिन्न लगाव र अटुट श्रमप्रति सबैले ‘स्यावासी’ भने । बीबीसी, कान्तिपुरमा उनको ‘संघर्ष र सफलताको’ कथा छापियो । काठमाडौं जेसिसले ‘परिश्रमी महिला’ भनी सम्मान गर्‍यो ।

अधोगति : शून्यदेखि शून्यसम्म 

२०७२ सालमा भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगायो । भारतीय उत्पादनमा आश्रित नेपाली बजारमा हाहाकार मच्चियो । तेल, ग्याँसदेखि खाद्यान्नसम्म संकट आयो, चौपट्टै महंगियो । कति त पाउनै छाड्यो । यसको सोझो असर उनको भान्सामा पर्‍यो, जहाँ नियमित सेलरोटी पाक्थ्यो ।

ग्याँस सिलिन्डर १५ सय रुपैयाँबाट बढेर ३५ सयसम्म पुग्यो । पीठो, चिनी, तेलको भाउ उसैगरी आकाशियो । पछि पछि त यी सरसामान दुर्लभ हुन थाल्यो । विष्णुकलालाई ऐंठन भयो ।

मान्छेहरुले ढाडस दिए, ‘एक-दुई दिनको संकट हो । खर्चिलो भए पनि, घाटामा गए पनि आफ्नो काम नछाड । एकदिन उकासिन्छौं ।’ विष्णुकलालाई सही लाग्यो । उनले घाटा खाएर भए पनि आफ्नो मेलो छाडिनन् ।

संकट लम्बिंदै गयो । मौज्दात रकम रित्तिंदै गयो । जोडेका संशाधन घट्दै गए । उनी ऋणात्मक अवस्थामा पुगिन् ।

दृढता : फेरि शून्यबाट सुरुवात 

सुखमा साथ र हात दिनेहरु दुःखमा छाँटिदै जान्छन् । अभाव र समस्यामा एक्लो भइन्छ । उनी एक्लो भइन् । जब मान्छे एक्लो हुन्छ तब उसले आफ्नै क्षमता र शक्तिहरु पहिल्याउन थाल्छ । विष्णुकलाले बोध गरिन्, ‘म जुझारु स्वभावको हुँ । जुध्न सक्छु ।’ उनले यही उद्यम नछाड्ने दृढता लिइन् । यसका लागि प्रविधिको साथ लिने मनासय बनाइन् । सेलरोटी पकाउने उपकरण बनाइन पाइए पूर्ववत् स्थितिमा फर्किन सकिन्छ भन्नेमा उनी ढुक्क थिए । आफूले जहाँ–जहाँ सेलरोटी बिक्री गर्थिन्, त्यहाँ–त्यहाँ पुगेर उनले भनिन्, ‘अब म मेसिन बनाएर सेलरोटी उत्पादन गर्छु । केही दिन तपाईंहरुले पर्खिदिनुहोला ।’

उनी पुगिन् आविष्कार केन्द्र । महावीर पुनलाई भेटेर भनिन्, ‘अहिले म नाजुक अवस्थामा छु । मेरो बजेट यति छ, मलाई यस्तो मेसिन चाहिएको छ ।’

आविष्कार केन्द्रले सेलरोटी मेसिन बनायो । ‘मलाई एक मिनेटमा सय पिस रोटी निकाल्ने मेसिन चाहिएको थियो,’ विष्णुकला भन्छिन्, ‘तर त्यो चाहेजस्तो कमर्सियल बनेन ।’ चाहेजस्तो मेसिन बनाउन ठूलै लागत चाहिने । लागत कहाँबाट जुटाउने ? कुनै उपाय छैन । अब उनीसँग एउटै उपाय बाँकी रह्यो, विदेश जाने ।

उनी विदेशको सुरसारमा के लागेकी थिइन्, महावीर पुनले रोक्दै भने, ‘तँ विदेश नजा । तुरुन्त आइज । यहाँ आविष्कार केन्द्रमा खाद्य विभागको जिम्मेवारी दिन्छु ।’

विष्णुकला आविष्कार केन्द्रमा पुगिन् र भनिन्, ‘मलाई पैसा चाहियो ?’

‘कति ?’

‘पन्ध्र सय रुपैयाँ ।’

यही पैसाबाट उनले सातु उत्पादन सुरु गरिन् । सातु बनाउने, पसल-पसलमा पुर्‍याउने । सेलरोटी जसरी उनले सातुको पनि बजार फैलाउँदै गइन् । पछि सहयोगी राखियो, खाद्य प्राविधिक राखियो । र, सातु, कुकिजसहित दर्जनौं परिकार बनाउन थालियो ।

यद्यपि यी परिकार वैकल्पिक थिए, दैनिक आवश्यकता थिएन । उनलाई लाग्यो, ‘दिनहुँ खानैपर्ने परिकार बनाउन सकिए दिगो हुने थियो ।’

किराती थाली : दुई सय घाटा

मन्थन गर्दै जाँदा यस्तो जुक्ति फुर्‍यो, ‘किराती भान्सामा पाक्ने थुप्रै खानेकुरा छन्, जो सहरमा पाइँदैन । त्यस्तै खानेकुरा बनाउने । एउटा आफ्नै युट्युब च्यानल खोल्ने । त्यसैबाट किराती खानेकुरा प्रवर्द्धन र बिक्री गर्ने, पहिलो पटक तयार गरेको खानेकुरा महावीर पुनलाई खुवाउने र त्यसैको भिडियो बनाउने ।’

महावीर पुनले हौसाए, ‘लु लु खोलिहाल् युट्युब ।’

उनीहरुले व्यावसायिक फोटोग्राफर बोलाए । खानेकुरा तयार गरे । दृश्यांकन गरियो । भिडियो सम्पादनका लागि एक हप्ता लाग्ने भयो ।

त्यसबीचमा विष्णुकला ‘च्यानलको नाम के राख्ने’ भनी घोत्लिइन् । तीन दिन बितेकै थिएन, एक सबेरै बिहान उनको मोबाइलमा तारन्तार फोन आउन थाल्यो, ‘ढिंडो खान कहाँ आउनु ?’

सुरुमा त उनले केही भेउ पाइनन् । पछि थाहा भो, महावीर पुनले आफ्नो फेुसबुकमा खानाको फोटोसहित मूल्य पनि राखिदिएछन् । खानाको मूल्य ३५० रुपैयाँ ।

ढिडों, सिस्नु, लोकल कुखुराको मासुसहितको खाना यति सस्तोमा बेच्न सकिएला ? महावीर पुनले जवाफ दिए, ‘खोरभर कुखुरा छँदैछ । चामल हाम्रै भान्सामा छ, त्यही पकाउने ।

मान्छेहरु खाना खान आउने भए एकै पटकमा ४५ जना । यत्तिका मान्छेलाई कसरी खुवाउने भाँडावर्तन छैन । नरिवलको पातमा खुवाउने ? एउटै प्लेटको ७० रुपैयाँ लाग्छ । टपरीमा खुवाउने ? झोल चुहिन्छ । प्लाष्टिकको प्लेटमा खुवाउने ? रैथाने खानालाई शोभा दि|दैन । अब के गर्ने ?

घरबाटै भएभरको काँसको थाल-बटुका जुटाइन् । खाना पकाउन सुरु भयो ।

त्यसदिन महावीर पुन खुब उमंगित थिए । घरीघरी भान्सामा आएर सोध्थे- ‘के-के पाक्यो त ? कति पाक्यो ? कस्तो भयो ?’

जब खाना दिन थालियो, भद्रगोल भयो । कतै तरकारी पुगेन, कतै अचार पुगेन । पछि हिसाबकिताब गरियो, दुई सय रुपैयाँ घाटा । अब यसरी साध्य होला त ?

किराती रेस्टुरेन्ट : रैथाने मेनु

उनीहरुले महिना-महिनामा मात्र खाना खुवाउने योजना बनाए, तर त्यो व्यावहारिक भएन । १५-१५ दिनमा खुवाउने भइयो, त्यो पनि काम लागेन । अन्ततः हप्ता-हप्तामा खुवाउने टुंगो भयो । यो उपक्रम चलिरहँदा नियमित ग्राहक बने- राजु श्रेष्ठ, रोहित ताण्डुकार र श्रीगणेश प्रधान । उनीहरु रैथाने नेवार । सहृदयी पनि । उनीहरुकै आड पाएपछि विष्णुकलाले सुरु गरिन्, एउटा यस्तो रेस्टुरेन्ट जहाँ परम्परागत किराती खाना पाक्छ ।

ललितपुरको नख्खुस्थित सानो ठाउँ भाडामा लिए । परम्परागत सरसामानले आन्तरिक सजावट गरियो । गुन्द्री र त्यसमाथि भेडाको ऊनबाट बन्ने राडी बिछ्याइयो । अनि सुरु भयो, फिर्के रेस्टुरेन्ट ।

‘फिर्के’, जुन गाउँघरतिर सिस्नो, दाल आदि चलाउन प्रयोग गरिन्छ । यसैको नामबाट सञ्चालनमा ल्याइएको रेस्टुरेन्टमा अहिले मौलिक किराती स्वाद चाख्न पाइन्छ ।

तपाईं किराती हुनुहुन्छ भने त्यहाँको परिकारले घरको स्वाद दिलाउँछ । यदि गैरकिराती हुनुहुन्छ भने त्यहाँको परिकारले तपार्ईंको जिब्रोको स्वाद फेरिदिन्छ ।

रेस्टुरेन्टमा पाइने मूल परिकार भनेको किराती खाना सेट हो । यसमा खोटाङ रावा खोलाको असला माछा, फापरको ढिंडो, मकैको भात, वाचिपा, सिस्नो, किनेमा, गुन्द्रुक भटमासको अचार पाइन्छ । यस्तै पोर्क सकिला, पोर्कसँग याङ्बेन, वाचिपा यहाँको खास परिकार हुन् ।

खाना तथा खाजा सेटको नाम पनि रोचक छ । जस्तो कि, जेठा-जेठी सेट, साइँला-साइँली सेट, सम्धी-सम्धिनी सेट । पेयमा मोही, जडिबुटी चियादेखि तीनपाने रक्सीसम्म पाइन्छ ।

तस्वीर, भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?