+
+

शिवरात्रिका दिन गलेश्वरमा चार लाख भेटी सङ्कलन   

रासस रासस
२०८० फागुन २६ गते १४:२९

२६ फागुन, म्याग्दी । बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा महाशिवरात्रिका दिन चार लाख रुपैयाँ भन्दा बढी भेटी सङ्कलन भएको छ ।

महाशिवरात्रि पर्वका अवसरमा शुक्रबार गलेश्वरमा पूजाआजा र दर्शन गर्न आएका भक्तजनले चढाएको भेटी शनिबार बिहान गनिएको हो । यस वर्षको महाशिवरात्रि पर्वमा चार लाख २९ हजार तीन सय ८८ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष गौमाया पुनले जानकारी दिइन् ।

पश्चिमको पशुपतिनाथका रूपमा परिचित गलेश्वरमा शिवरात्रिमा म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौँलगायत स्थानबाट करिब ५० हजार भक्तजन दर्शन गर्न आएका कोषाध्यक्ष पुनले बताइन् ।

महाशिवरात्रि पर्वमा कालीगण्डकी स्नान र गलेश्वरमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ ।

खेतीबाली लगाउने किसान फुर्सद, मौसम अनुकूल र बेनी–गलेश्वर सडक कालोपत्र भएकाले विगतको तुलनामा यसपालि भक्तजन आगमन बढेको कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताए ।

जिल्ला प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी, विभिन्न विद्यालय, क्लब र आमा समूहका स्वयंसेवकको सहभागितामा महाशिवरात्रि मेलालाई व्यवस्थित गरिएको थियो । साउनको सोमबार, बालाचतुर्दशी र शिवरात्रिको भोलिपल्टै र अन्य समयमा मासिक रुपमा भेटी गन्ने गरिएको छ ।

गत साउनदेखि यता ३७ लाख ९८ हजार सात सय पाँच रुपैयाँ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिए ।

गलेश्वरमा सङ्कलन भएको भेटी शालिग्राम वेद विद्याश्रम, ज्येष्ठ नागरिक आश्रम, कोषको कार्यालय सञ्चालन र भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने कोषका उपाध्यक्ष बमबहादुर पुनले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?