+
+

पेशागत मर्यादाविपरीत काम गरको भन्दै नरैनापुरले अनुदान शिक्षक हटायो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १९:००

१६ जेठ, काठमाडौं। पेशागत मर्यादाविपरीत काम गरेको भन्दै बाँकेको नरैनापुर गाउँपालिकाले अनुदानमा कार्यरत दुईजना शिक्षकलाई पदमुक्त गरेको छ ।

पालिकाले नरैनापुर ४ खोदावाँमा रहेको नेपाल राष्ट्रिय आधारभुत (१-८) विद्यालयमा अनुदान कोटामा कार्यरत शिक्षकद्वय गोरखबहादुर राना र रिता चौधरीलाई अराजक व्यक्तिहरुसँग पालिकाको शिक्षा, युवा तथा खेदकुल शाखामा ताल्चा लगाउने र बिना आधारका कुराहरुमा सहभागिता जनाई आफ्नो पदीय दायित्व निर्वाह नगरेको भन्दै सोमबारदेखि लागू हुने गरी उनीहरुलाई हटाएको हो ।

पालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत कृष्णकुमार थारुका अनुसार विद्यालयले राहत शिक्षक माग गरेको थियो । शिक्षा विकास तथा समन्वय इकाइको स्वीकृतिमा छनोट प्रक्रिया अगाडि बढाइएको थियो । तर, एउटा समूहले छनोट प्रक्रियामाथि असन्तुष्टि जनाउँदै रोक्न दबाब दिइरहेको थियो ।

पालिकाले  छनोट प्रकृया नरोकी आवेदकहरुको लिखित परीक्षा, अन्तर्वार्ता लिएपछि असन्तुष्ट समूह बिना प्रमाण भ्रष्टाचार गरेको आरोप लगाउँदै कार्यालयमा प्रवेश गरी कर्मचारीहरूमाथि अभद्र व्यवहार गर्नुको साथै शिक्षा शाखामा ताला लगाएका थिए ।

ताला लगाउने समूहलाई शिक्षकद्वयले पनि साथ दिएपछि पदमूक्त गरिएको शाखा अधिकृत थारुले बताए ।

उनले भने, ‘शिक्षक अभाव हुँदा कस्तो समस्या छ भन्ने उहाँहरु जानकार नै हुनुहुन्छ एउटा गलत व्यक्ति अथवा समूहको भीडमा मिसिएर हाम्रै शिक्षकहरु हामीलाई नै दुर्व्यवहार गर्न आउनुहुन्छ भने उहाँहरुलाई के को आधारमा हामीले शिक्षक पदमा राखिरहने भनेर पदमूक्त गरेका हौं ।’

असन्तुष्ट समूहले शिक्षक छनोटमा भ्रष्टाचारको आरोप लगाइरहेकाले सम्बन्धित ठाउँमा उजुरी गर्न सुझाव समेत दिएको शाखा अधिकृत थारु बताउँछन् ।

नेपाल राष्ट्रिय आधारभुत (१-८) विद्यालयका प्रधानाध्यापक ईन्द्रबहादुर यादवले शिक्षकद्वयलाई पदमूक्त गरिएको र उनीहरुलाई जानकारी दिन पालिकाले पत्राचार गरेको बताए ।

उनले भने, ‘पालिकाबाट पत्र आएको छ । उहाँहरु आज विद्यालय आउनुभएको थियो । मैले प्राप्त पत्रको बेहोरा सुनाएँ । उहाँहरुले मलाई प्रश्न गरिरहनु भएको थियो म यसबारे केही जानकार नभएको पालिकाको निर्देशन मात्रै कार्यन्वयन गरिरहेको र बाँकी पालिका  नै गएर बुझ्न अनुरोध गरेर पठाएँ ।’

बालविकास कक्षादेखि ८ कक्षासम्म अहिले ३२५ विद्यार्थी भर्ना भएका छन् । त्यसको लागि स्थायी तीन जना, अनुदान दई जना र राहत एक जना मात्रै कार्यरत रहेका थिए ।

शिक्षक अभावका कारण समस्या भएपछि विद्यालय व्यवस्थापन समितिले पालिकासँग राहत शिक्षक माग गरेको थियो । सोही अनुसार प्रकृया अगाडि बढाउँदा भएका दुई जना अनुदान शिक्षक पनि पदमुक्त भएका छन् ।

प्रधानाध्यापक यादवले भने, ‘शिक्षक कम छौं समस्या छ भनेर माग गरेको अब झन २ जना पनि नहुने भए । तर अब पालिकाले व्यवस्थापन गर्ला ।’ राहतका लागि शिक्षक छनोट भएपनि विवादका कारण नियुक्त गर्न नसकिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?