१२ साउन विराटनगर । पूर्वेली लोकगायक एलपी (लक्ष्मणप्रसाद) जोशीले संकलन गरी गाएको ‘रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो’ बोलको भाका चर्चित भयो ।
१५ वर्षको उमेरमै गीत संकलन गरेर गाउन थालेका जोशी वि.सं. २०२० को दशक औधी चर्चामा रहे । रेडियो नेपालमा उनको गीत बझिरहन्थ्यो । त्यसपछि पनि गुमनाम भएनन्, उनको गीतको चर्चा भइरह्यो । जीवनको उत्तरार्धमा उनी आफैं पनि गीत-संगीतको प्रवर्धनमा सक्रिय थिए । आइतवार उनी दमकमै आयोजित सांगीतिक कार्यक्रममा सहभागी भए, बिहीवार साँझ ८८ वर्षको उमेरमा उनको निधन भएको छ ।
वल्लो खोलो पल्लो खोलो कमिलाको गोलो… तथा के को माला के को माला सुपारीको माला नि साइली लगायत भाकालाई संकलन गरेर जोशीले सार्वजनिक गरे । उनी आफैंलाई गाएका गीतको तथ्याङ्क थाहा छैन । केही महिनाअघिको भेटमा उनले ३५–४० वटा लोकभाकाहरू गाएको सम्झना रहेको बताएका थिए ।
विक्रम संवत् १९९३ मा जन्मिएका जोशीले १५ वर्षको उमेरमै २००८ सालबाट गायन यात्रा सुरु गरेका थिए । उनकै शब्दमा ‘गाइने यात्रा’ । जोशीका बुबा कृष्णमानसिंह पनि भजन गाउँथे । बुबाको सिको गर्दै १५ वर्षबाटै गायन यात्रा सुरु गरेको उनले बताएका थिए ।
२०१३ सालमा रेडियो नेपालबाट पहिलो पटक गीत गाउँदा उनले पारिश्रमिक बापत ६ रुपैयाँ प्राप्त गरे । त्यो पारिश्रमिक जोगाएर उनले घरमा पनि ल्याएका थिए । लोक परम्पराको संरक्षण हुने बुझेपछि लोकगीत संकलन गर्दै गाउन सुरु गरेको उनी बताउँथे ।
गीत गाउने क्रममा २०१९ सालमा राष्ट्रव्यापी लोकगायन प्रतियोगितामा उनी प्रथम भए । उनले तत्कालीन राजा महेन्द्रलाई दमाई गीत गाएर पनि सुनाए । त्यसबेला उनलाई ठूलाबडाहरूका अगाडि दमाई गीत गाउँदा समस्या पर्ने भन्दै साथीभाइले सम्झाए, तर उनले ‘सगुन’ नाम दिएर के को माला के को माला सुपारीको माला नि साइली, यति राम्रो झिल्केमा जोवन तैं मोरीलाई दिउँला नि साइली बोलको गीत गाए ।
यो गीत पञ्चेबाजा बजाउँदा गाइन्थ्यो, यसलाई दमाई गीत पनि भनिने साहित्यकार खेम नेपाली बताउँछन् । त्यसबेला जोशीको गायन राजा महेन्द्रले मन पराए । त्यसपछि ठूलाबडालाई पनि लोकगीत मनपर्छ भन्ने बुझेर थप भाका संकलन सुरु गरेको उनले बताएका थिए । उनले पूर्वेली मात्र नभई पश्चिमेली लोकभाका ‘रोइला’ पनि गाएका छन् ।
झापाको दमकस्थित घरमै देहत्याग गरेका जोशीले बिनायोको आवाज कस्तो छ भनी आफूले प्रचार गरेको दाबी गर्थे । ‘मैले गीत गाउनु भन्दा पहिला धेरैलाई बिनायोको आवाज कस्तो हुन्छ भनेर थाहा थिएन’ उनले भनेका थिए, ‘मैले ‘रिटिङ, रिटिङ नबजाऊ बिनायो’ भनेर गीत गाएपछि बिनायोको प्रचार भयो ।’ जोशीले धनकुटाका आठपहरिया, हिमाली क्षेत्रका शेर्पा र मधेशका सन्थाल जातिको पनि गीत गाएका थिए ।
नेपालले कुशल गायक तथा संगीतकार गुमाएको बताउँछन्, साहित्यकार खेम नेपाली । ‘लोकगीत मात्रै होइन चलचित्रको लागि असल अभिनेता पनि हो’ उनले भने, ‘उहाँले जीवन र दैनिकीलाई नजिकबाट छोएर गीत गाउनुभएको थियो ।’ जोशीले नेपाली लोक संस्कृतिलाई जोगाउन महत्वपूर्ण योगदान दिएको उनले बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की स्वर्गीय गायक जोशी नेपाली लोक-संगीतको नक्षत्र रहेको बताउँछन् । नेपालको दोस्रो चलचित्र ‘हिजो-आज-भोलि’ मा नेपालकी पहिलो नायिका भुवन चन्दसँग अभिनय गरेका जोशीले किराँत नृत्यलाई पहिलोपल्ट राष्ट्रियस्तरमा चिनाउने काम पनि गरेको कार्कीको भनाइ छ । ‘उनलाई बहुमुखी प्रतिभाका धनी व्यक्ति भनेर सम्बोधन गरिएन भने उनको व्यक्तित्व र काममाथि अन्याय पर्न जान्छ । उनी एक कुशल चित्रकार पनि हुन्’ मुख्यमन्त्री कार्कीले भनेका छन्, ‘पुराना गाउँ र बस्तीका गीतहरूको संकलन र रचना गरेर सुमधुर स्वर दिएका लोकसंगीतका उज्ज्वल नक्षत्र जोशीप्रति उच्च सम्मान सहित भावपूर्ण श्रद्धाञ्जली ।’
प्रतिक्रिया 4