शिरोधारा दुई संस्कृत शब्द ‘शिरो’ र ‘धारा’ मिलेर बनेको हो । शिरो भनेको टाउको र धाराको अर्थ प्रवाह हुन्छ । अर्थात्, टाउकोमा प्रवाहको साथ औषधियुक्त तरल पदार्थहरू निरन्तर खन्याउने विधि शिरोधारा हो ।
शिरोधारा हजारौं वर्षदेखि चलिआएको आयुर्वेदिक उपचारको एक परम्परागत थेरापी विधि भए पनि अहिले यसको महत्त्व बुझ्ने र थेरापी गराउनेहरुको संख्या बढेको देखिन्छ ।
शिरोधाराको उद्देश्य हो, शरीरबाट विषाक्त पदार्थ बाहिर निकालेर दिमाग, मस्तिष्क र शरीर स्वस्थ राख्नु । तनाव र टाउको दुख्ने जस्ता समस्यालाई हटाउन शिरोधार थेरापी प्रभावकारी मानिन्छ ।
शिरोधारामा के कस्तो तरल पदार्थ प्रयोग हुन्छ ?
शिरोधारा थेरापीमा टाउकोमा तेल, दूध वा अन्य तरल पदार्थ हालिन्छ । कुन पदार्थ हाल्ने भन्ने कुरा स्वास्थ्य समस्या कस्तो छ त्यसमा निर्भर रहन्छ ।
वात दोष अर्थात् हड्डी तथा स्नायुरोग भएमा तेलको धारा लगाइन्छ । पित्त दोष अर्थात् माइग्रेन, एन्जाइटी, टाउको दुखाइ, अनिन्द्रा, टाउको पोल्ने भएमा शीतल गराउने श्रीखण्ड, दूध, घिउ र चन्दनको धारा दिइन्छ । शीतल धारालाई भृकुटी धारा पनि भनिन्छ ।
त्यस्तै, कफ दोषमा डिप्रेसन, टाउको भारी हुने र अनिद्रामा हुने समस्या पर्छन् । जसमा कफ नासक तेल र जडीबुटी मिश्रित धारा, मोही र सादा मनतातो पानीको धारा दिइन्छ ।
कसरी गरिन्छ ?
पहिला शिरोधारा टेबलमा उत्तानो पारी सुताइन्छ । त्यसपछि पाँच मिनेट टाउको मसाज गरी चिउँडोलाई हल्का उठाउन लगाइन्छ । त्यसपछि निधारमा पर्ने गरी आवश्यकता अनुसारको तरल पदार्थ निरन्तर बग्ने गरी खनाइन्छ ।
सो तरल पदार्थ खनाउने पनि एउटा प्रक्रिया हुन्छ । तरल पदार्थ खन्याउने गोलो आकारको भाँडो हुन्छ । जसमा राखिएको टुकीले प्रवाहलाई चाहे अनुसारको नियन्त्रण गर्छ ।
सो धारा कति समयसम्म प्रवाह गर्ने भन्ने कुरा स्वास्थ्य समस्यामा भर पर्छ । सामान्यतया २० देखि ४५ मिनेटसम्म निरन्तर दिइन्छ । सो धारा तीव्र, मध्यम वा अति सुस्त दिने भन्ने पनि रोग र अवस्था अनुसार विचार गरेर दिइन्छ ।
यो क्रममा के ध्यान दिनुपर्ने कुरा के हो भने त्यसरी बगेको तेल आँखामा पर्न नदिन आँखा चिम्लिन लगाउनु पर्छ । आँखा र कान दुवैमा कटन बल लगाउनुपर्छ ।
शिरोधारा थेरापीले कसरी काम गर्छ ?
शिरमा इन्द्रिय, स्नायु र अति संवेदनशील मस्तिष्क हुन्छन् । शिरमै सम्पूर्ण शरीरमा संवेदनाको केन्द्र, चाल उत्पन्न गर्ने केन्द्र, स्मृतिका केन्द्र, सोच्ने, तर्क गर्ने लगायत केन्द्रहरु हुन्छन् ।
साथै ग्रन्थीहरूको गुरु भनेर चिनिने पिट्युटरी ग्रन्थी पनि हुन्छ । यसले शरीरका सम्पूर्ण ग्रन्थीलाई प्रभावित पार्छ ।
निधारको बीचमा आज्ञा चक्र हुन्छ । सो आज्ञा चक्र स्नायुहरूलाई जोड्ने एक जालो हुन्छ । सो चक्र वा त्यस वरपर केही समय तेल वा अन्य तरल पदार्थको निरन्तर धारा बगाउँदा यी सबैमा एकसाथ धेरै कार्य गर्छ ।
सो औषधियुक्त धाराको प्रवाह टाउकोको मांसपेशीहरूमा एक हलचल पैदा गरी निधारको वरपरको स्नायुहरूको माध्यमबाट मस्तिष्कसम्म यात्रा गर्छ ।
– शरीरमा वात, कफ र पित्तको सन्तुलनको लागि शिरोधारा थेरापी गरिन्छ ।
– शिरमा कमी रहेका तत्वहरुको पोषण गर्नुका साथै मस्तिष्कका केन्द्र तथा ग्रन्थीलाई सक्रिय पारी मस्तिष्कको सम्पूर्ण स्नायु, मांसपेशीलाई आराम, शरीरलाई सन्तुलित र स्वस्थ राख्छ ।
– मस्तिष्कमा हाइपोथालेमस ग्रन्थीलाई आराम दिन शिरोधाराले सघाउ पुर्याउँछ । (हाइपोथालेमस ग्रन्थीको काम भनेको भोक, प्यास, मुटुको दर, तापक्रम, निद्रा, कार्डियम रिदम जस्ता कार्यको नियन्त्रण गर्छ ।)
– शिरोधारा थेरापीले टाउको वरिपरि विभिन्न बिन्दुहरूलाई उत्तेजित गरेर रक्त सञ्चारमा सुधार गरी एड्रेनाइन र नोराड्रेनालाइन जस्ता तनाव हर्मोनको स्तर कम गर्छ ।
– तनावको हर्मोन कम हुने बित्तिकै टाउको दुखाइ, तनाव, डिप्रेसन र एन्जाइटी जस्ता मानसिक रोगहरू व्यवस्थापन गर्न सहज पार्छ ।
– हिस्टेरियाको समस्या भएकालाई पनि यो थेरापी रामवाण जत्तिकै सावित भएको छ ।
– निद्राको गुणस्तरमा सुधार ल्याउँछ । यो थेरापी लिंदा कोर्टिसोलको स्तर घटाउन मद्दत गर्छ, जसले गहिरो र राम्रो निद्रामा पुग्छ ।
– एकाग्रता बढाउन, माइग्रेन वा टाउको दुख्ने समस्यामा पनि शिरोधारा थेरापी सेवन गर्दा राम्रो हुन्छ ।
– मांसपेशी दुखाइबाट राहत दिन्छ । कहिलेकाहीं तनाव र थकानले शरीर बोझिलो अनुभव हुन्छ भने पनि यो थेरापी लिनु प्रभावकारी सावित हुनसक्छ ।
– आँखाको समस्या र उच्च रक्तचापका लागि पनि यो थेरापी लिन सकिन्छ ।
– कतिपय अध्ययनले पक्षाघात भएका बिरामीको लागि पनि उपयोगी भनेर पुष्टि समेत गरेको छ ।
– चाँडै कपाल फुल्ने र तालु खुइलिने समस्यामा राम्रो नतिजा देखाएको छ ।
कति पटक गर्ने ?
कुनै स्वास्थ्य समस्या नभई आरामका लागि मात्र हो भने सातामा वा महिनामा एक पटक गर्दा हुन्छ । स्वास्थ्य समस्या छ भने राम्रो नतिजाका लागि केही साता गर्नुपर्ने हुनसक्छ ।
यी अवस्थामा शिरोधारा गर्नहुँदैन
– बेहोश हुने र छारेरोग भएको अवस्थामा दिनुहुँदैन ।
– घामबाट आउने बित्तिकै शिरोधारा दिनुहुँदैन ।
– निधारमा घाउ खटिरा, संक्रामक रोग भएमा ।
– लागूऔषध वा रक्सीको लत भएको, मुटु सम्बन्धी रोग भएको अवस्थामा चिकित्सकको सल्लाहमा मात्र दिन सकिन्छ ।
प्रतिक्रिया 4