
News Summary
Generated by OK AI. Editorially reviewed.- आइरेना का महानिर्देशक फान्सेस्को ला क्यामेरा र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काबीच शिष्टाचार भेटवार्ता भएको छ।
- मन्त्री खड्काले नेपाल स्वच्छ, समावेशी र जलवायु–अनुकूल ऊर्जा प्रणालीको निर्माणमा प्रतिबद्धता व्यक्त गरे।
- आइरेनाले नेपालको दीर्घकालीन ऊर्जा साझेदारी गर्न इच्छुकता व्यक्त गरेको छ।
५ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइरेना)का महानिर्देशक फान्सेस्को ला क्यामेरा र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सगरमाथा संवादमा सहभागिताका लागि औपचारिक भ्रमणमा नेपाल आएका महासचिव ला क्यामेरालाई ऊर्जा मन्त्रालयमा स्वागत धन्यवाद दिँदै मन्त्री खड्काले स्वच्छ ऊर्जा प्रवर्द्धनमा आइरेनाको विश्वव्यापी नेतृत्वको उच्च प्रशंसा गरे ।
मन्त्री खड्काले आइरेनाको भूमिकाले विश्वव्यापी ऊर्जा रूपान्तरणलाई नयाँ दिशा दिएको उल्लेख गर्दै नेपाल स्वच्छ, समावेशी र जलवायु–अनुकूल ऊर्जा प्रणालीको निर्माण प्रति दृढप्रतिबद्ध रहेको स्पष्ट पारे ।
शिष्टाचार भेटका क्रममा मन्त्री खड्काले नेपालको ऊर्जानीति पेरिस सम्झौता, दिगो विकास लक्ष्य ७ (सस्तो र स्वच्छ ऊर्जा) र लक्ष्य १३ (जलवायु कार्य) सँग सू–संगत रहेको जानकारी गराए ।
साथै, निजी क्षेत्रको लगानी प्रोत्साहन, ऊर्जा स्रोतको विविधीकरण र राष्ट्रिय ग्रिडको आधुनिकीकरणका लागि नेपाल सरकारले नीतिगत तथा संस्थागत सुधारको दिशामा अघि बढाइरहेको उल्लेख गरे ।
उनले जलविद्युत् नेपालको ऊर्जा क्षेत्रको मेरुदण्ड भएको बताउँदै करिब ६२ गिगावाट क्षमताको जलविद्युत् सम्भावना रहेको तर सोमध्ये ठूलो हिस्सा अझै उपयोग हुन बाँकी रहेको बताए ।
आइरेनासँगको सहकार्यद्वारा जलविद्युतको दिगो विकाससँगै सौर्य, वायू, हरित हाइड्रोजनजस्ता नवीकरणीय ऊर्जा स्रोतहरूको प्रवर्द्धनमा सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको मन्त्री खड्काले बताए । नेपाल सरकारले हालै स्वीकृत गरेको ‘ऊर्जा विकास मार्गचित्र’ले सन् २०३५ सम्म २८५०० मेगावाट विद्युत उत्पादन क्षमता पुर्याउनुका साथै प्रशारण तथा वितरण प्रणालीमा विद्युत व्यापार विस्तार गर्ने एवं नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताका विविध पक्षहरूको समग्र विकास गर्ने लक्ष्य लिएको उनले चर्चा गरे ।
भारत र बङ्गलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापारबाट क्षेत्रीयस्तरमा स्वच्छ ऊर्जाको उपयोग विस्तारमा नेपालले अग्रणी भूमिका खेल्न सक्ने औंल्याउँदै मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय विश्वास अभिवृद्धि भएको र क्षेत्रीय ऊर्जा एकीकरणको सम्भावना अझ सुदृढ भएको धारणा व्यक्त गरे ।
नेपालले आइरेनासँग जलविद्युत्, सौर्य, वायू, ग्रिड एकीकरण, अफ–ग्रिड ऊर्जा पहुँच तथा हरित हाइड्रोजन प्रविधिमा दीर्घकालीन सहकार्य विस्तार गर्ने प्रस्ताव अघि सारेको जानकारी पनि सो अवसरमा गराए ।
मन्त्री खड्काले उचाइमा बसोबास गर्ने तथा जलवायु–संवेदनशील क्षेत्रका समुदायहरूलाई समेटेर न्यायसंगत ऊर्जा रूपान्तरणको दिशामा नेपाल सरकार प्रतिबद्ध रहेको बताए । यस यात्रामा आइरेनाको प्राविधिक सहयोग, ज्ञान आदानप्रदान तथा क्षमता अभिवृद्धिमा सहकार्य अत्यन्तै महत्वपूर्ण रहने उनले विश्वास व्यक्त गरे ।

आइरेनाका महानिर्देशक फ्रान्चेस्को ला क्यामेराले नेपालसँग दीर्घकालीन ऊर्जा साझेदारी गर्न संस्था इच्छुक रहेको बताए । उनले नेपाल जस्तो जलविद्युत् र स्वच्छ ऊर्जामा सम्भावनायुक्त मुलुकसँग सहकार्य गर्नु प्राथमिकतामा पर्ने उल्लेख भन्दै नेपालको अग्रसरताले नवीकरणीय ऊर्जा प्रवर्द्धनमा दक्षिण एशियाली क्षेत्रलाई प्रेरणा दिने विश्वास व्यक्त गरे ।
उनले इनर्जी ट्रान्जिसन एक्सिलरेटर फ्रेमवर्क, अवुधावी फन्ड फर डेभलपमेन्ट मास्टर फन्ड लगायतसँगको सहकार्यमा नेपालको नवीकरणीय ऊर्जा क्षेत्रको विकासमा लगानी वृद्धि गर्न सकिने सम्भावना औंल्याए ।
उनले नेपालको ऊर्जा रणनीति जलवायुअनुकूल र समावेशी भएको मूल्यांकन गर्दै आइरेनासँगको सहकार्यले नेपाललाई स्वच्छ ऊर्जा रूपान्तरणको मार्गमा थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
आइरेना प्रमुखको यो भ्रमण नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार, नवप्रवर्तन प्रविधिको हस्तान्तरण तथा जलवायु–अनुकूल दिगो विकासलाई सघाउन महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ ।
नेपाल सन् २०१७ मा आइरेनाको सदस्य बनेको हो भने हाल यस अन्तरसरकारी संस्थामा १६९ देश र युरोपियन युनियन आवद्ध रहेका छन् ।
प्रतिक्रिया 4