+

किन बिहानको समयमा हृदयाघातको जोखिम बढी हुन्छ ?

२०८२ जेठ  १३ गते ११:४४ २०८२ जेठ १३ गते ११:४४
Shares
किन बिहानको समयमा हृदयाघातको जोखिम बढी हुन्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा हृदय रोगको जोखिम बढ्दै गएको छ र बिहानको समयमा हुने हृदयाघात बढी खतरनाक हुन्छ।
  • बिहानको समयमा, शरीरमा कोर्टिसोल र एड्रिनालिन जस्ता हर्मोनको स्तर बढ्ने, रगत गाढा हुने र प्लेटलेट्स सक्रिय हुने कारणले हृदयाघातको जोखिम बढ्छ।
  • सामान्य लक्षणहरूलाई बेवास्ता नगरी, हाइड्रेटेड रहन, हल्का व्यायाम गर्न र नियमित स्वास्थ्य जाँच गर्न आवश्यक छ।

पछिल्लो समय हृदय रोग विश्वभरमा मृत्युको प्रमुख कारण बनिसकेको छ ।  नेपालमा पनि युवाहरूमा जीवनशैलीसँग सम्बन्धित समस्याहरू जस्तै तनाव, शारीरिक गतिविधिको कमी, अस्वस्थ खानपानको बानी, मोटोपन र धूम्रपान जस्ता कारकहरूले हृदय रोगको जोखिम बढाइरहेका छन् ।

हृदयाघात दिनको कुनै पनि समयमा हुन सक्छ, तर धेरै अनुसन्धान र हृदय रोग विशेषज्ञहरूका अनुसार बिहानको समयमा हुने हृदयाघात हुने जोखिम धेरै हुन्छ। अब प्रश्न उठ्छ-आखिर किन बिहानको समयमा हुने हृदयाघात बढी खतरनाक हुन्छ ?

बिहान हृदयाघात किन हुन्छ ?

रक्तचाप र हृदय गति बढ्ने

बिहानको समयमा, विशेष गरी ब्यूँझिएपछि, शरीरमा कोर्टिसोल र एड्रिनालिन जस्ता स्ट्रेस हर्मोनको स्तर बढ्छ ।  यी हर्मोनले रक्तचाप र हृदयको गति बढाउँछ, जसले हृदयमा अतिरिक्त दबाब पर्छ ।

शरीरको जैविक घडीको भूमिका

हाम्रो शरीरले एक प्राकृतिक जैविक घडी (सर्केडियन रिदम) अनुसार काम गर्छ, जसले हर्मोनको स्तर, रक्तचाप र हृदयको धड्कन जस्ता कार्यहरूलाई नियन्त्रण गर्छ । वैज्ञानिकहरूले पत्ता लगाएका छन् कि बिहान ६ देखि १० बजेसम्म शरीरमा कोर्टिसोल हार्मोनको स्तर उच्च हुन्छ, जसले रक्तचाप बढाउँछ र रक्त नलीहरूमा दबाब पर्छ ।

यसले हृदयलाई अक्सिजनको आवश्यकता बढाउँछ । यदि रक्त नलीहरू पहिलेदेखि नै साँघुरो छन् भने, हृदयाघातको जोखिम निकै बढ्छ ।

रगत गाढा हुन्छ

बिहानको समयमा रगतको गाढापन बढ्छ । यसले रगतमा क्लट बन्ने (थेग्रिने) सम्भावना बढाउँछ ।  यदि रक्त नलीहरूमा पहिलेदेखि नै बोसो जम्मा भएको छ र त्यसमाथि क्लट बनेमा, रगतको प्रवाह अवरुद्ध हुन्छ र हृदयमा अक्सिजन पुग्न बन्द हुन्छ—जो हृदयाघातको प्रत्यक्ष कारण हो ।

प्लेटलेट्सको सक्रियता बढ्छ

बिहानको समयमा हाम्रो शरीरमा प्लेटलेट्स (ब्लड क्टल बनाउने कोशिका) हरू बढी सक्रिय हुन्छन् । यो एक सामान्य जैविक प्रक्रिया हो, तर जसको रक्त नलीहरूमा पहिलेदेखि नै प्लाक अर्थात् बोसो वा कोलेस्टेराेलको तह जम्मा भएको छ, तिनीहरूका लागि यो अवस्था खतरनाक हुन सक्छ ।

प्लेटलेट्सको अत्याधिक सक्रियताले रगतमा क्लट बन्ने सम्भावना बढ्छ । यदि यो क्लट पहिलेदेखि नै साँघुरो वा आंशिक रूपमा अवरुद्ध रक्तनलीमा बन्छ भने, पूर्ण अवरोध सिर्जना हुन सक्छ । यसले मुटुमा अक्सिजन पुग्न बन्द हुन्छ, जुन हृदयाघातको कारण बन्छ । यही कारणले बिहानको हृदयाघात बढी घातक हुन सक्छ ।

लक्षणहरूलाई बेवास्ता गर्नु

बिहानको समयमा हुने हृदयाघातका लक्षणहरूलाई व्यक्तिहरूले प्रायः बेवास्ता गर्छन् वा गलत ठान्छन् । सास फेर्न गाह्रो हुने, थकान, छातीमा दुखाइ वा असहजता जस्ता लक्षणहरूलाई सामान्य मान्ने गरिन्छ । अपच, ग्यास वा निद्रापछि शरीरमा कठोरता जस्ता समस्यासँग जोडेर हेर्छन् ।

यही कारण व्यक्तिहरूले उपचारमा गर्नमा ढिला गर्छन्, असहजता आफैँ कम भएर जाने विश्वासमा । तर यो घातक हुन सक्छ । त्यसैले, प्रारम्भिक तर महत्त्वपूर्ण संकेतहरूलाई बेवास्ता गर्नुहुँदैन, किनकि यसले गम्भीर हानि पुर्‍याउनुका साथै यो अचानक मृत्युको कारण बनाउन सक्छ ।

बच्ने उपायहरू

हतारमा नउठ्ने

बिहान बिस्तारै ब्युँझनुपर्छ । अचानक ओछ्यानबाट उफ्रेर उठ्न हुँदैन, बिस्तारै उठ्नुपर्छ । शरीरलाई स्ट्रेच गर्नुपर्छ र आफ्नो शरीरलाई समायोजन हुन समय दिनुपर्छ ।  यसले रक्तचापमा अचानक वृद्धि हुनबाट जोगाउँछ ।

पानी पिउने

सबैभन्दा पहिले शरीरलाई हाइड्रेट गर्नुपर्छ । ब्युँझिएपछि एक गिलास पानी पिउनुपर्छ । यसले रगतलाई पातलो बनाउन मद्दत गर्छ, जसले रक्तनली अवरुद्ध गर्ने क्लटको जोखिम कम गर्छ ।

कठिन व्यायामबाट जोगिने

बिहानको समयमा तीव्र शारीरिक गतिविधिबाट बच्नुपर्छ ।  ब्युँझिएलगत्तै व्यायाम गर्नाले मुटुमा दबाब पर्न सक्छ । हल्का स्ट्रेचिंङ वा हिँडाइलाई प्राथमिकता दिनुपर्छ । यदि व्यायाम गर्ने हो भने पहिले राम्रोसँग वार्मअप गर्नुपर्छ ।

नियमित स्वास्थ्य जाँच गराउने

हृदयाघातका प्रमुख जोखिम कारकहरूलाई दीर्घकालीन अवस्थाहरूलाई व्यवस्थापन गर्नुपर्छ।  नियमित जाँच, औषधि र स्वस्थ जीवनशैलीमार्फत रक्तचाप, मधुमेह र कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न सकिन्छ ।
स्वस्थ निद्रा

मुटुलाई स्वस्थ राख्न राम्रो निद्रा पनि महत्वपूर्ण हुन्छ । खराब निद्राले शरीरको आन्तरिक घडीमा बाधा पुर्‍याउँछ र बिहानको तनाव हार्मोनको स्तर बढाउन सक्छ । त्यसैले  प्रत्येक दिन ७–८ घण्टाको आरामदायी निद्राको लक्ष्य राख्नुपर्छ ।

लक्षणहरूप्रति सतर्क रहने

छातीमा दुखाइ, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने वा बिहान बायाँ हातमा असहजता जस्ता लक्षणहरूलाई बेवास्ता गर्नु हुँदैन । तुरुन्त चिकित्सकीय सहायता लिनुपर्छ ।

मुटुरोग हृदयघात
डा. अभिषेक ठाकुर
लेखक
डा. अभिषेक ठाकुर
मुटुरोग विशेषज्ञ

डा. ठाकुर मुटुरोग विशेषज्ञ हुन् । उनी काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत छन् । ठाकुरको मेडिकल काउन्सिल तर्दा नम्बर १३०५८ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय