
News Summary
Generated by OK AI. Editorially reviewed.- समीक्षा सामान्यतया विषय–विशेषको पक्ष वा विपक्ष व्यक्त गर्न हो।
- गहिरो र जिम्मेवार समीक्षा सम्बन्धित विषयको सैद्धान्तिक र साहित्यिक ज्ञान आवश्यक हुन्छ।
- पुस्तक समीक्षा पाठक, लेखक र समाजको बीचको संवाद र सम्बन्ध सुदृढ पार्ने माध्यम हो।
सामान्य हिसाबले हेर्दा समीक्षक जो पनि हुन सक्दछ किनभने कुनै विषय–विशेषको पक्ष वा विपक्षमा राय व्यक्त गर्नु नै औसत समीक्षा हो । कुनै पनि व्यक्ति, वस्तु अथवा विचारलाई राम्रो–नराम्रो–ठिक्कको वा सही–गलत–कामचलाउ आदि भन्नु नै पनि साधारण समीक्षा हो ।
अझ एक पाइला अगाडि बढेर हेर्दा आलोचना वा प्रशंसा गर्नु पनि समीक्षाकै स्वरूप हो । यद्यपि केही पढिसकेपछि गमेर र केही घोत्लिएर त्यसमाथि जिम्मेवार एवं सन्तुलित ढङ्गले विचार पस्किनु समीक्षा त हो तर यसले औसतभन्दा माथिको विचार माग गर्दछ ।
सतहभन्दा गहिराइको अपेक्षा गरेको हुन्छ । त्यसै कारण त यस्तो समीक्षाले कमजोर पक्ष औँल्याउँछ, सबल एवं सकारात्मक पक्षको प्रशंसा गर्दछ र सुधारका सम्भावनाहरूबारे इङ्गित गर्दछ । तर समालोचना धेरै दूरको कौडी हो किनभने समालोचना गर्नका लागि सम्बन्धित व्यक्तिमा समालोचनाको गहिरो सैद्धान्तिक ज्ञान हुनु अनिवार्य हुन्छ ।
समालोचनात्मक सैद्धान्तिक ज्ञानका साथै साहित्यमा चलिरहेका प्राचीन, अर्वाचीन र समकालीन सबै वाद, शैली एवं विचारधाराहरूबारे कमोबेश जानकारी हुनु पर्दछ । योसँगै कृतिमा प्रयुक्त भाषा, शैली, भाव र सम्भावित अर्थका साथै साहित्यका विभिन्न विधागत –जोनर बेस्ड– ज्ञान हुनु पनि उत्तिकै आवश्यक हुन्छ । यस कारण पनि पुस्तक–समीक्षा भनेको समग्र समालोचना होइन, र, हुन पनि सक्दैन ।
आखिर किताब भनेकै पो के हो र ? अनि किताबबाट हुन्छ के ? पाइन्छ के ? केवल कागजमा अक्षरहरूको एकलासको थुप्रो लगाउनु मात्र किताब तयार हुनु हो त ? यसो होइन । किनभने किताबले पाठकलाई मनोरञ्जन त दिन्छन् नै, त्यससँगै शिक्षा पनि उत्ति दिन्छन् । किताबहरू कतै हाम्रा दमाली बनेका हुन्छन्, कतै दाजुभाइ वा दिदीबहिनी त कतै अभिभावक नै पनि ।
भनिएकै पनि त छ नि, ‘किताबहरूले हाम्रो आत्मासँग संवाद गर्न सक्छन्, गर्छन् पनि । र, किताबहरूले हामीलार्र्ई यो दुनियाँमा हामी एक्ला छैनौं भन्ने पनि हेक्का दिइरहन्छन् ।’ स्पष्ट छ, सबै किताबले त यसो गर्दैनन्, र, सबै किताब पढ्न पनि सकिँदैन । उसो भए आफूलाई काम लाग्ने किताबको छनोट कसरी गर्ने त ?
सरल भाषामा भन्दा, त्यसका लागि यही पुस्तक–समीक्षा भरपर्दो साथी बनेको हुन्छ । यस्तो समीक्षा कलापूर्ण र सुरुचिपूर्ण हुन सक्यो भने त झन् के कुरा !
पुस्तक समीक्षाहरूका सम्बन्धमा पढ्दै जाँदा एक ठाउँ एउटा मननीय तथ्य फेला पारेको थिएँ । लेखिएको थियो, ‘राम्रा भनिने र असल ठानिने जुनै किताबमा एउटै पक्ष प्रधान हुन्छ– मानिस हुनुको अर्थ के हो भनेर पाठकलाई स्मरण गराउनु, अनि उसलाई यही तथ्य बुझाउनु । किताबहरूमा मात्र नभएर जुनसुकै चित्ताकर्षक एवं प्रशंसनीय कलाकृतिमा यस्तै समान किसिमको भाव हुन्छ, अर्थात्, मानवीय क्रियाकलापहरूको शाश्वत अभिव्यक्ति ।’
मलाई लाग्छ, अमेरिकी चिन्तक÷समालोचक रसेल कर्कले दिएको यो अभिव्यक्ति सम्पूर्ण पुस्तक–समीक्षकहरूका लागि एक किसिमले मार्गदर्शक रेखाचित्र हो, एक किसिमको आधारभूमि हो । र, हुनु पनि पर्छ।
००० ००० ०००
‘उमेर ढल्केसँगै कम्युनिष्टहरू धार्मिक हुँदै जान्छन् ।’ करीब तीन दशक पहिले मैले यो वाक्य पढेको थिएँ र यसले मलाई गहिरो गरी छोएको थियो । यो भनाइ कुनै सैद्धान्तिक किताबमा लेखिएको थिएन बरु बङ्गलादेशकी नारीवादी लेखक तसलीमा नसरीनले सन् १९९३ मा लेखेको उपन्यास ‘लज्जा’ मा कतै कपिएको थियो ।
तसलीमालाई बङ्गलादेशकी विद्रोही लेखक मानिन्छ । आफ्नो लेखनकै कारण सन् १९९४ देखि उनी निर्वासित जीवन बिताइरहेकी छन् । यस उपन्यासमा उनले कट्टर हिन्दु धर्मावलम्बी भीडले भारतको अयोध्यामा ६ डिसेम्बर १९९२ मा बाबरी मस्जिद ध्वस्त पारेपछि भारतमा जस्तै बङ्गलादेशका विभिन्न भागमा भड्केको हिन्दुविरोधी साम्प्रदायिक हिंसा, त्यसले पारेको प्रभाव र बङ्गलादेशमा रहेका अल्पसङ्ख्यक हिन्दुहरूमाथि भएको दमनबारे क्रमशः सुधामोय, किरणमयी, सुरन्जन, नीलाञ्जना आदि पात्रहरूमार्फत निकै संवेदनशील ढङ्गले लेखेकी छन् ।
तसलीमाले बङ्गाली भाषामा लेखेको ‘लज्जा’ उपन्यास स्वयं बङ्गलादेशमा सरकारी प्रतिबन्धमा पर्यो तर प्रकाशित भएको पहिलो छ महिनाभित्रै त्यसका पचास हजार प्रति बिक्री भए । लगत्तै त्यो उपन्यास हिन्दीमा अनुवाद भयो र अनौपचारिक रूपमा हिन्दीबाट नेपालीमा । त्यति मात्र नभई त्यो उपन्यास सन् १९९७ मा अङ्ग्रेजीमा र त्यससँगै फ्रेन्च, जर्मन, स्पेनिस, डच, अरबी आदि समेत दर्जनौं भाषामा अनुवाद भयो ।
मैले ‘लज्जा’ उपन्यासको पुस्तक–समीक्षा लेखेको थिएँ । माथि उद्धृत वाक्य मेरो लेखको शीर्षक थियो र त्यो समीक्षा कान्तिपुर दैनिकको शनिवारीय परिशिष्टाङ्क ‘कोसेली’ मा छापिएको थियो । करीब अठ्ठाइस–तीस वर्ष पहिले प्रकाशित आफैँलाई पनि पठनीय लागेको कोसेलीकै आधा पृष्ठ लामो त्यो लेख उहिल्यैदेखि मसँग छैन ।
तिनताका पत्रिकाको काम कम्प्युटरमा (पेजमेकर डिजाइन–प्रिन्ट–कटिङ–पेस्टिङ–अनि मात्र अफसेट प्रेसमा छपाइ) हुने गरेको भए पनि मसमेत लगभग सबैजनाले हातले लेखेर कम्प्युटर–टाइपमा दिने चलन थियो, शायद त्यसकारण पनि त्यो लेख छापिएको केही समय सुरक्षित राखिएको थियो होला तर अलि पछि गएर यता–उता हुँदै कतै हरायो ।
त्यस्तै, अर्को एक पटक एक जना चितवनवासी लेखकले चितवनबाटै प्रकाशित गरेको कुनै एक निबन्ध–सङ्ग्रहको समीक्षा गरेको थिएँ । तिनताका ‘कोसेली’ हेर्ने संयोजक कृष्णमुरारी भण्डारीजीले मलाई त्यो दायित्व सुम्पेका थिए ।
सर्सती किताब पढेको त त्यसमा भएका विषय–विविध निबन्ध राम्रा लागेका थिए । अहिले त्यो किताबको शीर्षक र निबन्धकारको नाम सबै बिर्सिसकेँ तर आकारमा सानो भए पनि रोचक लागेको त्यस पुस्तकको मैले गरेको समीक्षा कोसेली–संयोजक मुरारीजीसमेत धेरैलाई रुचेको थियो । तर विडम्बना ! त्यो आलेख पनि मसित सुरक्षित रहन सकेन र कतै गर्तमा बिलायो !
यसरी नै बेलाबेलामा पुस्तक–समीक्षाहरू लेख्ने र छापिने काम भइरहेको थियो तर समस्या उही रह्यो– लेख्यो, छापियो अनि हरायो । अर्थात्, सङ्कलन वा रेकर्डमा राख्ने बानी भने कहिल्यै बसेन– ‘आ, किताब समीक्षा त हो नि, किन पो केही रेकर्ड–सेकर्ड राख्नुपर्ने होला र ?’ भन्ने सोच्यो, अनि त्यसप्रति बेवास्ता गर्यो, बस्यो हुँदै जान थाल्यो ।
धेरैपछि आएर मात्र आफ्नो यो प्रवृत्ति आफैँलाई बचकाना लाग्न थाल्यो । जे जस्तो लेखिएको भए पनि त्यसलाई सङ्कलन गर्ने हो भने कालान्तरमा त्यसको केही न केही अर्थ र उपादेयता पक्कै पनि हुनेछ भन्ने लाग्न थाल्यो । यसकारण पछिल्लो समयमा लेखेका पुस्तक–समीक्षा भने सम्झे जति र पाए जति सङ्कलन गर्न थालेँ । नयाँ लेखेको त स्वतः कम्प्युटर हार्ड डिस्कमा सुरक्षित रहने नै भए ।
अनि पछिल्लो समयमा, केवल आफूसँग मात्र जोगाएर राख्नुभन्दा बरु सङ्ग्रह नै निकाल्ने हो भने सम्बन्धित लेखक, अन्य धेरै साहित्यानुरागी र पुस्तक–चर्चा–समीक्षा पढ्न (र, लेख्न पनि) मन पराउनेहरूका लागि धेरथोर पाठ्य–खुराक हुनसक्छ भन्ने लागेर त्यही सोचाइको परिणाम यो पुस्तकको आत्म–परिकल्पना भएको हो । आखिर नेपाली भाषामा समालोचना र पुस्तक–समीक्षाको प्रचलन उस्तो बाक्लो कहाँ पो छ र ? त्यसमा पनि, पुस्तक–समीक्षाका किताब वा सङ्ग्रह नै त झन् औंलामा गन्न मिल्ने गरी मात्र छापिएका होलान् ।
००० ००० ०००
एउटा स्थापित सत्य हो– केवल चाहनाले मात्र कोही लेखक हुन सक्दैन । कलम र कापी लिएर बस्दैमा वा कम्प्युटरअगाडि आसन जमाउँदैमा लेख्न सकिँदैन, लेखक बन्न पनि सकिँदैन, यद्यपि अरूहरूलाई भन्नका लागि हरेक मानिससँग आ-आफ्नो कथा अवश्य हुन्छ । तर साँचो कुरा के हो भने सबैले आफ्नो कथा लेख्न सक्दैनन् । किनभने, लेखन आफैँमा एक कला हो र प्रकृति–प्रदत्त विशिष्ट गुण हो । तापनि, यसको वैशिष्ट्य के हो भने यो जन्मजात गुणलाई लगातार कसी लगाइरहनु पर्छ र त्यसका लागि निरन्तर अध्ययन, अभ्यास, संयम, धैर्य एवं गहिरो समझदारीको आवश्यकता पर्दछ ।
मानिस, समाज औ संसारलाई हेर्ने दृष्टि जति गहिरो र व्यापक हुन्छ, लेखन त्यति नै अर्थपूर्ण र प्रभावशाली हुन्छ । भाषागत ज्ञान, अनेकानेक शब्द–प्रयोगको क्षमता, कल्पनाको उडान भर्ने ल्याकत, भाव गाम्भीर्य र संवेदनाको गहिराइमा डुबुल्किन सक्ने सामथ्र्य व्यक्तिमा छ अथवा यी विशेषता आफूभित्र विकास गर्न सक्ने हो भने लेखनले चन्द्रमा छुन सक्दछ ।
गाउँ खाने कथा, उखान–टुक्का, झर्रा शब्दहरू, प्रचलित अन्य भाषा–भाषिकाबाट आएका शब्द–विशेषहरू, सन्त–महात्मा–विचारक–लेखक–कवि आदिका स्मरणीय भनाइहरू, पौराणिक वाङ्मयबाट लिइएका उपयुक्त प्रसङ्गहरू, किम्बदन्ती वा मिथ बनेका सुहाउँदा सन्दर्भहरू र यस्तै मिल्दा तमाम तत्वहरूको ज्ञात प्रयोग गर्न सक्ने हो भने भाषाले मारुनी नाच्न थाल्नेछ र अभिव्यक्ति–सम्प्रेषण मदमस्त हुँदै झ्याउरेमा झमझमाउन थाल्नेछ ।
कतिपय मानिस भन्ने गर्छन्– लेख्नका लागि त मनभित्रैबाट आउन पर्छ, ‘मूड’ हुनुपर्छ, भाव बन्नु पर्छ । अनि मात्र लेख्न सकिन्छ । खासमा यो भनाइ केही हदसम्म त सही हो तर पूर्ण सत्य भने होइन । किनभने ‘मूड’ सधैँ बन्दैन, बनेको पनि हुँदैन बरु त्यसलाई त बनाउनु पर्ने हुन्छ ।
लेखन–सरस्वतीको साधना गर्नु पर्दछ । होइन भने त के ‘मूड’ बनेन भन्दैमा कहिल्यै नलेख्ने ? त्यसो हुँदैन । त्यसकारण मलाई लाग्छ, नियमित अभ्यासले यस्तो ‘मूड’ बन्न र बनाउन धेरै सहज हुन्छ । हामीले बिर्सनै नहुने एउटै मात्र सत्य हो– निरन्तर साधना सबभन्दा ठूलो ‘मूड’ हो ।
मलाई के पनि लाग्छ भने लेखक वा कवि जे जस्तो पनि हुन सक्छन्, उनीहरूले राम्रो नराम्रो र असल कमसल जस्तो पनि लेखेर प्रकाशन गर्न सक्छन् तर किताब छापिएर पाठकको हातमा पुगेपछि त्यस किताबमा लेखक वा कविको कुनै अधिकार रहँदैन, त्यो पाठकको अधिकार–क्षेत्रभित्र गइसकेको हुन्छ र त्यसलाई के कसरी ग्रहण गर्ने नगर्ने वा त्यसलाई कुन स्थान प्रदान गर्ने नगर्ने भन्ने सम्पूर्ण क्षेत्राधिकार पाठकसँग सुरक्षित हुन पुग्छ ।
हरेक अध्ययनमा पाठक स्वतन्त्र हुन्छ र ऊ त्यही अर्थ वा विचार ग्रहण गर्नका लागि बाध्य हुँदैन जुन विचार लेखकले आफ्नो कृतिमा दिन खोजेको हुन्छ । यही सत्यलाई दृष्टिगत गरी उहिल्यै (सन् १९६७ मै) फ्रान्सेली साहित्यिक–दार्शनिक रोलाँ बार्थले एउटा बहुचर्चित निबन्ध नै लेखे, ‘द डेथ अफ दी अथर’, अर्थात, ‘लेखकको मृत्यु’ । त्यो निबन्धले विश्व–साहित्यमा ठूलो हलचल ल्यायो र पक्ष–विपक्षमा लामै बहस चलायो ।
परम्परागत साहित्यिक सैद्धान्तिक समालोचनाको क्षेत्रमा ठूलै उथलपुथल सिर्जना गरेका बार्थले आफ्नो त्यस निबन्धमा भने, ‘लेखकले कुनै नयाँ विषय वा विचार सिर्जना गर्न सक्दैन, ऊ त केवल एक ‘लेखक’ –स्क्रिप्टर– हो जसले केवल पहिलेदेखि संसारमा विद्यमान कुराहरू सङ्कलन गरेर पस्किने मात्र हो । कृतिको खास अर्थ कृतिकारको ‘भाव’ वा ‘रुचि’ मा नभएर पाठकमा पर्ने प्रभाव वा उसको ग्रहणशीलतामा भर पर्दछ; ‘प्रकाशित सामग्रीको महत्ता त्यसको मूलमा’ अथवा त्यसको रचनाकारमा निर्भर हुँदैन, बरु ‘त्यसको निर्दिष्ट लक्ष्यमा’ अर्थात्, त्यसका पाठकहरू –अडियन्स– मा निर्भर हुन्छ ।’
यस्तोमा लेखक र पाठकका बीचमा उनीहरूलाई जोड्ने साँघुको काम गर्ने तत्वको आवश्यकता पर्दछ । अनि यो दायित्व निर्वाह गर्नका लागि पहिले पाठक बनेर पढ्ने र त्यसपछि सम्बन्धित कृति, कृतिकार र सिर्जनाका विविध पक्षमाथि आप्mना विचार दिने कार्य गर्छन् समालोचक, समीक्षक, चर्चाकार, टिप्पणीकार वा रिभ्यूवरहरूले । बेलाबखत केवल प्रतिक्रियाका नाममा अथवा पाठक–पत्र वा सम्पादकलाई चिठ्ठीका रूपमा पनि गज्जबको समीक्षा अभिव्यक्त भएको देख्न पाइन्छ ।
(पाठक–पत्र वा सम्पादकलाई चिठ्ठीका रूपमा चोटिलो समीक्षाको गज्जब उदाहरण नेपाली वाङ्मयमा शङ्कर लामिछानेको निबन्ध–सङ्ग्रह ‘गोधूली संसार’ मा रहेको एउटा निबन्ध ‘आभाँ गार्देको सौन्दर्य शास्त्र’ लाई साहित्यिक–चोरीको आरोप लगाउँदै ‘कुमुदिनी’ भनेर छद्म नामधारी एकजना पाठकले लेखेर ‘रचना’ पत्रिकामा छापिएको सामग्रीलाई दृष्टान्तका रूपमा लिइने गरिन्छ । त्यो चिठी प्रकाशित भएपछि लामिछानेले चोरीको आरोप स्वीकार गर्दै घोषित तवरमै त्यसउप्रान्त लेखनबाट सन्न्यास लिएका थिए) ।
निःसंदेह, पुस्तक–चर्चा वा समीक्षा निकै गम्भीर एवं चुनौतीपूर्ण कार्य मात्र होइन, ठूलो दायित्व नै हो । यो भनेको लेखकको उछित्तो काढ्नु होइन, कसैलाई उचाल्नु वा पछार्नु होइन, बरु रचनात्मक सुझाव दिनु हो जसले गर्दा आगामी सिर्जनाका लागि सम्बन्धित लेखकलाई सहज वैचारिकी एवं सकारात्मक ऊर्जा प्राप्त हुन सकोस् ।
पुस्तकको उपादेयता त्यसलाई पढ्नुमा हुन्छ, त्यसले के सन्देश दिएको छ वा के कस्तो मनोरञ्जन र प्रेरणा दिन सकेको छ आदि भन्ने जस्ता कुरा पाठकले ठम्याउने वा पहिल्याउने पक्ष हुन् । यस कार्यमा समीक्षक वा टिप्पणीकारले पाठकलाई यथोचित् सहयोग र दिग्दर्शन गर्ने प्रयास मात्र गर्छन् ।
यहाँनिर एउटा प्रश्न पाठककै निम्ति छाड्न मन लाग्यो, ‘पुस्तक–समीक्षाको सामाजिक मूल्य हुन्छ या हुँदैन ? हुन्छ यदि भने के कस्तो हुन सक्छ ? हुँदैन यदि भने किन ?’
००० ००० ०००
(लेखक जयदेव गौतमको यही असार १३ गते शुक्रबार काठमाडौंमा सार्वजनिक नयाँ समीक्षा–सङ्ग्रह कृति ‘किताबको अँगालोमा’ को एक अंश । )
प्रतिक्रिया 4