News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरामा आयोजना हुने वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा थाइल्याण्ड, नेदरल्याण्ड्स, रूसदेखि ब्राजिलसम्मका विदेशी खेलाडीहरू सहभागी हुनेछन्।
- दोस्रो संस्करणमा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् र प्रत्येक टोलीले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछ।
- पहिलो संस्करणमा सहभागी १८ विदेशी खेलाडीमध्ये अधिकांश नयाँ खेलाडीहरू हुन् ।
११ भदौ, काठमाडौं । यही भदौ अन्तिममा पोखरामा आयोजना हुने वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करण खेल्न थाइल्याण्ड, नेदरल्याण्ड्स, रूसदेखि ब्राजिलसम्मका खेलाडीहरू नेपाल आउने भएका छन् ।
नेपाली भलिबल इतिहासमै पहिलो फ्रेन्चाइज लिगको रुपमा गत वर्ष सुरु भएको इडब्लुभिको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखराको बहुउद्देशिय कभर्डहलमा आयोजना हुँदैछ ।
पहिलो संस्करण काठमाडौंमा भव्य रुपमा सम्पन्न गरेको आयोजक इन्फिनिटी ड्रिम्सले यसलाई विकेन्द्रिकरण गर्ने लक्ष्य अनुरुप दोस्रो संस्करण उपत्यका बाहिर आयोजना गर्न लागेको जनाएको छ ।
दोस्रो संस्करणमा पनि ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस पटक भने खेलाडीहरू अक्सन समेत गरिएको थियो । जुन नेपाली भलिबल इतिहासमै पहिलो पटक हो ।
लिगका लागि सहभागि ६ फ्रेन्चाइज टिमले विदेशी खेलाडीहरू अनुबन्ध गर्ने क्रम तीव्र बनेको छ । फ्रेन्चाइजहरूले आफूले अनुबन्ध गरेका विदेशी खेलाडीहरूको नाम सार्वजनिक गरिरहेका छन् । कति विदेशी खेलाडी त नेपालमा आइपुगिसकेका छन् ।
यस पटक पहिलो संस्करणको विजेता कर्णाली यशविससहित मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स गरी चार टिम निरन्तर छन् । यस्तै गण्डकी थण्डर्सको स्थानमा पोखरा निन्जाज र चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाज नयाँ टिमको रुपमा आएको छ ।
हरेक टोलीले ३ विदेशी खेलाडी आफ्नो टिममा अनुबन्ध गर्न सक्नेछन् । पहिलो संस्करणमै एसिया, युरोप, अफ्रिका र अमेरिकाबाट गरी १८ खेलाडीले काठमाडौंमा आएर खेल्दा एभरेष्ट महिला भलिबल लिगको चर्चा देश विदेशमा भएको थियो ।
यस पटक पनि विदेशी खेलाडीहरू १८ जना नै आउनेछन् । यसपटक ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलबाट समेत महिला भलिबल खेलाडीहरू लिग खेल्न नेपाल आउँदैछन् । यसले लिगको चर्चा थप विश्वभर फैलिएको देखिन्छ । यस्तै युरोपियन राष्ट्र नेदरल्याण्ड्सबाट समेत यस संस्करणमा खेलाडीहरू नेपाल आउँदैछन् ।
अहिले साविक उपविजेता ललितपुर क्विन्ससहित मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स र लुम्बिनी लाभाजले ३-३ विदेशी खेलाडी अनुबन्ध गरिसकेका छन् । यस्तै पोखरा निन्जाजले पनि ३ र कर्णाली यशविसले २ विदेशी खेलाडी अनुबन्ध गरेका छन् । अब कर्णालीले १ विदेशी अनुबन्ध गर्न बाँकी रहेको छ ।
थाइल्याण्डदेखि नेदरल्याण्ड्ससम्म, रसियादेखि ब्राजिलसम्मका खेलाडी
एभरेष्ट महिला भलिबल लिगमा पहिलो संस्करणदेखि नै विदेशी खेलाडीहरूले नेपाल आएर खेलेपछि यसको चर्चा बढेको छ । दोस्रो संस्करणमा पनि कस्ता विदेशी खेलाडी आउलान्, पहिलो संस्करणबाट कति विदेशी खेलाडी दोहोरिएलान् भन्ने दर्शकहरूको कौतुहलता थियो ।
अब त्यो कौतुहतला लगभग मेटिएको छ । पहिलो संस्करण खेलेका ललितपुरका दुई थाइल्याण्डका खेलाडीबाहेक अरु सबै नयाँ विदेशी खेलाडी छन् ।
यस पटक विशेषगरी थाइल्याण्डसँगै, नेदरल्याण्ड्स, रूस र ब्राजिलका खेलाडीहरूको संख्या धेरै छ । यही चार देशका खेलाडीहरूको चर्चा पनि बढी छ । त्यसमा पनि विश्वकै महिला भलिबलमा चर्चित राष्ट्रहरू ब्राजिल र नेदरल्याण्ड्सबाट पहिलो पटक नेपालमा खेल्न आउन लागेका हुन् ।
यी तीन राष्ट्रसँगै कीर्गिस्तान, बुल्गेरिया, अमेरिका, काजखस्तान लगायत देशका खेलाडीहरू लिगका लागि विभिन्न टोलीमा अनुबन्ध भइसकेका छन् ।
पहिलो संस्करणमा छिमेकी भारतका खेलाडीहरू पनि खेलेपनि यस पटक भने भारतका खेलाडी छैनन् । यस पटक थाइल्याण्ड, नेदरल्याण्ड्स, ब्राजिल र रूसबाहेक यस पटक अमेरिका, बुल्गेरिया, इटली, काजखस्तान, कीर्गिस्तान, क्रोएसिया, सर्वियाबाट खेलाडी आउँदैछन् ।
यस्तै महादेशका हिसाबले हेर्ने हो भने एसिया, युरोप, अमेरिका (उत्तर र ल्याटिन दुवै) बाट खेलाडीहरू आउँदैछन् ।
अहिलेसम्म अनुबन्ध भएकामध्ये सबैभन्दा धेरै नेदरल्याण्ड्स र थाइल्याण्डका सर्वाधिक ३-३ खेलाडी छन् । यस्तै रूस र ब्राजिलबाट २-२ खेलाडी अनुबन्ध भएका छन् ।
यसैगरी अमेरिका, कीर्गिस्तान, काजखस्तान, इटली, सर्बिया, क्रोएसिया र बुल्गेरियाबाट १-१ खेलाडी अनुबन्ध भएका छन् ।
एभरेष्ट महिला भलिबल लिगमा अनुबन्ध भएका विदेशी खेलाडीहरू नेपालमा आएर लिग खेल्न निकै उत्साहित छन् । त्यसमा पनि अधिकांश विदेशी खेलाडीहरू पहिलो पटक नेपाल आएको/आउन लागेकोले पनि उनीहरू उत्साहित भएका हुन् ।
कुन टिममा कुन विदेशी खेलाडी?
कर्णाली यशविस
साविक विजेता कर्णाली यशविसले यस सिजन ल्याटिन अमेरिकाबाट विदेशी खेलाडी अनुबन्ध गरेको छ । कर्णालीले अहिलेसम्म दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ । जसमा सेटर आना फ्लाभिया र आउटसाइड हिटर मायरा भिटोरिया छन् ।
सुमित्रा रेग्मीको कप्तानीमा कर्णालीले पहिलो सिजन अपराजित रहँदै लिगको उपाधि जितेको थियो । उपाधि रक्षा गर्ने अभियानमा रहेको कर्णालीले अब एक विदेशी अनुबन्ध गर्न बाँकी छ ।
कर्णालीको अन्य नेपाली खेलाडीमा सफिया पुन, पुजा थारु, जसना महतो, रश्मिता दुरा, नेविका चौधरी, रेविका लामा तामाङ र एलिसा भुजु छन् ।
ललितपुर क्विन्स
साविक उपविजेता ललितपुरले यस पटक पनि थाइल्याण्डबाटै तीन विदेशी खेलाडी अनुबन्ध गरेको छ ।
ललितपुरले पहिलो संस्करणको लिग खेलेको आउटसाइड हिटर वारान्या श्रीलाओङ र सेटर पत्राथिप सान्त्राकुनलाई निरन्तरता दिएको छ । दुवैले ललितपुरलाई पहिलो संस्करणमा फाइनल पुर्याउन महत्वपूर्ण योगदान गरेका थिए ।
यस्तै पहिलो संस्करण खेलेकी थाइ खेलाडी सुताड्दा चुएवुलिनको स्थानमा ललितपुरले यसपटक थाइल्याण्डकै राष्ट्रिय टिमबाट खेलिसकेका अर्का खेलाडी आउटसाइड हिटर दारिन पिन्सुवानलाई अनुबन्ध गरेको हो ।
राष्ट्रिय टिमकी लिबेरो सलिना श्रेष्ठ मार्की रहेको ललितपुरमा संगम महतो, लक्ष्मी चन्द, सलिना बुढा मगर, सुनिता राई, निशा चौधरी, सृष्टी खड्गी र भावना डाँगी छन् ।
मधेश युनाइटेड
पहिलो संस्करणमा एक खेल पनि नजिई पुछारमा रहेको मधेश युनाइटेडले यस पटक आक्रमक रूपमा विदेशी खेलाडी अनुबन्ध गरेको छ ।
मधेशले युरोपियन राष्ट्र नेदरल्याण्ड्सबाट तीन जनै विदेशी खेलाडी अनुबन्ध गरेको छ । मधेशले नेदरल्याण्ड्सका आउटसाइड हिटर रोमी भिनस्ट्रा र सेटर डानिक आर्डेमालाई र आउटसाइड हिटर कर्स्टेन वेसेल्सलाई अनुबन्ध गरेको छ ।
मधेशले यस पटक राष्ट्रिय टिमका पूर्व खेलाडी समेत रहेकी कोपिला उप्रेतीलाई नयाँ मुख्य प्रशिक्षक बनाएपछि विदेशी खेलाडी अनुबन्धमा पनि त्यसको असर देखिएको छ ।
कोपाले यसअघि नेदरल्याण्ड्समा गएर विभिन्न कार्यक्रमहरूमा भाग लिइसकेकी भएकोले उनकै सम्बन्धका आधारमा मधेशले नेदरल्याण्ड्सकै खेलाडी अनुबन्ध गरेको हो ।
राष्ट्रिय टिमकी मुख्य स्पाइकर निरुता ठगुन्ना मार्की रहेको मधेश टिममा आरती सुवेदी, कोपिला राना, सरस्वती कट्टेल, उषा विष्ट, बबिता बोहरा, बसन्ती साउद र स्नेहा ठगुन्ना छन् ।
काठमाडौं स्पाइकर्स
काठमाडौं स्पाइकर्स पहिलो संस्करणमा तेस्रो भएको थियो । पहिलो संस्करणमा फाइनल पुग्न असफल भएको काठमाडौंले दोस्रो संस्करणमा अझ बलियो भएर आउने लक्ष्य राखेको छ ।
त्यसका लागि काठमाडौंले इटली, बुल्गेरिया र काजखस्तानको खेलाडी अनुबन्ध गरेको छ ।
काठमाडौंले इटलीकी मिडल ब्लकर/आउटसाइड हिटर ओउमायमा कोडिएल, बुल्गेरियाकी सेटर निकोलाएभा नेकोभा र काजखस्तानकी अपोजिट हिटर अलेना कोलोतीजिनालाई अनुबन्ध गरेको छ ।
नेपाली राष्ट्रिय टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की रहेको काठमाडौंमा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बालमिलका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् ।
लुम्बिनी लाभाज
पहिलो संस्करण खेलेको चितवन शक्तिले दोस्रो संस्करण नखेल्ने भएपछि एभरेष्ट महिला भलिबल लिगमा नयाँ आएको टोली हो लुम्बिनी लाभाज । लुम्बिनी लाभाजले राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीलाई मार्की खेलाडी बनाएको छ । यसअघि अरुणा चितवन शक्तिको मार्की थिइन् ।
यस्तै लुम्बिनीले तीन विदेशी खेलाडी अनुबन्ध गर्दै टिम बलियो बनाएको छ । जसमा दुई रसियन र एक कीर्गिस्तानी खेलाडी छन् । लुम्बिनीले रूसबाट आउटसाइड हिटर भेरोनिका जुबारेभा र केसेनिय तिसिना तथा कीर्गिस्तानकी ओगुलाई कुडाई कुलोभालाई अनुबन्ध गरेको हो ।
अरुणा मार्की रहेको लुम्बिनीका कामना विष्ट, शान्तिकला तामाङ, एलिशा मानन्धर जेनिशा विश्वकर्मा, अनुशा चौधरी रोमा महतो, रिकजना माझी छन् । यस्तै लुम्बिनीले ट्यालेन्ट हन्टबाट जानकी केसीलाई अनुबन्ध गरेको छ ।
पोखरा निन्जाज
पोखरा निन्जाज यस पटक सिजन अर्को नयाँ टिम हो । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै यसअघि गण्डकी थण्डर्सले लिग खेलेको थियो । यसपटक टिमको नाम पोखरा निन्जाज रहेको छ र मार्की खेलाडीमा पनि नयाँ खेलाडी छन् । युवा सेटर प्रगति नाथ पोखराको मार्की छन् ।
पोखराले विदेशी खेलाडीमा अहिलेसम्म युरोपियन राष्ट्र सर्वियाकी आउटसाइड हिटर ल्युबिका केकमान र अमेरिकन आउटसाइड हिटर एडेओला ओवोकोनिरानलाई अनुबन्ध गरेको छ । क्रोएसियाकी मिडल ब्लकर लियो बोबानलाई पनि पोखराले अनुबन्ध गरेको छ ।
पोखराका तीनै विदेशी खेलाडी नेपाल आइपुगिसकेको अवस्थामा । केकमान भने पारिवारिक समस्याका कारण अकस्मात आफ्नै देश फर्किएकी छिन् ।
यस्तै मार्की खेलाडी प्रगती रहेको पोखरामा कामना विष्ट, मिना सुनार, सुनिता खत्री, गरिमा बोहरा, एन्जिला प्रधान, निशा महर र भावना तामाङ छन् ।
प्रतिक्रिया 4