News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले २१ फागुनको निर्वाचनमा १८२ सिट प्राप्त गरी जनताको परिवर्तन चाहनाको अभिव्यक्ति देखाएको छ।
- रवि लामिछाने र बालेन शाहमाथि जनताको उच्च अपेक्षा रहेको र नयाँ नेतृत्वले न्याय प्रणालीप्रति पारदर्शिता देखाउनु पर्ने बताइएको छ।
- सरकारले शिक्षा, स्वास्थ्य, पूर्वाधार, प्रणाली सुधार र रोजगारमा तत्काल सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याइएको छ।
२१ फागुनको निर्वाचन मार्फत राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको १८२ सिट केवल चुनावी अंकगणित मात्र होइन, जनताको मनभित्र उम्लिएको परिवर्तनको चाहनाको अभिव्यक्ति पनि हो। कहिलेकाहीं इतिहास चुनावले मात्र बदलिंदैन, जनताको मनले बदलिन्छ। यसपटक नेपालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचन त्यस्तै एउटा क्षण बनेको छ। वर्षौंदेखि निराशा, अविश्वास र राजनीतिक थकान बोकेका नेपाली जनताले यसपटक एक असाधारण निर्णय गरेका छन्। झन्डै दुईतिहाइको नजिक बहुमत सहित सरकार बनाउने अंकगणित मात्र होइन, पुरानो राजनीतिक संस्कृतिलाई समेत चुनौती दिएका छन्।
यो परिणाम एउटा दलको जित मात्र होइन। नेपालका जनता अब केवल आश्वासन सुन्न होइन, परिणाम देख्न चाहन्छन् भन्ने सन्देश हो। यो जनादेशसँगै देशको बागडोर अब नयाँ नेतृत्वको काँधमा पुगेको छ। विशेषगरी, रवि लामिछाने र बालेन शाहमाथि जनताको अपेक्षा असाधारण छ। काठमाडौंको एउटा सामान्य बिहान सम्झिनुहोस्। कुनै युवा आफ्नो मोबाइलमा समाचार हेर्दै भन्छ, ‘अब सायद देश बदलिन्छ होला।’ गाउँको एउटा घरमा बाबुआमाले विदेश जाने सोचिरहेको छोराछोरीलाई भन्छन्– ‘अलि दिन पर्ख, अब केही राम्रो होला कि ?’ चियापसल र चौतारोमा बसेका मानिसहरू पुराना नेताहरूको कुरा होइन, नयाँ सम्भावनाको कुरा गर्न थालेका छन्। यही सानो–सानो आशाको धागोले आजको जनादेश बुनेको हो भन्दा कुनै अत्युक्ति नहोला।
यस सफलतामा बालेन शाहको लोकप्रियताले पनि महत्वपूर्ण भूमिका खेलेको धेरैले स्वीकार गरेका छन्। काठमाडौं महानगरपालिकामा मेयरका रूपमा बालेनले देखाएको कार्यशैलीले एउटा कुरा प्रमाणित गर्यो कि यदि नेतृत्व दृढ भयो भने सीमित अधिकारका बीच पनि परिवर्तन सम्भव हुन्छ। नियम कार्यान्वयन गर्ने साहस, अव्यवस्था विरुद्ध उभिने हिम्मत र प्रशासनलाई परिणाममुखी बनाउने प्रयासले युवापुस्तामा एउटा नयाँ विश्वास जन्माएको छ।
त्यही विश्वासले युवालाई सडकमा पनि ल्यायो। २३ र २४ भदौको जेनजी पुस्ताको आन्दोलन केवल एउटा घटना मात्र थिएन। नयाँ पुस्ता अब मौन रहने छैनन् भन्ने त्यो एउटा उदाहरण थियो। उनीहरू आफ्नो भविष्यको बारेमा निर्णय गर्ने प्रक्रियामा सहभागी हुन चाहन्छन्। उनीहरू प्रश्न सोध्न मात्र होइन्, जवाफ पनि चाहन्छन्।
रवि लामिछानेको राजनीतिक यात्रा पनि खासै सोचेजस्तो भएन। विभिन्न आरोप, विवाद, पक्राउ र जेल–जीवन, यी सबै चरण पार गर्दै उनी यहाँसम्म आइपुगेका छन्। रविसँग सम्बन्धित केही मुद्दाहरू अहिले पनि अदालतमा विचाराधीन छन्। ती मुद्दाहरूको अन्तिम किनारा अझै लागिसकेको छैन। तर, यही यथार्थ बीच पनि लाखौं नेपालीले उनलाई विश्वास गरेका छन्। कसैले त्यसलाई व्यवस्था विरुद्धको विद्रोहका रूपमा हेरेका छन्, कसैले परिवर्तनको आकांक्षाका रूपमा।
यही कारणले आज तपाईंको काँधमा केवल राजनीतिक जिम्मेवारी मात्र छैन, एउटा नैतिक परीक्षा पनि छ। यदि तपाईं निर्दोष हुनुहुन्छ भने न्यायालयबाट सत्य स्थापित होस्। यदि प्रणालीमा त्रुटि छ भने त्यो पनि उजागर होस्। तर, एउटा कुरा स्पष्ट छ, सत्ता सत्यभन्दा माथि कहिल्यै हुन सक्दैन। नयाँ नेपाल बनाउने दाबी गर्ने नेतृत्वले न्याय प्रणालीप्रति सम्मान र पारदर्शिता देखाउनु अनिवार्य हुन्छ।
तर, यो ऐतिहासिक जनादेशसँगै अर्को संवेदनशील प्रश्न पनि उठिरहेको छ। नेपालको राजनीतिक प्रक्रियामा बाह्य हस्तक्षेप नहोस् भन्ने धेरैको प्रार्थना छ। नेपाली जनताले दिएको म्यान्डेट नेपाली जनताकै हितका लागि प्रयोग हुनुपर्छ। चाहे त्यो अमेरिका होस्, भारत होस्, चीन होस् वा संसारको कुनै पनि शक्ति, नेपालको सरकार गठन वा नीतिनिर्माणमा कुनै पनि बाह्य दबाब स्वीकार्य हुनुहुँदैन।
मित्रता हुन सक्छ, सहकार्य हुन सक्छ, तर निर्णय गर्ने अधिकार नेपाली जनताकै रहनुपर्छ। स्वाभिमान विनाको विकास कहिल्यै दीर्घकालीन हुँदैन। पुर्खादेखि शान्तिभूमिका रूपमा पहिचान बनाएको हाम्रो देशका लागि भविष्यका अनेकौं कालखण्डसम्म पनि ‘असंलग्न परराष्ट्र नीति’ जग दरिलो बनाएर मात्रै सन्तुलित विदेशी नीति तर्जुमा गर्न सकिन्छ।
अबको नेपाल कस्तो ?
नेपालमा सम्भावनाको कमी छैन। हिमाल छन्, नदीहरू छन्, कला संस्कृतिको छुट्टै वैभव छ, मिहिनेती युवा शक्ति छ। तर, समस्या विकासको अभाव मात्र होइन, डेलिभरीको हो। योजना बन्छन्, बजेट छुट्याइन्छ तर नागरिकले परिणाम देख्दैनन्। त्यसैले अब निर्वाचित सरकारले यी ५ क्षेत्रमा तत्काल सुधार ल्याउनुपर्दछ।
१. शिक्षा प्रणाली : सबैभन्दा पहिले शिक्षा प्रणाली बदल्नुपर्छ। नेपालको शिक्षा अझै पनि प्रमाणपत्र उत्पादन गर्ने कारखाना जस्तो बनिरहेको छ। लाखौं युवा डिग्री लिएर बेरोजगार बसिरहेका छन्। शिक्षा यस्तो हुनुपर्छ जसले सीप, नवप्रवर्तन र उद्यमशीलता जन्माओस्। विद्यालयदेखि विश्वविद्यालयसम्म शिक्षालाई श्रम, प्रविधि र उद्यमसँग जोड्नुपर्छ।
२. स्वास्थ्य सेवामा सुधार : आज पनि धेरै नेपाली सामान्य उपचारका लागि शहर धाउन बाध्य छन्। कतिपय दुर्गम गाउँमा सामान्य औषधि पनि उपलब्ध छैन। एउटा सभ्य राज्य त्यतिबेला बन्छ, जब नागरिक उपचारका लागि भौंतारिनुपर्दैन। त्यसका लागि संविधानत: सुनिश्चित गरिएको आधारभूत र आपतकालीन स्वास्थ्य नि:शुल्क हुनुपर्ने व्यवस्थालाई व्यवहारत: कार्यान्वयन गर्नुपर्ने देखिन्छ।
३. भौतिक पूर्वाधार : सडक, खानेपानी, विद्युत्, इन्टरनेट। यी केवल सुविधा होइनन्, विकासका आधार हुन्। तर, विकास शहरमा मात्र सीमित भयो भने त्यसले असमानता मात्र बढाउने काम गर्छ। गाउँले पनि राज्यको उपस्थितिको अनुभूति गर्न पाउनुपर्छ। भौतिक पूर्वाधार गतिमा निर्माण भइरहे पनि त्यसमा वैज्ञानिक र वस्तुगत योजनाको अभाव छ। रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहकै निर्वाचन क्षेत्र झापा ५ कै भ्युटावर त्यसकै उदाहरण हो।
४. प्रणालीमा सुधार : नेपालमा सबैभन्दा ठूलो समस्या केवल भ्रष्टाचार होइन, कमजोर प्रणाली पनि हो। राम्रो नीति बनेर पनि नागरिकसम्म परिणाम नपुग्ने अवस्था अन्त्य हुनुपर्छ। सेवा छिटो, पारदर्शी र उत्तरदायी हुनुपर्छ। सरकारी कर्मचारीको कार्यशैलीदेखि सेवा डेलिभरी प्रणालीलाई दुरुस्त पार्नुपर्छ।
५. रोजगार र उद्यमशीलता : हरेक वर्ष हजारौं युवा विदेशिन बाध्य भइरहेका छन्। यदि देशमै अवसर सिर्जना गर्न सकिएन भने कुनै पनि राजनीतिक परिवर्तन अधुरो रहन्छ। उद्यम, उद्योग र व्यवसाय विना रोजगारी केवल कोरा कल्पना मात्रै हुन सक्छन्। त्यसैले बहुराष्ट्रिय उद्योगहरू ल्याउने सजिलो कानूनी व्यवस्था, घरेलु उद्यमको संरक्षण, कृषि प्रणालीको वैज्ञानिकीकरणका क्षेत्रमा विशेष पहलको जरूरी छ।
आजको जनादेशले अब आश्वासन होइन, जनता परिवर्तन चाहन्छन् भन्ने स्पष्ट सन्देश दिएको छ। तर, इतिहासले देखाएको छ, परिवर्तनको नारा लगाउन सजिलो हुन्छ, परिवर्तन गरेर देखाउन गाह्रो। त्यसैले आजबाटै तपाईंहरूको सबैभन्दा ठूलो परीक्षा शुरु भएको छ।
रवि लामिछानेको संघर्ष र बालेन शाहको कार्यशैलीले नेपाली जनताको मनमा आशा जगाएको छ। अब त्यो आशालाई परिणाममा बदल्ने समय आएको छ। अन्तत: प्रश्न यो होइन कि सरकार कसले बनायो। प्रश्न यो हो, नेपाललाई कस्तो बनाइयो ? हामी यस्तो नेपाल चाहन्छौं जहाँ राज्य जनताको सेवक बनोस्। जहाँ विकास शहरमा मात्र होइन गाउँसम्म पुगोस्। जहाँ युवा विदेशिन बाध्य नहुन्। जहाँ न्याय पैसाले होइन सत्यले जितोस्। र, जहाँ नागरिकले आफ्नै देशमा भविष्य देख्न सकुन्।
जनादेशले इतिहासको ढोका खोलेको छ। अब त्यो ढोकाबाट भविष्य भित्र्याउने जिम्मेवारी तपाईंहरूको हो।
प्रतिक्रिया 4