News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नयाँ राजनीतिक परिस्थितिमा नेविसंघको भूमिका अझ सशक्त र प्रभावकारी हुनुपर्ने बताउनुभयो।
- नेविसंघका आस्थावान कार्यकर्ताहरुले सिनेट बैठकको नाममा अवैधानिक गतिविधि भएको आरोप लगाउँदै ज्ञापन पत्र बुझाएका छन्।
- महामन्त्री घिमिरेले नेविसंघको ऐतिहासिक योगदानलाई कसैले कम आँक्न नसक्ने र पार्टीसँगको आवद्धता महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
८ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकमा विकसित नयाँ राजनीतिक परिस्थितिबाट नयाँ दलहरुको उदय भएको सन्दर्भमा नेविसंघको भूमिका अझ सशक्त र प्रभावकारी हुनुपर्ने बताएका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा नेविसंघले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै महामन्त्री घिमिरेले सो कुरा बताएका हुन् । उनले पछिल्लो समय नेविसंघका गतिविधिहरुलाई पार्टीले सुक्ष्म रुपमा नियालिरहेको पनि बताए ।
आइतबार बिहान नेविसंघ आस्थावान कार्यकर्ताहरुको एक टोलीले सिनेट बैठकको नाममा अवैधानिक गतिविधि तथा वर्तमान नेतृत्वद्वारा सञ्चालित घटनाले संगठन र पार्टी दुवैको गरिमामा आँच पुर्याएको आरोप लगाउँदै ज्ञापन पत्र बुझाएको छ ।
गत शुक्रबार दुजाङ शेर्पा नेतृत्वको नेविसंघको सिनेट बैठकले संगठन कार्यगत स्वायत्ततामा जाने निर्णय गरेको थियो । साथै आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय पनि भएको थियो । ती निर्णयमा प्रश्न उठाउँदै नेविसंघको अर्को पक्षले पार्टी महामन्त्री घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै कांग्रेस महामन्त्री घिमिरेले नेपाल विद्यार्थी संघ (नेविसंघ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताए ।
वि.सं. २०२७ सालमा पञ्चायती कालरात्रि विरुद्ध विद्यार्थीलाई संगठित गरी प्रजातान्त्रिक आन्दोलनलाई सुदृढ बनाउन र प्रजातन्त्रको पुन:स्थापना गर्न नेविसंघको स्थापना भएको स्मरण गर्दै उनले कतिपय सन्दर्भमा पार्टी भन्दा पनि बढी यसले कुर्बानी र बलिदान गरेको उल्लेख गरे ।
उनले भने, ‘कुनै पनि दलको भ्रातृ संस्था रहने वा नरहने भन्नेकुरा पार्टीकै अधिकार क्षेत्रभित्रको कुरा हो । तर संस्थाको हकमा पार्टीले दिएको आवद्धता, पार्टीको सन्तान जस्तै हो । नेपालको इतिहासबाटै नेपाल विद्यार्थी संघलाई अलग राखिदिने हो भने नेपालको इतिहास नै अधुरो र अपुरो हुन जान्छ । यसको ऐतिहासिक योगदानलाई कसैले पनि विस्मृतिमा धकेल्न सक्दैन ।’
नेपाल तरुण दल, नेपाल महिला संघ लगायतका अन्य भ्रातृ संस्थाहरुका विषयमा पनि पार्टीले संस्थागत निर्णय गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया 4