
News Summary
Generated by OK AI. Editorially reviewed.- बुटवलको कान्ति माविलेले समर्पित पूर्वाधार, नवीन अभ्यास र विद्यार्थी केन्द्रित कार्यक्रमहरू मार्फत शैक्षिक स्तर उकास्न सफल भएको छ।
- नमूना विद्यालयको रूपमा विकास गर्ने दूरदृष्टिका साथ अगाडि बढ्दा समुदाय र सरकारले साथ दिएपछि कान्ति माविले शैक्षिक गुणस्तर र पूर्वाधारमा फड्को मारेको छ ।
- देशका ५४ जिल्लाका ५ हजार ५४४ विद्यार्थी विद्यालयमा अध्ययनरत छन् । निम्न वर्गका विद्यार्थीको पहुँचका लागि विद्यालयले भर्ना र छात्रवृत्तिमा प्राथमिकता, शिक्षण सिकाइ क्रियाकलापमा थप सहयोग र सहजीकरण गरेको छ ।
सामुदायिक विद्यालयलाई पहिले पनि सजिलो थिएन, तर यो देश हाँक्ने धेरै मस्तिष्क तिनैले उत्तीर्ण गरेर पठाए । आधुनिक नेपालको जग सामुदायिक स्कूलमै खनिएको थियो भन्न सकिन्छ ।
तर यस बीचमा स्थिति यसरी बदलियो कि अभिभावकहरू आफ्ना बच्चालाई हत्तपत्त सरकारी विद्यालयमा पढाउन मन गर्दैनन् । यस्तो लाग्छ, सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास धर्मराएको छ । अझ सरकारी विद्यालयको कमजोर नतिजाप्रति प्रधानमन्त्रीले सार्वजनिक मञ्चबाट टिप्पणी गरिरहेको सुनिन्छ ।
यस वर्ष त सरकारले नै नीति तथा कार्यक्रममै सामुदायिक शिक्षा सुधार्न निजी विद्यालयसँग साझेदारी गर्ने घोषणा गर्यो । संविधान बनेको ९ वर्ष भइसक्यो तर शिक्षा ऐन नै अहिलेसम्म बनिसकेको छैन ।
यावत् प्रतिकूलताका बाबजुद देशमा केही यस्ता विद्यालय पनि छन् जसले हजारौं विद्यार्थी पढाइरहेका र उत्कृष्ट नतिजा पनि दिइरहेका छन् । यो त्यस्ता केही उदाहरणीय सरकारी विद्यालयको स्टोरी सेरिज हो, जहाँ हामी कम्तीमा सातै प्रदेशबाट केही नमूना सरकारी स्कूलको रिपोर्टिङ गर्नेछौं । – सम्पादक
रुपन्देही । बुटवल–४ मा रहेको कान्ति मावि २०६२ सालसम्म गुमनाम थियो । कमजोर शैक्षिक गुणस्तर र दयनीय नतिजाका कारण कारबाहीमा समेत परेको थियो, यो विद्यालय ।
विद्यालय वरिपरि सातामा दुई दिन ठूलो हाटबजार लाग्ने हुँदा अधिकांश विद्यार्थी मध्यान्तरपछि पढाइ छाडेर प्लास्टिकका झोला बेच्न हाटबजार जान्थे । त्यतिबेला विद्यालयमा दिवा खाजाको व्यवस्था थिएन, प्लास्टिक झोला बेचेर विद्यार्थीले केही आम्दानी गर्थे ।
त्यतिबेलाको समाजमा सामुदायिक विद्यालयले राम्रो शिक्षा दिन्छन् भन्ने नै थिएन । विद्यालयका भौतिक संरचना पनि विद्यार्थी र सिकाइमैत्री थिएनन् । विद्यालय बजारको घना बस्ती बीच भए पनि विद्यार्थीहरू पढ्न अन्यत्रै जान्थे । परिसरमै साढे दुई बिघा जग्गा भएको विद्यालयमा जम्मा ४०० विद्यार्थी थिए ।
यही अवस्थाका बीच बुटवलकै गोविन्द ज्ञवाली विज्ञान र गणित विषयको मावि शिक्षक नियुक्त भए । जसले बुटवल र भैरहवाका दुई नाम चलेका राम्रा बोर्डिङ स्कूल र बुटवल बहुमुखी क्याम्पसमा पढाइसकेका थिए । ती संस्थामा उनी अब्बल शिक्षक थिए ।
बोर्डिङ स्कूलको चुस्त व्यवस्थापन देखे–भोगेका ज्ञवालीलाई सरकारी विद्यालयको त्यो कमजोर अवस्था चित्त बुझेन । उनले सरकारी विद्यालयलाई पनि राम्रा बोर्डिङ जस्तै बनाउन सकिन्छ भन्ने अठोटका साथ पहिलो दिनबाटै प्रधानाध्यापक हरिप्रसाद ढकालसँग छलफल गरी अंग्रेजी माध्यममा पढाउने, ११ र १२ को कक्षा सञ्चालन गर्नुपर्ने प्रस्ताव गरे । २०६४ सालमा ज्ञवालीले संयोजकको जिम्मेवारी पाए अनि शुरू भयो प्लस टु । पुस २०६६ मा ज्ञवाली प्रधानाध्यापकमा नियुक्त भए ।
‘विद्यालयको नेतृत्व लिएपछि शिक्षकहरूसँग पटक–पटक बैठक बसेर आफूले परिकल्पना गरेका योजनाहरू कार्यान्वयन गर्न थालें । २०६७ मा कक्षा ९ मा अंग्रेजी माध्यममा पढाइ शुरू गराएँ’ ज्ञवालीले विगत सम्झिए, ‘सरकारी विद्यालयको गुणस्तर सुधार्न हेडमास्टरबाटै शुरू गर्नुपर्छ भन्ने लागेर बोर्डिङ स्कूल छुटाएर छोरीलाई आफ्नै स्कूलमा भर्ना गरें ।’
उनले पुराना शिक्षकलाई समयसापेक्ष क्षमता वृद्धि तालिमहरू दिए । फलस्वरुप २०६८ सालको एसएलसीमा विद्यालयका छात्र मदन पाण्डेले ९१ प्रतिशत अंक ल्याए भने ४७ जनाले परीक्षा दिएकोमा २७ जना डिस्टिङ्सनमा उत्तीर्ण भए । उत्कृष्ट नतिजाले देशभर विद्यालयको चर्चा चुलियो ।
देशभरमै उत्कृष्ट नतिजा आएपछि सरकारी कर्मचारी, सेना, प्रहरी, स्थानीय बुद्धिजीवी, प्रतिष्ठित व्यक्तिका छोराछोरी पढ्ने रोजाइको विद्यालय बनेको र आकर्षण क्रमशः थपिंदै गएको ज्ञवाली बताउँछन् ।
नमूना विद्यालयको रूपमा विकास गर्ने दूरदृष्टिका साथ लक्ष्य र उद्देश्य निर्धारण गरी अगाडि बढ्दा समुदाय र सरकारले साथ दिएपछि कान्ति माविले शैक्षिक गुणस्तर र पूर्वाधारमा फड्को मारेको ज्ञवालीले बताए ।
२०६५ सालदेखि खुला विद्यालयतर्फ कक्षा ८ र १० समेत सञ्चालनमा छन् । जसबाट विभिन्न कारणले नियमित विद्यालयको पहुँच बाहिर रहेका सयौं विद्यार्थी लाभान्वित भएका छन् ।
अहिले विद्यालयमा नर्सरीदेखि कक्षा ७ सम्म पूर्णतः अंग्रेजी माध्यममा र कक्षा ८ देखि अंग्रेजी र नेपाली भाषा दुवै माध्यममा पढाइ हुन्छ । विद्यालयले यस क्षेत्रमै पहिलो पटक कक्षा ६ देखि संस्कृतलाई ऐच्छिक विषयका रूपमा पढाउन थालेको छ । विद्यार्थीमा संस्कृत भाषाको ज्ञान र उनीहरूलाई नैतिकवान् र संस्कारयुक्त बनाउन संस्कृत भाषा शुरू गरिएको विद्यालयको भनाइ छ ।
शैक्षिक नतिजासँगै खेलकुद र अतिरिक्त बौद्धिक प्रतिस्पर्धामा पनि कान्ति माविले राम्रा बोर्डिङ स्कूललाई उछिन्न थाल्यो । ‘कसैले सिकाएर होइन, सरकारी विद्यालयको गुणस्तर सुधार्नुपर्छ भन्ने हेडमास्टरको अठोटले छोटो अवधिमै परिवर्तन सम्भव भयो’ ज्ञवालीले भने, ‘उत्कृष्ट नतिजा आएपछि अरू शिक्षकले पनि आफ्ना छोराछोरीलाई अरू स्कूलबाट छुटाएर ल्याउन थाल्नुभयो । त्यसले राम्रा विद्यार्थीको रोजाइ कान्ति बन्यो ।’
विद्यार्थी संख्या बढ्न थालेपछि भौतिक पूर्वाधार पनि थप्न थालेको उनले बताए । बुटवल आसपासका विद्यार्थी र अभिभावकको रोजाइमा परेपछि विद्यालयले २०७० सालमा बस सेवा पनि शुरू गर्यो । यस क्षेत्रमा पहिलो पटक बस सेवा शुरू गर्ने सरकारी विद्यालय कान्ति मावि नै रहेको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागार्इंले बताए ।
उत्कृष्ट नतिजा, पर्याप्त विद्यार्थी संख्याका कारण विद्यालयले प्रदेश सरकारको पनि ध्यान खिच्यो । २०७१ सालमा तत्कालीन पश्चिमाञ्चलको उत्कृष्ट विद्यालयका रूपमा पुरस्कृत भयो ।
विज्ञानको विशिष्टीकृत विद्यालय
२०७४ सालमा प्रदेश सरकारको विशिष्टीकृत विद्यालय कार्यक्रम अन्तर्गत कान्ति माविलाई विज्ञान विषयमा नमूना बनाउने गरी सामाजिक विकास मन्त्री सुदर्शन बरालले ३५ कोठे शैक्षिक भवन र ४८ कोठे छात्रावास भवन निर्माणका लागि बजेट विनियोजन गराए । सुविधासम्पन्न भवन बनेपछि ५० वटा कम्प्युटर सहित प्रयोगशाला सञ्चालनमा आयो ।
कक्षा ११ मा विज्ञान विषय पढ्ने विद्यार्थी मात्रै ५०० जना छन् । बुटवल उपमहानगरका कम्प्युटर सम्बन्धी अधिकांश तालिम यही विद्यालयको प्रयोगशालामा हुने गरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल बताउँछन्् । ४०० क्षमताको छात्रावासमा अहिले ३०० विद्यार्थी आवासीय सुविधा सहित पढ्दै गरेको प्रधानाध्यापक ज्ञवालीले बताए ।
विद्यार्थीको चापले शैक्षिक भवनमा नपुगेर छात्रावासको ६ वटा कोठा पठनपाठनमा प्रयोग गरिएको छ । कक्षा १२ मा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी संकायको पढाइ हुने गरेको छ । व्यवस्थापनमा होटल म्यानेजमेन्ट समेत पढाइ हुन्छ । उत्कृष्ट नतिजा र व्यवस्थापन भएकैले कान्ति मावि नेपालमै पहिलो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण (आईएसओ सर्टिफाइड) सामुदायिक विद्यालय बनेको छ । आगामी वर्षहरूमा मन्टेसरी कक्षालाई थप व्यवस्थित बनाउने, डिजिटल स्मार्ट स्कूलको रूपमा विकास गर्ने र शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराई ‘नो फेल स्कूल’ बनाउने लक्ष्य रहेको प्रधानाध्यापक ज्ञवालीले बताए ।
मनोरम र विशाल विद्यालय परिसर
विद्यालयको कम्पाउन्डमा आकर्षक शैक्षिक नारा, महान् वाणी र सूचनामूलक सन्देश सहितको पेन्टिङ गरिएको छ भने रिमोटबाट सञ्चालन हुने गेटभित्र प्रवेश गर्नेवित्तिकै स्वागत अधिकारी र स्वागत कक्षको व्यवस्था छ । सुन्दर बगैंचा, फूलबारी, बाटो क्षेत्र, विश्राम स्थल (चौपारी) र धुलोरहित वातावरण छ ।
विद्यालयमा बडापत्र छ । फराकिलो खेल मैदान, भूकम्प प्रतिरोधी विशाल भवनहरू चिटिक्क देखिन्छन् । ७ वटा एकेडेमिक भवन रहेको विद्यालयमा ८२ कक्षा कोठा छन् । दुई वटा छात्रावासमा ४८ कोठा छन् । अफिस, लेखा तथा अन्य प्रयोजनका १४ र ल्याबका ६ कोठा छन् ।
विद्यालय परिसरका ३५ भन्दा बढी स्थानमा शुद्ध पिउने पानीको व्यवस्था छ । गर्मी मौसममा विद्यार्थीले फिल्टर गरिएको चिसो पानी पिउन पाउँछन् । ५०० जना विद्यार्थीलाई एकै पटकमा खाजा खान मिल्ने गरी सुविधासम्पन्न क्यान्टिनको व्यवस्था छ । वासिङ सुविधा सहितका पर्याप्त शौचालयहरू छन् ।
एक पटकमा एउटा कक्षाका ५० जना विद्यार्थीले अभ्यास गर्न मिल्ने गरी अलग–अलग विज्ञान प्रयोगात्मक कक्षको व्यवस्था गरिएको छ । ६० जना विद्यार्थीलाई एकैपटकमा प्रयोगात्मक अभ्यास मिल्ने गरी ५० वटा कम्प्युटर र हाइस्पिड केवल इन्टरनेट सुविधा सहितको कम्प्युटर ल्याबको व्यवस्था गरिएको छ । स्मार्ट बोर्ड सहितको आईटी ल्याबको लागि छुट्टै कोठामा १५० जना विद्यार्थीले अध्ययन गर्न मिल्ने व्यवस्था गरिएको छ ।
१० वटा कक्षा कोठामा प्रोजेक्टर जडान गरी अध्ययन अध्यापन गर्ने व्यवस्था मिलाइएको छ । १८ वटा बसबाट पूर्व सुनवल, पश्चिम हरैया, दक्षिण तिलोत्तमाको मणिग्रामसम्मका २ हजार बढी विद्यार्थीलाई विद्यालयमा ल्याउने र लैजाने व्यवस्था मिलाइएको छ ।
असल र नवीन अभ्यास
विद्यालयले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न र सिकाइलाई प्रभावकारी बनाउन थुप्रै असल र नवीन अभ्यास गर्दै आएको छ । विद्यालयले दूरदृष्टि, लक्ष्य र उद्देश्य निर्धारण गरी गुरुयोजना अनुसार विद्यालय सुधार योजना निर्माण गरेको छ । वार्षिक कार्ययोजना र कार्य सञ्चालन क्यालेन्डर निर्माण गरी सोही अनुसार शैक्षिक गतिविधि गर्दै आएको छ ।
कक्षा शुरू हुनुअघि प्रार्थना समयमा सांगीतिक पिटी खेलाइन्छ । त्यसले विद्यार्थीको शारीरिक तन्दुरुस्तीसँगै दिनभर पढाइमा ध्यान केन्द्रित भएको विद्यालयको ठम्याइ छ । शिक्षक, विद्यार्थी र अभिभावकका लागि आचारसंहिता बनाइएको छ । जसले तीनै पक्षलाई जिम्मेवार र अनुशासित बनाएको छ ।
सूचना र गुनासो सुन्ने अधिकारीको व्यवस्था छ । छात्राहरूको समस्या र गुनासो सुन्न छात्रा सञ्जाल संयोजकको व्यवस्था छ । विद्यार्थी होमवर्क डायरी, विद्यार्थीको उमेर अनुसारका फर्निचर, वैकल्पिक ऊर्जा (जेनेरेटर), व्यवस्थित विज्ञान प्रयोगशाला, कक्षाकोठामा आईसीटीको प्रयोग, कक्षा कोठा र विद्यालय परिसरमा सीसीटीभी क्यामेरा र व्यवस्थित पुस्तकालयको व्यवस्था छ ।
ई–हाजिरी प्रयोग, सिकाइ उपलब्धि विश्लेषण र विद्यार्थी–अभिभावक परामर्श, सुझाव पेटिका निर्माण र प्रयोग, कक्षागत अभिभावक भेला र सुझाव संकलन, बालक्लब, रेडक्रस, स्काउट गठन, विपद् व्यवस्थापन योजना निर्माण, शिक्षक स्टाफ बैठक र निर्णय कार्यान्वयन, प्रार्थनामा सूचना सम्प्रेषण, सामग्री खरिद एकाइ गठन, अनुगमन सुपरीवेक्षण तथा प्रगति अभिलेखीकरण, दैनिक पठनपाठनका लागि लग बूक व्यवस्था, दैनिक कार्यको समीक्षा, विद्यार्थी अनुशासन/परामर्श, घरदैलो/अभिभावक सम्पर्क विद्यालयका नवीन शैली हुन् ।
विषयगत विभाग गठन, कक्षागत, तहगत संयोजकको व्यवस्था, शैक्षिक क्यालेन्डर निर्माण र फ्रयोग, क्यालेन्डर अनुसार सह तथा अतिरिक्त त्रियाकलाप सञ्चालन, विद्यार्थी सिकाइ सुधार योजनाको प्रयोग, शिक्षक सुधार योजनाको निर्माण र प्रयोग, विद्यार्थी शैक्षिक अवलोकन भ्रमण, विद्यार्थी प्रतिभा पहिचान गरी प्रार्थनामा प्रस्तुति, शिक्षक–विद्यार्थीको जन्मदिनमा पुस्तक र बिरुवा उपहार, सिकाइ उपलब्धि प्राप्त गर्न नसकेका विषयहरूलाई अतिरिक्त कक्षा सञ्चालन जस्ता असल अभ्यास विद्यालयले अवलम्बन गरेको छ ।
बालविकासमा मन्टेसरी तालिमप्राप्त शिक्षक, मन्टेसरी ल्याबको व्यवस्था, बालविकासका विद्यार्थीहरूको छुट्टै बसाइ व्यवस्थापन, बालविकासका लागि आयाको व्यवस्था, गेट किपरको व्यवस्थापन, विद्यार्थी, शिक्षकको स्वास्थ्य परीक्षण, शिक्षक, विद्यार्थी व्यवस्थापनमा लग बूकको प्रयोग, शैक्षिक सामग्री निर्माण र विज्ञान प्रदर्शनी, शैक्षिक अध्ययन, अवलोकन र अनुसन्धान भ्रमण, कक्षागत हस्तलेखन तालिम, छात्राहरूका लागि निःशुल्क स्यानिटरी प्याडको व्यवस्था र अभिभावक–शिक्षक–संयोजकसँगको संयुक्त बैठक सञ्चालन विद्यालयका असल अभ्यास हुन् ।
पाठ्यक्रमले तोके अनुसारका आन्तरिक र बाह्य मूल्याङ्कनहरू, खेलकुद, संगीत लगायतका विधामा समेत विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने प्रशस्त अभ्यासहरू, बालमैत्री विद्यालयको अवधारणा, शिक्षकहरूलाई क्षमता विकास र शैक्षिक अवलोकन भ्रमणको व्यवस्था, विद्यालय विनियमको व्यवस्था, शिक्षक/विद्यार्थी/अभिभावक परामर्श, असल अभ्यास आदानप्रदान, संस्कार र आधारभूत सीप विकास, जीवनोपयोगी सीप विकास र खेल तथा संगीत शिक्षक र प्रशिक्षकको व्यवस्था छ । विद्यार्थीहरूले नियमित रूपमा मासिक बाल भित्तेपत्रिका प्रकाशन गरिरहेका छन् ।
विद्यालयले आन्तरिक विनियम २०७२ निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । जसमा शिक्षक कर्मचारीहरूलाई सेवा, सुविधा अन्तर्गत ग्रेड, सञ्चयकोष, उपदान आदिको व्यवस्था गरिएको छ । सुझाव पेटिका निर्देशिका २०७४ तयार गरी सुझाव पेटिकामा प्राप्त सकारात्मक सुझावहरूलाई कार्यान्वयनमा ल्याइएको छ ।
सरकारी अनुदान लगायत सबै किसिमको आम्दानी, खर्च कम्प्युटर सफ्टवेयरबाट व्यवस्थित गरिएको छ । तोकिएको समयमा सामाजिक परीक्षण सम्पन्न गरिएको छ । बुटवल उपमहानगरपालिकाले आन्तरिक लेखा परीक्षण गर्दै आएको छ । विद्यालयले गरिब, जेहेनदार, पिछडा वर्ग/क्षेत्र, सीमान्तकृत वर्ग, बाहिरी जिल्लाबाट आएका दर्जनौं मेधावी विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
विद्यालयले लिने वार्षिक परीक्षा, कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा, एसईई, कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी र उक्त नतिजाका आधारमा विषयगत शिक्षकलाई पनि पुरस्कार र सम्मान गर्ने गरेको छ ।
दरबन्दी २४, शिक्षक–कर्मचारी २१७ जना
कान्ति माविमा २१७ जना शिक्षक कर्मचारी छन् । तर सरकारी दरबन्दी २४ जनाको मात्र रहेको प्रधानाध्यापक ज्ञवालीले बताए । विद्यालयले सटर भाडामा लगाएर प्राप्त हुने आम्दानी र अभिभावकको स्वेच्छिक चन्दाबाट दरबन्दी बाहेकका शिक्षक कर्मचारीको तलब व्यवस्थापन गरेको छ । मासिक खर्च सवा करोड बढी हुने गरेको विद्यालयको भनाइ छ ।
सरकारले मसलन्द खर्च वार्षिक ३० हजार मात्र दिने गरेको र त्यसले डस्टर किन्न पनि नपुग्ने प्रधानाध्यापक ज्ञवाली बताउँछन् । विद्युत् र पानीको एक महिनाको महसुल मात्र दुई लाख रुपैयाँ तिर्ने गरिएको छ । ‘यति धेरै विद्यार्थी र शिक्षक भएको विद्यालयमा कति दरबन्दी चाहिन्छ, सञ्चालन खर्च कति चाहिन्छ ? हामीले कति दिएका छौं भन्ने सरकारले कहिल्यै देखेन, बुझेन’ प्रधानाध्यापक ज्ञवाली गुनासो गर्छन्, ‘कमसेकम विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी हुनुपर्छ, सञ्चालन खर्चको आधारमा बजेट दिइनुपर्छ ।’
सरकारले आर्थिक दायित्व बहन नगर्दा विद्यालयले शिक्षक कर्मचारीलाई तलब दिन वर्षेनि करोडौं रुपैयाँको कसरी जोहो गर्ने भन्ने बोझको भारी बोक्नुपरेको उनको गुनासो छ । अभिभावकबाट स्वेच्छिक चन्दा लिएको विषयमा अनाहकमा नानाथरी आरोप र लाञ्छना खेप्नुपरेको विद्यालयको दुःखेसो छ ।
शिक्षामा निम्न वर्गको पहुँच
संस्थागत (निजी बोर्डिङ) स्कूल भन्दा थोरै शुल्कमा गुणस्तरीय पढाइ हुने भएकाले कान्ति माविमा धनी र मध्यम वर्गका विद्यार्थीको पनि आकर्षण छ । तर बुटवल नगरका दलित, मुस्लिम, पिछडिएको वर्ग, क्षेत्र र आर्थिक हिसाबले निम्न वर्गका बालबालिकाको पहुँच र रोजाइ सामुदायिक विद्यालय नै भएको प्रधानाध्यापक ज्ञवालीको दाबी छ ।

देशका ५४ जिल्लाका ५ हजार ५४४ विद्यार्थी विद्यालयमा अध्ययनरत छन् । निम्न वर्गका विद्यार्थीको पहुँचका लागि विद्यालयले भर्ना र छात्रवृत्तिमा प्राथमिकता, शिक्षण सिकाइ क्रियाकलापमा थप सहयोग र सहजीकरण गरेको छ ।
यद्यपि, नयाँ विद्यार्थी भर्ना हुन प्रवेश परीक्षा लिइने र त्यसमा सबै उत्तीर्ण नहुने भएकाले पढ्न चाहने निम्न वर्गका विद्यार्थीले भर्ना हुन नपाउँदा आंशिक रूपमा गुनासो आउने गरेको छ । सरकारले विद्यार्थीको चाप अनुसार कक्षा कोठा, शिक्षक दरबन्दी र आर्थिक दायित्व वहन नगरेकाले बाध्य भएर भर्नामा प्रवेश परीक्षा लिनुपरेको विद्यालयको तर्क छ । सरकारले सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने हो भने यस्तो समस्या समाधान हुने प्रधानाध्यापक ज्ञवालीको सुझाव छ ।
ऐतिहासिक पृष्ठभूमि
२००८ सालमा पुरानो बुटवलमा शुरू भएको गणेश विद्या भवन प्राइमरी स्कूल र खस्यौलीमा शुरू भएको जनता विद्या भवन प्राइमरी स्कूलको एकीकरण गरी २ पुस २०१० देखि गणेश जनता विद्या भवन प्राथमिक विद्यालयको नामबाट हालको कान्ति माविको सुरुवात भएको हो । २०१६ सालमा मिडिल स्कूल र २०२६ सालमा हाईस्कूलको स्वीकृति प्राप्त गरेको विद्यालय २०२९ सालमा गणेश जनता माध्यमिक र २०३३ सालदेखि कान्ति माविको नामबाट सञ्चालन हुँदै आएको छ ।
२०६४ सालदेखि कक्षा ११/१२ सञ्चालन गरेको विद्यालयमा हाल विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा समूहका विभिन्न विषयको पठनपाठन हुँदै आएको छ ।
२०१३ सालमा राजा महेन्द्रबाट विद्यालय भवन उद्घाटन गरेको विद्यालयले २०३५ सालमा रजतजयन्ती, २०६० सालमा स्वर्ण महोत्सव तथा २०७० सालमा हीरक महोत्सव समेत मनाइसकेको छ ।
प्रतिक्रिया 4