+
+
Shares
हुम्ला फलोअप-५ :

उद्धार गर्न तिलगाउँ पुगेका सुरक्षाकर्मी क्षतिको विवरण टिपेर फर्किए

२ जेठको साँझ ७ बजेतिर तिलगाउँ पुगेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली क्षतिको विवरण संकलन गरेर आइतबार बिहान फर्केको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते २०:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा पहिरोले क्षति पुर्‍याएपछि सुरक्षा टोलीले विवरण संकलन गरेर मात्रै फर्केको छ।
  • सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले १ जेठको राति पहिरोको घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गरेको हो।
  • उक्त टोलीले घटनास्थलमा पुगेर स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।

जेठ ४, काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा लेदोसहित पहिरो गएपछि उद्धारका लागि भनेर पुगेको टोली क्षतिको विवरण संकलन गरेर फर्केको छ ।

२ जेठको साँझ ७ बजेतिर तिलगाउँ पुगेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली क्षतिको विवरण संकलन गरेर आइतबार बिहान फर्केको हो । हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले पनि सुरक्षाकर्मीको टोली गएको तर अग्लो ठाउँमा पुगेपछि स्वास्थ्य समस्या भएर फर्केको बताए ।

१ जेठको राति ११ बजेतिर लेदोसहितको पहिरो आएको जानकारी पाएपछि २ जेठको बिहान १० बजेतिर सशस्त्रको बीओपी हिल्साबाट वरिष्ठ हवल्दार लोकबहादुर बुढाको कमाण्डमा ७ जना र इलाका प्रहरी कार्यालयबाट प्रहरी हवल्दारको कमाण्डमा ६ जना गरी १३ जनाको टोली खटिएको थियो ।

उक्त टोली राति मात्रै घटनास्थल पुगेको थियो । त्यो रात केही गर्न सम्भव थिएन । भोलिपल्ट शनिबार भने सुरक्षाकर्मीको टोलीले क्षतिको विवरण संकलन गरेर फर्केको नाम्खा–६ का वडाध्यक्ष पाल्जोर लामाले अनलाइनखबरलाई बताए ।

‘रिपोर्ट–रिपोर्ट भन्दै प्रहरीको टोली पनि फर्कियो । जोखिम अझै कायमै छ । यतिबेला कोही छैनन्, केही पनि छैन,’ उनी भन्छन् ।

नाम्खा–६ का वडाध्यक्ष पाल्जोर लामा

सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले विपद् उद्धार तथा बन्दोबस्तीका सामानसहितको टोली घटनास्थलमा खटिएर काम गरेको बताए । उक्त टोलीले स्थानीयलाई सुरक्षित ठाउँमा सारेको थियो ।

तिलगाउँमा मानवीय क्षति केही नभए पनि अन्य जोखिम भने रहेको वडाध्यक्ष लामा बताउँछन् ।

उच्च जोखिममा परेपछि ३२ जनालाई खुला चौरमा सारिएको छ । जसमा २१ महिला, ९ पुरुष र २ बालक छन् । यो गाउँमा ५० घरधुरी मध्ये १८ घरधुरी अहिले बसोबास गर्दै आएका थिए ।

लेदोसहितको पहिरोका कारण तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको छ । सोनाम साङमु लामाको घरको छत पहिरोका कारण प्वाल परेको छ । छे बुटी लामाको घर चर्किएको छ । धर्मशालाको छत समेत भत्किएको छ ।

१५ किलोवाटको जलविद्युत् भवन, मेसिन, कुलोमा समेत क्षति पुगेको छ । करिब ४ सय रोपनीमा सिँचाई गर्ने कुलो र खानेपानी समेत बगाएको छ । यो घटनाबारे केन्द्र सरकार भने अहिलेसम्म बेखबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?