
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं जिल्ला प्रहरी कार्यालयले तीनकुनेमा भएको प्रदर्शनको अनुसन्धानपछि १०८ मध्ये ६१ जनाविरुद्ध मुद्दा दायर गरेको हो।
- प्रहरीले राजद्रोह, ज्यान मार्ने उद्योग, संगठित अपराध लगायतका आरोपमा विभिन्न व्यक्तिहरूलाई मुद्दा चलाएको छ।
- प्रवर्तनकारीहरूले आरोपितहरूले प्रदर्शन र कार्यक्रमको जिम्मेवारी प्रसाईंमाथि लगाएका छन् भने उनीहरूले आफ्ना भूमिका स्पष्ट गरेका छन्।
११ जेठ, काठमाडौं । गत १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनमा पक्राउ परेकाहरूविरुद्ध करिब दुई महिनापछि मुद्दा दायर भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय बबरमहल, काठमाडौंले आज आइतबार मुद्दा दायर गरेको हो ।
प्रहरीले मुद्दा चलाउन राय दिएका १०८ जनामध्ये ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। ३४ जनाविरुद्ध भने मुद्दा नचलाउने निर्णय भएको सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माले अनलाइनखबरलाई बताए । ४ जना बालबालिका रहेकाले बाल अदालत भक्तपुरमा मुद्दा दर्ताका लागि पठाइएको छ ।
यो प्रकरणमा प्रतिनिधिसभाका सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा, राप्रपाकै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, झापाका विवादास्पद व्यक्ति दुर्गा प्रसाईं लगायतविरुद्ध मुद्दा दायर भएको छ ।
प्रसाईंसहित ८ जनाविरुद्ध कर्तव्य ज्यानदेखि ज्यान मार्ने उद्योग, राजद्रोहको कसुर, संगठित अपराध, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको छ । मिश्र र राणाविरुद्ध भने राजद्रोहको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।
धेरै वटा कसुर आकर्षित हुने र प्रतिवादी पनि धेरै हुने भएपछि परिसरले अन्य युनिटबाट पनि जनशक्ति मगाएर तीनकुने घटनाको अनुसन्धान गरेको थियो ।
जसमा, प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभागबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण पंगेनी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट एसपी प्रवीण धिताल, जिल्ला प्रहरी परिसर ललितपुरबाट मुद्दा शाखाका इन्स्पेक्टर नानिकाजी थापा, काठमाडौं अपराध अनुसन्धान कार्यालय आईटी शाखाका इन्स्पेक्टर राजेश महर्जन, हृदय सापकोटा सहितको टोलीले यो प्रकरणको अनुसन्धान गरेको थियो । परिसर काठमाडौंबाट भने एसपी कुलदीप चन्दले अनुसन्धानको कमान्ड गरेका थिए ।
करिब दुई महिना लामो समय लगाएर गरेको यो अनुसन्धानका प्रतिवादीले भने दुर्गा प्रसाईंलाई दोष देखाएर बयान दिएका छन् । रवीन्द्रदेखि धवल शमशेर राणा समेतले आफूहरू अथिति मात्रै रहेको र यसको सम्पूर्ण जिम्मा प्रसाईं रहेको संकेत गर्दै बयान दिएका छन् ।
झापाको बिर्तामोड नगरपालिका-५ का ५४ वर्षीय विवादास्पद व्यक्ति प्रसाईंले पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्व गर्दै थिए । उनैको महाअभियानलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १५ चैतमा तीनकुनेमा सभा गर्ने अनुमति दिएको थियो ।
यो भन्दा राजावादीहरूले राजसंस्था फर्काउन भन्दै संयोजक समेत बनाएका थिए । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक ८६ वर्षीय बयोवृद्ध नवराज सुवेदीलाई तोकिएको थियो ।
तर, तीनकुनेको प्रदर्शनको जनकमान्ड भने प्रसाईंलाई तोकिएको थियो र प्रशासनले पनि उनैलाई कार्यक्रम गर्न अनुमति दिएको थियो । यही विषय अन्य आरोपीहरूले देखाउँदै बयान दिएका छन् ।
सांसद धवल शमशेर राणाले बयानमा भनेका छन्, ‘राजसंस्था पुनर्स्थापनका लागि संयुक्त जनआन्दोलन कार्यक्रम दुर्गा प्रसाईंले नै आयोजना गरेका हुन् । कार्यक्रमको योजना, व्यवस्थापन, सञ्चालन र खर्च सबै उनैले गरेका हुन् । यसमा मेरो कुनै भूमिका छैन ।’
कार्यक्रमको आयोजक प्रसाईं नै भएको र सबै व्यवस्थापन उनैले गरेकाले यसको जिम्मेवारी उनैले लिनुपर्ने आसयको बयान दिएर राणा पन्छिएका छन् ।
प्रसाईंमाथि सम्पूर्ण आरोप थोपरे पनि उनी आफैं पनि त्यस दिन तीनकुने पुगेर ‘हामी अगाडि बढ्ने हो, प्रहरीसँग डराउने होइन, यो संघीयता र गणतन्त्र समाप्त पार्ने आजको दिन हो’ भन्ने अभिव्यक्ति दिएका थिए ।
यही अभिव्यक्ति राज्यविरुद्धको कसुर भएको मान्छेलाई उक्साएको भन्दै उनीमाथि मुद्दा दायर भएको छ । तर उनले भने यो अभिव्यक्ति प्रहरीले मञ्चमा अश्रुग्यास प्रहार गरेपछि आवेश आएर बोलेको बताएका छन् । अथितिको रूपमा मात्रै आफू तीनकुने गएको उनको दाबी छ ।
राणाजस्तै अर्का आरोपी रवीन्द्र मिश्रले पनि तीनकुने घटनाबारे प्रसाईं नै सबै जानकार रहेको दाबी गर्दै बयान दिएका छन् । उनले पनि कार्यक्रमको आयोजना प्रसाईंले नै गरेकाले यसबारे सम्पूर्ण जानकार उनै हुनुपर्ने किसिमको बयान दिएका छन् ।
कार्यक्रमको अघिल्लो दिन पत्रकार सम्मेलनमा समेत मिश्र उपस्थित थिए । तर कार्यक्रम भने प्रसाईंले आयोजना गरेकाले यसबारे उनैलाई थाहा हुनुपर्ने मिश्रको दाबी छ । ‘तीनकुनेको कार्यक्रम प्रसाईंकै समूहको हो । नवराज सुवेदीलगायत हामीलाई अथितिको रूपमा डाकिएको हो । अथितिकै रूपमा म मञ्चमा पुगेको थिएँ,’ मिश्रले बयानमा भनेका छन् ।
उनीहरूले यो कार्यक्रम प्रसाईंकै आयोजनामा भएको र सम्पूर्ण जानकारी उनै हुनुपर्ने भन्दै बयान दिए पनि प्रसाईंले भने यसमा नवराज सुवेदी नेतृत्वको समितिको पनि संलग्नता रहेको भन्दै बयान दिएका छन् ।
आफू सुरुमा कार्यक्रमस्थलमा जाने स्थिति समेत नभएको भन्दै प्रसाईंले भनेका छन्, ‘नवराज सुवेदी नेतृत्वको समितिले नै कार्यक्रमको स्वामित्व र अपनत्व लिएर दुवै संस्थाको संयुक्त ब्यानरमा गर्ने भनिएअनुसार तयारी र योजना गरेर कार्यक्रम आयोजना गरिएको हो ।’
उनले आफूले संविधानले व्यवस्था गरे बमोजिमको प्रक्रियाभन्दा बाहिर गएर कुनै कार्य नगरेको समेत जिकिर गरेका छन् ।
‘संसद् भवन लगायतका संरचनाहरू कब्जा गर्न मैले कोही कसैलाई खटाएको छैन । अन्यले खटायो/खटाएन मलाई थाहा भएन,’ उनले बयानमा भनेका छन्, ‘हिंसात्मक गतिविधिमा मेरो कुनै संलग्नता छैन, म आयोजक पनि होइन ।’
शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले पनि आफू कार्यक्रमस्थल पुग्नुभन्दा पहिला नै तोडफोड भएकाले केही जानकार नभएको दाबी गर्दै बयान दिएका छन् ।
अर्का प्रतिवादी तथा धर्मगुरु भनिएका पुष्कर खतिवडाले पनि आफू दुर्गा प्रसाईंको अभियान तथा कुनै पनि राजतन्त्र पक्षधर पार्टीमा नरहेको बताएका छन् ।
प्रतिवादी मुनेन्द्रराज रिजालले पनि दोष जति प्रसाईंको टाउकामा थोपारेका छन् ।
प्रहरीले पनि बयानमुखी मात्रै अनुसन्धान गरेको देखिएको छ । उनीहरूले आफूमाथि लागेको आरोपको खण्डन गरे पनि त्यसलाई तथ्य प्रमाणले पुष्टि गर्ने प्रयत्न गरेको देखिँदैन । मिडियामा सार्वजनिक भएका फोटा, भिडियोहरु बाहेक अन्य दरिलो प्रमाण पेस गर्न सकेको देखिँदैन ।
प्रतिक्रिया 4