
भूमण्डलीकरणको यो युगमा संसार साँघुरिएको छ र मानिसको यात्रा अब भौगोलिक सीमाभित्र कैद छैन। अवसरको खोजीमा होस् वा ज्ञान र सीपको यात्रामा, नेपालीहरू पनि यही विश्वव्यापी लहरको एउटा अभिन्न अंग बनेका छन्। पृथ्वीका विभिन्न भूभागमा पुगेर उनीहरूले आफ्नो श्रम, बुद्धि र साहस ले नयाँ समाजमा अटल परिचय स्थापित गरेका छन्। तर, जतिसुकै टाढा पुगे पनि, उनीहरूको नाभी अझै पनि मातृभूमिमै गाँसिएको छ- भाषा, संस्कृति र भावनाको अटुट धागोमार्फत्।
अनलाइनखबरले सुरु गरेको ‘पौरखी प्रवासी’ शृङ्खला त्यही गौरवमय यात्राको गाथा हो। यो केवल व्यक्तिगत संघर्ष र पसिनाको कथा मात्र होइन, बरू विश्व मञ्चमा नेपालको सामूहिक पहिचानलाई उचाइ दिने प्रयासको दस्तावेज हो। हरेक प्रवासी नेपाली आफ्नो गन्तव्यमा नेपालको ‘ग्लोबल एम्बेसडर’ बनेर उभिएका छन्। उनीहरूले विश्वलाई देखाइरहेका छन्, ‘नेपालीहरू मेहनती, सहिष्णु र प्रतिभावान हुन्छन्।’
प्रवासी नेपालीहरूको महत्व केवल आर्थिक पक्षमा मात्र सीमित छैन, यद्यपि रेमिटेन्सले नेपालको अर्थतन्त्रको मेरुदण्डलाई सजीव राखेको छ। विदेशको तातो घाममा पसिना बगाउने श्रमिकदेखि अन्तर्राष्ट्रिय मञ्चमा उदाएका विज्ञ, उद्यमी र कलाकारहरूसम्म, उनीहरू सबैले नेपाललाई विश्वको नक्सामा चिनाएका छन्। उनीहरूको ज्ञान, सीप र नेतृत्व क्षमतालाई नेपालको समृद्धिको यात्रासँग जोड्नु अनिवार्य छ ।
सामाजिक र सांस्कृतिक दृष्टिले, प्रवासीहरू नेपालकै बहुरंगी स्वरूपलाई नयाँ ठाउँमा पुनः फूलाइरहेका छन्। चाहे नयाँ पुस्तामा नेपालीपनको बीउ रोप्ने कुरा होस् वा परदेशमा दशैँ–तिहार र तीजको उल्लास भर्ने कुरा, यी सबै अभ्यासले नेपालीपनलाई भौगोलिक सीमाभन्दा बाहिर फैलिएको ‘विश्व-चेतना’ बनाइदिएको छ।
जब कोही आफ्नो जन्मभूमिबाट टाढा जान्छ, उसले आत्मपहिचानलाई पुनःपरिभाषित गर्नुपर्छ। नयाँ समाज र संस्कृतिमा घुलमिल हुँदै उसले आत्मान्वेषणको यात्रा गर्छ। यही प्रक्रियामा नेपालीहरू केवल आर्थिक योगदानकर्ता मात्र नभई विश्व-संस्कृतिको सक्रिय अंग बनेका छन्, जसले भूमण्डलीय संस्कृतिमा नेपाली रङ घोलिरहेका छन्।
‘पौरखी प्रवासी’ संसारभर छरिएका ती अब्बल नेपालीहरूको प्रतिनिधिमूलक जीवनगाथा हो। उनीहरूको कथा सुन्नु भनेको श्रम, सीप, आशा, साहस र गौरव मिसिएको हाम्रो समयको सांस्कृतिक इतिहास पढ्नु जस्तै हो।
आउनुहोस्, हामी संसारभर छरिएका ती ‘पौरखी प्रवासी’हरूको कथा सुनौं, जसले आफ्नो मेहनतले नेपालको शिर उँचो बनाएका छन्ः
लन्डन। ब्रिटिश लाहुरे बन्ने प्रयास असफल भएपछि विरक्तिएका छोङ नोर्बु शेर्पा आईईएलटीएस सकेर अष्ट्रेलिया जाने प्रक्रियामा थिए। विडम्बना, त्यसैताका अष्ट्रेलियाको नियम परिवर्तन भएपछि कन्सल्टेन्सीले आवेदन नै फिर्ता गरिदियो।
एकपछि अर्को असफलताले दोलखाका छोङको आत्मविश्वास खस्किंदो थियो। नेपालमा अवसर थिएन, विदेश जान मिल्दैन। यही बेला बेलायत सरकारले अध्यागमन नीति निकै खुकुलो गर्दै विद्यार्थीका हकमा टियर फोर नीति ल्याएपछि अन्ततः सन् २००९ जुलाईमा छोङ नोर्बुले यूकेको विद्यार्थी भिसा पाए।
‘त्यतिबेला हजारौं नेपाली विद्यार्थीको बाढीमा म पनि मिसिएर बेलायत आइपुगें’ छोङ विगत सम्झन्छन्, ‘तर सुरुका दिनमा निकै संघर्ष खेपें। बेलायत टेकेको ८ महिना त काम नै पाइएन। काम नहुँदा साथीहरूबाट सरसापट गरेर बाँच्नु परेको थियो।’
अहिले परिस्थिति बदलिएको छ। १६ वर्षअघि सार्वजनिक बस चढ्न दुईपटक सोच्नुपर्ने छोङ (३८) सप्ताहान्त यस पंक्तिकारसँग साक्षात्कार गर्न करिब डेढ लाख पाउन्ड (दुई करोड ८० लाख रुपैयाँ) को फरारी पोर्तोफिनो चढेर उलबिच आइपुगेका थिए।
सफल सुसी व्यवसायी छोङ नोर्बुको जीवनशैली लोभलाग्दो छ अहिले। छोङले सन् २०१४ मा सुरु गरेको इरो सुसीका अहिले बेलायतमा ३० आउटलेट छन्। उनको फ्रेन्चाइज मोडल व्यवसाय दिनप्रतिदिन झांगिंदो छ।
इरोको अर्थ जापानी भाषामा कलरफुल हुन्छ। साँच्चिकै यस व्यवसायले छोङको जीवन निकै कलरफुल (रंगीन) बनाइदिएको छ। मासिक एक लाख पाउन्ड बिजनेस र प्रति वर्ष २० मिलियन पाउन्ड टर्नओभर हुने उनले सुनाए। इरो सुसीमा यतिखेर झन्डै २०० जना नेपालीले रोजगारी पाएको छोङ बताउँछन्।
फास्टफुड र क्यूएसआर (क्विक सर्भिस रेष्टुरेन्ट) बिजनेस मोडलमा सञ्चालित इरो सुसीमा थोरै सिटिङ हुन्छ। अर्डर गर्न सेल्फ सर्भिस र होम डेलिभरी व्यवस्था गरिन्छ।
दुई मोडलमा विजनेस चलेको छोङले बताए। एउटा उनीसँग पार्टनरसिपमा लगानी गर्ने र अर्को चाहिं १०० प्रतिशत आफैं लगानी गरेर चलाउने।
सुसी सेफबाट मालिक
लन्डन आएको अर्को वर्ष अप्रिलदेखि साथीको सहयोगमा सुसी सेफको काम थालेका थिए छोङले। ऋण चुक्ता गर्न रातदिन नभनी काम गरे। दुईवटा काम अनि पढाइ एकसाथ हुँदा तनाव कम्ती थिएन।
नेपाली व्यवस्थापनको म्यारिटाइम ग्रिनिच कलेजमा आईटी पढ्न आएका उनले कलेज बन्द भएपछि कोर्ष परिवर्तन गरेर बिजनेस म्यानेजमेन्ट लिए।
सन् २०१५ अन्तिमतिर वेस्ट मिनिस्टर कलेजबाट हस्पिटालिटी म्यानेजमेन्टमा पोस्ट ग्र्याजुएट गरेपछि छोङ व्यवसायमा अगाडि बढेका हुन्।
छोङले सन् २०१४ मा क्ल्यापहाम जङ्सनमा पहिलो इरो सुसी खोलेका थिए जम्मा ५ हजार पाउन्ड लगानीमा। नजिकै औद्योगिक क्षेत्रमा होटल र एअरलाइन्सलाई स्यान्डविच सप्लाई गर्ने एउटा किचन साँझ ५ देखि १० बजेसम्म भाडामा लिएर सुरु भएको थियो व्यवसाय। बिहान अर्कै ठाउँमा काम गर्थे छोङ। बेलुका सुसी बनाएर अनलाइन बिक्री गर्न थाले। दुई जना कामदार र ड्राइभर राखेका थिए।
व्यवसायले गति लिन थालेपछि छोङले सन् २०१५ मा हाइस्ट्रिटमै इरो सुसी खोले। उनले सन् २०१८ मा फुलहाममा दोस्रो शाखा खोलेको केही महिनापछि तेस्रो आउटलेट ग्रिनविचमा खोले। चौथो टावर ब्रिजमा।
सँगै काम गरेका साथीलाई ग्रिनविच आउटलेटमा पैसा हालिदिएर व्यवसाय सुरु भएपछि मात्र फ्रेन्चाइज कन्सेप्ट के हो भन्ने थाहा पाएको उनी बताउँछन्।
कोभिड महामारीमा धेरै व्यवसायी डुबेका बेला छोङ भने झन् मालामाल बने। त्यतिबेला हाइगेट, साउथ नरवुडमा उनका सुसी थपिए। अहिले वेलिङ, पर्ली, क्यामडेन, वेस्ट ह्याम्सटेड, स्ट्राटफोर्ड, रेडिङ, स्लाओ, क्रोयडन, डार्टफोर्ड, पाल्मर्स ग्रिन, ब्रम्ली, चिङफोर्ड, अर्पिङटन, सिडकप, स्टक न्युविङटन, उलविच, एल्थाम, पेन्ज, टनब्रिज, सेभेनओक, मेडस्टोन, टनब्रिज वेल, गिलफोर्ड, न्युबरी जस्ता शहरमा खुलेका छन्। यो वर्ष (सन् २०२५ भित्र) अरु दुईवटा थप्ने उनको योजना छ।
आउँदो दुई वर्षभित्र संयुक्त अधिराज्य (यूके) का सबै शहरमा पुग्ने संकल्प उनले सुनाए। ‘सिस्टम बनेपछि मेन्टेन मात्र गरे पुग्ने रहेछ’, उनी भन्छन्। छोङले अमेरिका र युरोपमा समेत छिट्टै ब्रान्च खोल्ने योजना बनाएको पनि सुनाए।
एकलाख २० हजारदेखि डेढ लाख पाउन्डसम्म लगानी गर्दा इरो सुसीको ब्रान्च खोल्न सकिने उनले बताए।
अनुभवी सुसी सेफ, रेस्टुरेन्ट व्यवसायी कोही छन् भने ‘राइट क्यान्डिडेट’ लाई फाइनान्स पनि उपलब्ध गराएर पार्टनरसिपमा बिजनेस चलाउन र कोही लगानी मात्र गर्न चाहन्छन् भने पनि आफूसँग मिलेर फ्रेन्चाइजी चलाउन सकिने छोङको भनाइ छ।
‘तर, कसैले १०० प्रतिशत लिन चाहन्छन् भने फ्रेन्चाइजी फि र टर्नओभरमा ५ प्रतिशत रोयल्टी तिर्नुपर्छ’, उनी भन्छन्।
एक्लै बिजनेस गर्दा धेरै जना असफल भएको पाइएको तर फ्रेन्चाइज मोडल ९८ प्रतिशत सफल हुने दाबी छोङको छ।
फ्रेन्चाइज लिनेलाई उपयुक्त लोकेसनमा प्रपर्टी लिएर सेटअप, एड्मिन, लिगल, अकाउन्ट, मार्केटिङ आदि व्यवस्था गरिदिने पनि छोङ बताउँछन्।
सुरुमा केही संघर्ष भए पनि अहिले बेलायतको बिजनेस कम्युनिटीसँग सम्बन्ध अभिवृद्धि हुँदा सहजता थपिएको उनी बताउँछन्। बैंकले लगानीका लागि फाइनान्स गरिदिन पत्याएको उनले सुनाए।
इरो प्रपर्टीमार्फत प्रपर्टी व्यवसायमा समेत संलग्न छोङले अहिले फास्ट फुड कम्पनी मोमो एन्ड कम्पनी समेत सुरु गरेका छन्। उनी आफ्नो ज्ञान, अनुभव कसैलाई आवश्यक परे सित्तैंमा बाँड्न तयार भएको बताउँछन्।
अठोट, कडा परिश्रम र अलिकति भाग्यले साथ दिए व्यवसायमा सफलता हासिल गर्न सकिने उनको अनुभव छ।
बाल्यकाल संघर्षमा बितेकाले मिलिनियर भए पनि आफूले सामान्य लवाइखवाइलाई महत्व दिने गरेको उनले बताए।
पैसा भन्ने चिज समस्या समाधान गर्ने एउटा वस्तु मात्र रहेको उनको धारणा छ। ‘पैसा म आफूलाई केही हो जस्तो लाग्दैन। तर अरूले यति प्रगति गरिस् भन्दा आफ्नो पेशाप्रति गर्व लाग्छ’, उनले सुनाए।
बेलायत आएका आम नेपालीले जागिर खान पाए हुन्छ भन्ने तर बिजनेस गर्न आँट नगर्ने गरेको उनको अनुभव छ। ‘प्रगति गर्न जोखिम लिन सक्ने र महत्वाकांक्षा पनि हुनुपर्छ’, उनी भन्छन्।
कष्टकर बाल्यकाल
दोलखाको बिगु गाउँपालिका, चिलंखाका स्थायी बासिन्दा हुन् छोङ। आफ्नो बाल्यकाल निकै कष्टकर रूपमा बितेको उनले स्मरण गरे।
‘नुन, तेल, चामल, किन्न दुई दिनसम्म हिंडेर कि खासा कि त चरिकोट आउनुपर्थ्यो। स्कूल पुग्न दुई घण्टा हिंड्नुपर्थ्यो। विलासिता भन्ने कहिल्यै सोच्न पाइएन’ उनी भन्छन्, ‘हाम्रो घरमा चौंरी पालेर छुर्पी बनाउने गरिन्थ्यो। म परिवारलाई सघाउँथें।’
अहिले छोङका बाबा तेन्जेन शेर्पा, आमा साङ्मो र बहिनी काठमाडौं कपनमा छन्। भाइ अष्ट्रेलिया र एउटी बहिनी बेलायतमै बस्छिन्।
छोङ हाल श्रीमती दिचेन्ला लामा र दुई बच्चाका साथ ग्रिनविच, लन्डनमा बस्छन्।
प्रतिक्रिया 4