
बेइजिङ । शीरमा टिलिक्क टल्किने मकालु हिमाल र आँगनमा छङछङ बग्ने अरूण नदी । प्राकृतिक हिसाबले भोजपुर दिंगलाको सौन्दर्य अरू पहाडका प्राकृतिक सौन्दर्यभन्दा फरक थिएन/छैन ।
अन्तर्यमा अर्को सौन्दर्य पनि लुकेको थियो– शिक्षाको । शैक्षिक वातावरण र अध्ययन गरेका छरछिमेकीको प्रभावले हुनुपर्छ, डिबी कट्टेल सानैदेखि पढाइमा लगनशील थिए । उनले अरूण माध्यमिक विद्यालयबाट २०४७ सालमा एसएलसी पास गरे ।
त्यसबेला गाउँको शैक्षिक वातावरण राम्रो भए पनि भौतिक पूर्वाधारको अभाव थियो । पारिपट्टी खाँदबारी बिजुलीले झिलिमिली भइसक्दा पनि दिंगलामा टुकी बालेरै पढ्नुपरेको मधुरो सम्झना उनको दिमागमा अझै छ । स्कुल जानका लागि हरेक दिन एक घन्टा उकाली/ओराली गर्नुपर्थ्यो ।
त्योताका आम नेपाली विद्यार्थीको जीवनशैलीजस्तो थियो, उनको पनि त्योभन्दा फरक थिएन । तर दिग्गजहरूको छत्रछायाँ र आफ्नै रूचिले उनले सानैदेखि पढाइमा रूचि देखाए । त्यसैका परिणाम हुन् आजका वैज्ञानिक डा. डिबी कट्टेल ।
‘तल नदी बगिरहन्थ्यो, माथि हिमाल थियो, बीचमा बादल दौडिन्थ्यो, यो कसरी संभव छ भन्ने मनमा लाग्थ्यो,’ कट्टेलले भने, ‘यिनै जिज्ञासाहरूले डोर्याएर मलाई वैज्ञानिक बनाए ।’
एसएलसी सक्ने बित्तिकै उनी उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आए । रूचिकै विज्ञान विषय पढे । पाटन संयुक्त क्याम्पसबाट आईएस्सी र त्रिचन्द्रबाट बिएस्सी गरेका कट्टेलले त्रिभुवन विश्वविद्यालयबाट हाइड्रोलोजी मेट्रोलोजीमा स्नातकोत्तर गरे ।
पढाइ सँगसँगै उनी केही समय पत्रकारितामा पनि रहे । विशेषगरी विज्ञान प्रविधिका विषयहरू पत्रपत्रिकामा लेख्ने र टेलिभिजनमा विज्ञानकै विषयमा कार्यक्रम चलाउने काम गर्थे उनले । केही समय पत्रकारिता गरेपछि भने उनी फेरि पुरानै सपनाको गन्तव्यतिर मोडिए ।
‘मेरो बच्चैदेखिको उद्देश्य वैज्ञानिक बन्ने भन्ने थियो । बीचमा मैले विभिन्न ट्रयाकहरू बदलेँ’ उनले भने, ‘तर पढाइका हिसाबले वैज्ञानिक हुने बाटो छोडिनँ ।’
सामान्य मध्यम वर्गीय परिवारको विद्यार्थीले काठमाडौंमा टिक्नका लागि जे जति मेहनत गर्नुपर्थ्यो उनले पनि पनि गरेका हुन् । ‘काठमाडौंमा पढुन्जेल मैले निर्वाहका अनेक बाटोहरू अपनाए । नेपाल टेलिभिजनमा ‘वातावरण संसार’ कार्यक्रम बनाउँथे ।
‘इमेज मेट्रो टिभीमा पनि काम गरेँ,’ कट्टेल पुराना दिनहरू सम्झिन्छन्, ‘तर खोज अनुसन्धान गर्ने पुरानो हुटहुटी बाँकी नै थियो । त्यसैले मिडिया चटक्कै छोडेर यतैतिर लागेँ ।’
त्यसका लागि कट्टेलको पहिलो गन्तव्य थियो- नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) । त्यसबेला नाष्टमा उनले प्राविधिक अधिकृतमा नाम निकाले र त्यहीँ काम गर्न थाले ।
कट्टेलले विस्तारै आफ्नो रूचिको क्षेत्रमा यात्रा गर्दै थिए । तीन वर्ष काम गरेपछि उनलाई नाष्टको वातावरणले त्यहीँ बसिरहन मन लागेन । उनले अध्ययन-अनुसन्धान नै गर्न चाहेका थिए तर त्यहाँ बिल्कुल माहौल नमिलेको कट्टेल सम्झिन्छन् । उनले विस्तारै सपनाका पखेँटाहरू फिजाउन थाले ।
त्यही बेला उनी चाइनिज एकेडेमी अफ साइन्सेसको एउटा कार्यक्रममा सहभागी हुन चीनको बेइजिङ आए । उक्त एकेडेमीबाट पिएचडीको अफर आएपछि उनलाई वैज्ञानिक बन्ने आफ्नो पुरानो सपनाले ढोका ढकढक गरेको अनुभूति भयो सायद ।
अरू दायाँबायाँ केही पनि सोचेनन् । उनले अध्ययन बिदाका लागि कार्यालयमा आग्रह गरे । तर बिदा स्वीकृत हुने नहुने त परको कुरा उल्टै कार्यालयमा अनुपस्थित भएकाले किन कारबाही नगर्ने भनेर उनको घरको ठेगानामा चिट्ठी पठाइयो । ती दिन सम्झिँदा कट्टेललाई अहिले पनि नरमाइलो लाग्छ ।
‘बिदा स्वीकृत नहुँदै प्रशासनले किन कारबाही नगर्ने भनेर गाउँको ठेगानामा चिट्ठी पठायो’ उनी भन्छन्, ‘मैले यतैबाट राजीनामा पठाउनुपर्यो ।’
विद्यावारिधी अध्ययन सुरु गरेपछि उनले ज्ञानको दायरा अझै फराकिलो पार्दै गए ।
त्रिभुवन विश्वविद्यालयमा पढेको सैद्धान्तिक ज्ञानमा चीनबाट सिकेको प्राविधिक ज्ञानले उनलाई अघि बढ्न अझ धेरै मद्दत पुग्यो । उनको मेहनतले काम गर्यो । पिएचडी सक्नुअघि नै जर्मनीबाट पोष्ट डक्टरर रिसर्चको प्रस्ताव आयो । उनी जर्मनी हानिए ।
त्यहाँबाट फेरि केही समय काम गर्न पाकिस्तान गए । जर्मनी र पाकिस्तानका विश्वविद्यालयहरूमा केही वर्ष पढाएपछि सन् २०१६ मा उनी फेरि चीन नै फर्किए ।
‘नेपालमा पनि हामीले युनिभर्सिटी त पढ्यौं । हाम्रो सैद्धान्तिक ज्ञान राम्रो पनि छ,’ कट्टेल भन्छन्, ‘तर प्राविधिक ज्ञान त मैले यहीँबाट पाएँ ।’ प्राविधिक र व्यवहारिक अध्ययनका लागि नेपालले पनि लगानी गर्नुपर्ने उनको बुझाइ छ ।
उनले प्रतिष्ठानबाट जलवायु सम्बन्धी अनुसन्धानका अवसर पाएका थिए । त्यसका लागि नेपालको तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयबाट सहमतिपत्र लिनुपर्थ्यो । उनले मन्त्रालयमा आवेदन पनि दिए । तर तत्कालीन विज्ञान तथा प्रविधि सचिवले उनलाई सहमतिपत्र दिएनन् ।
त्यही कारण उनी त्यसबेला आउन पाएनन् । सन् २०१६ मा फेरि चीनले उनका लागि अवसरको ढोका खोल्यो ।
‘सुरुमा विज्ञान सचिवबाट मैले कन्सेन्ट नपाएपछि म यहाँ आउन पाइनँ । तर पछि फेलोसिपमा अवार्ड भएपछि २०१६ मा म चीन फर्किएँ’ कट्टेल सम्झिन्छन्, ‘जतिबेला मैले पाकिस्तान छोड्ने भएँ, सुरूमा २ वर्षका लागि यहाँ आउने कुरा भएको थियो ।’
उनी नेपालको तिक्ततापूर्ण वातावरण सम्झिँदै भन्छन्, ‘राजीनामा नदेऊ, २ वर्षको बिदा स्वीकृत गरिदिन्छौं भने र निश्चित समयका लागि स्यालरी पनि दिए, तर आफ्नै देशबाट एउटा सामान्य पत्र नपाउँदा मैले पाएको अवसर गुम्यो ।’
सन् २०१९ यता आफैंले अध्ययन गरेको चिनियाँ वैज्ञानिक प्रतिष्ठान अन्तर्गत छिङहाई तिब्बत पठारभूमि अनुसन्धान संस्थानमा उपप्राध्यापक बनेका छन् कट्टेल । उनको मुख्य भूमिका जलवायु सम्बन्धी अधययन हो ।
एशियाली क्षेत्रका लागि पानीको मुख्य आधार मानिएको थर्ड पोल क्षेत्र जलवायु प्रणालीमा गहिरो प्रभाव पार्ने क्षेत्र हो । उनको अध्ययनले जलवायु परिवर्तनका कारण थर्ड पोल क्षेत्रमा पनि वातावरणीय परिवर्तन भइरहेको निचोड निकालेको छ ।
‘यी क्षेत्रमा उच्च तापक्रम बढेर हिमनदीहरू पग्लिने र हिमतालहरू फुट्ने क्रम बढीरहेको छ, यसले वातावरणीय सन्तुलनमा ठूलो असर पुर्याउँछ,’ कट्टेल भन्छन् ।
जलवायु परिवर्तनको असर विश्वका अरू मुलुकहरूमा जस्तै नेपालमा पनि परिरहेको छ ।
‘हामीले २-३ वटा कुरा विरासतमा लिएर आएका छौं । एउटा अत्यधिक वर्षा । अत्यधिक पानी पर्नु हाम्रो क्षेत्रमा नौलो कुरा होइन । अत्यधिक वर्षा हुनासाथ भौगोलिक क्षेत्रका कारण बाढी पहिरो जानु नौलो भएन,’ उनी भन्छन् ।
डा. कट्टेल अगाडि थप्छन्, ‘हिमालमा हिउँ पग्लिनु नयाँ होइन । तर छिटो छिटो पग्लिएको छ । हाम्रो क्षेत्रमा पनि रातिको तापक्रम बढ्ने प्रक्रिया धेरै भइरहेको छ। वर्षाको मात्रा ज्यादा भयो भने हिमताल फुट्ने संभावना धेरै हुन्छ ।’
यसको असर नेपालले पनि भोग्दै गइरहेकोमा उनको चिन्ता छ । तर काठमाडौंजस्ता क्षेत्रमा ग्लोबल वार्मिङ भन्दा पनि मान्छेहरूकै लापरबाहीका कारण समस्या भएको निचोड कट्टेलको छ ।
‘काठमाडौंमा गर्मी भयो भने पनि हामी ग्लोबल वार्मिङले हो भन्छौं । काठमाडौमा रूख छैन, माटो छैन । हाम्रो कारणले झन् धेरै असर भएको छ । यसबारे हामी गम्भीर बन्नै पर्छ,’ उनले भने ।
चीनको अनुसन्धानबाट नेपाललाई लाभ
सन् २०२३ जनवरी देखि २०२४ डिसेम्बरसम्मका लागि कट्टेलले हिमाली क्षेत्रको जलवायु परिवर्तन र यसको असरबारे अध्ययन र निष्कर्ष निकाल्न १ करोड ३० लाख रूपैयाँ बराबरको अनुसन्धानवृत्ति पाए ।
चीनको राष्ट्रिय प्राकृतिक विज्ञान प्रतिष्ठानका वैज्ञानिहरूबीच भएको कडा प्रतिष्पर्धा जितेर उनले उक्त फेलोसिप पाएका हुन् । उक्त फेलोसिप अन्तर्गत उनले नेपाल, पाकिस्तान, बंगलादेश, भारत, भुटान र तिब्बतका हिमाली क्षेत्रको एकीकृत अध्ययन गरे ।
उनले आफ्नो अध्ययनमा हिमाली क्षेत्रमा प्रदूषण बढ्नुको आधारभूत कारणबारे अध्ययन गरेका छन् ।
‘प्रदूषणको असर हिमालमा हिउँ पग्लिने प्रक्रिया कस्तो छ । यस्ता कुराहरूमा उच्च तहको अनुसन्धान र रिसर्चमा इन्डिकेट भइसकेका छन्’ उनले भने, ‘सयभन्दा धेरै नेपालसँग नै सम्बन्धित भएका रिसर्च छन् ।’
जलवायु प्रदूषणले हिमाली क्षेत्रमा पारेको असरको पहिचान गरेर नीति बनाउनका लागि नेपाल सरकारले नै चासो नदिएको उनको भनाइ छ । ‘वैज्ञानिकले त अध्ययनको निष्कर्ष दिने हो’ उनले भने, ‘हामीले दिएका छौं ।’
जलवायु परिवर्तनको असरबारे नेपालले सम्मेलन बाहेक अरू नगरेको बताउँछन् कट्टेल । ‘अब पोलिसी बनाएर एक्सनमा जाने काम राज्यको हो । त्यति गम्भीर भएजस्तो लाग्दैन । अबेर भइसक्यो,’ उनले भने ।
नेपाल फर्किने तर कहाँ ?
कट्टेल तिनै वैज्ञानिक हुन् जसले २०७७ साल माघमा चीनका तत्कालीन प्रधानमन्त्री लि खछ्याङसँग साक्षात्कार गर्ने मौका पाए । चीनको ग्रेटहलमा भएको उक्त साक्षात्कारमा कट्टेलसहित भारत, अमेरिका, रूस लगायत देशका १७ जना वैज्ञानिक थिए ।
एक नेपाली हुनुको नाताले उक्त अवसर पाएकोमा आफूलाई गौरव महसुस भएको उनले बताए । तर विदेशमा जति मानसम्मान पाए पनि स्वेदशका लागि काम गर्दा जत्तिको आनन्द नहुने उनलाई लागेको छ ।
‘कहिलेकाँही सम्झिन्छु, अरूण भ्यालीकै मान्छे हुँ, मकालुकै काखमा हुर्किएको हुँ । त्यो ठाउँमा बसेर काम गर्न त कसलाई रहर नहुँदो हो र’ उनले भने, ‘म यहाँ यात्रा गर्दा विकास देख्छु । हाम्रो मुलुकमा कहिले होला भनेर भित्रबाटै नराम्रो लाग्छ ।’
भावुक सुनिएका कट्टेल सम्हालिंदै थप्छन्, ‘मैले चाहेर मात्रै पनि त केही हुने होइन नि ! उनलाई बरू जहाँ बसेर काम गरे पनि देशकै लागि गरेको छु भन्नेमा गौरबबोध छ ।
‘मैले यहाँ नेपालीको हैसियतमा काम गर्छु । राम्रो गरेँ भने मेरै देशका लागि हो,’ उनले भने । उनलाई बेइजिङमा अनुसन्धान गरेर प्राप्त ज्ञान र त्यसको निष्कर्ष नेपालमा गएर पनि बाँड्न मन त छ । तर, त्रिभुवन विश्वविद्यालयमा समेत त्यो किसिमको वातावरण नभएकोमा भने चिन्तित छन् । देशमा बस्ने वातावरण छैन, फर्कने कसरी ?
‘अहिले त युवाहरू १०-१२ पास गरेपछि नेपाल नै बस्दैनन् । अब नीति उनीहरूको सपना पूरा गर्नेगरी बनाउनुपर्छ। भोलि उनीहरूलाई सपोर्ट हुने खालको बनाउन सक्नुपर्छ’ उनले भने, ‘अरूतिर त राष्ट्रले नै सपोर्ट गर्छ । हाम्रोमा त्यो माहौल हुनुपर्यो नि त !’
उनलाई मुलुकको प्राज्ञिक क्षेत्र पनि राजनीतिले ध्वस्त पारेकोमा पटक्कै चित्त बुझेको छैन । ‘मैले संसारका अरू ठाउँमा सिर्जनात्मक क्षेत्रमा राजनीति देखेको छैन । नेपालमा गए यो कुन राजनीतिक पार्टीको भन्ने हुन्छ’ उनले भने, ‘नेपाल फर्किन त मन लाग्छ तर, प्रश्न उठ्छ कहाँ जाने ?’
प्रतिक्रिया 4