News Summary
Generated by OK AI. Editorially reviewed.- कविता लेख्न आत्म-प्रतिवद्धताका साथ कागज अगाडि उभिँदा पनि दिमाग ढुङ्गा जस्तो हुन्छ र हृदयमा उम्रिँदैन भने लेखकले बताए।
- कविता क्षणको अभिव्यक्ति भएकाले भावनाको तीव्रता अर्को क्षणमा हराउँछ र त्यसैले पलले डसेर घाइते मान्छेको कविता मनपर्छ लेखकले उल्लेख गरे।
- आजकल धेरै मानिसले सजिलै कविता लेख्ने भए पनि वास्तविक कविता हराउँदै गएको र कवितामा निरन्तर ह्रास देखिएको लेखकले औंल्याए।
एउटा फुर्सदिलो क्षणमा फेद-टुप्पो यकीन खुट्याउन नसकिने ध्वनि गुनगुनाइरहेको हुन्छु । शब्दको नाडी पक्रिएर कविता बनिदिन्छ । फुर्मास बाँचिदिएको जिन्दगीका पलहरू स्मृतिको झ्यालबाट चिहाउँछन्। म बेचैनीले व्यग्र हुन्छु । त्यही व्यग्रता कविता भइदिन्छ । चैतका धूपहरूमा रूखका हाँगाहरूमा वसन्त कोपिलाउन लागेको देख्छु । त्यहीँ कविता फुलिदिन्छ । कहिलेकाहीँ बाटोमा हिँड्दा-हिँड्दै पत्थरहरूमा ईश्वर खिपिरहेका हात र औजारहरू देख्छु, तिनै खिपाइहरूमा कविता बगेको देख्छु।
तर जब कलम समाएर ‘आज म कविता लेख्छु’ भन्ने आत्म-प्रतिवद्धताका साथ कागज अगाडि उभिन्छु, मेरो नरम दिमाग ढुङ्गा भइदिन्छ। अहँ, कतै मुटुमा उम्रिएझैँ हलचल गर्छ, तर उम्रिँदैन। जति कागजमा ओराल्ने प्रयत्न गर्छु, त्यति नै हठयोगीझैँ हृदयमै जमी बस्छ।
त्यसैले त कविता वा गीत लेख्नु गाह्रो काम हो । साहित्यका अन्य विधाहरू सहज हुन सक्लान्, तुलनात्मक रूपमा । आख्यान या गैर-आख्यान लेख्नुअघि लेखकहरू आफ्नो कथा तयार पार्छन् । संरचना, रूपरेखा अनि दिग्दर्शन बनाउँछन् । लेख्दा-लेख्दै कहिले कविझैँ कोमल हुन्छन्, कहिले विचारकझैँ तार्किक । परिश्रमको अन्तिम रूपबारे अधिकतर लेखक बेखबर हुन सक्छन् ।
तर कविता मान्छेको प्रयाससँग असम्बद्ध छ । कविता कसैको पठन र मिहिनेतको माहात्म्यसँग तदाकार सरोकार राख्नुपर्छ भनेर कहिल्यै मान्न तयार हुँदैन । ऊ त जुन हृदय शास्त्र-शुष्क-भावित प्रवृत्तिबाट स्वतन्त्र छ, उसकै दिमागमा फुरिदिन्छ । कहिलेकाहीँ नसोचेका, नपत्याएका औँलाहरूबाट कविता निस्किन्छन् । त्यतिबेला शास्त्र-शुष्क-भावितहरू ईर्ष्याभावले ग्रस्त हुन्छन् । तर कठै ! तिनीसँग त आफ्नो ईर्ष्यालाई पनि कवितामा ढाल्ने प्रतिभा हुँदैन ।
तर यसको अर्थ यो निकालिनु हुँदैन कि कविता लेखन-पठन र परिश्रमबाट असम्पृक्त हुन्छ । हो, सबैसँग कला र गला हुँदैन । अनि कला र गला नभएका अधिकांश मानिसहरू समालोचक बन्छन् । साहित्यको कित्ताकाट गर्छन्- फलानो शून्यवादी, ढिम्कानो रहस्यवादी । यद्यपि कलाकर्मीहरू भने आफ्ना यी गुण या वादहरूका बारेमा परिचित हुँदैनन् ।
कलाकारका लागि प्राथमिक स्रोत भनेकै व्यक्ति हुन्छ । यदि व्यक्तिमा कलाको उद्बीज छैन भने अनेकन प्रयासका बाबजुद पनि व्यक्ति कलाकार हुन सक्दैन । सजिलो भाषामा अध्ययन र अभ्यास भनेका बीजका लागि आवश्यक माटो, पोषण र प्रकाश प्रदान गर्नु हो । बीज नै नभएको हृदयमा अध्ययनले कुनै पनि कला जन्माउन सक्दैन । व्यक्तिको केवल बुद्धि तिखारिन सक्छ, आलोचकीय दृष्टिलाई मलजल गर्छ ।
जो जन्मँदै कवि हुन्छन्, उनीहरूले अध्ययनका बाबजुद पनि सुन्दर काव्य रच्न सक्छन् । तर अध्ययनले उनीहरूको काव्यबीजलाई अझ पोषण प्रदान गरेर फैलिन-झाँगिन मद्दत गर्छ । त्यसकारण अभिव्यक्तिको सम्प्रेषणीयतालाई गरिमा नघटाई साझा अनुभवमा ओराल्न अध्ययन-अभ्यासले सहयोग गर्छ ।
यी माथिका लामा गफहरू मार्फत भन्न खोजिएको कुरा के हो भने- कविता क्षणको अभिव्यक्ति हो । कथा स्थूल या सूक्ष्म जे हुन पायो, भावना जे हुन पायो, तर क्षणको अभिव्यक्ति आवश्यक हुन्छ । भावनाको तीव्रता अर्को क्षणमा हराउँछ ।
त्यसकारण मलाई कवितामा राष्ट्र, अध्यात्म, प्रेमका उपदेश दिने कविताहरू भन्दा एउटा पलले डसेर घाइते भएको मान्छेको कविता मनपर्छ । राष्ट्र, अध्यात्म, प्रेमका सामान्यीकृत अवधारणा उतार्न सजिलो हुन्छ । गाह्रो त मानव जीवनका क्षणिक पल उतार्न हुन्छ ।
तर यति अप्ठ्यारो विधा आजकल भने निकै सजिलो भएझैँ जताततै कविता उम्रिरहेका छन् । घरैपिच्छे एउटा कवि जन्मिएका छन् । कविताको त यति आतङ्क भएको छ कि बाटोमा हिँड्दा-हिँड्दै कसैले झ्याप्प समातेर कविता सुनाइदेला भन्ने जगजगी बढेको छ।
कुनै पनि कुरा आम प्रयोगमा फसिसकेपछि, आम अवधारणामा उत्रिएपछि त्यसले आफ्नो अर्थवत्ता भने गुमाउँदो रहेछ । बिस्तारै त्यो चकलेटझैँ क्वाप्प खाइहाल्ने चिज हुँदो रहेछ । जसको जिन्दगी र अभिव्यक्तिमै काव्य छैन, त्यस्तो काव्य टड्कारै चिनिन्छ । तर समाजले निल्दै, पचाउँदै गएपछि काव्यिक चिन्तन हराएका हरफहरू पनि कविता बन्छन् । वास्तविक कविता भने ओझेलमै हराउँदो रहेछ ।
हरेक मानिस आदर्श खोज्छ । आदर्शको नक्कल उतार्छ । त्यही नक्कल कर्मबाट नै आगामी सिर्जनापथ कोरिन्छ । कस्ता कविहरू जन्मिरहेका छन् भन्ने कुरा हेर्नलाई ती जन्मिरहेका कविहरूका आदर्श को हुन् भनेर पनि प्रश्न गर्न जरुरी छ । हामीले पछ्याइरहेका आदर्शहरू नै कविताको नाममा कविताबाहेक अन्य लेखिरहेका छन् भने आदर्श फेर्न आवश्यक हुन जान्छ ।
पद्य कवितालाई सङ्गीत सुहाउँछ । पद्यको मिटर (लय) हुन्छ । गद्य कवितामा फेरि मिटर नहुने भन्ने कुरा होइन । तर गद्य कानका लागि भन्दा धेरै आँखाका लागि नजिक हुन्छ । त्यहाँ सङ्गीतले भन्दा पनि आँखाले टिप्ने शब्दहरूमा लुकेको रहस्यमयी चिन्तन महत्त्वपूर्ण हुन्छ ।
कविताहरूमा प्रयोगका नाउँमा जुन बाहिरी सजावट गरिन्छ, त्यो अर्थहीन छ। वनमा फुलेको वनफूल हो कविता । उसले आफ्नो सौन्दर्यका लागि आत्मश्लाघा या विज्ञापन गरिहिँड्दैन । कविहरू दिनप्रतिदिन बढिरहँदा कवितामा निरन्तर देखिरहेको ह्रासलाई पनि हामीले नियाल्नुपर्ने हुन्छ ।
अब म यहाँ आदर्श कविहरूप्रति तितो पोख्न चाहन्न । तिनका अनुयायीहरूलाई पनि उल्ल्याएको भाषा प्रयोग गर्न चाहन्न । केही हरफ कोरेर आफ्ना गाँठिएका औँला पड्काउँछु:
‘नाकका नासिका कोष लाटिएको बेला
फूलका साजी मुन्टाहरू भाँचेर
त्यसको सट्टा कागजको गुलाफ लिएर
मानिसहरू सुगन्धमा मुग्ध भएको
अभिनय गर्न सक्छन् ।
त्यतिबेला कविता लेख्दा टुक्रिएका हृदयले
कविता लेख्दा-लेख्दा गन्हाएका औँलाले
यी सबै फोहोरहरूलाई बढार्नुपर्छ ।’
प्रतिक्रिया 4