+
+
Shares
स्मृति :

सम्झनामा सहयात्री तुलसीरमण काफ्ले

काफ्ले बोल्दा उत्तेजना होइन, गहिरो आत्मविश्वास झल्किन्थ्यो। उनले कहिल्यै सस्तो नारा बाँडेनन्, सधैँ विचार र धैर्य बाँडे।

गोपालमान श्रेष्ठ गोपालमान श्रेष्ठ
२०८२ फागुन ९ गते १२:०२

मैले २०२१/२२ सालतिरबाटै विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा पाइला टेकेको थिएँ। नेपाल विद्यार्थी सङ्घको स्थापनाकालदेखि नै मेरो सक्रियता रह्यो। २०१७ सालपछि लागू भएको पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन, सङ्गठन विस्तार र प्रजातन्त्रको जागरण अभियान चलेको थियो।

प्रजातन्त्र प्राप्तिको हुटहुटीले हामीलाई गाउँ–गाउँ पुर्‍याउँथ्यो। सङ्गठन विस्तार र नागरिक जागरणको त्यही कठिन यात्राका क्रममा मेरो भेट एक यस्तो व्यक्तित्वसँग भयो, जसको सादगी र निष्ठाले मलाई जीवनभर प्रभावित तुल्याइरह्यो। तिनै नेता थिए– तुलसीरमण काफ्ले।

नेपाली राजनीतिको आरोह–अवरोहमा ६ दशकभन्दा लामो समय व्यतीत गर्दा मैले धेरै पात्र र प्रवृत्तिहरू देखेको छु। सत्ताको लुछाचुँडी र पदका लागि सिद्धान्त त्याग्नेहरूको भिडमा राजनीतिलाई केवल समाजसेवा र निष्ठाको मार्ग ठान्ने विरलै भेटिने व्यक्तित्वहरूमध्येका हुन्– काफ्ले। उनी मेरो जिल्लावासी मात्र थिएनन्, राजनीतिक जीवनको एउटा अभिन्न अङ्ग थिए। उनीसँगको सहकार्य तथा अनुपस्थितिमा मेरो र स्याङ्जा कांग्रेसको इतिहास अधुरो रहन्छ।

१९९६ सालमा साविक माझकोट शिवालय गाविस (हाल वालिङ नगरपालिका) मा जन्मिएका काफ्लेको वैचारिक प्रस्थानविन्दु निकै रोचक देखिन्छ। उनी बनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा शास्त्री अध्ययन गर्दै गर्दा भारतमा स्वतन्त्रताको लहर र महात्मा गान्धीको अहिंसावादी आन्दोलनको प्रभाव ताजै थियो।

यही समयमा उनले महान् स्वतन्त्रता सेनानी गान्धीको सादगी र निष्ठालाई आफ्नो जीवनको मन्त्र बनाएको पाइन्छ। बनारसमै उनी जननायक बीपी कोइरालाको ओजस्वी व्यक्तित्व र प्रजातान्त्रिक समाजवादको लक्ष्यबाट प्रभावित भएको सुनाउँथे। यसरी उनले आफ्नो जीवन प्रजातन्त्रको वेदीमा अर्पण गर्ने सङ्कल्प गरे।

अध्ययन पूरा गरेर नेपाल फर्केपछि काफ्ले शिक्षण पेसामार्फत शैक्षिक जागरणमा होमिए। उनको मनभित्र भने पञ्चायती व्यवस्थाविरुद्धको आगो बलिरहेको थियो। म राजनीतिमा सक्रिय भइरहँदा उनी पनि स्याङ्जाको एउटा वैचारिक खम्बाका रूपमा स्थापित हुँदै थिए। सहयात्राका सन्दर्भमा उनी मेरा राजनीतिक अग्रज हुन्। गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता नेताहरूको अनुयायी बनेर सङ्गठन विस्तारमा लागे। म पनि यही मार्गमा अगाडि बढिरहेको थिएँ। उनीसँगै कांग्रेसका तत्कालीन स्याङ्जाली खम्बाहरू दण्डपाणि शर्मा, सूर्यप्रसाद रेग्मी, शिवकुमार अधिकारी, खगेन्द्रराज रेग्मी, खड्गबहादुर खाँड, चन्द्रबहादुर गुरुङ, मोहदत्त काफ्ले र विश्वप्रेम अधिकारी जस्ता साथीहरूको एउटा बलियो टिम थियो।

हामीले गाउँ–गाउँ डुलेर सङ्गठनको बीउ रोप्दाका ती दिनहरू मेरो मानसपटलमा ताजै छन्। म सम्झिरहन्छु, सङ्गठन विस्तारका क्रममा कयौँ पटक म बाङ्खे मिर्दी खोलास्थित उनको घर पुगेको छु। दुई डाँडाको खोंचमा अवस्थित उनको त्यो सामान्य घरमा हामीले कति रातहरू प्रजातन्त्रका योजना बुन्दै बितायौँ। उनको आतिथ्यमा खानपान मात्र थिएन, अगाध विश्वास र सरलता थियो।

राजनीतिक गतिविधि शङ्काको घेरामा थियो। सङ्गठन विस्तार जोखिमपूर्ण थियो तर काफ्ले कहिल्यै विचलित भएनन्। हामी माझकोट, मगरस्वाँरा, कुमेरदुङ, सपाउँदे, ललाङ, पेल्काचौर, बानेथोक देउराली, बिरुवालगायत स्याङ्जाका धेरै गाउँ–बस्तीमा हिँड्यौँ।

देशमा लामो समयसम्म राजनीतिक स्थिरता कायम हुन सकेको छैन। अनेक उतारचढाव र आन्दोलन भइरहेकै छन्। नवपुस्तामा नयाँ–नयाँ आशा, चाहना र इच्छा जागृत भइरहेका छन्। देश पुनः निर्वाचनमा होमिएको छ। यो क्षणमा म उनको निष्ठापूर्ण राजनीतिक यात्रा र सहकार्य झलझली सम्झिरहेको छु

गोरेटो बाटो, उकाली–ओराली, भीरपहरा छिचोल्दै जनतासँग बोल्दै, बुझाउँदै र चेतना फैलाउँदै हामी अघि बढ्यौँ। काफ्ले बोल्दा उत्तेजना होइन, गहिरो आत्मविश्वास झल्किन्थ्यो। उनले कहिल्यै सस्तो नारा बाँडेनन्, सधैँ विचार र धैर्य बाँडे।

तत्कालीन समयमा पञ्चायती शासकहरूको कडा निगरानी थियो। प्रजातन्त्रका लागि सम्झौता नगर्ने उनको अडानकै कारण उनले पटक–पटक जेलजीवन बिताउनुपर्‍यो। २०३०/३१ सालतिर लगातार १८ महिनाको कठोर कारावास भोग्दा पनि उनको अनुहारमा थकान देखिँदैनथ्यो। जेल उनका लागि सजाय होइन, प्रजातन्त्रप्रतिको अटल आस्थाको प्रमाण बन्यो।

स्याङ्जामा प्रजातान्त्रिक चेतना फैलाउन, कार्यकर्तालाई अनुशासित र सिद्धान्तनिष्ठ बनाउन उनको गहिरो भूमिका रह्यो। यही कारण उनी केवल प्रजातन्त्र सेनानी होइनन्, प्रजातन्त्रको नैतिक मापदण्ड पनि हुन्।

आन्दोलनलाई करिअरभन्दा कर्तव्य मान्ने उनको जीवनशैली जेलनेल र जोखिमपूर्ण अवस्थाबीच पनि शालीन एवम् सरल रह्यो। इतिहासका पानामा ठूला अक्षरमा उनको नाम नदेखिए पनि स्याङ्जाको प्रजातान्त्रिक चेतनामा गहिरो छाप बनेको महसुस हुन्छ। जब राजनीतिमा नैतिकताको अभाव महसुस हुन्छ, तब काफ्लेजस्ता व्यक्तित्वहरू अझै स्मरणीय र अनुकरणीय लाग्छन्। उनी मेरा सहयात्री मात्र थिएनन्, सादगी र आत्मसंयमका प्रतीक थिए। त्यो सादगीपन र निष्ठा मेरो स्मृतिमा बसिरहेको छ।

आज म उनलाई ‘स्याङ्जाका गान्धी’ उपनामले सम्बोधन गर्छु। यो कुनै अलङ्कार होइन, उनको स्वभाव नै त्यस्तै थियो। सामान्य खानपान र जीवनशैली, मृदुभाषी र विपक्षीलाई तर्कले परास्त गर्न सक्ने उनको सामर्थ्य गान्धीवादी दर्शनसँग मेल खान्थ्यो।

लामो समय राजनीतिक बन्दी जीवन बिताए, जिल्लामा पार्टीको सङ्गठन विस्तारमा अहोरात्र खटे तर व्यक्तिगत फाइदातिर कहिल्यै लोभिएनन्। अपेक्षा राखेर सुविधामुखी भएनन्। उनी कहिल्यै पदलोलुप, सत्ता, सुविधा वा व्यक्तिगत लाभप्रति आकर्षित भएनन्।

२०१६ सालमै मैले पोखरामा बीपीलाई भेटेर प्रजातन्त्रका लागि अठोट गरेको थिएँ। २०४४ सालमा म स्याङ्जा कांग्रेसको सभापति भएँ। २०४८ सालमा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएँ। पछि केन्द्रमा मन्त्री, उपप्रधानमन्त्री वा पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा हुँदा समेत कुनै आस वा लोभ राखेर काफ्लेले मलाई भेटेनन्।

उनी सधैँ पार्टीको सङ्गठन र भाइचारा विस्तारमा लागे। उनको राजनीति सधैँ सत्ताप्राप्ति भन्दा समाज रूपान्तरणतर्फ नै केन्द्रित रह्यो। यही कारण उनी कार्यकर्तामाझ सम्मानित थिए, नेताहरूबीच नैतिक मापदण्डका रूपमा हेरिन्थे। प्रजातन्त्रको अर्थ उनले भाषणमा होइन, व्यवहारमा देखाएका थिए।

लामो राजनीतिक र शैक्षिक जीवनसँग जोडिएका उनी २०५१ सालपछि जिल्लामा निष्क्रिय देखिए। उनको परिवार ठूलो थियो। पारिवारिक जिम्मेवारी, त्यसको दबाब र बोझले पनि उनको निष्क्रियता बढेको हुन सक्छ। सायद यही दबाबलाई व्यवस्थापन गर्ने उद्देश्यले हुनुपर्छ, उनी स्याङ्जाबाट बसाइँ सरेर बर्दिया पुगे। त्यसपछि स्याङ्जामा उनको राजनीतिक गतिविधि हुन सकेन। उनी पारिवारिक बन्धनबाट फुत्केर पुनः मूलधारको राजनीतिक जीवनमा फर्किन सकेनन्।

स्थान फेरियो तर उनको पहिचान फेरिएन। केही व्यक्तिहरू इतिहासको आत्मामा बस्छन्, उनी त्यस्तै व्यक्तित्व हुन्। सत्य, अहिंसा, सादगी र नैतिक राजनीतिको प्रतीकका रूपमा उनी जिल्लाका लागि मात्र होइन, नेपाली प्रजातान्त्रिक आन्दोलनका प्रेरणा हुन्।

आज पनि माझकोट, बाङ्खे र समग्र स्याङ्जाको राजनीतिक जागरण, शैक्षिक सुधार र सामाजिक सेवामा उनले खेलेको भूमिका स्मरणीय छ। स्याङ्जाले काफ्लेलाई सम्झिरहेको छ, म विश्वस्त छु, उनलाई सधैँ सम्झिरहनेछ।

२०७७ साल मङ्सिर २० गते ८१ वर्षको उमेरमा उनी यस लोकबाट बिदा भए। उनको निधन हुँदा मैले मेरो राजनीतिक जीवनको एउटा महत्त्वपूर्ण सहयात्री गुमाएको महसुस गरेँ। पद र पैसामा बिक्ने आजको विकृत राजनीति भन्दा उनी धेरै माथि थिए। म आज पनि जिल्ला जाँदा उनको अभावमा एउटा रिक्तता महसुस गर्छु। उनले छोडेर गएको निष्ठाको विरासतले आज पनि स्याङ्जा कांग्रेसलाई मार्गनिर्देश गरिरहेको महसुस हुन्छ।

तुलसीरमणजस्ता नेताको जीवनबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न आवश्यक छ। राजनीति अधिकारको लडाइँ भन्दा कर्तव्य र त्यागको सङ्गम हो। स्याङ्जाको माटोले जन्माएको त्यस्तो सपूतप्रति हामीले गर्व गर्नुपर्छ। आज कांग्रेस नयाँ पुस्तामा हस्तान्तरण हुँदै छ। म पनि यो पुस्तासँग जोडिएर उनीहरूको भावना र चाहनाअनुसार राजनीतिक यात्रामा अनवरत लागेकै छु।

देशमा लामो समयसम्म राजनीतिक स्थिरता कायम हुन सकेको छैन। अनेक उतारचढाव र आन्दोलन भइरहेकै छन्। नवपुस्तामा नयाँ–नयाँ आशा, चाहना र इच्छा जागृत भइरहेका छन्। देश पुनः निर्वाचनमा होमिएको छ। यो क्षणमा म उनको निष्ठापूर्ण राजनीतिक यात्रा र सहकार्य झलझली सम्झिरहेको छु।

देशको प्रजातान्त्रिक आन्दोलनका क्रममा मैले भेटेका, सँगसँगै सङ्घर्ष गरेका र नजिकबाट नियालेका व्यक्तित्वमध्ये काफ्ले एक असाधारण नाम हुन्। सधैँ निष्ठा र नैतिक राजनीतिको प्रतीकका रूपमा रहेकोले ‘स्याङ्जाका गान्धी’ उपनाम उनलाई सुहाउँछ।

आज स्याङ्जामा धेरैले उनलाई बिर्सिसके वा कमैले चिन्छन्। जिल्लामा उदाएका नयाँ पुस्तालाई प्रजातन्त्रप्रति उनको त्यागबारे जानकारी नै छैन। तथापि, काफ्लेले देखाएको निष्ठाको बाटोमा स्याङ्जा मात्र होइन, सिङ्गो नेपाली कांग्रेस सधैँ अविचलित रूपमा अगाडि बढिरहने मेरो विश्वास छ। त्यो सादगीपन र सङ्घर्ष इतिहासको पानामा सधैँ स्वर्ण अक्षरले लेखिनेछ।

श्रद्धेय तुलसीरमण काफ्लेप्रति हार्दिक श्रद्धासुमन !

(लेखक नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?