२० जेठ, लन्डन । बेलायतको नेपाली डायस्पोरामा दोस्रो पुस्ता उदाउँदो क्रममा छ । पहिलो पुस्ता नयाँ परिवेशमा अवसर खोज्दै अलमलिए पनि नयाँ पुस्ता भने स्वास्थ्य, खेल वा व्यवसायतिर प्रगति उन्मुख छ ।त्यसको एउटा उदाहरण हुन्, आर्यन ढुंगाना । अहिले मिडलसेक्स काउन्टी क्रिकेट यू १३ टोलीबाट खेल्छन्, आर्यन । उनी काउन्टीबाट खेल्ने एक मात्र नेपाली मूलका खेलाडी हुन् । अन्डर १० मै उनले काउन्टीमा खेलेका थिए ।
उनले ८ वर्षको उमेरमै इलिङ क्रिकेट क्लबमा क्रिकेट खेल्न थाले र छिट्टै आफूलाई एक प्रतिभाशाली युवा क्रिकेटरका रूपमा स्थापित गरे ।
९ वर्षको उमेरमा उनी यु १० इलिङ बरो क्रिकेट टोलीको प्रतिनिधित्व गर्न छनोट भए । सोही वर्ष उनी मिडलसेक्स क्षेत्रीय क्रिकेटका लागि पनि छनोट भए, जसले कम उमेरमा उनको आफ्नो असाधारण क्षमतालाई उजागर गर्यो ।
केवल १० वर्षको उमेरमा आर्यनले यु ११ मिडलसेक्स काउन्टी क्रिकेट टोलीका लागि डेब्यू गरे ।
आर्यन हाल मिडलसेक्स काउन्टीमा लगातार चौथो सिजन खेलिरहेका छन् ।
सन् २०२४ सम्म आर्यनले अलराउन्डरका रूपमा खेलेका थिए । बायाँ हातबाट फास्ट बलिङ उनको खुबी थियो । सोही वर्षको वीन्टर प्रशिक्षण सत्रमा मिडलसेक्सका प्रशिक्षकले उनको शारीरिक विकास र बढ्दो उचाइका कारण उनलाई बायाँ हाते स्पिन बलिङ गर्न प्रोत्साहित गरे । स्पिन बलिङ उनका लागि पहिलो अनुभव भए पनि उनले उल्लेख्य राम्रोसँग आफूलाई रूपान्तर गर्दै मिडलसेक्स अन्डर १२ का लागि दोस्रो धेरै विकेट लिने खेलाडी बन्दै सिजन समापन गरेका थिए ।

आफ्नो क्रिकेट यात्रामा आर्यनले मिडलसेक्स काउन्टी क्रिकेट र इलिङ क्रिकेट क्लब दुवैको प्रतिनिधित्व गर्दै धेरै खेल जितेका छन्, भने कतिपय खेलका फाइनलमा योगदान समेत पुर्याएका छन् ।
आर्यनले सप्ताहान्त ह्याम्पसायर क्रिकेट क्लबविरुद्ध उनीहरूकै घरेलु मैदानमा भएको खेल ५ विकेट लिएर जिते ।
त्यस्तै, गत शुक्रबार उनले इलिङ क्रिकेट क्लबबाट खेलेर २६ बलमा ३३ नट आउट रन बनाउँदै एरिया कप जिताउन सफल भए ।
उनको प्रदर्शनले उच्च सीप, दृढ संकल्प, अनुकूलन क्षमता र बलियो टिम स्पिरिट दर्साएको प्रशिक्षकको बुझाइ छ ।
आर्यन अहिले इलिङस्थित सेन्ट बेनेडिक्ट स्कूलमा ८ कक्षाका विद्यार्थी हुन्, जहाँ उनी स्पोर्टस् एम्बासडरको भूमिकामा पनि छन् । ‘उनी स्कूलका अग्रणी क्रिकेट खेलाडीहरूमध्ये एकमा चिनिन्छन् । गत वर्ष यू१२ उमेर समूहमा प्रतिस्पर्धा गर्दा पनि उनले स्कूललाई यू १३ ट्रफी जित्न महत्त्वपूर्ण भूमिका खेलेका थिए’, उनका बुबा सुरेन्द्र ढुंगाना छोराप्रति गर्व गर्दै भन्छन् ।
आर्यन खेलप्रतिको लगावका साथ एक उदयीमान युवा क्रिकेटरका रूपमा बेलायतमा उदाउँदै छन् ।
‘क्रिकेटमा सानैदेखि रुचि रह्यो । अब यही क्षेत्रमा प्रगति गर्न चाहन्छु’, आर्यनले भने, ‘समयले साथ दिए कुनै समय नेपालमा गएर समेत खेल्न मन छ ।’ आफ्नो क्रिकेट यात्रामा परिवारको ठूलो हौसला र साथ रहेको उनले सुनाए ।
१३ वर्षका आर्यन लन्डनमा जन्मिएका हुन् । बुबा सुरेन्द्र ढुंगाना एकाउन्टेन्ट र आमा सुनिता नर्स छिन् । उनीहरू झन्डै तीन दशकअघि बेलायत आएका थिए ।
प्रतिक्रिया 4