Comments Add Comment

तेस्रो दिन नेपाललाई ८ स्वर्ण, सन्तोषीको कीर्तिमान

तेक्वान्दोमा स्वर्ण जित्ने काजल श्रेष्ठ प्रशिक्षक संगिना बैद्यको साथमा ।

१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेस्रो दिन नेपालले ८ स्वर्ण थपेको छ । दोस्रो दिन १५ स्वर्ण जित्दै शानदार शुरुवात गरेको नेपालले मंगलबार त्यसलाई निरन्तरता दिँदै ८ स्वर्ण जितेको हो ।

उसुमा नेपालले २ स्वर्ण जितेको छ । विजय सिञ्जाली र सुस्मिता तामाङले थाउलोतर्फ स्वर्ण जितेका हुन् ।

तेक्वान्दोमा काजल श्रेष्ठ र वीरबहादुर महरा तथा कराँतेमा नविन रसाइली र सनिता महर्जनले स्वर्ण जिते ।

एथ्लेटिक्समा नेपालले मंगलबार एक स्वर्ण जित्दा सन्तोषी श्रेष्ठले कीर्तिमान बनाइन् । महिला १० हजार मिटर दौडमा सन्तोषीले भारतीय खेलाडीलाई एक मिलिसेकेण्डले पछि पार्दै स्वर्ण जितेकी हुन् ।

उनी सागमा महिलातर्फ एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो खेलाडीसमेत बनिन् ।

एथ्लेटिक्सकै पुरुष १५ सय मिटर दौडमा टंक कार्कीले कास्य पदक जितेका छन् ।

मंगलबार नै नेपालले ट्रायथलनमा एक स्वर्ण र दुई रजत जित्यो । पोखरामा भइरहेको ट्रायथलन अन्तर्गत दुवाथलनमा नेपालका हिमाल टमाटाले स्वर्ण जित्दा लक्ष्मण मल्लले रजत जिते । महिलातर्फ नेपालकी हुमी बुढा मगरले रजत जितिन् ।

भलिबलमा रजत

महिला भलिबलमा नेपालले रजत पदक जितेको छ । निकै प्रतिस्पर्धात्मक फाइनलमा नेपाल भारतसँग ३-२ सेटमा पराजित भयो । सेमिफाइनलमा श्रीलंकालाई हराउँदै पहिलो पटक साग महिला भलिबलमा फाइनल पुगे पनि नेपाल इतिहास बनाउन बाट भने चुक्यो । पहिलो सेट गुमाएको नेपालले उत्कृष्ट पुनरामगन गर्दै लगातार दुई सेट जितेको थियो ।

तर त्यसपछि लगातार दुई सेटसँगै स्वर्ण गुमायो ।

यद्यपि नेपालले साग महिला भलिबलमा पहिलो पटक रजत पदक जित्न सफल भएको छ । यसअघि नेपालले तीन संस्करणमा कास्य जितेको थियो । पुरुष भलिबल टोलीले भने यस पटक पदक जित्ने लक्ष्य राखे पनि समूह चरणबाटै बाहिरिएको थियो ।

फुटबलमा विजयी सुरुवात

फुटबलतर्फ नेपालले विजयी शुरुवात गरेको छ। घरेलु टोली नेपालले पुरुष र महिला दुवैमा जित हात पारेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा नेपालले करिब ५ वर्षपछि फुटबल खेल्दै पुनरागमन गर्दा शानदार नतिजा हात पार्‍यो ।

करिब ८ हजार दर्शकको अगाडि कप्तान सुजल श्रेष्ठले दुई गोल गर्दा नेपालले भुटानलाई ४–० ले पराजित गरेको हो । यस्तै मिक्छेन तामाङले पहिलो अन्तर्राष्ट्रिय गोल गरे। अर्को गोल अभिषेक रिजालले गरे ।

यस्तै पोखरामा भइरहेको महिला फुटबलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गर्दै सुखद सुरुवात गर्‍यो ।

क्रिकेटमा हार

क्रिकेटमा नेपाल पहिलो खेलमा पराजित भयो । पुरुषतर्फ श्रीलंका यू–२३ सँग पहिलो खेल खेलेको नेपाल ६ विकेटले पराजित भयो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरनेपालले दिएको १७३ रनको लक्ष्य श्रीलंकाले ५ बल अगावै ४ विकेट गुमाएर भेट्टायो ।

को को हुन् स्वर्ण विजेता ?

कीर्तिमानी सन्तोषी श्रेष्ठ । उनले सागमा महिलातर्फ नेपाललाई दिलाएकी छन् । उनले दश हजार मिटर दौडमा भारतीय खेलाडीलाई एक मिलिसेकेण्डले पछि पार्दै स्वर्ण जितेकी हुन् ।
तेक्वान्दोको काजल श्रेष्ठ । ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी काजलले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०–१४ को स्कोरमा हराउँदै स्वर्ण जितेकी हुन् ।
तेक्वान्दोमा अर्को स्वर्ण वीरबहादुर महराले जिते । पुरुष ६८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका उनले फाइनल खेल ४१-३६ को स्कोरमा जिते ।
कराँतेका स्वर्ण विजेता नविन रसाइली र सनिता महर्जन । नविनले कुमुते ६७ केजी र सुनिताले ६८ केजीमा स्वर्ण जितेकी हुन् ।
उसुको थाउलोमा विजय सिञ्जाली मंगलबार नेपाललाई स्वर्ण दिलाएका छन् ।
थाउलोकी स्वर्ण पदक विजेता सुस्मिता तामाङ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment