Comments Add Comment
गाउँपालिका अध्यक्ष अपहरण प्रकरण :

‘फर्काइहाल्छौं भन्दै श्रीमानलाई लगे, मलाई जंगलबाट फर्काए’

६ पुस, दैलेख । शनिबार मध्यराति ठाँटीकाँध गाउँपालिका प्रवेश गरेको हतियारधारी समूह वडा नं. २, प्याडुली हुँदै गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीको घरमा पुग्यो ।

पटकपटक ढोका ढक्ढक्याएपछि शाही पत्नी इलाले दैलो उघारेकी मात्र के थिइन्, १०/१२ जनाको समूह घरभित्र प्रवेश गरी शाहीलाई उठाउन खोज्यो । सो समूहले शाहीलाई ‘हामीसँग हिँड्’ भनेपछि इलाले प्रश्न गरिन्, ‘किन जाने ? कहाँ जाने ?’

समूहका एक जनाले ‘सोधपुछ गर्नुछ, फर्काइहाल्छौं’ भन्ने जवाफ दिएको इलाले सुनाइन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्षसमेत रहेकी इलाले माओवादी द्वन्द्वको समयमा घरबाट यसैगरी लगिएका व्यक्तिहरु नफर्काएको सम्झिइन् । र, श्रीमानलाई लैजाने भए आफू पनि सँगै जाने बताइन् । हतियारधारी समूहले ‘हल्ला किन गर्नुहुन्छ’ भन्दै धम्क्याए तर उनले मानिनन् ।

करिब आधा घण्टा यस्तै गलफत्ति चल्यो । अन्ततः धिरबहादुर दम्पत्तिलाई सो समूहले घरबाट अपहरण गर्‍यो । तर करिव दुई घण्टा हिँडाएपछि वडा नं. २ को जंगलमा पुर्‍याएपछि इलालाई यहीँबाट फर्किन भनियो । नफर्किए ‘जे पनि हुनसक्ने’ धम्की दिइयो । धिरबहादुरलाई भने नकाबधारी समूहले आफूसँगै लगेको छ ।

गाउँपालिका अध्यक्ष सिमानातिर

अपहरणमा परेका गाउँपालिका अध्यक्ष धिरबहादुरको खोजी भइरहेको प्रहरीले बताएको छ ।

जिल्लाको सुरक्षा टोलीका एक अधिकृतले गाउँपालिका अध्यक्षलाई कालिकोटतिर लगिएको सूचना प्राप्त भएको बताए । उनकाअनुसार अध्यक्ष शाहीलाई सीमा क्षेत्रमा पु¥याइएको आशंकामा प्रहरी टोली परिचालन गरिएको छ । गाउँपालिकाबाट पनि छुट्टाछुट्टै समूह परिचालित भएको छ ।

ठाँटीकाँध गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष रुपलाल विश्वकर्माले अनलाइनखबरलाई भने, ‘म बसेको ठाउँबाट उहाँलाई छाडिएको ठाउँसम्म पुग्न करिब ४ घन्टा लाग्छ । यहाँबाट भाइहरु गएका छन् ।’

घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । यद्यपि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले अपहरण गरेको हुनसक्ने आशंका गरिएको छ । स्रोतले भन्यो, ‘विप्लव समूहविरुद्ध सुराकी गरेको तथा गाउँपालिकाको बजेटमा अनियमितता गरेको आरोप लगाउँदै अपहरण गरेको सूचना आएको छ ।’

गृह मन्त्रालयका एक उच्च अधिकारीले भने शाहीलाई ‘लोकेट’ गर्ने प्रयास भइरहेको बताए । उनले अनलाइनखबरसँग भने, ‘हामीले समन्वय गरिरहेका छौं । घटनाबारे अहिलेसम्म कसैले जिम्मेवारी पनि लिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment