Comments Add Comment
भन्सार दिवसमा अर्थमन्त्रीको भाषण :

‘नआत्तिने अर्थमन्त्री पाउनुभएको छ, खुशी हुनुस् !’

'बोलेर हुने अवस्था छैन, गरेर देखाउने बेला भएको छ'

Photo Credit : अनलाइनखबर फाइल ।

म (अर्थमन्त्री) आएको पनि दुई वर्ष भयो, अब बोलेर मात्रै हुने अवस्था छैन, काम गरेर देखाउने बेला भएको छ ।

म पछिल्लो समय निजी क्षेत्रसँग लामो यात्रामा छु । तीन हप्ताबीचमा धनगढीदेखि पूर्वसम्म दर्जन भन्दा बढी छलफल र अन्तरक्रियामा सहभागी भएको छु । यसबाट मैले तीन/चारवटा कुरा गर्नुपर्ने देखेको छु ।

परार गरेको कुरा पोहोर गर्नुपरेन, पोहोर गरेको कुरा अहिले गर्नुपरेन, अस्ति बजेट आउने वित्तिक्कै गरेको कुरा अहिले गर्नुपरेन ।

निजी क्षेत्रले डराउनुपर्दैन

अहिले म तीन/चारवटा कुरा गर्न गइरहेको छु ।

पहिलो- एउटा कार्यक्रममा निजी क्षेत्रका एकजना साथीले भने, ‘सम्पत्ति शुद्धीकरणले हामीलाई समाउने हो कि भन्ने डर छ ।’ सम्पत्ति शुद्धीकरणले गलत गर्नेका लागि डण्डा चालाउने हो, जथाभावी हात हाल्दैन, तपाईहरुलाई त्रास लागेको मात्रै हो, यसबाट मुक्त हुनुपर्छ ।

दोस्रो- निजी क्षेत्रको दोस्रो त्रास राजस्व अनुसन्धानको भन्ने मैले पाएको छु । कहीँकतै ज्यादती विगतमा भएकै हो, त्यो हामीले स्वीकार गर्नुपर्छ । त्यसलाई जिम्मेवार निकायका रुपमा विकसित गर्न हामीले प्रधानमन्त्री कार्यालयले हेर्ने निकायका रुपमा लगेको हो । संस्थाले विवेकसम्मत ढंगले काम गर्छ, यसबाट तपाईहरु डराउनु पर्दैन । डर छ भने त्यो भ्रम मात्रै हो ।

तेस्रो- निजी क्षेत्रको तेस्रो त्रास बैंकको ब्याजदर हो । ब्याजदर त अहिले बढेको छैन । पहिले-पहिले त धेरै बढाए । ६ प्रतिशतमा ऋण दिए, १६ प्रतिशतसम्म पुर्‍याए । अहिले त ठीक छ, तर फेरि बढाउने हो कि भन्ने त्रास छ । तर, म यसलाई स्वभाविकभन्दा पनि अतिरिक्त त्रास भन्ने बुझ्छु ।

यसले बैंकहरु अस्थिरतातर्फ जान्छन् । दीर्घकालीन लगानीका लागि स्थिर प्रकृतिको ब्याजदर हुनुपर्छ । यसका लागि मैले बै‌ंकहरुलाई निर्देशन दिइसकेको छु । अब प्रचलित ब्याजदर लिने कि स्थिर ब्याजदर लिने भन्ने कुरा तपाईहरुले (बैंकहरुले) निर्णय गर्न सक्नुहुन्छ । अब यसलाई त्रासको विषय नठानौं ।

यो पनि पढ्नुहोस राजश्वको लक्ष्य भेट्टाउन निजी क्षेत्रमाथि डण्ठा लगाउँदिनँ : अर्थमन्त्री

कहिलेकाँही व्यापार घाटाको त्रास व्यवसायी साथीहरुमा मैले पाएको छु । उहाँहरुलाई विदेशी मुद्रा सञ्चिती नै नपुग्ने हो कि भन्ने पनि पाएको छु, त्यस्तो हुँदैन । हामी अहिले दक्षिण एशियाली मुलुकमा विदेशी मुद्रा सञ्चिती गर्ने राम्रोमध्येमा पर्छौ‌ं , यसमा पनि व्यवसायीहरु डराउनुपर्ने अवस्था छैन । अहिले व्यापार घाटा कम हुन थाल्यो । आयातीत बस्तुको आयात घट्दा राजस्व पनि कम हुन थाल्यो ।

अर्को त्रास- राजस्व कम भयो, व्यवसायीमा त्रास थपिएको हुन सक्छ कि अब डण्डा लगाएर -सरकारले) राजश्व उठाउँछ । हामी त्यसो गर्दैनौं । म के आश्वस्त तुल्याउन चाहान्छु भने हामी लक्ष्य प्राप्ति गर्ने भनेर कर नलाग्ने आय र ठाउँमा कर लगाउँदैनौं । तपाईहरु ढुक्क हुनुस्, कानुन नलाग्ने ठाउँमा हामी कर लगाउँदै लगाउँदैनौं । यो त्रास हटाउनुस् ।

राजस्व घट्दा पनि नआत्तिने अर्थमन्त्री पाउनुभएको छ, यसमा खुशी हुनुस् । स्रोतको व्यवस्था कसरी गर्ने भनेर अरु उपाय छन्, भन्सार राजस्वमै भर परेर अर्थतन्त्र चल्दैन ।

अतिरिक्त चिन्ताले समस्या हुन्छ

आन्तरिक राजस्वको वृद्धि राम्रो छ । औसतमा २५ प्रतिशतको वृद्धि छ । व्यवसायिक क्षेत्रलाई धन्यवाद छ । आन्तरिक भ्याटको वृद्धि त्योभन्दा पनि राम्रो छ । हामी क्रमशः आयातमा आधारित अर्थतन्त्रबाट आन्तरिक आय र उत्पादनमा आधारित राजस्वमा प्रणालीमा ध्यान केन्दि्रत गर्दैछौं, जो राम्रो भएको छ ।

यहाँ अतिरिक्त चिन्ता लिइदिनुभएपछि समस्या हुन्छ, अतिरिक्त चिन्ता नलिइदिनुस् । बैंकिङ क्षेत्रको तरलता व्यवस्थापन गर्छौं, विगतको अवस्था हेरेर भविश्यप्रति चासो देखाउनु राम्रो हो । तर, व्यवसायिक वातावरण र विश्वसनियता विगार्ने अवस्था छैन ।

अहिलेको आर्थिक वृद्धि अन्तराष्ट्रिय व्यपारमा जोडिएको छ र त्यहाँ भन्सार छ । राजस्वमुखी भन्सार प्रशासन भयो भन्ने आरोप पनि छ, तर हाम्रो भन्सार प्रशासनका तीन/चारवटा उद्देश्यहरु छन् :

पहिलो- मुलुकमा लगानीमैत्री वातावारण बनाउने र त्यसका आधारमा औद्योगीकरण अगाडि बढाउने, मुलुकलाई सबल र सुदृढ अर्थतन्त्रतर्फ लैजाने । त्यसैका लागि हामीले तयारी वस्तुको भन्सार धेरै, कच्चा पदार्थको अलि थोरै, मेसिनरी उपकरणको अझ थोरै । -शून्य दरमा) यी सबै मुलुकको औद्योगीकरणका लागि हो ।

दोस्रो- आन्तरिक उत्पादनको निर्यात बढाउन निर्यातका दरहरुमा हामीले न्युनतम भन्सार राखेका छौं । यसका अतिरिक्त अन्य मानवीय कुराहरु पनि छन्, त्यसपछि मात्र राजस्वको कुरा हो ।

हामी विश्वव्यापी व्यपार परिधिमा बसिरहँदा सबै कुराहरु हाम्रा हातमा हुँदैन । हामी डब्लुटीओ, साफ्टा, दुईपक्षीय सम्झौताहरुमा पनि छौं । यसमा देशका बीचमा तालमेल नमिलेका विषयहरु पनि छन् । त्यसले गर्दा एउटा सुविधाअन्र्तगत तपाईले ल्याएको सामान अर्को सुविधाअन्र्तगत व्यापार विचलन गर्न सक्ने सम्भावना अत्यन्तै धेरै छ । अब के गर्नुहुन्छ, यसका लागि पनि संक्रमण मूल्य नराखे के हुन्छ ? वैधानिक बाटोबाट मात्रै व्यापार हुने भए त्यो नराखे पनि हुन्थ्यो । तर, हाम्रो खुल्ला सीमाका कारण वैधानिक बाटोबाट आयात भएर अवैधानिक ढंगबाट निर्यात भए प्रशासनिक उपायहरु अवलम्वन गर्नुपर्छ ।

यो पनि पढ्नुहोस घरबाटै भन्सार जाँचपास गर्न सकिने माेबाइल एप कार्यन्वयनमा

मैले पाएको विवरण अनुसार ९२ प्रतिशत व्यापार कारोबार मुल्यमा भएको छ । जहाँसम्म ७/८ प्रतिशतको कुरा छ, अब बैकिङ च्यानलबाट योजनावद्ध व्यापार सुरु गर्दा त्यो पनि समाधान होला ।

स्वच्छ र पारदर्शी भन्सार प्रशासन बिथोल्ने विगतका जस्ता केही घटना नघटुन् भनेर हामीले केही गरेका हौं, आगामी दिनमा यो सुधार गर्दै जानेछौं । मूल्याकंन, एमआरपीजस्ता प्राविधिक विषय त हामी एक वर्षभित्र व्यवस्थित बनाउँछौं । सन्दर्भ मूल्यको विषयमा मलाई पनि चासो छ ।

तथ्यांकहरु अविश्वनीय हुने डर हुन्छ । सय रुपैयाँको सामान १२५ रुपैयाँ मूल्यांकन गरिदिएपछि २५ रुपैयाँ व्यापारको आँकडामा राख्नुपर्ने हुन्छ । २५ रुपैयाँले ५ रुपैयाँ मूल्य अभिवृद्धि गर्‍यो भने कुल गार्हस्थ उत्पादनमा गयो कि भन्ने हुन्छ । नतिरेको मूल्य फेरि आय गणनामा जान्छ । आयकरमा गणना हुन्छ । विकृति त बढ्यो नि ।

त्यसो हुनाले त्यस्ता विकृतिका कुराहरुले अर्थतन्त्र, समष्टिगत आर्थिक व्यवस्थापन, राष्ट्रिय गणना, तथ्यांकहरु र कर प्रणालीमा पनि विकृति ल्याउन सक्छ । त्यसो हुनाले हामीले सुधार गर्नुपर्ने विषय बनाएका छौं । अहिले हामी भन्सार सुधारको प्रक्रियामा छौं ।

राजस्व प्रणालीमा सुधारका प्रयासहरु

मूलतः राजस्वको प्रणालीगत सुधारमा तीन/चार वटा कुराहरु छन् :

हामी जुन किसिमको अन्तर्राष्ट्रिय व्यापार प्रणाली अवलम्वन गर्छाैं, त्यस अनुसारको सुधार गर्नैपर्‍यो । त्यसैअनुसार हामी भन्सार ऐन संशोधनको प्रयासमा छौं । त्यसको विधेयक अनुमोदन भएपछि कार्यान्वयनमा जान्छ । ऐन पास भएपछि नियम, कार्यविधि तथा जति पनि सुधार गर्नुपर्ने विषय सुधार हुँदै जानेछन् ।

विधेयकसँगै जोडिएका केही कुराहरु पनि छन् । म महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन पढ्दै थिएँ, कसरी बेरुजु हुन्छ भनेर । हामीले सुधार गर्नुपर्ने कुराहरु छन्, तर प्रक्रियागत सुधार गर्नुपर्ने विषय धेरै छन् ।

त्यसले के देखाउँछ भने हाम्रा विधिहरु नै मिलाउनुपर्ने बाँकी छ । त्यसमा ‘हार्मोनिक कोड’ नमिलेको विषयमा कहिलेकाँही दरबन्दी लगाउने अथवा कतिपय सामानहरु अन्यमा पर्छन् । त्यसको केही व्यवस्थापन गर्ने । व्यवसायलाई अप्ठेरो पर्छ भने पूर्वादेश लिन सक्ने व्यवस्था समेटिएको भन्सार ऐन क्याबिनेटले पास गरिसकेको छ ।

आफूले कुनै कुरा आयात गर्नुपूर्व कुनै कर वा भन्सार दरबन्दीको विषयमा समस्या भयो भने पूर्वादेश लिँदा विवाद समाधान हुन्छ । यो राम्रो व्यवस्था छ ।

हामीले एन्टि डम्पिङ, काउन्टर ग्यारेन्टी सेफ गार्डिङसम्बन्धी कानुन बनाउँदैछौं । अब हामी जे गर्छौं, कानुनसम्मत काम गर्छाैं । कृत्रिम कर लगाएर हामी यो वस्तु ल्याउने, नल्याउने भन्दैनौं । हामी कानुनको यो दफा प्रयोग गरेर यो कारवाही गर्‍यौं भन्नेछौं । अब हामी कानुनसम्वद्ध जाने छौं । कानुन सुधारको विषयलाई स्वविवेक अधिकार कम गर्न र पारदर्शी भन्सार प्रशासनका लागि अगाडि बढाइएको हो ।

भन्सारमा भइरहेका कामहरु

भन्सार पूर्वाधारमा कसरी राम्रा काम भएका छन्, त्यो कुरा गर्न गर्न चाहन्छु ।

छोटी भन्सारलाई मूल भन्सार बनाउने, हिजो नचलेका छोटी भन्सारलाई चलाउने र छोटी भन्सारमा भन्सार काट्न सकिने अधिकतम रकमलाई बढाएर २५ हजार रुपैयाँसम्म बनाउने काम हामीले गरिरहेकै छौं ।

यसका अतिरिक्त दुईवटा एकीकृत भन्सार जाँचचौकी सञ्चालनमा आए । अरु दुईवटाको कुरा अघि बढेको छ । दुईवटा चेकपोस्टसँगै भैरहवा र नेपालगञ्जको कुरा अघि बढिरहँदा हाम्रा प्रमुख नाकाहरु रेल र आईसीपीद्वारा जोडिने स्थितिमा छन् । यसले हाम्रो अन्तर्राष्ट्रिय व्यापार सहज बनाउँछ ।

यसबाहेक केही सुख्खा बन्दरगाह पनि बनाउँदैछौं । रसुवागढी र तातोपानी ।

चोभारको सुख्खा बन्दरगाह झण्डैझण्डै नबनेको थियो । ‘सिंगल विण्डो’ मा नेपालको भन्सार प्रणालीलाई लिएर जाने हाम्रो योजना पनि तुहिसकेको अवस्था थियो । मैले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिरहँदा ४१/४२ वटा निकाय संलग्न हुने भन्सार प्रशासन एउटा निकायमा ल्याउन सक्यौं भने ३/४ वर्षमा कायापलट हुने काम किन नगर्ने भनेर हामीले काम गर्‍यौं । शिलान्यास पनि गर्‍र्यौं ।

सुख्खा बन्दरगाको २० प्रतिशत काम सकिइसकेको छ । हामी अहिले २१ वटा निकायको एकीकृत पोर्टलबाट कारोबार हुने गरी काम गर्छौं । त्यसलाई बढाएर ४१ पुर्‍याएपछि घरमै बसीबसी कुनै कार्यालय नधाई व्यापार सहजीकरण हुनेछ । बिल्डिङ र ‘सिंगल विन्डो’ ले हाम्रो संरचनामा कायापलट हुन्छ । यो काम हामीले छिटो सम्पन्न गर्नुपर्ने छ । यो काम भन्सार दिवसको अवसरमा छिटो गर्नका लागि हामी तयार हुनुपर्‍यो ।

कोलकाता बन्दरगाह र विसाखापटनम बन्दरागाह चलाएपछि केही सामान त्यताबाट आउन थाल्यो । पश्चिम भारतको कुनै नाकाबाट ढुवानी गर्नका लागि बन्दरगाह (धाम्रा र मुन्द्रा) को कुरा भइरहेको छ । जल यातायातका लागि साहेबगञ्जको कुरा भइरहेको छ । यसबाट बिराटनगर र वीरगञ्ज आउने कार्गो सामानको यातायात शुल्क आधा घट्नेछ । त्यसका लागि हाम्रोतर्फबाट गर्नुपर्ने काम गरिरहेका छौं ।

सुदुरपश्चिमको दोधारा-चाँदनीमा सुख्खा बन्दरगाह बनाउने पक्षमा छौं । अब हामीले भन्सार बिन्दुसँगै बैंकिङ सेवा पुर्‍याउनुपर्नेछ । अन्य धेरै आवश्यक पूर्वाधारहरुमा काम गर्नुपर्ने छ । ‘भेइकल स्क्यानिङ मेसिन’ खरिद गर्ने कुरा अगाडि बढाउनुछ ।

भन्सार पूर्वाधारमा धमाधम काम भएका छन्, दक्षिण नाका र पूर्व-पश्चिम राजमार्ग जोड्ने सडक ठूला र फराकिला बन्दैछन् । औद्योगिक ग्रामहरु बनिरहेका छन् । निजी क्षेत्रलाई मेरो आग्रह छ-ढुक्क भएर काम गर्नुस्, सरकार तपाईहरुका समस्या सुन्न र टेबलमा बसेर कुरा गर्न सदैव तयार छ । सरकारका सबै काममा हामी निजी क्षेत्रलाई पनि सँगै लिएर हिँड्ने प्रण गर्दछौं ।

भन्सारका कर्मचारीलाई अनुरोध

प्रविधिको कुरामा भन्सारका कर्मचारी कसैलाई आशंकाको नजर हेर्नु नपर्ने स्थिति सिर्जना भइसकेको छ । सदाचारितामा हामी कठोर छौं । अहिलेसम्म कसैले उल्लंघन गरेको रिपोर्टिङ भएको छैन । भए पनि कारबाही पनि भएकै छ । त्यसैले हामी सन्तोष हुने धेरै ठाउँ छन् । हाम्रो व्यवहारमा जुन स्वच्छता, कर्मशीलता, निजीक्षेत्रसँग सहजता र सरलताका कुरालाई कायम राख्नुहोला, कर्मचारी साथीहरुलाई मेरो अनुरोध ।

यी सबैको परिणाम व्यवसायी साथीहरुले सहज अनुभति गर्नुपर्छ । यो अनुभति नहुञ्जेल हाम्रा प्रयास हाम्रै सन्तुष्टिका लागि हुन्छन् । व्यवसायी साथीहरुले जब सहज अनुभूत गर्नुहुन्छ । अनि हामीले सन्तोष लिने ठाउँ हुन्छ । मलाई लाग्छ, त्यो समय क्रमशः अघि बढ्दैछ । कर्मचारीलाई साथीहरु यसरी नै अघि बढ्न सकौं ।

(अर्थमन्त्री खतिवडाले ६८औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा व्यक्त गरेको विचारको सम्पादित अंश )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment